मनाङः मनाङको प्रदेशसभा (क) मा एमालेका उम्मेदवारलाई पराजित गदैं कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।
पोखरा: मुस्ताङको प्रदेश सभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको रफ्तार झन् तीब्र भएको छ । हालसम्म गणना भएको २५ सय मतमा पौडेलले १ हजार २४ मत ल्याएका छन् । यता, नेकपा एमालेका दामोदर वैरागीको ८ सय ३८ मत ल्याएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी बराल ४ सय ३८ मतकासाथ तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् । राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ । यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रको सबै एक सय १९ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएर मुख्य निर्वाचन अधिकृतको जिल्ला समन्वय समितिको कार्यालयमा संकलन गरिएको छ । प्रतिनिधिसभामा सो क्षेत्रमा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार छ सय १४ मत खसेको छ । कास्की ३ मा प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा प्रतिनिधिसभामा रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । यसैगरी नेकपा (एमाले)बाट दामोदर पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार हुनुहुन्छ । यसैगरी प्रदेशसभा ३ (१) मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारी, नेकपा (एमाले)बाट गणेशमान गुरुङ तथा ३ (२)मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा (एमाले)का राजीव पहारीलगायतका उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ । प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं २ को गणना सुरु भएको छ भने क्षेत्र नं १ को गणनाका लागि तयारी गरिएको छ । जिल्लामा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कास्की जिल्लामा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार ५२२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता थिए
पोखराः कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको आज विहान ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ । यसका लागि बिहान ९ बजे बैठक बोलाइएको र ११ बजेसम्ममा मतगणना थालिसक्ने तयारी भएको कास्की निर्वाचन क्षेत्र नं १ निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक गिरीले जानकारी दिनुभयो । यसअघि जिल्लामा मतगणनालाई व्यवस्थित बनाउन एवं निर्वाचन आयोगको निर्देशन समेतलाई दृष्टिगत गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्न लागिएको जनाइएको छ । क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट किशोरदत्त बराल, नेकपा ९एमाले०का तर्फबाट मनबहादुर गुरुङ, हाम्रो नेपाली पार्टीका तर्फबाट प्रमोद आचार्यलगायतको उम्मेदवारी छ । प्रदेशसभा (१) मा गठबन्धनका दीपक कोइराला, नेकपा (एमाले)का खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसीलगायतको उम्मेदवारी छ भने (२) मा गठबन्धनका दीपक गुरुङ(माइला), एमालेका वेदबहादुर गुरुङ लगायतको उम्मेदवारी छ ।
बैतडीः बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।” जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
पोखराः मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) देखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदैछ । यान्त्रिक उडानका लागि सम्पूर्ण तयारी पूरा भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुनेछ । उक्त प्रयोजनका लागि एरोथाई कम्पनीको जहाज शनिबार नै पोखरा विमानस्थलमा पुगिसकेको छ । प्राधिकरणले मङ्सिर ५ देखि १२ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो । यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) देखि पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ । यान्त्रिक उडानका क्रममा पोखरा विमानस्थलमा हुने आन्तरिक उडान सामान्य प्रभावित हुनेछ । उडान प्रभावित हुने भएकाले साबिकको उडान तालिका हेरफेर गर्न सरोकारवाला एयरलाइन्ससँगको छलफलपछि निर्णय भएको प्रवक्ता निरौलाले बताउनुभयो । उडान तालिका परिवर्तन हुने भएपछि एयरलाइन्सले सूचना निकालेर यात्रुलाई जानकारी गराइसकेका छन् । “बिहान १० बजेसम्म उडान हुन्छ र उडान बन्द हुन्छ । १० देखि दिउँसो १ बजेसम्म यान्त्रिक परीक्षण उडान हुन्छ । पुनः १ देखि २ः३० बजेसम्म उडान हुन्छ र त्यसपछि पुनः यान्त्रिक उडान सञ्चालन गरिन्छ । यान्त्रिक उडानका बेला नियमित उडान सामान्य प्रभावित हुने भएकाले एयरलाइन्सलाई ‘रिसेड्युल’ गर्न आग्रह गरेका छौँ”, प्रवक्ता निरौलाले भन्नुभयो । पोखरा विमानस्थलमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । पोखरालगायत देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिने प्राधिकरणले जनाएको छ । यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाईको जहाज फर्किने प्रवक्ता निरौलाले बताउनुभयो । एरोथाईको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडो पहिलो चरणमा १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।
काठमाडौंः आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण भए पनि केही जिल्लामा भएको विवाद र हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चिन्ता व्यक्त गरेको छ । सो केन्द्रले निर्वाचनका प्रारम्भिक प्रतिवेदन आज प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियालाई बुझाउँदै आयोगले शून्य सहनशीलताको नीति अपनाएको भए पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको नदेखिएको जनाएको छ । सो संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्ने प्रक्रिया सहज गरेको पाइएको जनाएको छ । सीमान्तकृत नागरिक, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी, अपाङ्गता भएका व्यक्तिलगायतका मतदातालाई विशेष व्यवस्था खानेपानी र शौचालयको व्यवस्था र स्वतन्त्र पर्यवेक्षकको अनुगमनमा पहुँचको विषयसमेत निर्वाचन र मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण पक्षहरू रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ३८ स्थानमा बम फेला, आठ स्थानमा बम बिस्फोट भएको र ६९ स्थानमा हवाई फायर भएको उल्लेख छ । इन्सेकले देशका सबै जिल्लामा सात सय ५१ जना पर्यवेक्षक परिचालन गरेको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा देखिएका सुधार विगतमा पर्यवेक्षक संस्थाले गरेका सुझावकै आधारमा भएको जनाउँदै आगामी दिनमा गर्नुपर्ने कानूनी सुधार र मतदाता शिक्षाको नियमित सञ्चालनबारे आयोगले फड्को मार्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले सो प्रतिवेदन बुझाउनुभएको थियो ।

