पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

  पोखरा । कास्की क्षेत्र नम्बर ३ अन्तर्गतको वडा नम्बर २२, पुम्दीभुम्दीमा नेकपा एमाले उम्मेदवारहरुलाई स्वागत गरिएको छ । वडाका विभिन्न कमिटिहरुले एमाले उम्मेदवारहरुलाई टोल टोलमा भव्य स्वागत गरेका हुन् । विभिन्न टोलमा पुगेका एमाले उम्मेदवारहरुलाई त्यहाँका जेष्ठ नागरिकहरुले विजयीको आर्शिवाद प्रदान गरे ।  कास्की क्षेत्र नम्बर ३‘ख’ प्रदेस सभा उम्मेदवार राजिव पहारी तथा प्रतिनिधीसभा उम्मेदवार दामोदर बैरागी त्यहाँ पुग्दा पुम्दीभुम्दीका जनताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।  उम्मेदवारहरुको आगमनले आफुहरुमा उत्साह थपिएको त्यहाँका जनताहरुले बताए । एमालेनै विकास र परिवर्तनको संवाहक भएकाले यसपटक एमालेलाईनै विजयी गराउने उनीहरुले जनाए । निवर्तमान सांसद समेत रहेका उम्मेदवार राजिव पहारीले आफ्नों क्षेत्रमा विकास निर्माणका कार्यहरुको थालनी गरेपनि पहिला कोभिड समस्य र पछि सरकार ढलेका कारण ति कार्यहरु पुरा गर्न नपाएकोबारे आफुहरुले राम्ररी बुझेको सुनाएका थिए । ति योजनाहरुलाई मूर्तरुप दिन पनि फेरी एमालेलाईनै जिताउनेमा आफुहरु प्रतिवद्ध रहेको जनताहरुको भनाई थियो । उम्मेदवार पहारी सहित अन्य उम्मेदवारनै आफुहरुको आशा र भरोसाको केन्द्र भएको सुनाउँदै आफ्नों वडामा एमाले उम्मेदवाहरुलाई मतदान गर्ने उनीहरुले बताए ।  जनताको स्वागत र न्यानो मायाले आफुहरुमा उत्साह मिलेको उम्मेदवार पहारीले बताए । ‘यहाँहरुको आतिथ्यताले हामीलाई थप उर्जा मिलेको छ, म जनसेवक हुँ, फेरी जितेर तपाईहरुको सेवा गर्न आउने छु’–उम्मेदवार पहारीले भने ।   

बागलुङ :   युवा पुस्ताका डा. सूर्यप्रसाद पाठकसंग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ ।   बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा (एमाले)का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आउनुभएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ ।   संसदीय यात्रामा यी दुवै नेता नयाँ भने होइनन् । यो चुनाव जितेमा केसी चौँथोपटक सांसद बन्नुहुनेछ भने पाठक दोस्रोपटक । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिर्नुभएको थियो ।   विसं २०७० को चुनावमा बागलुङ–२ मा पराजित पाठक विसं २०७४ को चुनावमा भने जीत निकाल्न सफल हुनुभएको थियो । वाम गठबन्धनको साझा उम्मेदवार बनेर बागलुङ–१ मा चुनाव लड्नुभएका पाठकले नेपाली कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार २९ मतले पछि पार्नुभएको थियो । पाठकको ३३ हजार छ सय ४५ र खड्काको २० हजार छ सय १६ मत आएको थियो ।   यो पाँच वर्षमा चुनावी समीकरण फेरिएको छ । हिजो एकै मोर्चामा रहेका दल अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई धु्रवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । दलमा विभाजन आएको छ । यो स्थितिले चुनावी गणितमा पनि फेरबदल ल्याएको छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनमा रहेका दुई मुख्य शक्ति नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा अहिले कांग्रेसलगायतको पाँच दलीय मोर्चामा छन् ।    यहीबीचमा एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनमा सामेल छ । अहिले सत्ता गठबन्धनका विरुद्ध एमाले एक्लै चुनावमा होमिएको छ । अघिल्लो चुनाव (२०७४) मा माओवादी र जनमोर्चासहितको मत लिएर जित्नुभएका पाठकलाई यसपाली पाँच दलीय गठबन्धनको चुनौती छ ।    गत वैशाखमा भएको स्थानीय तह चुनावमा पनि जिल्लामा सत्ता गठबन्धनसामु एमाले कमजोर देखिएको थियो । दसमध्ये एमालेले एउटा मात्र स्थानीय तहको प्रमुख जितेको थियो । बागलुङ–१ मा रहेका चारवटै स्थानीय तहमा पनि प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षलगायत अधिकांश वडामा गठबन्धन दलका उम्मेदवारले चुनाव जितेका थिए ।    चौध वडा भएको बागलुङ नगरपालिकामा तीन, १० वडाको जैमिनी नगरपालिकामा एक र आठ वडा भएको काठेखोला गाउँपालिकाका तीन वटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । पाँच वडा रहेको वरेङ गाउँपालिकामा भने एमालेले एउटा पनि वडा जित्न सकेको थिएन । यस क्षेत्रका कूल ३७ वडामध्ये एमालेका उम्मेदवार जम्मा सात वटा वडामा मात्र विजयी बनेका थिए ।   गत स्थानीय चुनावका उम्मेदवारले पाएको मतभारलाई आधार मान्दा गठबन्धनको जनमत बढी छ । तर गठबन्धनमा आबद्ध दललाई पनि आफ्ना मतदाता जोगाउने र चुनावी तालमेलको कागजी सम्झौतालाई मतमा परिणत गर्नुपर्ने चुनौती उत्तिकै छ ।    आआफ्नै दाबी   राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेता एवं सत्ता गठबन्धनको चुनाव परिचालन समितिका सदस्य थानेश्वर सुवेदीले स्थानीय चुनावमा झैँ यसपालि पनि गठबन्धनका पक्षमा परिणाम आउने दाबी गर्नुभयो ।   “गठबन्धनमा रहेका दलको जनाधार, विगत चुनावको मत आदिलाई हेर्दा चुनावी अङ्कगणितमा गठबन्धन धेरै अघि छ, ठूलो मतान्तरले हामी चुनाव जित्छौँ”, उहाँले भन्नुभयो, “अभियानमा मसिनो गरी लाग्ने, गठबन्धनको मर्मलाई शिरोधार्य गर्ने र हाम्रा मुद्दामा मतदातालाई सहमत गराउने कुरामा मेहनत चाहिँ गर्नुपर्छ ।”   चुनावमा हुनसक्ने गलत अभ्यास र चलखेललाई रोक्दै गठबन्धनमा आबद्ध पाँचै दलले आफ्नो मत सुरक्षित गर्नसके सजिलै चुनाव जितिने उहाँको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धन दलबीचको हार्दिकता र चुस्त समन्वयका कारण मत ‘ट्रान्सफर’मा कुनै समस्या नहुने बताउनुभयो । “यत्तिकै गठबन्धन बनेको होइन, राजनीतिक मुद्दामा हामी सही ठाउँमा छौँ, यो विषयमा मतदाता पनि स्पष्ट हुनुहुन्छ”, उहाँले भन्नुभयो, “गत स्थानीय तहको मत हेर्दा पनि पालिका र वडास्तरमा गठबन्धन अघि छ, गठबन्धनले चुनाव जित्नेमा कुनै शङ्का छैन ।”   अनुभवी, विवादरहित छवि, सङ्घर्षपूर्ण विगत र सरल जीवनशैली भएका अग्रज नेता केसीलाई मतदाताले सहजै जिताउने सचिव शर्माको भनाइ छ । “उमेरले पाको भए पनि विचार र जनजीविकाका मुद्दामा चित्रबहादुर केसी तन्नेरी हुनुहुन्छ, सधैं  लोकतन्त्र र अग्रगमनका पक्षमा आफूलाई उभ्याउनुभएको छ”, उहाँले भन्नुभयो ।      राष्ट्रिय राजनीतिमा प्रभाव राख्नसक्ने र ओजनदार व्यक्तित्व भएका कारण मतदाताले केसीलाई अनुमोदन गर्ने सचिव शर्माले बताउनुभयो । जसरी गठबन्धन दल आफ्नो मत सुरक्षित गरे मात्रै पनि चुनाव जितिने ठानिरहेका छन् उसैगरी अरु दलका र स्वतन्त्र मत तानेर चुनाव जित्ने रणनीतिमा एमाले छ । एमालेका जिल्ला सचिव विष्णु भुसालले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकाका कारण पनि मतदाताले यो चुनावमा एमाले रोज्ने बताउनुभयो ।    “विकास अभियानको थालनी, राष्ट्रियताका पक्षमा लिएको अडान आदि कारणले एमालेका उम्मेदवारलाई मतदाताले जिताउँछन्”, उहाँले भन्नुभयो, “बागलुङ–१ का हकमा पनि गठबन्धनकोभन्दा एमालेको उम्मेदवार नै अब्बल हुनुहुन्छ, संसद्मा अर्थपूर्ण उपस्थिति देखाउनसक्ने उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छौँ ।”   पाठकले विगत पाँच वर्षमा संसद्मा खेलेको सक्रिय भूमिकालाई मतदाताले स्मरणमा राखेको सचिव भुसालले बताउनुभयो । “नवीन सोच भएको, जोश र हिम्मतले भरिएको युवा पुस्ताको नेता एमालेबाट उम्मेदवार हुनुहुन्छ”, उहाँले भन्नुभयो, “जिल्लाको विकास निर्माणमा अगुवाइ गर्नेदेखि संसदीय राजनीति र अभ्यासमा पाठक छोटो समयमै लोकप्रिय हुनुभएको छ ।”   यस क्षेत्रमा ९६ हजार छ सय ६५ मतदाता छन् । तीमध्ये प्रदेशतर्फ (१) मा ५० हजार पाँच सय ८० र (२) मा ४६ हजार ८६ मतदाता छन् । विसं २०७४ को चुनावमा (१) बाट प्रदेशसभा सदस्यमा एमालेका इन्द्रलाल सापकोटा र (२) बाट जनमोर्चाका कृष्ण थापा विजयी बन्नुभएको थियो ।       अहिले प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनबाट (१) मा दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री चुनावी मैदानमा हुनुहुन्छ । (२) मा गठबन्धनले डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ । थापा गत चुनावमा एमालेका सापकोटासँग पराजित हुनुभएको थियो ।   खत्री, सुवेदी र पौडेल भने प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा बागलुङ–१ मा पराजित खत्रीलाई एमालेले प्रदेशको उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाउनुभएका सुवेदी ३९ वर्षको उमेरमा प्रदेशसभामा छिर्ने दाउमा हुनुहुन्छ । कांग्रेस त्यागेर केही महिनाअघि एमाले प्रवेश गर्नुभएका पौडेल पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रनुभएको छ । 

लमजुङ : लमजुङस्थित रेडियो भोटेवडारमा कार्यरत पत्रकार चाँदनी अधिकारकिो निधन भएको छ ।    डेंगी संक्रमणबाट लमजुङकी २३ वर्षीय  पत्रकार चाँदनी अधिकारीको निधन भएको हो । । उनी रेडियो भोटेओडारको समाचार शाखामा कार्यरत थिइन् ।   बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो। उनको आज बिहान ६ः३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ।   अध्यक्ष परमेश्वर अधिकारी र सचिव रूद्रहरि ढकालले निकालेको शोक विज्ञप्तिमा अधिकारीको निधनले लमजुङको पत्रकारिता क्षेत्रले आशालाग्दो, जुझारू पत्रकार गुमाएको उल्लेख छ।  

  पोखरा । पोखरा उद्योग वाणिज्य संघले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग बैंक तथा वित्तीय संस्थाहरुले एक्कासी बढाएको ब्याजदर घटाउनको लागि सहजीकरण गरिदिन आग्रह गरेकोछ । संघका अध्यक्ष पवनकुमार प्रजापति,वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की ,महासचिव बलराम आचार्य तथा उपमहासचिव शोभा गौतमसहितको प्रतिनिधिमण्डले मंगलबार मुख्यमन्त्री नेपालीलाई भेटेर सो आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य संघसहित देशका निजी क्षेत्रसँग सम्बद्ध संघ÷संस्थाहरुले आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्नेलगायतका माग राख्दै संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनको लागि संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।   भेटको क्रममा मुख्यमन्त्री नेपालीले बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए । ‘यस विषयमा प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय,बैंक तथा वित्तीय संस्थाहरुका प्रमुखहरुसँग छलफल गरेर समस्या समाधानको पहल गर्नेछ’,मुख्यमन्त्रीको भनाइ उधृत गर्दै महासचिव आचार्यले भने,‘ मुख्यमन्त्रीज्यूले निजी क्षेत्रले उठाएका मागहरु जायज छन् र ब्याजदर घट्नैपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिमण्डले पर्यटन,उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसँग पनि भेटघाट गरी यो समस्याबारे जानकारी गराएको छ ।   

  पोखरा । एमालेबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेद्वार दामोदर पौडेल बैरागी र कास्की ३ (२) का उम्मेद्वार राजीव पहारी चुनावी घरदैलो अभियानमा छन् । अभियानकै क्रममा ६० वर्षीया मोतीले एमालेलाई नै भोट हाल्ने बताइन ।    ६० वर्षीया मोतीले आफ्नो घरमा पहिरोले क्षति पुर्याएको सुनाइन् ।  त्यतिबेला तत्कालीन प्रदेश सांसद पहारी खाद्यान्न र पाल लिएर मोतीको घर पुगेका थिए । मोतीले भोट माग्न आएका पहारीलाई चिनिहालिन् ।  आफूलाई दुःख पर्दा राहत लिएर आएको पार्टीका उम्मेद्वारलाई भोट दिने भन्दै मोतीले ढुक्क भएर जान आग्रह गरिन् । ‘पहिला पहिरो जाँदा राहत लिएर आउनुभएको याद छ । भोट सूर्यमै दिन्छु,’ मोतीले उम्मेद्वारसँग आग्रह गरिन्, ‘जितेपछि मेरो घरको आँगन कसरी हुन्छ बनाइदिनु पर्यो  ।’ अन्नपूर्ण गाउँपालिका पाउँदुर कोटकी ७८ वर्षीय देवीकुमारी गुरुङको उम्मेद्वार बैरागी र पहारीसँग बाटोमै भेट भयो । उनले आफूले सधैँ एमालेलाई भोट हालेको र यसपटक पनि दिने बताइन् । ‘भत्ता दिने पार्टी हो भन्ने थाहा छ । कहिले यता, कहिले उता गर्ने मान्छे होइन । सधैँ एमालेलाई नै भोट हालेकी छु,’ उनले भनिन् ।  एमाले उम्मेद्वारद्वय बैरागी र पहारीले जनताका समस्या सुन्ने र त्यसलाई समाधान गर्ने वाचासहित आफ्नो चुनावी घरदैलो अभियानलाई जारी राखेका छन् । उनीहरू कास्कीको अन्नपूर्ण गाउँपालिका १, २ र ३ का बस्ती–बस्ती पुगेका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटासहित स्थानीय नेता–कार्यकर्ता उम्मेद्वारसँगै घरदैलोमा थिए ।  

  पोखरा । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी  मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको छ ।  नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भन्नुभयो,“राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स  व्यापक मात्रामा विस्तार भए, अब कांग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ”, नेता महतले भन्नुभयो ।  अघिल्लो सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही नगरेको र कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनुपर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन नपाएको नेता महतको आरोप थियो ।  पछिल्ला दिनमा अन्य पार्टीभन्दा कांग्रेस नै ठिक भनेर जनता कांग्रेसप्रति आकर्षित भएको उहाँको भनाइ थियो ।  संविधानको रक्षा, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने भनाइ उहाँको छ । देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई उहाँले आग्रहसमेत गर्नुभयो । “सबै पार्टीलाई सिट बाँड्दा कांग्रेसले सबै सिटमा उम्मेदवार उठाउने कुरा आएन, कांग्रेसभित्र एक से एक नेता उम्मेदवार हुन लायक छन्, अहिले टिकट पाइन भनेर असन्तुष्ट बन्न भएन”, नेता महतले भन्नुभयो,“म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै  लड्न पाइन् ।”  पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धन रोज्नु परेको हो ।” संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उहाँको भनाइ थियो ।  प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको माग अनुसार संविधान संशोधन गर्ने कांग्रेसको लक्ष्य रहेको जानकारी पनि डा महतले दिनुभयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डीला सङ्ग्रौलाले निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने हुँदा आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । “काम गर्ने पार्टी कांग्रेस हो, तर जनतामाझ प्रचारप्रसार गर्न नसक्दा पछि परेका छौँ”, डा सङ्ग्रौलाले भन्नुभयो ।

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौंरी  स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्नुहुन्छ ।    हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गर्नुभएको छ । यो समयमा उहाँको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ । पुस्ताँैदेखि चौँरीपालन व्यवसाय गर्दै आउनुभएका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो ।    चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उहाँले सुनाउनुभयो । “पढेको छैन, अरु सीप पनि छैन”, शेर्पा भन्नुहुन्छ, “परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।”   वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ”, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्नुहुन्छ, “चाँैरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ”, बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उहाँ बताउनुहुन्छ ।   खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् ।    छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर रु दुई लाखसम्म आम्दानी हुने बताउनुहुन्छ । “आफँै बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ”, शेर्पा भन्नुहुन्छ, “दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।” शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।   बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उहाँ चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सक्नुभएको छैन ।    “गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ”, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भन्नुभयो, “बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन ।”   साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चाँैरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो ।

गलकोट : बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो ।   बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ ।   बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताउनुभयो । “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उहाँले भन्नुभयो । ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ ।   यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । “पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ”, बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहनुभएका श्रीसले भन्नुभयो, “अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।”   दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ । गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो ।    करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउनुहुन्छ ।   भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको रु दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् । 

पोखरा : कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए ।    माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं ।’   पोखरा १७ को प्रगति टोलमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै लामिछानेले गरिब, उत्पीडित, भूमिहीनको हितका लागि माओवादीले निरन्तर आवाज उठाउँदै आएको स्मरण गरे । निर्वाचनमा विजयपछि जनताका मौलिक हक र अधिकारको ग्यारेन्टी हुने उनको आश्वासन छ ।   ‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन, ‘लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’सबैलाई समान शिक्षा, स्वास्थ्यको अधिकार दिलाउन, रोजगारीको ग्यारेन्टी गर्न लाग्ने उनले प्रतिवद्धता गरे । मौका पाउँदा आफूले जिम्मेवार ढंगले उत्तरदायित्व निर्वाह गरेको उदाहरण दिदै उनले गरिबी, अशिक्षा, आर्थिक असमानता रहेसम्म नयाँ नेपाल नबन्ने उल्लेख गरे । व्यवस्था परिवर्तनको नेतृत्व गर्ने माओवादीले मात्र अब समृद्धिको नेतृत्व गर्न सक्ने उनको भनाइ छ ।   नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य श्यामप्रसाद भण्डारीले देशको विकास, स्थिरता र लोकतन्त्रका लागि गठबन्धनको जित जरुरी रहेको औंल्याए ।   प्रगति टोल विकास संस्थाका अध्यक्ष राकेश शर्माले आफ्नो टोलमा रहेका समस्या प्रस्तुत गर्दै विकासको खाका र इच्छाशक्ति भएका उम्मेदवारले चुनाव जित्नुपर्ने बताए ।