पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ ।   गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जाैँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो ।   प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो ।   “लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।” '   परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती गरिने भएको छ ।   परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो ।   किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।   झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ ।   जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।   जौँ हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ ।   उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ ।    पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् ।   यससँगै बुकिङ खुला भएको जनाएको छ ।   नामी पोखराका संस्थापक अम्बिका भट्टराईका अनुसार सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास छ ।   ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिंग भएको थियो ।    उनले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई सार्वजनिक गरेको बताउदै विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।     पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीशडा. आनन्द मोहन भट्टराई  विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमा बधाई र शुभकामना व्यक्त गरे ।   यस्तै इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले इभी कम्पनीहरु एफ्टर सेल्स सर्भिस र चार्जिंग स्टेसनलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे ।    उनले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर इभीबारे देशभर सन्देश फैलाउन सकिने बताए । ‘देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको छ, उनले भने ‘देशमा उपलब्ध जलस्रोतको उपयोग गरेरलाई यसलाई पूर्ती गर्न सकिन्छ ।’     एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे बुझ्नुपर्ने बताए ।   यस्तो छ, ‘फिचर’   नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ ।   यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ ।   यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग  टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।    यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई १, नामी ई २ र नामी ई ३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ ।      नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।   यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।      एमएडब्लु वृद्धिले सोमबार पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले  दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।   साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन्  ।   यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने बताइएको छ ।

काठमाडौं:    अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।  प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।  बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।  सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।  

सप्तरी:    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ ।      कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।  कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उहाँले बताउनुभयो ।      प्रजिअ मग्रातीले भन्नुभयो, “कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो । आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ ।”      कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ । कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ ।  कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ः३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार चार सय १५ क्युसेकमा झरेको छ ।      पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  एक पैसा र बिक्रीदर २० रुपैयाँ १० पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ पाँच पैसा तोकेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।       वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।   क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।  जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।  ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।  नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् । त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए । आसिफ शेख र अनिल शाहले समान २७र२७ रन बनाए । आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे । त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए ।  बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए ।  त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ । 

काठमाडौं:    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ ।       विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।       समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ ।  यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।      यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो ।  टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिनुभयो ।       लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताउनुभयो ।      वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उहाँले सुनाउनुभयो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी गराएको छ ।   विभागकानुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।   महाशाखाका मौसमविद् शान्ति कँडेलले मौसममा सुधार हुँदै गए पनि मङ्गलबारसम्म मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।   “मङ्गलबारसम्म हल्का वर्षा भए पनि विपद्् निम्ताउने किसिमको ठुलो वर्षाको सम्भावना तत्कालका लागि छैन”, उहाँले भन्नुभयो ।   महाशाखाले आगामी तीन दिनसम्मको मात्रै मौसमी अवस्था पूर्वानुमान गर्दै आएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ ।   बुलेटिनमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।   दे​शको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिमा भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।   यसैगरी कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   “मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।   कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ” बुलेटिनमा भनिएको छ, “राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।”   कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु माहाशाखाले अनुरोध छ ।   कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाको अनुरोध छ ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ ।   इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ ।   हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन ।   साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन ।   हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए ।   हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो ।   लेबनानाको स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानका ठूला क्षेत्रहरूमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम सयममा एक सय ५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ । पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् ।   वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलहरूमा रहेको सरकारले अनुमान गरेको बताउनुभयो । त्यसको तीनदेखि चार गुणा मानिस साथीहरू वा आफन्तहरूकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् ।   हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ तर अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रहरूमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ । काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए ।   उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्राय स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे ।   साथै वरिष्ठ लडाकूहरूको अन्त्येष्टिमा श्रद्धाञ्जलि दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो ।   प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो ।   हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’ का हिस्सा मान्ने सहयोगी हुन् ।   इजरायलले हवाई आक्रमणहरूमार्फत जवाफ दिएको छ र द्वन्द्व लगातार युद्धको सङ्घारमा पुग्दा क्षेत्रव्यापी द्वन्द्वको आशङ्का बढेको छ ।   इजरायलले उत्तरमा रहेका समुदायहरूबाट करिब एक वर्षअघि खाली गरिएका आफ्ना करिब ६० हजार नागरिकलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।   हिजबुल्लाहले भने गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने बताएको छ । अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन ।