पोखराः नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । शुक्रवार अन्नपूर्ण गाउँपालिका-३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताएका हुन् । यहि क्षेत्रका निवर्तमान सांसद समेत रहेका पहारीले अघिल्लो पटक जनताले विजयी गराएर पठाएपछि चुनावका बेला गरेको केहि प्रतिवद्धता पुरा गर्न नसकेको औल्याए । ‘जनताले अनुभुती गर्ने गरि काम ग¥यांै, तर केहि बाँकी रहे, तिनै अधुरा काम पुरा गर्न फेरी मेरो उम्मेवारी हो’–पहारीले भने । अघिल्लो कार्यकालमा अँधेरी खोलामा झोलुङे पुल निर्माण गरिएको, मुख्यमन्त्री वातावरण नमुना कृषि गाउँ कार्यक्रम अन्नपूर्ण गाउँपालिकामै सञ्चालन गरिएको, धारापानी–शिवालय मार्ग, पत्थर–मरौंचे–भदौरे मार्गको स्तरोन्नती लगायतका कामहरु भएको जनाउँदै केहि योजनाहरु पुरा गर्न नपाउँदै सरकार ढलेकाले योजनाहरु अधुरा रहेको बताए । ‘अँधेरी खोलामा पक्की पुलका लागि डिपिआर बनेको छ, यहाँको पैह्रो व्यवस्थापनका लागि ठोस योजना अघि सारिएको छ, हिले–काहुँडाँडा बाटोको स्तरोन्नती गर्नुछ, कृषियोग्य क्षेत्रमा सिंचाइको व्यवस्थापन गर्नुछ’–उनले भने, ‘यसका लागि पनि फेरी जनताले मलाई साथ दिनुहुनेमा विश्वस्त छु ।’ उनले सामाजिक विकृती विसंगति विरुद्ध आमा तथा युवा समुहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे ।
पोखराः गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् । गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् । स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हुन् । थापाले तत्कालै गर्दा आचारसंहिता लाग्ने भन्दै निर्वाचन पश्चात महानगरपालिकासंग समन्वय गरेर समस्याको समाधान गर्ने सुनाए । ‘महानगरमै सार्वजानिक यातायात नआउनु दुःखद् कुरा हो । महानगरवासीलाई सुख र सेवा दिनु हाम्रो दायित्व हो । यो काम म मंसिर ४ पछि जितेपनि हारेपनि गर्नेछु’ थापाले भने,‘यहाँ धेरै समस्या छन् । हामी प्याकेजमा विकासका योजना अघि बढाउने छौं । खानेपानीदेखी यहाँको कृषि र पर्यटनलाई विशेष जोड दिनेछौं ।’ पोखरा बजारबाट नजिकै रहेको काहुँ डाँडा निकै रमणीय रहेको र उक्त कुराको फाइदा लिन स्थानीय र प्रदेश सरकारले नसकेको बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति निमार्ण तथा ऐन कानून बनाउमै वितेको बताउँदै अबको पाँच वर्ष पुर्ण विकासका लागि मात्रै रहेको सुनाए । थापाले काहुँबासीलाई मणिपाल अस्पताल र भलाम जानका लागि सहज हुने किसिमले मणिपाल शिक्षण अस्पतालसँग समन्वय गरी बाटो खुलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
पोखरा: कास्की २ बाट उम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासी भूमिहीनको समस्या समाधान गर्ने बताएका छन् । शुक्रबार पोखरा १७ बेलघारी टोलमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताएका हुन् । गठबन्धनको सरकारको पालामा नै कास्कीमा सुकुम्बासीहरुको हित हुने काम भएकाले आफू निर्वाचित भएपछि पनि त्यसलाई निरन्तरता दिने उनले बताए । गठबन्धन सरकारको पालामा राष्ट्रिय भूमि आयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए । संविधानको रक्षा गर्दै जनताप्रति उत्तरदायी हुने उनको प्रतिवद्धता छ । पोखरा १७ क्षेत्र कृषिका लागि योग्य भएकाले पनि त्यसमा ध्यान दिने उनले बताए । स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पु¥याउने उनको प्रतिवद्धता छ । वडा भित्र रहेको पातले छागों, गुप्तेश्वर गुफा, ड्याम साईड, गुम्बा लगायत पर्यटन क्षेत्रको विकासमा लागि पर्ने उनको भनाई थियो । पोखराबाट लेखनाथ छुट्याउने, निर्मलपोरी र कृष्टिनाच्नेचौर लाई छुट्टाएर २ वटा वडा बनाउने गरी मिलेसम्म पुर्नसंरचनामा ध्यान दिने उनले बताए । गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताएका छन् । पोखरा महानगरपालिका १७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले यस्तो वताएका हुन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने उनको दावी थियो । राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको अनुभुति गर्न नपाएको बताए । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं,’ उनले भने । यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ काहुँमा मतदातासँग भेटघाट गर्दै उम्मेदवार थापाले जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिने बताए । सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो । पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको ज्वाला फुटाइने बताएका छन् । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु,’ उनले भने ।
पोखरा: पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन विशेष पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराई आवश्यकता ज्येष्ठ नागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवा कार्यक्रम अन्तरगत धार्मिक तथा आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरिने छ, उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ, बेरोजगारी, लागु औषध दुव्र्यसनी जस्ता समस्याहरूबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रण गर्न मनोसामाजिक परामर्श केन्द्र स्थापना गर्न पहल गरिने छ ।’ उनीहरूले पोखरामा ट्रमा सेन्टर, सरुवा रोग, बाल एवं प्रसूति अस्पताल निर्माण गर्न विशेष पहल गरिने समेत बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मातृ शिशु मितेरी अस्पतालमा जन साधारणको पहुँच र्पुयाई सर्वसुलभ सेवा प्रदान गर्ने गरी स्तरोन्नति गरिने गठबन्धनले जनाएको छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक जसो हजारौँ बिरामीहरूको चापका कारण सबै नागरिकहरूले सेवा प्राप्त गर्न क्रममा निकै सास्ती भोग्नु परेको छ । ‘काश्यप ऋषिको तपोभुमिको रूपमा प्रसिद्ध पोखरामा उपचार र निदान भन्दा रोग लाग्नै नदिनु वेश भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारका लागि आरोग्य धाम सञ्चालन गर्न तथा यस क्षेत्रमा रहेका औषधीजन्य जडीबुटी, वनस्पति र वन स्रोतको संरक्षण, संवर्धन र उपयोगितालाई बढाउन जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिने छ, प्रतिबद्धता पत्रमा भनिएको छ, पर्यटकीय सहर पोखरालाई थप पर्यटकमैत्री बनाउन पर्यटक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने छ ।’ हरेक नागरिकहरूलाई स्वच्छ मनोरञ्जन गर्न पार्क तथा विश्राम स्थल, बाल उद्यान, खेलकुद मैदान, व्यायामशाला, वाचनालय र भजनकृतन गर्न आवश्यक पूर्वाधार निर्माण गरी सेवा प्रदान विशेष पहल गरिने उनीहरूले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका उनीहरूले सुविधा सम्पन्न अस्पताल तथा उपचार केन्द्रहरू स्थापना गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।
पोखरा: नेपाली कांग्रेसका संस्थापक नेता विश्वश्वरप्रसाद कोइरालाका नातिनी मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्न आग्रह गरेकी छिन् । पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे कोइरालाले यस्तो बताएका हुन् । आफ्नो स्वास्थ्यले साथ नदिएको भन्दै केही मिनेटमात्र सभालाई सम्बोधन गर्दै नायिका कोइरालाले राप्रपा इमान्दार पार्टी भएकाले मतदान गर्न आग्रह गरेकी हुन् । राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताइन् । राप्रपाले बीपी विचारलाई पछ्याएको बताउँदै भनिन्, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्यो ।’ अन्य पार्टीका नेताहरुको वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेर साथ दिएको छु ।
पोखरा: किताब पब्लिसर्सद्वारा पोखरामा आयोजित परदेशको पसिना: कसरी लिने प्रतिफल ? शीर्षककमा गरिएको ‘वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका’ विषयक अन्तक्र्रियामा परदेशको पसिना सदुपयोग हुनुपर्नेमा जोड दिइएको छ । नेपालीले परदेशमा गएर दुःख गरी कमाएको पैसाले यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगे पनि उक्त योगदानको कदर हुन नसकेको बताउँदै कार्यक्रमका वक्ताले दीर्घकालीनरुपमा यहीँ नै रोजगारीको सिर्जना गर्नुपर्ने वातारण आवश्यक रहेको बताए । नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा रघुराज काफ्लेले लाखौँ नेपालीले विदेशमा गएर कमाएको पैसाले मुलुकलाई जीवन दिएको बताउँदै उनीहरूको योगदानको कदर हुन नसकेको बताउनुभयो । श्रम प्रशासनमा सुधार हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीयरुपमा नै रोजगारीको सिर्जनासँगै रोजगारीमा जानेका लागि क्षमता अभिवृद्धि, भाषा, सीप तालिम आदिमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यही नै रोजगारीको सिर्जना गर्नु पहिलो आवश्यकता भएको बताउँदै विदेश गएर प्राप्त गरेको धनसँगै, ज्ञान, सीप र क्षमतालाई यही नै उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । कतिपयले विदेशबाट फर्केर यही नै उद्यम गर्न लाग्नुभएको बताउँदै उहाँले महानगरपालिकाले रोजगारीको अवस्था सम्बन्धमा तथ्याङ्क सङ्कलन सुरु गरेको जानकारी दिनुभयो । आप्रवासनविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गणेश गुरुङले वैदेशिक रोजगारीमा गई आधारभूत आवश्यकता पूरा गरेकामध्ये कतिपयले यही नै उद्यम थालेको बताउँदै उनीहरूका ज्ञान, सीप र क्षमता स्वदेशमा उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङले आर्थिक अवस्था, घरेलु हिंसालगायतका विभिन्न परिस्थितिका कारण कतिपय महिला महिला वैदेशिक रोजगारीमा जान बाध्य छनु भन्नुभयो । कतिपय महिलालाई कामबाट फर्केपछि पनि यौनिकतालगायतका विषयसँग जोड्ने प्रवृत्ति पनि समस्याका रुपमा देखापरेको उहाँको भनाइ छ । पूर्वश्रमिक भीम श्रेष्ठले स्वदेशमा अवसर नपाएपछि युवा विदेशिने गरेको जनाउँदै उनीहरूलाई त्यहाँबाट फर्केपछि स्वदेशमा नै केही गर्ने वातावरण तयार हुनु जरुरी रहेको बताउनुभयो ।
पोखरा: कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक चाक्लो र सुविधानसम्पन्न नभई यो क्षेत्रको पर्यटन र जनजीवनमा उल्लेख्य परिवर्तन नआउने जनाएका छन् । यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा ट्राफिक जाम हुँदा त्यस क्षेत्रबाट आवतजावत गर्ने स्थानिय तथा पर्यटकहरुले सास्ती भोग्ने गरेका छन् । उसो त साँघुरो सडकका कारण विपरित दिशाबाट आएको गाडीलाई बाटो छाड्दा दुर्घटना भएका घटना पनि प्रशस्त छन् । स्थानियको समस्यालाई मसिनो गरेर अवलोकन गरेका भण्डारीले सो समस्या समाधानका लागि सडक चक्ल्याउने योजना ल्याएका हुन् । प्रचण्डका सहपाठी भण्डारीको पहुँच माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसम्मै भएकालेपनि सो सडकखण्ड चक्ल्याउने महत्वकांक्षी योजना पूरा गर्न सकिने उनको दाबी छ । भण्डारीले आफ्नो विकासे एजेन्डामा विन्ध्यवासिनी–पोखरा बेंसी सडकखण्ड कालोपत्र गर्ने अर्को योजनाअघि सारेका छन् । उनले पोखरा महानगरपालिका वडा नम्बर १, २ र ३ का भित्री सडक कालोपत्रे गर्ने, बागलुङ बसपार्कको स्तरोन्नति गर्ने, हरिचोक–याम्दी खाफको बाटो चौडा बनाउने लगायतका एजेन्डा पनि अघि सारेका छन् । उम्मेदवार भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको अस्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण ७ मा रहेको कान्छी बराह मन्दिरसम्मको मोटर बाटो निर्माण गरेर अन्नपूर्ण–माछापुच्छ्रे लिंक रोड निर्माण गर्ने योजनाअघि सारेका छन् । साथै, उनले माछापुच्छ्रेको धम्पुस फेदी हुँदै डाँडाबाट अन्नपूर्ण ३ को मराउचेसम्म नयाँ बाटो खोल्ने अर्को महत्वपूर्ण योजनाअघि सारेका छन् । उम्मेदवार भण्डारीले मर्दिहिमाल ट्रेकिङ रुट (पदमार्ग) लाई व्यवस्थित गर्ने, वन, वातावरण कृषि र पशुपालन विकासमा जोड दिने, सामुदायिक वन विकाससम्बन्धी कार्यक्रम चलाउने एजेन्डा बोकेर चुनावी घरदैलो र कोणसभा गरिरहेका छन् । उनले अन्नपूर्ण संरक्षण क्षेत्रका कार्यक्रमलाई व्यवस्थित गर्ने अर्को महत्वपूर्ण योजना ल्याएका छन् । सो कार्यक्रम पछिल्लो क्रममा जनजीवनसँग नजोडिएको भन्दै आलोचना भईरहेका बेला उनले जनजीवनलाई जोड्ने गरी कार्यक्रम ल्याउनका लागि पहल गर्ने बताएका हुन् । उनले भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्दै संरक्षण र विकासलाई सन्तुलित ढंगले मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डुम्रे: गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ । पहाडी क्षेत्रको माथिल्लो भेगमा कोदो खेती गरिँदै आएको छ । कोदोको परिकार स्वास्थ्यको हिसाबले खान उपयुक्त मानिन्छ । कोदोको परिकार स्वास्थ्यवद्र्धक हुने भएकाले जिल्लामा माग बढ्दै आएको तिवारी बताउनुहुन्छ । गत वर्ष छ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय २९ मेट्रिकटन कोदो उत्पादन भएको थियो । कोदो रोप्न र चुट्न झन्झटिलो हुने हुँदा खेती गर्न छाड्ने क्रम बढेको तिवारीले बताउनुभयो । “पाखो बारीमा नै उत्पादन हुने खेती हो । तर बीउ पारेर रोप्न र चुट्ने समस्याले किसानले खेती गर्नै छाड्न थाले । हरेक खेती हुने क्षेत्रको जमिन बाँझिने क्रममा छ”, उहाँले भन्नुभयो । कोदो उत्पादन क्षेत्रको जमिन घट्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । “वन्यजन्तुको समस्याले गर्दा गाउँबाट बसाइँसराइ जाने क्रम छ । विशेष गरी पाखो बारीमा खेती गर्ने जमिन बाँझिदै गएको छ । कोदो लगाउन गाह्रो हुँदा पनि समस्या हुने गरेको छ”, तिवारीले भन्नुभयो । अहिले घरवास (होमस्टे) सञ्चालन भएका स्थानमा उत्पादन भएकै ठाउँमा कोदो खपत हुने गरेको उहाँको भनाइ छ । बन्दीपुर, व्यास, भानु, ऋषिङ, घिरिङ, भिमाद, देवघाट र आँबुखैरेनीको पहाडी क्षेत्रको उपल्लो भागमा कोदो खेती हुन्छ । ऋषिङ, घिरिङ, भिमादमा कोदोको बढी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । कोदो उत्पादन भएको स्थानमा नै खपत हुने गरेको उहाँ बताउनुहुन्छ । केही स्थानमा उत्पादित कोदो बाहिर निर्यात गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । घरवासमा ढेडो, रोटी तथा पिठोबाट बन्ने विभिन्न परिकारको माग होमस्टेमा समेत बढेकाले पछिल्लो समय कोदोको माग बढ्दै गएको छ भने उत्पादन घट्ने क्रममा रहेको किसान बताउँछन् । पछिल्लो समय जिल्लामा कोदोको माग बढे पनि स्थानीय उत्पादन कम हुँदा अभाव छ । चालु आर्थिक वर्षमा स्थानीय तहसँग समन्वय गरी कोदोलाई रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत विशेष प्राथमिकतामा राखी उत्पादन प्रशोधन र बजारीकरण गरी सहज गराउने उद्देश्य रहेको ज्ञान केन्द्रले जनाएको छ ।
पोखरा: पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ देशलाई बलियो बनाउनको लागि गठबन्धनबाट उठेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा–१२ का विभिन्न टोल–टोलमा पुगेका गुरुङ अबको सरकार गठबन्धनको सरकार बन्ने बताए । उनले अघिल्लो सरकारले संसद विघटनदेखि जनतालाई दिएको सास्तीको बारेमा मतदाताले मनन गर्नुपर्ने बताए । गुरुङले धेरै मतदाता बुझ्ने हुँदा पहिलेजस्तो पछुत्याउन पर्ने अवस्था नआउने बताए । ‘जनताहरु धेरै बुझ्ने हुनुहुन्छ । अघिल्लो पटक जस्तो गल्ती योपटक दोहोरिँदैन,’ उनले भने, ‘विचार पु¥याएर योग्य मान्छेलाई भोट हाल्न जनताले खोजेका छन् ।’ उनले आफू पहिलो पटक उम्मेदवारको रुपमा आएपनि लक्ष्य ठूलो रहेको सुनाए । ‘म युवा हो । एकपटक मलाई विश्वास गर्नुहोस्,’ उनले भने, ‘अर्को पटक आउँदा मेरो हजुरहरुले नै राम्रो कामको तारिफ गर्नुहुनेछ ।’ उनले प्रदेशको नेतृत्व गरेर उम्मेदवार दिइरहँदा युवा र खेलकुदलाई पनि प्राथमकितामा राखेको बताए । उनले जिल्ला, प्रदेशमा हुने विभिन्न अतिरिक्त खेलको प्रबद्र्धन गर्नेदेखि खेलाडीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने बताए । ‘खेल र खेलाडीको भविष्यको सुरक्षाको लागि व्यावसायिक खेलाडीलाई प्रोत्साहन गरि उनीहरुको लागि आवश्यक योजना र कार्यक्रम अगाडि बढाइनेछ,’ उनले भने, ‘दक्ष प्रशिक्षकको व्यवस्था गरि स्वस्थ जीवनका लागि खेलकुद नामक जागरण अभियान सञ्चालन गरिनेछ ।’ त्यस्तै पछिल्लो समयमा दैनिक जसो घटिरहने महिला तथा बालबालिका हिंसा सम्बन्धी सचेतनामुलका कार्यक्रम सञ्चालन गर्ने बताए । ‘घरबाटै समानता, आर्थिक क्षेत्रमा महिलाको संलग्नता नारालाई आत्मसाथ गर्दै लंैगिक तथा घरेलु हिंसा र बालहिंसा अन्त्यको लागि अभियान सञ्चालन गरिनेछ,’ उनले भने, ‘बालबालिका र महिलामैत्री संरचना निर्माण गरिनेछ ।’ पोखरा–१२ मा रहेका भूमिहीन सुकुम्बासी बस्तीलाई व्यवस्थित बसोबासको व्यवस्था गरिने उनले बताए । उनले भूमिहीनहरुको स्रोत, साधन र अवसरमा पहुँच बृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने बताए । ‘अव्यवस्थित बसोबास भएका तथा छुट भएका जग्गा दर्ताका लागि सम्बन्धित सरोकारवालसँग समन्वय गरेर समस्या समाधान गरिनेछ,’ उनले भने ।

