पोखरा: पोखराको पुरानो टुडिखेलमा सम्पन्न एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा कस्केरी १ च्याम्पियन बनेको छ । आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा १ पुरानो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गदै कस्केरी च्याम्पियन बनेको हो । कस्केरीका युडी पुनले निर्णायक गोल गरे । च्याम्पियन बनेको कस्केरीले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गयो । भने, उपविजेता बनेको एट टु नाइन एफसीलाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट सिआर गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए । यस्तै उदीयमान खेलाडीका रुपमा अभिषेक गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा दिप कार्की र सर्वाधिक गोलकर्ताका रुपमा अनुज भण्डारी घोषित हुँदैं जनही २ हजारसहित पुरस्कृत भए । कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिता गत १ गतेदेखि चलेको थियो । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि समेत रहेका वडा प्रहरी बगरका प्रहरी प्रमुख बोधराज रेग्मी,पुरस्कारदाताहरु लगायतले पुरस्कार प्रदान गरेका थिए ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजनाको खोजी कार्य जारी छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ । प्रनाउ रायले भन्नुभयो, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । उनको आज पनि बस खसेको ठाउँ आसपास खोजी गरिए पनि फेला पर्न सकेनन् ।”
पोखरा: पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने भक्तजनहरुलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको आयोजनामा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ७५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परीक्षण गराएका थिए । सो अवसरमा बोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले महिलाहरुको पाठेघरको क्यान्सर हुनु अगावै पाठेघरको मुखको क्यान्सरको जाँज गराउन सके पाठेघरको क्यान्सरबाट बच्न सकिने बताए । पाठेघरको क्यान्सरको बारेमा अझैपनि समाजमा सचेतना फैल्याउन आवश्यक रहेको वताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनले आयोजना गरेको स्वास्थ्य शिविरले सकारात्मक सन्देश प्रवाह गरेको समेत बताए । प्रयास नेपाल अध्यक्ष शर्मिला भट्टराईले प्रयास नेपालले शिक्षा, स्वास्थ्य र सेवाको क्षेत्रमा काम गर्दै आइरहदा महिलाहरुको पाठेघरको क्यान्सरको दर दिनानुदिन बढ्दै गइरहेको त्यस प्रति सचेत गराउनका लागि पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतना संगै परीक्षण कार्यक्रमको आयोजना गरिएको बताइन । पाठेघरको मुखको क्यान्सरको परिक्षण मार्फत पाठेघरमा क्यान्सर हुदैछ भन्ने जानकारी पाइने भएकाले ३० देखी ६० वर्ष उमेर पुगेका महिलाहरुले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ रहेको थियो । पछिल्लो समय मानिसहरुलाई मानसिक समस्याहरु समेत देखिने क्रम वढिरहेकाले प्रयास नेपालले त्यस तर्फ समेत काम गर्दै मनोसामाजिक परामर्शको कार्यक्रमहरुलाई समेत प्रयास नेपालले निरन्तरता दिदै आएको भट्टराईको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखाका हरिराम पराजुलीले पछिल्लो समय खानपान र रहनसहनका कारण विभिन्न रोगहरु लाग्ने र महिलाहरुमा पनि त्यसैका कारण पाठेघरको क्यानसर हुने गरेकाले त्यस तर्फ सचेतना फैल्याउन आवश्यक रहेको बताए । सो अवसरमा बोेल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी सेवा समितिले रक्तदान, आँखा जाँच लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिदै आइरहदा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरलाई मध्येनजर गरी स्वास्थ्य परीक्षणको कार्यक्रमको आयोजना गरिएको बताए । आगामी दिनमा पनि प्रयास नेपाल संग सहकार्य गरेर स्वास्थ्यको क्षेत्रमा उल्लेख्नीय काम गर्ने ढकालको भनाइ रहेको थियो । स्वास्थ्य परीक्षण कार्यक्रममा मेडिसिन कोअर्डिनेटर निलम महर्जन, सिनियर नर्सिङ अफिसर पुष्पा लक्ष्मी महर्जन लगायतले सहजीकरण गरेका थिएभने प्रयास नेपालका कोषाध्यक्ष निरु पराजुली, सह सचिव वुद्धि सागर सापकोटा, सदस्य दुुर्गा थपलिया, लायन्स क्लव अफ पोखरा स्काइ टाउनका पूर्व अध्यक्ष मञ्जु पौडेल भट्टराई, कोषाध्यक्ष मधु पन्थी लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए । भदौ १० गते सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनको ३१ औं दिन शनिवार सम्म आइपुग्दा भक्तजनको आगमन कायमै रहेको छ । प्रवचन कार्यक्रममा युवा सन्तश्री तुलसी स्वरुप महाराज र उपवाचक विष्णु पहारीको प्रवचन र रोशन बन्जरा र सुजन बन्जराको भजन प्रस्तुतीमा भक्तजनहरु मोहित भएका थिए । यसैविच भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी युवा परिषदको आयोजनामा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
सिन्धुली: मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । आज साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । गाडीमा चारजना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजीकार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौं: स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ । ‘आत्मनिर्भर नेपाल अभियान’ अन्तर्गत आयोजित प्रदर्शनीमा विभिन्न ३० प्रदर्शनी कक्ष छन् । यसमा कृषि सामग्री, खेतीबाली, स्वदेशी खाद्यान्न, प्राङ्गारिक मल, हस्तकलाका सामग्री, जडिबुटी तथा वनस्पति, अल्लो र गाँजाका कपडालगायत सामग्री छन् । सो अवसरमा रास्वपाका उद्योग विभाग प्रमुख एवं सांसद गणेश पराजुलीले उद्यमीले गरिरहेका प्रयासलाई प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ उत्पादन बृद्धि गरेर आत्मनिर्भरमात्र होइन सम्भावना भएसम्म निर्यात पनि गरौँ भनेका हौँ ।” स्वदेशमा सम्भावना र उत्पादन भएका वस्तुलाई प्रवर्द्धन गर्न, उत्पादन गरेका वस्तुको बजार खोज्न, उत्पादन गर्ने प्रविधि विकास गर्न र प्रविधि तथा बजार हुँदाहुँदै पनि नीतिगत समस्या छ भएमा पनि पहल गर्न यो प्रयास गरिएको सांसद पराजुलीले बताउनुभयो । प्रदर्शनीले स्वदेशी उत्पादनको बजारीकरणमा एवं उद्यमीलाई प्रोत्साहन समेत हुने अपेक्षा लिइएको छ ।
सर्लाही: सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उहाँले बताउनुभयो ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो । राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै रु सात हजार महङ्गो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक्ता हर्ने हो त्यसपछि व्यवसायीलाई हेनुपर्छ ।” सुनचाँदी व्यवसायीका मागका बारेमा सरकारका तर्फबाट आफुले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहलकदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाउनुभयो । चोरी पैठारीका कारण नेपालका सुनचाँदी व्यवसायी मर्कामा परेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “चोरी पैठारी रोक्नसके सुनचाँदी व्यवसायीले व्यवसायमा मर्का बेहोर्नु पर्दैन, सुनचाँदी व्यवसायीको उचित व्यवस्थापन जरुरी छ ।” नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झण्डै ६० प्रतिशत कालीगढ विदेशी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्वदेशी कामदार बढाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गर्नुभयो ।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताउनुभयो । “आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो”, उहाँले भन्नुभयो, “त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।” सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिनुभएको थियो । उहाँले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उहाँको भनाइ थियो । “मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन । त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ”, सभापति लामिछानेले भन्नुभयो, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो ।” सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गर्नुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहनुभएको छ । बैठक आज सम्पन्न हुनेछ ।

