काठमाडौं: विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसको थुनछेक बहसपछिको आदेशमा धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो
काठमाडौं: कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको छ । अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान १ गोल गरे । नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो। १२औं मिनेटमा अनिता बस्नेतले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट सटले जाली चुम्यो। पहिलो हाफको ४४ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो। अनिता बस्नेतको सटिक क्रसमा साम्बाको हेडरले सही दिशा लियो। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै नेपालले तेस्रो गोल गर्यो। रेनुका नगरकोटेले दिएको बलमा सविताको उत्कृष्ट पासलाई रश्मिले भेट्टाउन सकिनन् भने नजिकै रहेकी सरुले गोल गर्दै आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोललाई यादगार बनाइन् । लाओस विरुद्ध खेलको ५५ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लामो थ्रु(पासमा साम्बाले बललाई अगाडि बढाउँदै किपरसँगको वान भर्सेस वानमा गोल गरिन्। साम्बाले गोल गरेको एक मिनेपछि नै रेनुकाको सहयोगमा रश्मिले गोल गरिन्। नेपालले ५(० को सानदार अग्रता बनायो। त्यसलगत्तै नेपालले ३ खेलाडी परिवर्तन गर्यो। प्रीति राई, पुजा राना र अनिता केसीले सरु, अनिता बस्नेत र रश्मिलाई रिप्लेस गरे। त्यसको केहि समय पछि प्रशिक्षक प्याट्रिकले रेखा पौडेल र विमला बिकेलाई मैदान पठाए। उनीले रेनुका र समिक्षा घिमिरेलेलाई रिप्लेस गरे। यसपछि नेपालले ३ गोल थप्यो। ७५ औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेट पछि साम्बाले व्यक्तिगत चौथो गोल गरिन्। ८३ औं मिनेटमा सब्स्टिच्युट अनिता केसी पनि गोल गरिन्। नेपालले ८(० को सानदार अग्रता बनायो। नेपाल यतिमा मात्र रोकिएन्। ८८ औं मिनेटमा साम्बाको प्रहार लाओसको खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो। ५९ औं खेलमा साम्बाको त्यो ६२ औं गोल हो। योसँगै नेपालले आफ्नो सयौं खेललाई यादगार बनाएको छ। साथै छनोटमा ३ अंक सहित सानदार सुरूवात गरेको छ। कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रहयो। उनले कप्तानको जिम्मेवारीमा टिमलाई ५ गोल सहित जित दिलाइन्। साथै प्रशिक्षक प्याट्रिकको लागि पनि डेब्यु खेल सुखद रहयो। समुह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन्।
पोखरा: शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरेका हुन् । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गरेका हुन् । अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं. २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समयदेखि पोखरामा व्यवसाय गर्दै आएका छन् । यस्तै मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं. ३० का धुव्रराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मी प्रसाद त्रिपाठीलाई सदस्यमा मनोनित गरेका छन् । उनीहरुलाई तीन बर्षका लागि नियुक्त गरिएको हो । अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ । कार्यविधि अनुसार वडा नं.३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा। सुमन खनिया सदस्य सचिव रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने । मन्त्री थापाले कृषकहरुले पसिना बगाएर हामीले अन्न खान पाएको उल्लेख गरे । कृषिलाई व्यवसायिक, प्रविधिमैत्री र युवामैत्री बनाउन आवश्यक रहेको उनले औंल्याए । कृषि क्षेत्रको व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको भनाई उनको छ । उनले कृषि व्यवसायमा हुनसक्ने जोखिम न्यूनीकरण गरी कृषकको हित संरक्षण गर्न बीमा प्रिमियममा सहुलियत र व्यवसाय प्रवद्र्धनका लागि गण्डकी सरकारले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने बताए । खाद्य सुरक्षाको क्षेत्रमा प्रमुख भूमिका खेल्ने बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि समुदायस्तरमा चैतेधान तथा प्रशोधनयोग्य आलु उत्पादन सम्वन्धी कार्यक्रमको निरन्तरतामा गण्डकी सरकारले जोड दिएको भनाई उनको छ । कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण, विविधीकरण तथा औद्योगिकरणका लागि लगानी आकर्षित गर्न सार्वजनिक, निजी तथा समुदायको सहकार्यमा कृषि विकास कार्यक्रम ल्याइएको उनले जानकारी गराए । नेपाल किसान महासंघ कास्कीका सभापति पुण्डरी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की, नेपाल किसान महासंघ केन्द्रकी सदस्य नम्रता बराल लगायतले बोलेका थिए । कार्यक्रममा धान रोपाई सँगसँगै हिले दौड प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम राखिएको थियो । नेपाल किसान महासंघ कास्कीले वर्षेनी असार १५ गते रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।
पोखरा: असार १५ गते मनाइने धान दिवसको अवसरमा पोखरामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको छ । पोखरा महानगरपालिका–२६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको हो । परिषद्ल् हरेक असार १५ को अवसरमा पोखराको विभिन्न स्थानमा रोपाइ महोत्सव गर्दै आएको छ । महोत्सवको अवसरमा विदेशी महिला÷पुरुष हिले दौड, लठो तान्ने, स्थानीय महिला÷पुरुष हिले दौड, लठो तान्ने, पत्रकारबीच हिले दौड, रोपाई प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । फोटो फिचर
काठमाडौं: सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि सदनमा सङ्घीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत भएको हो।उक्त प्रस्तावमा प्रतिनिधि सभाका बहुमत सदस्यले सहमति जनाएसँगै विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो। विधेयक पारित भएपछि सभामुख घिमिरेले सङ्घीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दु बन्ने बताउनुभएको छ।
कुमार तामाङ, लमजुङ । माफ गर्नुहोस् महोदय ! यो बजेट शब्दको ठेट नेपाली समकक्षी थाहै भएन मलाई लाग्छ यो शब्द हाम्रै बोलिचालीको ‘रकम’ सँग नजिक छ सुन्दै रङ्गिन लाग्ने रकम जो छ साथैमा सधै ‘कम ’ भन्ने विशेषण बोकी हिड्छ, लुखुर/लुखुर एउटा आश्चर्य ! यो रकम सफाचट / टाइसुटधारी सुटकेसधारी / लुटकेसधारी सफा साडिवाला / महङ्गो गाडीवाला पुटुक्क पुष्टिएको पेट भोगटे झै भुक्क परेको गाला गलाको महङ्गो माला सबै सबैलाई सधै कम लाग्ने गर्छ अर्को आश्चर्य यो रकम यति पक्षपाती छ कि सजिव भन्दा निर्जिव हुदाखाने भन्दा हुनेखाने जिवित भन्दा मृत कामको भन्दा नामको मामको भन्दा दामको समिप बस्छ प्रत्येक साल तसर्थ दिन्छु भनेर ठोकुवा नगर्ने लुते रकम हरेक बर्ष दिइने छ / मिलाइने छ / देखाइने छ पोस्याइने छ / लुकाइने छ लुटाइने छ / लुटिइने छ भन्दै अदृश्य भविष्यको कल्पना मात्रै गर्छ तर दिने कसरी / कस्लाई / किन ? केही बोल्दैन जिउन सङ्घर्ष गर्नेहरुको हुर्मत तिर्ने रवाफी रकम प्रत्येक वर्ष पितृहरुको नाममा घ्वाप्पै घोप्टिन्छ हरेक साल मृत मदन, स्वर्गबासी सान्दाजु सान्दाजुको पनि भाई पुष्पलाल, गणेशमान हुदाँहुदाँ जिउदो हुदाँ अकुत कुम्ल्याएको खुम बहादुर जी पनि आफ्नो भागमा रकम छुट्याउन सक्छन् विडम्बना ! सर्वहाराको सवालमा खुसुक्क बोल्छ एकपाँऊ मल / त्यति नै जति बिऊ एकदुई पत्ता सिटामोल एक पुरिया जिवनजल स्कुले नानीहरुलाई म्याद नाघेको एकपोका चाउचाउ किरै सराबरिको मैदा / आटाको रकम छुट्याइने छ र...कम छुट्याइने ।
कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । “महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ”, उहाँले भन्नुभयो, “शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।” यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।
काठमाडौं: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।