पोखरा: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटै प्रदेश सरकार तथा यातायात व्यवसायी महासङ्घलाई विपक्षी बनाइ दायर भएको रिटमा मंगलबार अदालतले सो आदेश गरेको गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश गरेपछि प्रदेशमा ‘राइड सेयरिङ’ले मान्यता प्राप्त गरेको र कार्यान्वयनको बाटो खुलेको छ । यसअघि प्रदेश सरकारकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । नेपाल यातायात व्यवसायी महासङ्घले देशव्यापी सार्वजनिक यातायात बन्द गरेर आन्दोलन गरेपछि सरकारले व्यवसायीसँग सहमति गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगित गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेपछि प्रदेश सरकारले एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गत जेठ २० गते गरेको थियो । गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।
पोखरा: होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल एजेन्सीको प्रायोगबाट २०२५ मा होटलहरुले कसरी बढी भन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जना भन्दा बढी होटलकर्मी र उनीहरुका कर्मचारीले सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखिकरणका सहभागीले एआईबारे धेरै बुझ्नै मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे । उनले होटल क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युत् महशुलमा उद्योग सरहको मान्यता दिएकोमा अर्थमन्त्रालय र सरकारलाई धन्यवाद दिए । बैंकको ब्याजदर विगतमा दुई अंकमा भए पनि अहिले एकल अंकमा झर्नु सकारात्मक भएको भनाई उनले राखे । होटल संघ नेपालले गत वर्ष चीन र बंगलादेशमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरेको स्मरण गराउँदै सल्लाहकार परिषद्का संयोजक पराजुलीले प्रवद्र्धनबाट मात्र पर्यटन अगाडि बढ्न सक्ने भनाई राखे । अभिमुखिकरणमा थप बोल्दै आयोजक संघका अध्यक्ष सुवेदीले संघले पोखराको प्रवद्र्धनका लागि जाउँ है पोखरा र चलिए पोखरा जस्ता अभियान संचालन गर्दै आएको स्मरण गराए । पोखराका होटलमा रहेको पाँच खर्बको लगानी जोगाउनका लागि पनि संघ सचेत भएर अगाडि बढेको भन्दै उनले आफ्ना सदस्यको हितका लागि संघ सँधै लड्दै आएको भनाई राखे । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखिकरणबाट सहभागीले नजानेको कुरा जान्ने मौका पाएको भन्दै यो ब्रेन स्ट्रोमिङ गर्ने अवसर भएको भनाई राखे । कार्यक्रमका श्रोत व्यक्ति सन्तोष वरालले अहिले एआई एउटा क्रान्तिको रुपमा अगाडि आएको भन्दै यससँग डराएर भन्दा पनि यसलाई सदुपयोग गरेर पर्यटन क्षेत्र अगाडि बढ्नुपर्ने भनाई राखे । बरालले कार्यक्रममा अनलाईन ट्राभल एजेन्सी (ओटीए), अगोडा, बुकिङ डटकम लगायत होटल बुक गर्ने प्लाटर्फको अकाउण्ट संचालन र एआईको प्रयोगबारे जानकारी गराएका थिए । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर) सँगको सहकार्यमा संघले लिभरेजिङ एआई, टेक्नोलोजी एण्ड ओटीएज शीर्षक दिएर यो अभिमुखिकरण आयोजना गरेको हो । कार्यक्रममा परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले उक्त परियोजनाका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।
काठमाडौं: सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दालेनको घोषणा गरिएको हो । सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकाललिन बन्द गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तीसहित
पोखरा: पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो । १२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ । यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिए । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए । १२ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालास्थित पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा हुनेछ ।
पोखरा: शारिरीक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन कलबले पहिलो पटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ । क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबको तर्फबाट सो नगद प्रदान गरेका हुन् । क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सन प्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद रु ५० हजार हस्तान्तरण गरे । क्लवका संस्थापक इश्वर गुरूङले यस अघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद रु १ लाख प्रदान गरेका थिए । रकम ग्रहण गर्दै अध्यक्ष पाठकले क्लबका संस्थापक इश्वर गुरूङ, क्लबका अध्यक्ष नुना गुरूङ, सचिब उदिम गुरूङ, वरिष्ठ सल्लाहाकार सन प्रसाद गुरूङलगायत बुल्समेत परिवार प्रति आभार प्रकट गर्दै सो सहयोग गण्डकीको यूवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने जनाए । रकम हस्तान्तरण कार्यक्रममा गण्डकी ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापालगायतको उपस्थिती रहेको थियो । क्लबले सो रकम प्रदान गरे संगै यहि असार १२ गते देखि १४ गते सम्म पोखरा रंगशाला सञ्चालन हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने आयोजक ह्याण्डबल संघले जनाएको छ । सो प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिव चार वर्ष पछि हुन लागेको हो । प्रतियोगितामा दुई विभागिय टोलीसहित ६ प्रदेश गरी ८ टिमको सहभागिता हुनेछ । २०६९ सालमा पोखरामा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारिरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको क्लबले अब चाँडै नै पाँचौ सस्करणको प्रतियोगिता गर्ने तयारीमा रहेको छ ।
पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले यही असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित प्रतियोगिता आयोजना गर्दै छौं, संस्थापक गुरुङले भने, ‘प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा असार २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।’ तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने गुरुङले बताए । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुक सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । फाउण्डेशनले २०७५ र ७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको उच्चस्तरीय छानविन समितिको स्वागत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो मागअनुसार सरकारले सो समिति गठन गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई थप सुदृढ बनाउन यसमा देखिएका समस्यालाई समयानुकुल सुधार गर्दै जानुपर्छ, व्यवस्था वा प्रणालीमा देखिएका समस्या जनाभावनाअनुसार सुधार गर्दै लैजानुपर्छ ।” उपमहासचिव पुनले सो समितिले भिजिट भिसा सम्बन्धमा देखिएका दिगो समाधानका लागि गहिरो र निश्पक्ष छानविन गरोस भनि शुभकामना व्यक्त गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरण सम्वन्धमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत काम गरिरहेको र राम्रो गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको आजको बैठकमा पूर्वमुख्य सिचव शङ्करदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले समितिका सदस्यहरुमा ६ मन्त्रालयका सहसचिव रहनुभएको जानकारी दिनुभयो । समितिको सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र), प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहनुभएको छ ।
काठमाडौं: एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाउँदा शिवान्स बजगाईँले ३८ रन जोडे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।
काठमाडौं: खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्। सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए। यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए। इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए। कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ। गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो। जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए। कतारबाट काठमाडौं आउने विमानको उडान पनि आज रद्द भएको छ। बिहान ८ बजेका लागि काठमाडौं आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ। महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने विश्वास व्यक्त गरे। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए। उनीहरूलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ। सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो। वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका थिए। नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।