पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

काठमाडौं:    नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम)सम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा)मा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौताअनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ । उक्त सम्झौतापश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गर्नुभएको थियो । स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री राणा आजै वाशिङ्टनबाट दोहा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिनुहुनेछ ।

सुनसरी:    सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गर्नुभएको थियो ।       केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उहाँसँगै जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताउनुभयो । प्रतिबिघा रु ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा नभएको उहाँको भनाइ छ ।      देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिनुभएको थिएन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । उहाँले करिब दुई बिघामा धानखेती गर्नुभएको थियो । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताउनुभयो ।            देवनारायणले घुटराज जातको धान लगाउनुभएको थियो । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगानीमा क्षति भएको स्थानीय किसान रामवृक्ष मेहताले उल्लेख गर्नुभयो । भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएका उहाँले बताउनुभयो ।      भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायणसहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहतालगायत छन् । यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिनुभयो । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिने उहाँले बताउनुभयो ।      किसानले वार्षिक रुपमा मजदुकारको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताउनुभयो । “सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ”, उहाँले भन्नुभयो ।      यसैबीच लगातार वर्षासँगै आएको बाढीबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । जिल्लाको विभिन्न स्थानीय तहमा बाढीबाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले राससलाई जानकारी दिनुभयो । कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।       हरिनगर गाउँपालिकामा केही बाढीपीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।      सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन्भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उहाँले जानकारी दिनुभयो ।       बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।        खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताले बताउनुभयो । दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रालगायत तरकारी बालीमा बाढीले क्षति पुर्‍याएको उहाँको भनाइ छ ।      बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मतसम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

म्याग्दी:    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन । तीर्थयात्रामा जाँदा खाने र बस्ने सामानसँगै लैजानुपर्दथ्यो । दिनभरि पैदलयात्रा गर्ने तीर्थयात्री साँझ–बिहान धर्मशालामा खाना पकाएर खाने र बस्ने गर्दथे ।  तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले आफ्नी रानीको इच्छाअनुसार विसं १८६३ मा मुक्तिनाथ मन्दिर नजिकै धर्मशाला बनाउन लगाउनुभएको थियो । रानीको नामबाट धर्मशाला निर्माण भएकाले सो ठाउँ रानीपौवाको नामले परिचय बनाएको छ । राजा गिर्वाणयुद्धले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका वसन्त बोगटीलाई मुक्तिनाथमा धर्मशाला निर्माणको जिम्मेवारी दिनुभएको थियो । बोगटीले पर्वतको कुश्मा नजिकैको छमर्केको जङ्गलबाट सालको काठ म्याग्दीको हिस्तान घराम्दीका भरिया लगाएर मुक्तिनाथ लैजानुभएको इतिहास छ । रानीपौवा निर्माण गर्ने जिम्मेवारी पूरा गरेबापत गिर्वाणयुद्धले वसन्त बोगटीलाई म्याग्दीको राखु पिप्लेमा तीन सय एक रोपनी जग्गा बक्सिस दिनुभएको थियो । सो जग्गामा तुलफूल लगाएर मुक्तिनाथ जाने आउने तीर्थयात्रीलाई खुवाउने र उत्पादित खाद्यान्न हरेक वर्षको जेष्ठी पूर्णिमाका गायत्री मन्दिरमा साधुसन्तलाई भोजन गराउने चलन अझै पनि छ ।  दुई सय १८ वर्षअघि ढुङ्गा, माटो र काठको प्रयोग गरेर निर्माण भएको दुईतले सो धर्मशालामा दैनिक पाँच सय जना बास बस्न सक्ने क्षमता रहेको हेरचाहकर्ता गोविन्द आचार्यले बताउनुभयो । “होटलमा बस्न सक्ने क्षमता र इच्छा नभएका तीर्थयात्रीहरू अझै पनि धर्मशालामा बास बस्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “मर्मत अभावका कारण धर्मशालाको भवनमा पानी चुहिन थालेपछि समस्या भएको छ ।” बडादसैँ र चैतेदसैँको सोह्र श्राद्धको समयमा तीर्थयात्रीको धर्मशालामा भीड हुन्छ । अन्य समयमा साधुहरूले धर्मशालामा आश्रय लिन्छन् । पानी धेरै पर्न थालेकाले माटोको छाना चुहिन थालेको र विसं २०७२ को भूकम्पले पर्खाल चर्किएकाले धर्मशालाको भवन जीर्ण बनेको आचार्यले बताउनुभयो । रानीपौवाको धर्मशालामा गत भदौसम्म प्रहरी चौकी पनि थियो । नयाँ भवन निर्माण भएपछि प्रहरी चौकीको कार्यालय धर्मशालाबाट सारिएको छ । स्वामी कमलनयनाचार्यले संरक्षण गर्नुभएको धर्मशालामा निःशुल्क भोजन र आवास सुविधा छ । मुक्तिनाथ र दामोदरकुण्डका तीर्थयात्रीका लागि दाताबाट दाल, चामल, तरकारी सहयोग जुटाएर मुस्ताङको रानीपौवाको साथै यारा, कागबेनी, जोमसोम, म्याग्दीको गलेश्वर, बागलुङको कुडुले, पञ्चकोट, पोखराको रामघाट, नवलपुरको त्रिवेणी र काठमाडौँमा धर्मशाला सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले रानीपौवाको धर्मशाला मर्मतका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ९० लाख बजेट प्राप्त भएको बताउनुभयो ।  सो बजेटबाट धर्मशालाको ऐतिहासिक र मौलिकता ननासिने गरी मर्मतको काम गर्ने तयारी भएको उहाँले बताउनुभयो । माटोको छानोमाथि जस्तापाता राख्ने र पानी चुहिनबाट बचाउने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

काठमाडौं:    केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।   प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।  बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उहाँले जानकारी दिनुभयो । बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।

धादिङ:    सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।      त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुप¥यो । झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुप¥यो ।      झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन ।      राजमार्गको घुम्तीघुम्तीमा झरेको पहिराले यात्रा जोखिमपूर्ण बनेको छ । चार दिनसम्म निरन्तर परेको वर्षापछि पाइलैपिच्छे झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।  काठमाडौँबाट पूर्वपश्चिमका जिल्ला जाने सवारी छोड्नु अघि पहिरो पन्छाएर भ्याउने लक्ष्यसहित तीनै तहका सुरक्षा निकाय लागिरहेका बताउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले छ सबै पहिरो सफा गरिसक्न अझ केही समय लाग्ने जानकारी दिनुभयो ।       राजमार्गका विभिन्न क्षेत्रमा रोकिएका सवारीसाधन सोमबार बिहानदेखि काठमाडौँ प्रवेश गरेका छन् । काठमाडौँतर्फ जानका लागि चार दिनदेखि सडकमा रोकिएका सयौँ सवारीसाधनलाई दिनभरि लगाएर प्रहरीले काठमाडौँ प्रवेश गराएको हो ।  “नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ”, सिलवालले भन्नुभयो, “जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनजर गरेर पनि साना तथा हल्का सवारीलाई धादिङको गल्छीबाट नुवाकोटको छहरे हुँदै काठमाडौँ पुग्ने सडक प्रयोग गर्न सहजीकरण गरिएको हो ।”      गल्छीबाट माथिल्लो क्षेत्रमा रहेका साना तथा हल्का सवारीसाधनलाई भने धार्के शीतापाइला सडकखण्डबाट काठमाडौँ प्रवेश गराइएको छ । अतिआवश्यकीय सामग्री ९पशुचौपाया, दूधजन्य, मासुजन्य, तरकारी, खाद्यान्न० बोकेका सवारीसाधन र यात्रुवाहक बसलाई भने नौबिसे–नागढुङ्गा सडकखण्डको प्रयोग गरी काठमाडौँ प्रवेश गराइएको छ ।       नबिग्रिने सामान बोकेका मालवाहक तथा ठूला लामो दूरीका सवारीलाई भने खुला स्थानमा सुरक्षित भएर बस्न सहजीकरण गरिएको प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले राससलाई जानकारी दिनुभयो ।  पहिरोको आसपासमा रोकिएर बसेका सवारीसाधनको सङ्ख्या धेरै भएकाले सोमबार दिनभर काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई काठमाडौँतर्फ रोकेर अलपत्र परेका सवारीको उद्धार गरिएको उहाँले बताउनुभयो । काठमाडौँबाट पूर्वपश्चिम जाने सवारीसाधनलाई सोमबार साँझदेखि मात्रै नागढुङ्गा नौबिसे सडकबाट छोडिएको छ ।      राजमार्गको यात्रामा ढुक्क छैनन् चालक र यात्रु      सडकमाथि भित्ताबाट खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, पन्छाउँदै गरेको पहिराले साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण छ । दुईपाङ्ग्रे सवारीलाई भने निकै कष्ट छ । निरन्तर पहिरा जाने क्रम रहेकाले पनि सवारी चालक र यात्रु यात्रामा ढुक्क छैनन् ।       पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेका यात्रुको अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ । ‘हामी काठमाडौँ त पुग्छौँ नी ?, हामीलाई कुन बाटो ठीक होला ? भनेर नसोध्ने सायदै भेटिएनन् । त्रासको मानसिकतामा रहेका यात्रु निकै आत्तिएका देखिन्थ्ये ।’      गत शुक्रबार काठमाडौँबाट गोरखा जान निस्किए पनि पहिरोमा रोकिएर बल्ल गन्तव्यतर्फ हिँड्न लागेका माइक्रोबसका चालक विशाल श्रेष्ठ भन्नुहुन्छ, “हामी चालक डरैडरमा हिँडिरहेका छौँ ।” झ्याप्ले खोलाको पहिरो नजिक दुई दिन रात बिताएर सोमबार नुवाकोटको बाटो हुँदै धादिङको गल्छी निस्किनुभएका श्रेष्ठले राजधानी प्रवेश गर्ने सडकको कहाली लाग्ने पीडा सुनाउनुभयो ।       “धादिङको गल्छी, नुवाकोटको छहरे हुँदै काठमाडौँ आवतजावत गर्ने सडक पनि सवारी चापले त्यति सुरक्षित छैन । “बाटोमा ट्राफिक कतै भेटिँदैन । गाडीको सङ्ख्या अत्यधिक छ । साँघुरो बाटो, धेरै गाडी, तछाडमछाडसँग दौडिँदा दुर्घटनाको जोखिम छ”, श्रेष्ठले भन्नुभयो ।       नुवाकोटको बाटो प्रयोग गरेर पृथ्वी राजमार्ग आइपुगेका चालकको अनुभव पनि फरक छ । सोमबार दिउँसो काठमाडौँबाट नुवाकोटको छहरे हुँदै धादिङ जाँदै गर्नुभएका सरकारी सवारीका चालक विजयराज गिरी ‘रोशन’ भन्नुहुन्छ, “सवारीको चाप नहुँदा नुवाकोटको बाटो ठिकै होला तर, अहिले जोगिएर हिँड्नै मुस्किल छ ।” पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा आएको भए पनि राजमार्ग क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनका लागि अझै समस्या रहेको उहाँले बताउनुभयो ।       त्रिभुवन राजपथको झ्याप्ले खोला क्षेत्र, पृथ्वी राजमार्गको थाक्रे, गल्छी, गजुरीको जहरे, घाटबेंसी, बेनीघाटको चराँैदी र जोगिमारा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो ।  दुईतर्फी सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने बताउँदै पहिरा पन्छाउने काम भइरहेकाले ठाउँठाउँमा यात्रुले जामको सामना गर्न बाध्य रहेका उहाँले उल्लेख गर्नुभयो ।       लामो समयसम्म जाममा बसेका यात्रुले शौचालयको प्रयोग गर्न नपाउँदा पनि सास्ती बेहोर्नु परेको छ । बिजुलीका खम्बा ढलेर विद्युत् अवरुद्ध हुँदा सञ्चार सम्पर्कविच्छेद हुने स्थानमा पुग्दा यात्रुलाई समस्या छ । बस्ती नभएका ठाउँमा सवारी रोकियो भने यात्रुले किनेर पनि खान पाउँदैनन् भने बजार क्षेत्रमा रोकिएका सवारीका यात्रुले महँगो मूल्य तिर्न बाध्य छन् ।       “हवाइजहाज चढ्न पैसाले धान्दैन । गाडी चढ्यो मरिन्छ की बाँचिन्छ पत्तो छैन”, पोखरा जाने सवारीमा भेटिनुभएकी तुलसा रेग्मीले भन्नुभयो, “सरकारले सबै काम छोडेर राजमार्गको यात्रा सुरक्षित गराइदिए हामीजस्ताको कल्याण हुने थियो ।”      दुईतर्फी बाटो सञ्चालन गर्ने क्रममा ठाउँठाउँको जाम छिचोल्दै आइपुगेका एम्बुलेन्स चालक र बिरामीका आफन्त निकै आक्रोसित देखिन्थे । ट्राफिक व्यवस्थापन नभएकाले आवश्यकताभन्दा बढी जाममा बस्नुपरेको उनीहरुको गुनासो थियो । सवारी र यात्रु सडकमा अलपत्र नपरोस्, यात्रामा कसैलाई अप्ठ्यारो नपरोस्, परिहाले समयमै उद्धार होस् भन्नाका लागि सशस्त्र प्रहरीलेसमेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।       सोमबार दिउँसो गल्छी गाउँपालिका–२ घाटबेंसीको पहिरो पन्छाउने क्रममा भेटिनुभएकी सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेंसीका प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलियाले सम्भावित जोखिम कम गर्न चौबिसै घण्टा सडकमा खटिरहेको बताउनुभयो ।      यसै हप्ताबाट दसैँको रौनक सुरु हुँदैछ । सडकको अवस्था दयनीय छ । जहाजको टिकट महँगो छ । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप बढ्नै बाँकी छ । चाडपर्वको मुखमा हरेक वर्ष ठूलाठूला दुर्घटना भएका उदाहरण प्रशस्तै छन् । सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सबैक्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ ।

काठमाडौं:   नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ८० रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ आठ पैसा र बिक्रीदर २० रुपैयाँ १७ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ४९ पैसा तोकेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।       वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ ।  गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिनुभयो । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।        खोज तथा उद्धारकार्य जारी रही आज नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।      मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ ।       संयुक्त राष्टसङ्घीय निकाय र लजिष्टिक क्लष्टरका साझेदार संस्थासँग बैठक गरी राहत सामग्रीको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको तथा सबैखाले राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिने उहाँले आज साँझ जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।        मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सूचारु गर्ने, तत्काल सूचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायबाट विपद्् प्रभावितलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।”

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–४ तालीब्राङमा दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुने भएको छ ।  सृजना युवा तथा आमा परिवारको आयोजनामा असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुन लागेको हो ।  दशै मेलामा फाइभ ए साइड फुटबल प्रतियोगितासँगै अन्य प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको कार्यक्रम संयोजक सनम गुरुङ (सक्रिय)ले जानकारी दिए ।  उनका अनुसार असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेलामा खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता लगायत अन्य कार्यक्रमहरु आयोजना गरिएको छ ।  खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए ।  उनका अनुसार विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले ट्रफी प्राप्त गर्नेछन् । यस्तै फाइभ ए साइड फुटबल प्रतियोगितामा एक समूहलाई रु ३ हजार ५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।  यस्तै रस्साकस्सी प्रतियोगिता र छेलो प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले बताए ।  दोस्रो तालिब्राङ (तर्मु) दशै मेलाको उद्घाटन समारोहमा आमा समूहबीच मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको सृजना युवा तथा आमा परिवारले जनाएको छ । 

पोखरा:    पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  अवैध रुपमा चाँदीका गरगहना ओसारपोसार गरेको आरोपमा ३५ वर्षीय भारतीय नागरिक चन्द्र भुषण प्रसादलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।  ‘अवैध रुपमा एक भारतीय नागरिकले चाँदीका गरगहना ओसारपोसार गरिरहेको गोप्य सूचना हामीलाई आएको थियो’, डीएसपी शर्माले भने, ‘हिजो पोखरा–३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरिक अवैध चाँदीका गरगहनासहित पक्राउ परेका हुन् ।’ पक्राउ परेका भारतीय नागरिकले करिव ६ केजी ६ सय ९० ग्राम चाँदीको प्रमाण खुल्ने कागजात (बिल) नभएपछि पक्राउ गरेको उनले बताए ।  उनका अनुसार पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण जिल्ला सुगौली थाना १० स्थायी घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने चन्द्र भुषण प्रसाद छन् ।  प्रहरीले उनको साथबाट प्रहरीले चाँदीको जस्तो देखिने सेतो धातुको पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउनु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान, पाउजुको लक हुक ४ सय ९८ थान र १ थान मोबाईल सेट समेत बरामद गरेको छ ।  पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको कास्की प्रहरीले जनाएको छ ।