स्याङ्जाको आँधीखोला गाउँपालिकाले आज शोक बिदा दिइएको छ । वडा – २ का वडा सदस्य नरबहादुर गोदारको निधन भएकोले शोक बिदा दिइएको हो । केहि समयदेखि बिरामी रहेका गोदारको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए । वडा सदस्य गोदारको ५६ वर्षको उमेरमा निधन भएकोप्रति दु:ख प्रकट गर्दै गाउँपालिका अध्यक्ष पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा तथा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एवं पालिका अन्तर्गतका संघ संस्थाहरुमा शुक्रबारका दिन शोक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार शोक बिदा दिने भएको छ । वडा – २ का वडा सदस्य नरबहादुर गोदारको निधन भएकोले शोक बिदा दिइएको हो । केहि समयदेखि बिरामी रहेका गोदारको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए । वडा सदस्य गोदारको ५६ वर्षको उमेरमा निधन भएकोप्रति दु:ख प्रकट गर्दै गाउँपालिका अध्यक्ष पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा तथा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एवं पालिका अन्तर्गतका संघ संस्थाहरुमा शुक्रबारका दिन शोक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।
चालू आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ३ लाख ९६ हजार ९ सय १ पर्यटक भित्रिएका छन्। गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्यांकअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक भित्रिएका हुन्। मुस्ताङमा चालू वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन्। यसैगरी, ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। चालू आवको साउनदेखि हालसम्म आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले मुस्ताङ जिल्लाको भ्रमण गरेका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। उनका अनुसार मुस्ताङ भित्रिने बाह्य पर्यटकमध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ ले मुस्ताङको भ्रमण गरेका थिए। जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र बाह्य ९९ हजार ३९९ छन्। पछिल्लो समय क्रमिक रूपमा सडक सञ्जाल सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भइरहेका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ। उनका अनुसार जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। मुस्ताङ भित्रिएका नेपाली पर्यटकहरू मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन्। मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक भूगालले पर्यटकलाई थप आकर्षित गर्ने भएकोले बर्सेनि यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो। राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले बताउनुभयो । यहाँ अवस्थित वर्षौं पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा, गुफालगायत सुन्दरताका कारण मुस्ताङ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको उनको भनाइ छ। उपल्लो मुस्ताङमा ७०० वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बाहरू पर्यटकका लागि विभिन्न खोज तथा अनुसन्धानको केन्द्र बन्दै गएका अध्यक्ष गुरुङले जानकारी दिए। मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन, जीवनशैली र स्थानीय चाडपर्वहरूको मौलिकता अवलोकन गर्न बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासंघलाई आग्रह गरेका छन् । 'शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,' उनले भनेका छन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफलको प्रक्रियामा रहेकामा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही समयदेखि ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ । प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।
बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका-१ हिलका ५० वर्षीय इन्द्र घर्तीमगरको भिरबाट लडेर मृत्यु भएको हो। आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्याइएको थियो। अस्पताल पुर्याएको केही समयमै घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। घर्ती भिरबाट एक सय मिटर तल खसेका थिए। उनले भने, ‘घटनास्थलबाट उद्धार गरी त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दा टाउकोमा ठूलो चोट लागेको थियो, बोल्न सक्नु हुँदैनथ्यो, तत्कालै हेलिकप्टरको व्यवस्थापन गरेर पोखरा पठाइएको थियो, अस्पताल पठाएको केही समयमै उहाँको निधन भयो।’
म्याग्दी: सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु. १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो । चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ । झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए । योजनाहरु मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उनले बताए । सघन शहरी तथा भवन निर्माण योजना मार्फत रु। चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत रु. तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ । उक्त कार्यलय मार्फत रु. ६५ लाख ३८ हजार ५३ को लागतमा कुहुँ–टोड्के–झि र रु. एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । स्थानीय पूर्वाधार विकास आयोजना मार्फत रु. चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच बिहीबार भेटवार्ता भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन्। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।
पोखरा: छनोट समितिले गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ३ जनाको नाम प्रदेश सरकारलाई सिफारिस गरेको छ । विश्वविद्यालय न्यायिक परिषद् अध्यक्षसमेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम समावेश गरिएको पत्र हस्तान्तरण गरेका हुन् । तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्ने छ । प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका ३ जनाको नाम सिफारिस गरिए पनि नाम भने सार्वजनिक भइसकेको छैन । २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो । स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् । यी ५ जनामध्येबाट ३ जनाको नाम सिफारिस भएको छ ।
दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो । “पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटलको ‘अकुपेन्सी’ कम छ”, उनले भने, “नयाँ वर्ष नजिकिँएको र विद्यालय तहको परीक्षा सकिएर बिदा सुरु भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।” पोखरा घुम्ने र यहाँका होटलमा रात बिताउने विदेशी पर्यटकको संख्या भने अपेक्षाभन्दा कम रहेको अध्यक्ष सुवेदीले बताए । होटल व्यवसायमा ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरु मुख्य याममा नै पर्यटकको आवागमन कम हुँदा चिन्तित छन् । पोखरामा पर्यटक भित्राउने लक्ष्यसहित सङ्घले नयाँ वर्षका अवसरमा २०औँ फेवा नव वर्ष महोत्सवको आयोजनासमेत गरेको छ । नयाँ वर्षका बेला होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा लिइएको सङ्घका अध्यक्ष सुवेदीले बताए । महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । “अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्”, उनले भने, “यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।” पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । हवाई मार्ग र सडकमार्ग प्रयोग गरेर पर्यटक पोखरा भित्रने गरेका छन् । यहाँको प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण चक्रीय पदमार्गमा पनि पदयात्री पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चैत लागेसँगै पर्यटकको आउजाउ बढेको बताए । “ट्रेकिङ रुटहरुमा यतिबेला पर्यटकीय चहलपहल बढेको छ”, उनले भने, “शरद ऋतुपछि वसन्त याममा धेरै पर्यटक पदयात्राका लागि नेपाल भित्रन्छन् ।” अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए । गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रुपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथां व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्राउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको जनाइएको छ । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’ले जनाएको छ । रासस