काठमाडौं: नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले सबै घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न पनि माग गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो । अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिनयता एक सयभन्दा बढीको मृत्यु, कैयौँ बेपत्ता र घाइते भएका घटनाले सबै नेपालीलाई मर्माहत बनाएको उल्लेख गर्दैै कांग्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । समितिको बैठकले दिवङ्गतको आत्माको शान्तिको कामनासहित परिवारजनमा समवेदना प्रकट गरेको कार्यवाहक मुख्य सचिव डा पराजुलीले बताउनुभयो । कैयौँ नागरिक अझै पनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएका छन् । बैठकमा सरकारले सम्पूर्ण संयन्त्र केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न, स्वयंसेवी परिचालन गर्नुपर्ने माग गर्दै कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र सङ्घसंस्थालाई उद्धार र राहतमा ऐक्यबद्ध ढङ्गले काम गर्न आह्वान गरिएको कार्यवाहक मुख्य सचिव डा पराजुलीले बताउनुभयो । प्राकृतिक प्रकोपले धेरै ठूला–साना सडक अवरुद्ध भएका छन् । कैयौँ पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । अस्तव्यस्त बन्न पुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । चाडपर्वमा गाउँ जान चाहने नागरिकको चाप केही दिनपछि थपिन्छ । त्यसैले अवरुद्ध सडकको मर्मतसम्भार तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगतगरी बेलिब्रिज जडान गर्न कांग्रेस कार्यसम्पादन समिति बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । प्रकोपका कारण अर्बौंको क्षति भएको छ । केही विद्युत्गृह क्षतिग्रस्त बनेका छन् । विद्युत् उत्पादन र नियमित रहेको वितरणमा गम्भीर असर पुगेकामा कांग्रेसले चिन्ता व्यक्त गरेको छ । सञ्चार सेवा कैयौँ ठाउँमा अवरुद्ध भएको छ । खानेपानीको वितरण प्रभावित भएको छ । यसले गर्दा तत्काल भोग्नुपरेको समस्यामा नागरिक पङ्क्तिलाई विश्वासमा लिँदै अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रुपले परिचालन गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक मुख्य सचिव डा पराजुलीले उल्लेख गर्नुभयो । विषम परिस्थितिको समयमा बजारमा बढ्नसक्ने कालोबजारी, सवारीसाधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्न÷गराउन बैठकले सरकार सचेत हुनुपर्नेमा जोड दिएको छ । नियमित रुपले झेल्नुपरेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्वतयारी र उद्धारमा अझै तीव्रता दिँदै व्यवस्थित र शीघ्र तयारीको आवश्यकता देखिएको कांग्रेसको निष्कर्ष छ । तीनै तहको सरकारले निभाउनुपर्ने भूमिकाको एकीकृत रणनीति र प्रभावकारी कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने स्रोतसाधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ । प्राकृतिक प्रकोपले राष्ट्रिय विपत्तिको रुप लिएको अवस्थामा नागरिक पङ्क्तिलाई थप सतर्कताको आह्वान गर्दै राजनीतिक दल, सङ्घसंस्थालाई यो स्थितिको सामना ऐक्यबद्ध रुपले गर्न पनि बैठकले आह्वान गरेको छ । क्षतिग्रस्त सबैखाले संरचनाको पुनर्निर्माणका लागि विपद्पछिको आवश्यकता मूल्याङ्कन तयार गर्ने प्रक्रिया सुरु गर्न बैठकले सरकारसँग आग्रह गरेको छ । कांग्रेसको ‘एक सयदिने विशेष अभियान’ कोजाग्रत पूर्णिमासम्म स्थगित राष्ट्रिय विपत्तिको समयमा पार्टीको ‘एक सयदिने विशेष अभियान’को पूर्वनिर्धारित कार्यक्रम कोजाग्रत पूर्णिमासम्म स्थगित गर्ने निर्णय बैठकले गरेको कार्यवाहक मुख्य सचिव डा पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय प्रतिनिधिलाई आफु खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न÷गराउन केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको छ । तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनेका तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको सबै तहका नेता, कार्यकर्तालाई उद्धार र राहतमा समर्पित हुन पनि बैठकले आह्वान गरेको छ । विपद्को दुःखमा कांग्रेसको चियापान स्थगित कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने गरेको चियापान कार्यक्रम यसपटक प्राकृतिक विपद्का कारण स्थगित गर्ने निर्णय गरेको छ । सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले सहयोग गर्न जरुरी रहेको भन्दै कांगे्रसले सङ्घीय सांसदको १५ दिनको पारिश्रमिकगरी पार्टीकातर्फबाट रु ५० लाख सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते सम्पन्न हुने स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिएको छ । उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । स्थानीय तहको उपनिर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
काठमाडौं: सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनी वर्षातको कारण बाढी र पहिरोबाट देशभर जनधनको क्षति भएपछि छलफलको लागि सर्वदलीय बैठक बोलाएका हुन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले अमेरिकामा छन्। आफू अमेरिका जाने भएपछि उनले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केही बेरअघि सुरु भएको बैठकमा गृह, भूमि, रक्षा, शिक्षा, पर्यटन, कानून, श्रमरोजगार, वन, उर्जा तथा सञ्चारमन्त्री उपस्थित छन्। त्यसैगरी सत्तारुढ एमालेका महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, लोसपाका नेता महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, रास्वपाका विराजभक्त श्रेष्ठ, अमरेशकुमार सिंह, राजकिशोर यादव लगायत सहभागी छन्।
एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज (आइतबार) बृहत संवाद कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको केही सहभागिहरुले गुनासो गरे । ‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के हो भन्ने थाहा छैन, टानका अध्यक्ष कृष्ण आचार्यले गुनासो गरे, ‘योजनालाई अक्षरश पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बनिधत निकायले कुरा मात्र गर्ने चाँसो नै नदिएर समुन्नत बन्छ त ?’ यस्तै अन्तरक्रियाको क्रममा नेपाल आदिवासी जनाजाति महासंघ प्रदेश समन्वय समिति गण्डकीका अध्यक्ष धर्म तमुले आदिवासीलाई पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने तर्क राखे । ‘गण्डकी प्रकृति र संस्कृतिमा धनि प्रदेश हो । हरेक तहमा समान सहभागिता हुनुपर्छ । के हामीलाई झाँकी र भेषभूषासहितको र्यालीका लागिमात्र हो डाक्ने ?, उनले प्रश्न गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफिदै प्रदेशलाई सुनौलो र समुन्नत बनाउन सरकार लागिपरेको बताए । उनले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर प्रदेशका कार्ययोजनाहरु अघि सारेको स्पष्ट पारे । ‘हामीले गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउनका लागि सम्भावना भएअनुरुप दुइवटा क्षेत्र छन् । एउटा पर्यटन र अर्काे कृषि, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले गाउँबाट शहर झर्ने र शहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने भनेको पनि यही दुइवटै क्षेत्र हो । त्यसैले यसको क्षेत्रमा काम गरिरहेका छौं ।’ उनले कृषिलाई व्यवसायीकीकरण गर्दै कृषि उद्योगको रुपमा विकास गरेर विदेशीएका युवाशक्तिलाई रोक्न सकिने उनले बताए । ‘कृषिलाई व्यवसायीकरण गरेर कृषि उद्योगको स्थापनामार्फत रोजगारीको अवसर सिर्जना गर्न सकियो भने युवाहरु देशमै अडिन्छन् र गण्डकीमा पर्यटनको आधारशिला तयार भइसकेको छ, यस क्षेत्रलाई पनि व्यापक प्रवद्र्धन गरेर थप चलायमान बनाउन सकियो भने अर्थतन्त्रमा वृद्धि हुन जान्छ, उनले भने, ‘त्यसैले अहिले हामीले यी दुई क्षेत्र कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’ यस्तै गण्डकी प्रदेश संसदीय दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी समुन्नत गण्डकीको विषयमा धारणा राखिन् । उनले प्रदेशलाई समुन्नत बनाउनका लागि महिला सशक्तिकरणको जरुरी रहेको बताइन् । ‘प्रदेशलाई समुन्नत बनाउने हो भने महिलाको सशक्तिकरण र समान सहभागिता जरुरी छ, उनले भनिन्, ‘ अहिले बाध्यकारी क्षेत्रमा बाहेक अन्य क्षेत्रमा महिलाहरुको सहभागिता नगण्य छ । यसलाई वृद्धि गर्दै लैजानु पर्छ । किनभने यो एउटा सँघर्षको उपलब्धि हो ।’ सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख कुन्दन मिस्रले कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं: क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो । आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् । यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपालसम्मेलित त्रिकोणात्मक एकदिवसीय शङ्खलाको सबै खेलमा नेपाल पराजित भएको थियो ।
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन दिनको लगातारको वर्षाले खानेपानी प्रणालीअन्तर्गत मात्र करिब रु एक अर्ब क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिँदै क्षतिको पूर्ण विवरण लिइ प्राथमिकताका साथ खानेपानी प्रणालीलाई पुनःस्थापित गर्न सम्बद्ध उच्च अधिकारीहरूसँग अनुरोध गर्नुभयो । उहाँले मन्त्रालयका सचिव, विभागीय प्रमुखसहितका उच्चअधिकारी सम्मिलित बैठकमा भन्नुभयो, “लगातार आएको तीन दिनको वर्षाले काठमाडौँ उपत्यकासहित मुलुकका धेरै भाग प्रभावित भई खानेपानी प्रणालीलाई क्षति पु¥याएको छ, पानी व्यवस्थापन गर्नुपर्ने दायित्व हाम्रो मन्त्रालयको हो, यस विषम परिस्थितिमा युद्धस्तरमा खटिएर दसैँअघि खानेपानी प्रणाली पुनःस्थापित गर्न सम्बद्ध सबैलाई निर्देश गर्दछु ।” अविरल वर्षासहित आएको बाढीका कारण उत्पन्न हुनसक्ने हैजा रोगलगायतका महामारीबाट प्रभावित जनतालाई जोगाउन पानीको परीक्षणका लागि प्राविधिक टोली परिचालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । सो अवसरमा बागमती नदीमा आएको बहावका कारण सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानीको धमिलोपनले गर्दा प्रशोधन प्रक्रिया अवरुद्ध भई काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति व्यवस्था अवरुद्ध भएको, ललितपुरको फर्पिङस्थित जलविद्युत् परियोजनामा पेनस्टक पाइप विस्फोट हुँदा पानी वितरण रोकिएको र सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्वपूर्ण उपकरण डुबेर क्षतिग्रस्त भएकोलगायत विषयमा छलफल भएको बताइएको छ ।
मोरङ: ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ । ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पताल परिसरबाट निस्किएको प्रभातफेरी हस्पिटल चोक, कालीमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड, गोल्छा मोड, डाँफे चोक, रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि व्यवसाय तथा उद्योगका प्रतिनिधि, औषधि बिक्रेता, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवामा आवद्ध तथा सरोकार भएकाहरुको सहभागिता थियो । सो अवसरमा डा दीपक सिग्देल, डा उत्तर मैनाली, डा लक्ष्मीनारायण यादव, ग्लेनमार्कका जटाशङ्कर साह रौनियार र अञ्जेस साहले मुटु रोगबाट हुने जोखिम र मृत्युलाई न्यूनीकरण गर्न हरिया सागसब्जी, दैनिक व्यायाम र समयसमयमा चिकित्सकसँग चेकजाँच गर्न नागरिकमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो । धूम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थ सेवन नगर्ने, नूनको मात्रा कम गर्ने, नियमित करिब ३० मिनेट व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिन्छ । यो रोग लाग्न नदिन दैनिक शारीरिक परिश्रम, व्यायाम र नियमित रक्तचापको परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ । सरकारले मुटुसम्बन्धीका दीर्घरोगीलाई रु एक लाखसम्म उपचार सेवा निःशुल्क गरेको छभने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
दोलखा: दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् । शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरु नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु गाउँपालिका–१ स्यालुका ३० वर्षे जयराम तामाङ बेपत्ता भएका थिए । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताउनुभयो । “हिजो बिहान १०ः३० बजेतिर कर्मचारीको सिफ्ट चेञ्ज भएको थियो । ११ बजेतिर घटना भयो”, गौतमले भन्नुभयो, “नेपाली सेनाका दुई जना र गेट(खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारी पहिरोमा पुरिएको जानकारी प्राप्त भएको छ ।”
काठमाडौं: अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो । हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आकलन गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्रयाउने पोखरीमा क्षति पुगेको छ । सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो । आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौको सहयोग लिन लागिएको छ । कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ । बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका बाढीपहिरोका अनुसार देशभर नौ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ । इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्णरुपमा डुबेको छ । खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन् । बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । पाँचथर पावरद्वारा प्रवद्र्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो । साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना सिउरीखोला पनि बाढीले क्षति पु¥याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ । कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एकको क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ । सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला सी जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ । बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई वटा वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज बगाएको, खन्ने क्रममा रहेको पावर हाउस पुरिएको इप्पानले जनाएको छ । बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ । सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो ।

