पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
पोखरा । थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन । यसैगरी एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए ।
पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।
पोखरा : पोखरा ९ नयाँबजारस्थित तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले तमु धिं नेपालका महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ। साधारणसभामा आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएका गुरुङ उम्मेदवारहरुलाई परिचयका साथै विजयीको शुभकामना व्यक्त गरिएको थियो। विभिन्न राजनीतिक दल एवम स्वतन्त्र २२ जना प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष एवम् समानुपातिक उम्मेदवारहरुलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सल्लाहकार मे.डिलबहादुर गुरुङ लगायतले टिका र खादा लगाएर विजयीको शुभकामना व्यक्त गरिएको थियो। साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख तथा तमु धिं नेपालका आजिवन सदस्य मञ्जुदेवी गुरुङले तमु धिं नेपालले तमु समुदायको पहिचान, एकता, अग्रगति र सामुहिकताको विकासका सँगै समृद्ध समाज एवम राष्ट्र विकासका लागि उदाहरणीय भुमिका निर्वाह गर्नुभएको भन्दै प्रसंशा व्यक्त गर्नुभयो। उहाँले राज्यबाट धेरै श्रोत र अधिकारहरुको व्यवस्था भए पनि हामी सचेत हुदाँ प्राप्त गर्न सक्ने बजेट, योजना, कार्यक्रमहरुबाट बञ्चित हुनुपरेकोमा सबैले राज्यबाट पाउने सेवा सुविधाबारे जानकारी राख्न र सुविधा प्राप्त गर्न आग्रह गर्नुभयो।पोखरा महानगरपालिकाले विकास, क्षमता अभिवृद्धि, संरक्षण सम्वद्र्धन लगायतका विषयमा धेरै कार्यक्रमहरु अघि सारेको जानकारी गराउनुहुदै तमु समुदाय, समाज र तमु धिंसँग सहकार्य गर्न चाहेको बताउनुभयो। कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमु धिं नेपालको स्थापना, विकास र ३८ औं वार्षिक साधारणसभा सम्म विकासका सन्दर्भका बारेमा चर्चा गर्नुहुदै आगामी निर्वाचनमा उम्मेदवार बन्नु भएका तमुहरुलाई विजयीको शुभकामना व्यक्त गर्नुभयो। शुभकामना व्यक्त गर्नुहुदै ङ्योए तमु धिंकी महासचिव काशिमाया गुरुङले तमुहरुको एकताबाट नै शक्ति निर्माण हुने भएकाले तमु धिं नेपाल र ङ्योए तमु धिंको कार्यगत एकता मात्र नभई संस्थागत एकता आवाश्यक रहेको बताउनुभयो। अब तमु धिंकै नामबाट अघि बढौं सामाजिक, साँस्कृतिक, राजनीतिक अधिकार धेरै प्राप्त गर्न सकिन्छ भन्दै तमु उम्मेदवारहरुलाई विजयीको शुभकामना व्यक्त गर्नुहुदैं निर्वाचित भईसकेपछि समुदायप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो। तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङले शुभकामना व्यक्त गर्नुहुदै साउदी अरबमा संस्था स्थापना, संस्थाको उद्धेश्य, तमु धिं नेपालसँगको सम्बन्धका बारेमा चर्चा गर्नुहुदै विदेशमा रहेका तमु संघ संस्थाहरुसँग सम्बन्ध विस्तारका लागि पहल रहने बताउनुभयो।यसै बिच आगामी अधिवेशनबाट प्रवास शाखाका तर्फबाट साउदी अरबको सिफारिसमा एक जना कार्यसमितिका लागि प्रतिनिधित्व गर्ने, तमु धिं नेपाल साउदी अरब प्रवास शाखाको आजीवन सदस्यता तमु धिं नेपालमा कायम रहने र प्रवास शाखाहरुको समन्वय गर्ने जिम्मेवारी साउदी अरबका अध्यक्ष खेम गुरुङलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ। कार्यक्रममा तमु धिं नेपालको नरबहादुर गुरुङ(नरजंग)पोखरा १३ समृद्धि टोल निवासी १ लाख १ हजार ११५ रुपैया प्रदान गर्दै तमु धिं नेपालको संरक्षक सदस्य बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गरिएको थियो भने तमु धिं नेपालका साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङ र तमु धिं जापानका पुर्व अध्यक्ष श्रीभक्त गुरुङलाई स्वागत एवम सम्मान गरिएको थियो। तमु धिं नेपालको अध्यक्ष हुुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, स्वागत नृत्य तमु धिं नेपाल केन्द्रिय आमा समिति र सञ्चालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।
पोखरा । नवौै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)का अजित यादव र नागेश्वर अहिर क्रमश ः दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३ दशमलव ११ सेकेन्ड समय लगाउँदै दोस्रो भए भने नागेश्वरले तीन मिनेट ५६ दशमलव पाँच सेकेन्ड समय खर्चदै तेस्रो भए । सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् । फुलमतीले चार मिनेट ३८ दशमलव १९ सेकेन्ड समय लगाउँदै पहिलो बनेकी हुन । रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलव ८० सेकेन्ड समय लगाइन् । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पारिन । उनले पाँच मिनेट ०३ दशमलव ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् । त्यसैगरी आजै भएको सटपुटतर्फ तिलक विक र चन्द्रकला लामगादेले स्वर्ण जिते । त्रिभुवन आर्मी क्लबका तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । सोही स्पर्धामा वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कास्य पदकमा चित्त बुझाए । यसैगरी एक सय मिटर दौडको पुरुषतर्फ शिवराज पार्की र महिलामा सरस्वती चौधरीले स्वर्ण जिते । सशस्त्र प्रहरी बलका शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण विजेता शिवराजले निर्धारित दूरी १० दशमलव ५९ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा आर्मीका युवराजले १० दशमलव ५८ सेकेन्ड समय लगाउँदै रजत पदक जिते भने त्रिभुवन आर्मी क्लबका डिल्ली भण्डारीले कास्य पदक जिते । उनले १० दशमलव ७० सेकेन्ड समय लगाए । सोही स्पर्धाको महिला विधामा स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले निर्धारित दूरी १२ दशमलव १३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले स्वर्ण पदकसहित राष्टिय कीर्तिमानसमेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२ दशमलव १५ सेकेन्ड समय लगाएकी थिइन । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२ दशमलव ९३ सेकेन्ड समय खर्चेकी थिइन् । त्यस्तै दश हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी थिइन् ।
पोखरा । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित हात पारेर एक खेल अगाबै सेमिफाईनलमा स्थान बनाएको छ । पोखरामा शनिबार भएको खेलमा नेपाल एपीएफ क्लबले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको छ ।एपीएफले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ७ विकेट ७४ रन बनायो । मधेशका लागि कप्तान कविता गौतमले अविजित १३ तथा सरस्वती कुमारीले १३ रन बनाईन् । अनुराधा चौधरीले ११ रनमा आउट भईन् । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि नेरी थापाले ३ तथा ईन्दु बर्मा,सुमन विष्ट,सुस्मा श्रेष्ठ र सरिता मगरले समान १र१ विकेट लिए । पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले अविजित १७ तथा राजमती ऐरीले १६ रन बनाईन् । ज्योती पाण्डेले १५ रन जोड्दा नेरी थापाले १२ रन बनाएकि थिईन् । कप्तान सिता राना मगर र रोमा थापाले समान ८८ रन बनाएकि थिईन् । मधेशका लागि सरस्वती कुमारीले ३ तथा कविता गौतम र शान्ति चौधरीले समान २र२ विकेट लिए । जितसँगै एपीएफ ३ खेलमा ६ अंक जोड्दै समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाईनल प्रवेश गरेको छ । मधेश भने ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । मधेशको सेमिफाईनलको सम्भावनामा कायमै रहेको छ । समूह ‘बी’ बाट भने समूह बिजेताका रुपमा पुलिस क्लब र उपबिजेताका रुपमा लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् । आजनै हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश(१ र लुम्बिनी प्रदेश रहेको छ ।
पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको हो । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको हो । राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेन्ड समय खर्चदै दोस्रो स्थानमा रहनुभयो । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)की पुस्पा भण्डारी तेस्रो रहनुभयो । पुस्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहुनुभएको हो । सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जित्नुभएको थियो । त्यतिबेला उहाँले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ । खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताउनुभयो । उहाँले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रर्दशन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताउनुभयो । शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो
पोखरा: ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले एक समारोहकाबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सोही अवसरमा आतिसबाजी गरिएको थियो । समारोह व्यवस्थापन उपसमितिका संयोजक एकेन्द्र कुँवरका अनुसार करिब १२ लाखको आतिसबाजी गरिएको हो । हेर्नुहोस् तस्बिरहरु:-
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल भोलिदेखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा प्रतिष्पर्धा गराईनेछ भने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा गराइनेछ । साइक्लिङको तयारी पुरा भइसकेको हुँदा शुक्रबार (आज) खेलाडीलाई ट्रयाक चिनाउने कार्य गरिएको नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदिप पौडेलले जानकारी दिए । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताए । साइक्लिङ खेल अन्तरगत शनिबार पोखराको तितेपानी रानीवन क्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै आइतबारपनि सोहि क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुने आयोजकले जनाएको छ । ४ विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् ।

