पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

म्याग्दी:    दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ ।       च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् ।  गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताउनुभयो ।   “ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,” उहाँले भन्नुुभयो “गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा रु। ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम हुन्छ ।” गत वर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए ।       छेवाङ सहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिडेर दुई सय ५०  च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुग्नुभएको छ । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।        म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ ।       दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमख लालमणी अर्यालका अनुसार बुधबार सम्म सात हजार च्याङग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन् ।       यस वर्ष दशैँका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिँडाएर ल्याएका च्याङग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ ।       तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् ।  उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताउनुभयो । विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पोखरा:    गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो ।  गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । गीत निरा थापा मगरकोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई समेत समेटेको छ । आमा प्रति सम्मान गर्दै गीत निर्माण गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारको पूर्व सांसद समेत रहेका बिष्टले आमाको सम्झनालाई आत्मसात् गर्दै गीत लेखेको सुनाए । उसो त बिष्टले एक वर्ष अघि सार्वजनिक गरेको गीत “मुस्ताङे नानी” लाई निकै रुचाइएको थियो । युटुबमा उक्त गीतलाई हेर्नेको संख्या १७ लाख माथी छ । मुस्ताङे नानी जस्तै आफ्नो नयाँ सिर्जनालाई समेत दर्शकले मन पराउनेमा उनी आशावादी छन् । मुस्ताङ जिल्लाको लोमान्थाङ र कोरला नाकाको वरिपरि छायाँकन गरिएको भएर पनि होला म्युजिक भिडियो उत्कृष्ट बनेको छ । उक्त गीतले लोमान्थाङको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास बिष्टको छ । अपर मुस्ताङको रहनसहन र सामाजिक अवस्थालाई समेत गीत मार्फत दर्शाउन खोजिएको छ ।

काठमाडौं:    प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौंको कागेश्वरी र नयाँ बसपार्क क्षेत्रबाट २९ जुवाडेलाई पक्राउ गरेको छ ।  प्रहरीले जुवाडेका साथबाट रु ११ लाख ४८ हजार पाँच सय नगदसमेत बरामद गरेको छ ।           काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना र काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित त्रिपुरासुन्दरी होटल एण्ड लजबाट १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।        प्रहरीले उनीहरूका साथबाट ६२ थान कौडा, २६ थान मोबाइल र कौडा राख्ने भाडालगायत सामग्री बरामद गरेको छ ।

पोखरा:    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत पोखरा– चितवन सौराहाका लागि रोयल पोखराको २ वटा सुविधासम्पन्न बस सञ्चालनमा आएको छ ।    दुई पर्यटकीय गन्तव्य जोड्ने गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगन्द्र बहादुर केसीले करिब १ करोड ५० लाखको लागतमा घटस्थापनाको अवसर पारेर आजदेखि सेवा सुरु गरको हो ।   पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका संरक्षक तथा वरिष्ठ यातायात व्यवसायी केशव अधिकारीले उक्त बस सेवाको शुभारम्भ गरेका हुन् ।      उक्त बस पर्यटक बसपार्कबाट छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए ।    उनले विभिन्न समस्या तथा चुनौतीको सामना गर्दै यात्रुहरुलाई गन्तव्य पु¥याउन लागि परिरहेको बताए ।    ‘देशमा बाढी पहिरो लगायतका विभिन्न कारणले सार्वजनिक यातायात सञ्चालन गर्न धेरै चुनौतीहरु सृजना भएका छन्’, अध्यक्ष केसीले भने, ‘तथापी हामी यातायात व्यवसायी मजदुरहरु आत्मविश्वासका साथ प्रस्थान बिन्दुबाट गन्तव्य विन्दुमा पु¥याउन लागि परिरहेका छौं, ।’    उनले यात्रुहरुलाई सुविधासहितको सेवासहित पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बस पोखरा–चिवतन सौराहा लागि बस सञ्चालनमा ल्याएको समेत बताए ।      ‘यात्रुहरुलाई कति सकिन्छ सुविधासहितको सेवा दिने प्रयास गरिरहेका छौं, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बसहरु सञ्चालमा ल्याइरहेका छौं’, उनले भने, ‘ सोही सन्दर्भमा पोखरा–चितवनको सौराहा जोड्ने बसको शुभारम्भ गरेका छौं, यसरी नै हामीले पर्यटकीय गन्तव्यलाई जोड्ने गरी भिआईपी गाडी सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।’   सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यसहित दुर्घटनारहित सेवा सञ्चालन गर्ने लक्ष्यसहित यातायात व्यवसायीहरु लागि परिरहेको बताए ।    उनका अनुसार पोखरा– चितवनको सौराहा र सौराहा–पोखरा बिहान ७ बजे बस छुट्नेछ । भने, भाडादर १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।       

पोखरा:     पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ ।     गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो ।  नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा  दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ ।  विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ । फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ ।   फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ । अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ । यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्दीका ढाल, तरबार र तोप प्रदर्शन गरिन्छ ।  विन्ध्यावासिनी मन्दिरमा पनि महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०६४ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवभर देवीभागवत ज्ञान महायज्ञ पनि हुँदैछ 

सप्तरी:    सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ ।      कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो ।  गर्मीयाम होस् या चाडपर्वका बेला सधैँजसो चहलपह हुने यस स्थानमा पुनः पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताउनुभयो ।  कोशी पुलमा दशैँ सुरु भएदेखि यहाँ विभिन्न ठाउँबाट वनभोज मनाउन आउनेको धेरै भीड लाग्ने गरेकामा यस वर्ष पनि सोही अवस्था कायमै रहने विश्वास जागेको उहाँको भनाइ छ ।  “विशेषगरी कात्तिक, मङ्सिर, पुस, माघ र फागुनमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “कोशी ब्यारेजको अवलोकन र भम्रण गर्न बढी भारतको विहारबाट आउने गर्दछ ।”  केही दिनअघि कोशी ब्यारेजमा भेटिनुभएका भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले बाढीले यहाँको अवस्था त्रस्त रहे पनि विस्तारै सहज बन्दै गएको र भारतबाट पनि यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या बढ्न थालेको सुनाउनुभयो ।  “म यहाँ पहिलोपटक आएको हो वास्तवमै राम्रो रहेछ । यहाँको हावापानी पनि निकै राम्रो छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेको भए यहाँ धेरै मान्छे आउँथे । यहाँका जनता र सरकारलाई फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो ।  सोही ठाउँका शम्भु यादवले कोशी ब्यारेजको अवलोकन गर्न सुपोलबाट धेरैजसो विद्यार्थी घुम्न आउने गरेको बताउनुभयो । नजिकै रहेको कोशी क्षेत्रमा उनीहरू वनभोज, घुम्नघाम र रमाइलोका लागि आउने गरेको उहाँको भनाइ छ ।  “वर्षाका कारण केही दिन पहिले निकै समस्या भयो । हामीले सोचेका थियौँ, अब त तहसनहसका अवस्था पो आउँछ कि तर त्यस्तो भएन । फेरि चहलपहल देख्दा खुसी लागेको छ”, उहाँको भनाइ थियो  ।

म्याग्दी:     धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ ।       स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।  “वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो,” उहाँले भन्नुभयो, “स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ ।”       सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाले अघिल्लो वर्ष वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको थियो । वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् ।

काठमाडौं:    केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ ।  वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी दिइएको छ । बाढीपहिरोबाट सेनाका केही व्यारेकमा क्षति भएको  जनाइएको छ ।  बाढीपहिरोका घटनालगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा तत्कालै परिचालन भइ खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दैआएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बाँके:    चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन् ।  भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ ।  दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।  “चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्”, उहाँले भन्नुभयो । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । यसअघि दैनिक आठदेखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको हो । चाडपर्वको बेला १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आकलन छ ।  बाँकेमा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।  त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाका घटनालाई कम गर्नेगरी सुरक्षा योजना तयार गरिएको प्रहरी उरीक्षक कार्कीेले बताउनुभयो ।  उहाँका अनुसार नेपालगञ्ज भन्सार जमुनाहा नाका, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा सहायता कक्ष स्थापना गरिने छ । चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसको चहलपहल बढी हुने भएकाले गाउँमा समेत सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ ।  विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानमा सादा पोशाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको कार्कीले जानकारी दिनुभयो ।  यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वका बेला लागुऔषध ओसारपसार बढ्ने आशङ्का भएकाले कोहलपुरमा तालिमप्राप्त कुकुर परिचालन गरेर जाँचमा तीव्रता दिइएको जनाएको छ ।  इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चाडपर्वका मानिसको भीड बढी हुनेहुँदा लागुऔषधको ओसारपसार बढ्ने आशङ्का रहेकाले यस्ता कार्य नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताउनुभयो ।