पोखरा: राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाउनुभएको छ भने उपकप्तान दीपक डुम्रे हुनुहुन्छ । टोलीका सदस्यहरूमा अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुँवर, करन पँगेनी, सचिन अधिकारी, सिव्रिन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदीप अर्याल र शिशिर भुसाल हुनुहुन्छ । यसैगरी वैकल्पिक खेलाडीहरूमा विवेक नेपाली, सुगन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने हुनुहुन्छ । गण्डकीको टिम प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहनुभएको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिनुभयो । गण्डकी प्रदेशले पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो । पोखरामा कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।
ढोरपाटनः “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आउनुभएको छ । गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उहाँ यसपालि गाउँमा मतदान गर्न जानु भएन । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौँतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताउनुहुन्छ । “मैले अहिलेसम्म तीन–चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ”, पगरीले भन्नुभयो, “त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।” काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिराख्नुभएको छ । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनुभएका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगर दुईपटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिनुभएका मगर बाध्यताले बागलुङसम्म आएको बताउनुहुन्छ । “म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भन्नुभयो, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ”, मगरले भन्नुभयो, “विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र” मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताउनुभयो । चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको उहाँ बताउनुहुन्छ । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकामा दुःख व्यक्त गर्नुभयो । “म अघिल्लो निर्वाचनमा विदेशमा थिएँ, भोट हाल्न पाइएन, यसपालि पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्ल भएँ, पहिलोपटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई” उहाँले भन्नुभयो, “भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनुपरेको हो ।” रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडकखण्डमा ढुङ्गा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आउनुभएको छ । उहाँले रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताउनुभयो । उहाँ गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउनुहुन्छ । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको खत्रीको भनाइ छ । खत्रीले भन्नुभयो, “हामी रहरले आएका होइनौँ, बाध्यताले आएका हौँ, घरमा स–साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौँ, चुनाव आयो भोट हाल्न आउनुप¥यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्नँ, नेताहरूले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।” गाउँबाट दैनिक दर्जन बढी युवा रोजगारीका लागि देश–विदेशमा भौतारिँदा जनप्रतिनिधिले यसतर्फ ध्यान नदिएको उहाँको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन, भाषणमात्रै ठूला–ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिनसकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला–ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन ।” लोकमार्गको घोँडाबाँधेबाट गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पूरा नगरेपछि निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।
कास्की: निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कास्कीमा हालसम्म १६ वटा उजुरी परेकामा अधिकांश फर्छ्यौट भएको छ । जिल्लामा आचारसंहिता कार्यान्वयनको अवस्थालाई सूक्ष्मरूपमा अनुगमन भइरहेको र हालसम्म लिखित, इमेल र मौखिक गरी १६ वटा उजुरी परेकामा अधिकांशतः फर्छ्यौट भएको र केही प्रक्रियामा रहेको अनुगमन समितिका संयोजक रामजीप्रसाद शर्माले जानकारी दिनुभयो । बिहीबार राति १२ बजेदेखि सुरु स्थिर अवधिमा कास्कीमा अवस्था सामान्य देखिएको छ । मौन अवधि सुरु भएयता अनुगमनलाई निरन्तरता दिइएको र हालसम्म कुनै उजुरी नपरेको उहाँले बताउनुभयो ।
मनाङः हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । “खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला”, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प¥यो ।” उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताउनुभयो । “यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,” रेग्मीले भन्नुभयो । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताउनुभयो । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उहाँले बताउनुभयो । “यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उहाँहरू पुग्नुभएको छ । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,” उहाँले भन्नुभयो । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक रु दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले रु एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको रु छ सय पाउँछन् । “एक गिलास तातोपानीको रु एक सय पर्छ । सुगममा रु छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,” उहाँले भन्नुभयो । मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् । फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर)मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् ।
पोखराः प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बराल मौन अवधिमा चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै एमालेका कार्यकर्ताले घेराउ गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका-१ भीर मुनिभन्ने ठाउँमा उम्मेदवार बराल शुक्रबार साँझ एमाले कार्यकर्ताको घेराउमा परेका हुन् । बिहीबार रातिदेखि नै स्थिर अवधि अर्थात चुनाव प्रचार गर्न नपाइने समय सुरु भएको थियो । उम्मेदवार बराल गण्डकी प्रदेशका अर्थमन्त्री थिए ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन् । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु ।’ मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यम रहेको सन्देशमा उल्लेख छ । उनले भनेका छन्, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था एवं सरोकारवाला सबै भयरहित वातावरणमा निश्पक्ष निर्वाचन सम्पन्न गराउन जुट्नुुहुनेछ भन्नेमा पूर्ण विश्स्त छु ।’ आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष रहेको भन्दै मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थापित ३ तहका सरकारमध्ये प्रदेश संरचनाको पहिलो १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ अहिले हामी दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेका छौं ।’ प्रतिनिधि सभाको पनि निर्वाचन एकसाथ सम्पन्न हँन गइरहेको सन्दर्भमा उनले सम्पूर्ण प्रदेशवासीमा बधाई ज्ञापन गर्दछु । उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्ने सम्पूर्ण सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै अग्रजप्रति कृतज्ञता व्यक्त गरेका छन् । संघीयताको पहिचान भनेकै प्रदेश संरचना हो । संघ र स्थानीय तह कुनै न कुनै रुपमा यसअघि पनि अस्तित्वमा थिए । तर प्रदेश संरचना हाम्रा लागि नितान्त नौलो अभ्यास हो । सन्देशमा उल्ल्ेख छ, ‘भौतिक संरचना, जनशक्ति व्यवस्थापनदेखि कानुनी अस्पष्टता लगायतका समस्या झेल्दै ५ वर्षको अवधिमा प्रदेश संरचनाले सशक्तरुपमा आफ्नो पहिचान स्थापित गराएको छ ।’ एक सरकारकोरुपमा सञ्चालित हुन आवश्यक सम्पूर्ण तयारी यसले पूरा गरेको दाबा उनको छ । आर्थिक तथा सामाजिक उन्नयनका लागि महत्वपूर्ण कार्य आरम्भ भएता पनि नागरिकका चाहना र आकांक्षाहरु पूरा हुन नसकेको उनको स्वीकारोक्ति छ । उनले भनेका छन्, ‘बितेको कार्यकालबाट पाठ सिकेर संघीय शासन प्रणालीलाई व्यवस्थित गर्नका लागि अबको समय खचिर्नुपर्छ ।’ धेरैभन्दा धेरै प्रदेशबासीको संलग्नतामा यो निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।
पोखराः सन् १९८१ मा रचना गरिएको ‘विदेश जाने मायालु’ गीतकाे चार दशकपछि भिडियो सार्वजनिक भएको छ । दीपक थापाको ‘विदेश जाने मायालु’ बोलको गीतको म्युजिक भिडियो आज ९शुक्रबार० पोखरामा पत्रकार सम्मेलन गर्दै सावर्जनिक गरिएको हो । सो कार्यक्रममा बोल्दै गायक तथा रचनाकार दीपक थापाले पहिलो पटक पोखरामै गाएको बताए । उक्त गीत हरेक नेपालीले मन पराएपनि आफुलाई नचिनेको बताए । ‘यो गीत धेरैले मन पराउनु भयो । सबैले गुनगुनाए तर मेरो हो भन्ने कमैलाई मात्र थाहा थियो । यतिका वर्षपछि भिडियो ल्याएका छौ, उनले भने, ‘सबैले माया गरिदिनुहुनेछ ।’ उनले उक्त गीत काल्पनिक नभएको बताउदै भने, ‘यो गीत मेरै कथामा आधारित हो भन्न सकेको थिएन । कतै कतै मात्र हो भन्थे । हुन त हरेको आफ्नै कथा हुन्छ । सत्य कथामा आधारित हुदा बढी फिल हुनेरहेछ ।’ उनले समय बद्लिएपछि माया गर्ने र विदेशीनेको कथा अझै पनि ताजै रहेको सुनाए । ‘विदेश जाने मायालु’ तीन पुस्ताको कथामा आधारित छ, उनले भने, ‘बच्चा जमन्छ, युवा अवस्थामा माया प्रेम सम्बन्ध हुन्छ, पछि विदेश जान्छ र केही समय पछि भेट हुन्छ । यसरी नै यो गीतले तीन पुस्ताको कथालाई चित्रण गरेको छ ।’ रोहन नेपालीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा भगवती मल्ल, दीपक थापा, विशाल सारुमगर, सपना क्षेत्री, एरिसा गुरुङ र अनमोल राणाको अभिनय रहेको छ । भिडियो:
काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् । यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताउनुभयो । “उपत्यकाबाट औसत अवस्थामा दैनिक ४० हजारदेखि ४५ हजार जना यात्रु भित्रिने र सोही बराबर बाहिरिन्छन् । तर पछिल्लो २४ घण्टामा ४१ हजार पाँच सय तीन जना यात्रु उपत्यकामा आएका छन् भने ५५ हजार एक सय ४७ जना बाहिरिएका छन्”, भट्टले भन्नुभयो, “अहिले औसतभन्दा केही चाप बढेको छ ।” आजसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिनसकेको उहाँको भनाइ छ । “आजसम्म स्कुल र सरकारी कार्यालयहरू खुलै रहेकाले धेरै चाप छैन । भोलिदेखि बढ्न सक्छ”, भट्टले भन्नुभयो । बुधबार ५१ हजार चार सय ५० जना उपत्यका छिरेको र ५१ हजार तीन सय १९ जना बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा आवतजावत गर्ने सवारी साधनको सङ्ख्या हेर्दा आठ हजार १० सवारी साधन भित्रिएको र सात हजार सात सय नौ वटा सवारी साधन बाहिरिएका छन् । त्यस्तै बुधबार आठ हजार तीन सय ३६ वटा सवारी साधन उपत्यकामा भित्रिएका थिए भने सोही सङ्ख्यामा सवारी बाहिरिएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कात्तिक अन्तिम सातायता सवारी साधन परिचालनमा चाप देखिएको बताउनुभयो । “पछिल्लो तीन–चार दिनयता देशभर रिजर्भ गाडीहरू बढी चलेका छन् । दैनिक बुकिङका गाडी पनि गइरहेकै छन् । यो क्रम शनिबारसम्मै चल्छ”, सिटौलाले भन्नुभयो, “अहिले सबैजसो दलले रिजर्भ गरेरै गाडी लगिरहेका छन् । दैनिकरूपमा टिकट काटेर चल्ने गाडीभन्दा रिजर्भ गाडीहरू बढी चलेका छन् । चुनावलाई मात्रै लक्षित गरेर पाँचदेखि छ लाख मानिस आवत–जावत गर्ने अनुमान हामीले गरेका छौँ ।” लामो दूरीका सवारी साधनहरू शुक्रबार र छोटो दूरीका गाडीहरू शनिबारसम्म चल्ने उहाँको भनाइ छ । चुनावका लागि परिचालन भएका सवारी साधनको सङ्ख्या बढे पनि त्यसको व्यवस्थापन गर्न समस्या नरहेको सिटौलाले बताउनुभयो ।
पोखरा: कोरोना भाइरसको महामारीपछि पोखरामा २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा आगामी १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संघका अध्यक्ष पवन प्रजापतिका अनुसार उक्त मेलामा करिब २ सय ५० वटा स्टलहरु रहनेछन् । जसमध्ये ४५ वटा अटोका रहने छन् । उनले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको विक्रि तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको जानकारी दिए । ‘यस व्यापार मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रर्वद्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो ।’ उनले भने । उनले कोरोना भाइरसको महामारीका कारण २ वर्ष मेला आयोजना गर्न नपाएको बताए । ‘औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ । तर कोभिड १९ ले गर्दा २ संस्करणहरु आयोजना गर्न सकिएन, प्रजापतिले भने, ‘कोभिड १९ ले हाम्रो अभियान रोकियो र संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका छौं ।’ उनका अनुसार सो मेलामा सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

