म्याग्दी: धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो । “आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो,” उहाँले भन्नुभयो “दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।” खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताउनुभयो । बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ । गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पोखरा: पोखरामा डेराकोठाबाट हराएका बालक फेवातालमा मृत फेला परेका छन् । बिहीबार दिउँसो घरबाट हराएका प्रस्ताव क्षेत्री आज फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वत फलेवास नगरपालिका–२ थापाठाना घर भई पोखरा महानगरपालिका–७ अन्नपूर्ण टोलमा आमाबुबासँग बस्दै आएका प्रस्ताव क्षेत्री बिहीबार दिउँसो घरमा कसैलाई नसोधी हिडेको प्रहरीले जनाएको छ । घरबाट बालक हराएको सूचनापछि खोजतलाजको क्रममा आज फेवातालमा डुवेको अवस्थामा बालक फेला परेको कास्की प्रहरीले जनाएको छ । मृतक बालकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा आज बिहान स्कुटर दुर्घटना हुँदा पर्वत घर भएका सुसान गुरुङको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ८ सभागृह चोकबाट सृजनाचोकतर्फ आउँदै गरेको ग २१ प ५४५० नम्बरको स्कुटर आकाशे पुलको पोलमा ठोक्किन जाँदा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोलमा ठोक्किएर गम्भिर घाइते भएका गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतको पैयू गाउँपालिका ७ घर भएका गुरुङ पोखराको धौलागिरी दोहारी साँझ पोखराका व्यवस्थापक रुपमा रहेका थिए । यता पोखरा लोक दोहोरी रेष्टुरेण्ट व्यवसायी संघले गुरुङको निधनप्रति शोक व्यक्त गरेको छ । संघले आज पोखराका सबै लोक दोहोरी रेष्टरेण्ट बन्द रहने समेत जनाएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो। बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। मृतकको शव नेपालस्थित भारतीय दूतावासको टोलीले बुझेर पोखरा लगेको छ । आँबुखैरेनी अस्पतालमा चार वटा मात्रै शव राख्ने क्षमता भएकाले दूतावासले सबै शव पोखरा लगेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो। बसमा सवार यात्रु सबै भारतको महाराष्ट्रका भएको खुलेको छ। घाइतेमध्ये १८ जनालाई उपचारका लागि तनहुँ जिल्लाको आँबुखैरेनी अस्पतालमा लगिएको छ। ११ जना गम्भीर घाइतेलाई काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन भएको छ। अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ। घटनास्थलबाट बसमा सवार ४३ यात्रुकै उद्धार भइसकेको डिएसपी रायको भनाइ छ । घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। बस शुक्रबार बिहान ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो।
पोखरा: पोखराको रोलिङ स्टोन बारमा आज पूर्ण राई एण्ड दाजुभाईको कन्सर्ट हुने भएको छ । भिजुअल जोनको आयोजनामा रोलिङ स्टोन्स बारमा आज बेलुकी ८ बजेदेखि साढे १२ बजेसम्म कन्सर्ट हुने आयोजक कमिटीका सदस्री सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रवेश शुल्क नगद रु १ हजार २ सय ५० निर्धारण गरिएको छ । पूर्ण राई एण्ड दाजुभाईले यस अघि अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिएको थिए।
पोखरा: पोखरामा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना हुदा बस चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटना हुँदा बस चालक स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई पोखरा–९ कृष्ण टोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते चालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालकले नियन्त्रण गुमाउँदा नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २० जना विद्यार्थीहरु सकुशल रहेको बताइएको छ । बस दुर्घटना हुँदा पार्किङमा राखिएका ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु विच पोखरा उद्योग बाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने भएको हो । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र तृतीय हुनेले १० हजार र सान्तवनाले नगद पाँच हजार सहित प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक घनश्याम पाण्डेयले बताए । कल्चर र एग्रिकल्चर संगसंगै अगाडि बढाउने उद्देश्य सहित अहिले आफुहरु सातौं संस्करण सम्म आइपुगेको पाण्डेले बताए । कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूको गीत मार्फत प्रचार प्रसारमा योगदान पु¥याउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले कृषिको महत्व र यसको विविध पक्षहरूको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ । किसानहरूको सफलतासँग सम्बन्धित प्रतियोगिताले अन्य किसानहरूलाई प्रेरितसँगै यसले नयाँ विधिहरू अपनाउन र कृषि उत्पादनमा सुधार ल्याउन उत्प्रेरित गर्ने कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले बताए । अहिले जिल्ला जिल्लामा टिम छनोट भइरहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए । कृषि गीत प्रतियोगिताले जिल्ला जिल्लामा कृषक समुहहरुमा उत्साह थपेको उनको भनाई छ । प्रतियोगिता सन्देश मुलक हुने भएकोले पनि जिल्लामा धेरै मेहनत गरेर टिम छनोट भइरहेको बताए ।
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता भटृ, कबड्डीकी मानमति विष्ट, राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र रग्बी खेलका श्रीराम श्रेष्ठ मनोनयनमा परेका हुन् । यस्तो छ खेलाडीको विगत सोह्र वर्षे उमेरमा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका गुल्शनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । आइसिसी एसिया टि ट्वान्टी विश्वकप एसिया छनोटको फाइनल ओमानविरुद्धको खेलमा उनले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । त्यतिबेला गुल्शनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरी सर्वाधिक ५४ रन बनाएका थिए । सर्लाही मलंगवामा जन्मिएका गुलशनले ३२ ट्वान्टी ट्वान्टी र २७ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । देब्रेहाते ब्याटर एवम दाहिने हाते बलर झा नेपाल पुलिस क्लबमा आबद्ध छन् । यसैगरी राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य भट्ट सहभागी काभा महिला नेसन्स लिग–२०२४ मा नेपाल उपपविजेता बन्दा महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यस्तै उनी चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएकी थिइन् । त्यसैगरी नेपालमा नै आयोजना भएको १६औँ ढोरपाटन डबल लिग भलिबल २०८०, चौथो टाइगर कप २०८० लगायतको विभिन्न प्रतियोगिताको उपाधि एपिएफले जित्दा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । डडेलधुरामा जम्मिएकी भट्ट हाल एपिएफ क्लबमा आबद्ध छिन् । सोह्र वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउदाँ महत्वपूर्ण योगदान गरेकी छन् । साउदी अरेबियामा भएको आठौ वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनको खेल प्रर्दशन उत्कृष्ट रहेको थियो । त्यस्तै यु–१५, यु– १८ र यु–२० नेपाली राष्ट्रिय टोलीमा कप्तानको भूमिका निर्वाह गरेकी उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेकी छन् । सोलुखुम्बुमा जन्मिएकी उनी एपिएफ क्बलमा आबद्ध छिन् । यसैगरी नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दादेखि नै महत्वपूर्ण योगदान दिएको रग्बी खेलाडी श्रीरामले चीनमा भएको १९औँ एयिसाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । यसैगरी भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागिता जनाएका उनले २०१६ मा चेन्नईमा नै भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र सन् २०१८ मा सिङ्गापुरमा भएको एसियन रग्बी सेभेन्समा सहभागिता जनाएका थिए । उनले सन २०२२ मा भारतमा भएको विश्व रग्बी फिप्टिन्स डिभिजन ३ मा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगिता रग्बी खेलको डिभिजन ३ मा नेपाल पहिलो पटक प्रवेश गरेको थियो । उनी काभ्रेमा जन्मिएका हुन् । भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मिएकी मानमतिले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । त्यसैगरी काठमाडौँमा नै भएको १३औँ सागमा कबड्डी खेलबाट रजत पदक जितेकी थिएन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् । मनोनित हुने उक्त पाँच जना खेलाडीमध्ये एक जना खेलाडीले पिपल्स च्वाइस अवार्डको उपाधि जित्नेछन् । पिपल्स च्वाइस विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ सेवाको भोटिङमार्फत मत दिन पाइनेछ । यसमा इ सेवाको मतभार ५० प्रतिशत हुनेछ भने सामाजिक सञ्चाल फेसबुक मतभार–२५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव प्रतिशत तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । उक्त विधाका विजेताले पल्सरको एनएस चार सय सिरिज मोटरसाइकल प्राप्त गर्नेछ ।

