काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आव्हान गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्य मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गर्नुभयो । “यो पीडा सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरूपमा सबल संरचना बनाइनेछ ।” प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुरालाई सच्च्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ । होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सोझै सेवा लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत्भार (लोड) स्वीकृत पाएको छ । त्यसमध्ये हाल दैनिक रुपमा १० मेगावाटलोड लिइरहेको प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणा अनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।
काठमाडौं: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । “भर्खरै मात्र अविरल वर्षाले नेपाल देशभर मुख्य तथा सहायक राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको मौकामा एक्कासी हवाई यात्राको मुल्यको चरम वृद्धि हुँदा आम जनता प्रत्यक्ष मारमा परेका छन्, जसको गुनासो सामाजिक सञ्जालमा र सञ्चार माध्यमबाट समेत प्रकट भइरहेको छ”, ज्ञापनपत्रमा भनिएको छ । अबिलम्ब हवाई भाडाको मुल्यलाई वैज्ञानिक रुपमा नियन्त्रण, नियमन र समायोजन गर्न तथा यस विपद्को घडीमा कालोबजारी र मुल्यवृद्धिमा संलग्न हवाई यातायात सञ्चालक तथा संलग्न सबैलाई निष्पक्ष छानविन गरी कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले मन्त्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुले हवाई यातायातमा विद्यार्थी सहुलियतको नीतिगत प्रबन्ध गर्नसमेत माग गरेको छ । ज्ञापनपत्रमा वायुसेवा कम्पनीहरुको प्रभावकारी नियमन र नेपाल एयर लाइन्सको प्रभावकारी सञ्चालन गर्न पनि माग गरिएको छ । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चाँडपर्व र यस्तो विपद्का बेलामा बढी भाडा नअसुल्न निर्देशन दिइसकिएको र जुनसुकै हालतमा पनि भाडा बढाउन नदिइने बताउनुभयो । साथै उहाँले अखिलले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौं: प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु(याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो । सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ ।
ललितपुर: गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने रु” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास हुनुहुन्छ उहाँ । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म नआउने हो रु तनावै गरायो,” उहाँ भन्नुहुन्छ । गोदावारी–१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ । पानी आउला कि भन्ने आशामा बसेको चार दिन बितिसक्यो । “खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितहरुको हालत अझै कस्तो होला ?” अर्याल भन्नुहुन्छ । खुमुलटार बस्ने मनमाया गुरुङ उमेरले ७० पुग्नै लाग्नुभयो । छोराबुहारी विदेश छन् । श्रीमान् पनि ७५ वर्ष टेक्नुभयो । बुढ्यौली शरीर । घरमा पानी छैन । बोकेर ल्याउन पनि सक्नुहुन्न । “जारकै पानीले गुजारा चलाएका छौँ, जारको पानी चलाएर कहिलेसम्म पुग्छ र ?”, उहाँ भन्नुहुन्छ । हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउनुहुन्छ महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट । “यहाँ हिजोसम्म टेलिफोन सम्पर्क नै भएको थिएन, खानेपानीको पनि उस्तै समस्या छ, न त कतै गएर पानी ल्याउन सक्ने सम्भावना छ, बाटो पनि छैन,” उहाँले भन्नुभयो, “विशेषगरी पहिरोले खानेपानीको स्रोत पुरिँदा चन्दनपुर, मानीखेल, टण्डनपुरवासीलाई समस्या भएको छ ।” रामेछाप घर भई हाल जडीबुटी बस्दै आउनुभएकी प्रभा श्रेष्ठको धारामा पानी त आएको छ । तर धमिलो छ । “पानी धमिलो छ, छुन समेत घिन लाग्छ कसरी खानु ? पिउनका लागि जारकै पानी प्रयोग गरे पनि कपडा धुन, भाँडा सफा गर्न, नुहाउन पानीको समस्या छ”, उहाँ भन्नुहुन्छ । काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ । पिउनसम्म त जारको पानी नै प्रयोग गर्नुहुन्छ तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उहाँ धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्नुहुन्छ । “खानका लागि जारको पानी प्रयोग गरेका छौँ तर लुगा धुन, भाँडा सफा गर्नलगायतका अन्य प्रयोजनका लागि बागमतीको पानी ल्याएर गुजारा गरेका छौँ,” उहाँ भन्नुहुन्छ । उहाँहरु त केही प्रतिनिधि पात्र मात्रै हुनुहन्छ । बाढी, पहिरोजस्ता विपद्ले थपिएको पीडा त छँदैछ । त्यसमाथि खानेपानी नपाउँदा जीवन गुजारा गर्न धौधौ हुने यस्ता थुप्रै पात्र हुनुहुन्छ । पानीको मुहान पुरिएको छ । पाइपलाइन क्षतविक्षत भएको छ । कतै मूल खोज्दै जाने बाटोसमेत छैन । गत शुक्रबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण राज्यले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ । नेपालीको महान् चाड दशैँ नजिकिँदै गर्दा यो प्राकृतिक विपद्को घटनाले दुई सयभन्दा बढीले कालमै ज्यान गुमाउनुप¥यो भने कतिको घर भत्किने, पुरिने हुँदा अब कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ । विपद् प्रभावित क्षेत्रहरुका बासिन्दाले भोग्नुपरेको चरम खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने दायित्व सरकारलाई थपिएको छ । पीडितले पानीविनाको जीवन कसरी कटाएका होलान् ? पानी नै पाए पनि कतै ढलसहित मिसिएको छ ? कतै धमिलो खोला छिरेको छ ? प्रभावित क्षेत्रका जनतालाई यतिबेला सफा खानेपानीको पहुँच अत्यन्त जरुरी छ । पहिरोका कारण अधिकांश स्थानमा खानेपानीको मुहान नै पुरिएकाले समस्या भएको बताउनुहुन्छ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का प्रवक्ता प्रकाशकुमार राई । “वर्षाका कारण फर्पिङ हेल्थपोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा ठूलो क्षति पुगेका कारण ललितपुरका अधिकांश स्थानमा पानीको समस्या भएको छ,” उहाँले भन्नुभयो, “धेरै ठाउँमा खानेपानीको स्रोत नै पुरिएको छ, मर्मतका लागि जाने बाटो पनि छैन ।” उहाँका अनुसार खुमालटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण गर्ने योजना छ । राईले गुणस्तरीय पानी उपलब्ध गराउन केयुकेएलले पानी प्रशोधनको प्रक्रिया अपनाएर वितरण गरेको भए पनि बीचमा पाइपलाइन बिग्रिएर फोहोर पानी छिरेको हुनसक्ने हुँदा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न अनुरोध गर्नुभयो । अधिकांश स्थानमा बाटो बिग्रिएको, हिलो जमेकाले गर्दा क्षतिको अवस्थाबारे अवलोकन गर्न र सुधारका लागि आवश्यक प्रक्रिया अपनाउन समेत गाह्रो भएको उहाँको भनाइ छ । “अहिले नै कति क्षति भयो भन्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो मर्मत गर्ने छौँ ।” वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अब सरकारले नागरिकको मौलिक हक प्रत्याभूतिका लागि पहल गर्नुपर्ने बताउनुभएको छ । “नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने अधिकार प्रमुख हकका रुपमा राखेको छ,” उहाँले भन्नुभयो, “स्वच्छ खानेपानी पाउनु र स्वास्थ्यसम्बन्धी नागरिकको हक उपलब्ध गराएर उनीहरुलाई बचाउन राज्यलाई स्रोत साधन छैन भन्ने छुट अब हुन्न ।” उहाँले फोहोर पानीका कारण महामारी फैलने सक्ने खतरा भएकाले समयमा नै पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । राहतमा खानेपानी वितरण गर्न माग खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बाढी पहिरोको कारण खानेपानीको चरम समस्या भोग्नेहरुलाई राज्यले खानेपानीको राहत वितरण गर्नुपर्ने बताउनुभएको छ । तत्कालका लागि खानेपानीको व्यवस्थापनमा समस्या रहेका स्थानहरुमा चाँडोभन्दा चाँडो खानेपानी राहत वितरण गर्न नसके सर्वसाधारणमा अर्को समस्या आइपर्ने उहाँको भनाइ छ । “बाढी पहिरोको जस्ता प्राकृतिक विपद् आएमा खानेपानी तथा सरसफाइको वैकल्पिक पूर्वतयारी हुन सकेन, अब विपद्पछि पनि समस्या पहिचान गरेर समयमा नै राहत उपलब्ध गराउन आवश्य छ,” अर्यालले भन्नुभयो, “समस्या भएको क्षेत्रमा चाँडोभन्दा चाँडोे काम गर्नका लागि हामीले पनि सरकारदेखि दातृ निकायसँग पनि कुरा गरिरहेका छौँ ।” बाढीका कारण धेरै उपभोक्ताहरुले प्रदूषित खानेपानी पिउनुपरेको भन्दै उहाँले स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रदूषित पानीले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने जनस्वास्थ्यविद् डा समीर अधिकारीले विपद्को बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताउनुभएको छ । “बाढी, पहिरो, ढुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ, फोहोर पानी पिउँदा पखला, टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,” उहाँले भन्नुभयो, “विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनहितका लागि जारी गरेको सूचनामा विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने र यस्तो समयमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुने सम्भावना अधिक रहने उल्लेख छ । “दूषित पानीबाट सर्ने रोग, लामखुट्टेको टोकाइबाट सर्ने रोगलगायत रोगहरूको सङ्क्रमण हुनेगर्छ । मन्त्रालयका अनुसार सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने, खाना पकाउनुअघि, खाना खानुअघि, बालबालिकालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचीमिची हात धुन लगाउनुपर्छ । चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ र बालबालिकाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्ने, फोहरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्ने, झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयका भनाइ छ । लामखुट्टेबाट रोग सर्ने सम्भावना अधिक हुने भएकाले वर्षाका कारण आसपासमा भरिएका पानीलाई हटाउने वा बगाइदिने, वर्षाका कारण भाडाहरुमा पानी भरिएका छन्भने त्यसलाई बगाइदिनुपर्ने मन्त्रालयले जानकारी गराएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ को प्रभावकारी रुपमा कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभएको छ । खानेपानी तथा सरसफाइ विषयगत क्षेत्रको बैठक आयोजना गरी बाढी, पहिरो एवं पानीजन्य विपद् जोखिमको नक्साङ्कन गर्नुपर्ने उहाँको भनाइ छ । कार्ययोजनामा उल्लेख भएअनुसार सरसफाइ र शुद्ध पानी पिउनका लागि जनचेतना अभिवृद्धि गर्ने, बाढी र पहिरोको जोखिमबाट ‘ल्यान्डफिल्ड साइट’ सुरक्षित गर्न आवश्यक तयारी गर्ने बाढी र पहिरोको जोखिमबाट क्षतिग्रस्त हुने सम्भावनालाई दृष्टिगत गरी वैकल्पिक ‘ल्यान्डफिल्ड साइट’ पहिचान गर्नुपर्ने अर्याल बताउनुहुन्छ । ‘खानेपानीका लागि अत्यावश्यक पाइपलगायत निर्माण सामग्रीको पर्याप्त मौज्दात राख्ने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बद्ध क्षेत्रसँग समन्वय गरी कार्य गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘शुद्ध खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सामग्रीको प्रचारप्रसारमा वृद्धि गर्ने, बाढी, डुबान र पहिरो जोखिमयुक्त बस्तीहरूमा चुन छर्कने र निःसङ्क्रमित गर्ने व्यवस्था मिलाइनेछ ।’ सरसफाइ, खानेपानी, चर्पी र हात धुने व्यवस्था मिलाउने, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई चुस्त राख्न आवश्यक मर्मतसम्भार गर्ने कार्ययोजनामा उल्लेख छ । बाढी, पहिरो प्रभावित क्षेत्रमा पानी शुद्धीकरण गर्न क्लोरिन वितरण गर्ने, डुबानको बेला पानीलाई कसरी पिउनयोग्य बनाउने भन्ने सीप विकासमा जोड दिने पनि कार्ययोजनामा व्यवस्था गरिएको छ । खानेपानी तथा सरसफाइका अवरुद्ध संरचनाहरूलाई अद्यावधिक राख्न आवश्यक सामग्रीहरूको सुनिश्चित गर्ने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेश राजधानी तथा जिल्लाहरूमा पर्याप्त मात्रामा खानेपानीका पाइपहरुको मौज्दात राख्नुपर्नेलगायत व्यवस्था गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको बताउनुभयो । सो दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्वपूर्ण भएका बताउनुभयो । प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसद्मा गरेको सङ्कल्पबमोजिम काम गरेर स्वदेश फर्किएको बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गर्नुभएको प्रस्ताव संसदीय दलबाट पारित भएको छ । प्रधानमन्त्री ओलीले बाढी, पहिरो, क्षति र उद्धारका सम्बन्धमा हालसम्म भएका प्रगतिबारे आज दिउँसो हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताउनुभयो । उहाँले बाढीपहिरो र प्राकृतिक विपद्बाट मुलुक आक्रान्त भएकामा आफूहरु सबै दुःखित भएको बताउँदै विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूकोे शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । सरकारले घाइतेहरुको यथोचित उपचार गर्ने जानकारी गराउनुभयो । “सरकारका तर्फबाट उद्धार र राहतको कार्यका साथै अवरुद्ध भएका राजगमार्गमा अस्थायी रुपमा बाटो खोल्ने कार्य भएका छन् । सुरुमा उद्धार र राहतका काम पर्याप्त भएनन् भन्ने गुनासो आएका थिए । कुनै गुनासाप्रति हामी प्रतिवाद गर्दैनौँ । जनतालाई परेको दुःख हामीलाई परेको दुःख हो । हामी जनताका सेवक हौँ । सेवाभावका साथ लाग्न म सबैलाई आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीले भन्नुभयो । “राहत कोषमा सङ्कलन हुने रकमको सही सदुपयोग गरिनेछ ।”
पोखरा: पोखरामा सम्पन्न भएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ धादिङ स्पोर्टस् क्लबले जितेको छ । छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज (मंगलबार) भएको फाइनल खेलमा धादिङ स्पोर्टस क्लबले नदीपुर एफसीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा नदीपुर एफसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । धादिङले पहिलो सेट २५–१८ ले सहजै जितेपनि दोस्रो सेट २६–२८ ले गुमाएको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको धादिङले उत्कृष्ट पूनरागमन गर्दै २४–२१ बनाएपनि सेट गुमाएको थियो । तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले जित्दै धादिङले उपाधि जितेको हो । यो पनि पढ्नुहोस क्लबस्तरीय भलिबल: उपाधिका लागि गलकोट र एपिएफ भिड्ने उपाधि जितेको धादिङले ५० हजार र उपविजेता भएको नदीपुर एफसीले ३५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फ गल्कोट स्पोर्टस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनबीच केही समयमा उपाधिका लागि प्रतिस्पर्धा हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ रङरोगन भइरहेको गाउँपालिकाले जनाएको छ । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणको ठेक्का ऋषि शक्तिरहोम निर्माण जेभी कम्पनीले पाएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । अस्पताल भवन निर्माण गर्न सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको थियो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा छन्”, उहाँले भन्नुभयो, “अब अस्पताल सञ्चालनमा आएसँगै यो समस्या समाधान हुनेछ ।” अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार ‘हेल्थ असिसटेन्ट’ र दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहने छ ।

