सङ्खुवासभा: सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् । शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिनुभयो । अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतियसहित तीन हजार बढी मजदुर कार्यरत छन् । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ । आयोजना बनाउन रु एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ ।
गण्डकी: ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नारासहित यही भदौ १५ गते १७औँ राष्ट्रिय पुस्तकालय मनाइँदैछ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । उक्त दिवसका अवसरमा पोखरा सार्वजनिक पुस्तकालय÷अमेरिकन कर्नर पोखरा र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्ला विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु सात हजार, द्वितियलाई रु पाँच हजार, तृतीयलाई रु चार हजार र सान्त्वना पुरस्कार रु दुई हजार राखिएको छ । यस्तै विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा यही भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । १४ गते पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ । सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो । दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको उहाँले जानकारी दिनुभयो । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ । सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ । “हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “बालबालिकाको सिर्जनात्मक क्षमता विकाससँगै उनीहरुलाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी यस वर्षको कार्यक्रम तय गरिएको छ ।” राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ । पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले पनि विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाकाअनुसार समुदायमा सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम तय गरिएको छ । गत साउन २१ गते शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय बैठकबाट ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो । पुस्तकालयमार्फत ज्ञान, सीप तथा सूचना पहुँच, अध्ययन गर्ने बानीको प्रवद्र्धन र सामुदायिक भावना सम्मिलित समावेशी तथा सहभागितामूलक कार्यक्रम गरी भव्य रुपमा उक्त दिवस मनाउन मन्त्रालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुलाई अनुरोध गरेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा हाल ४० भन्दा बढी सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालित छन् ।
काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले रु एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा रु १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र रु ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । चालु आवको पहिलो महिना भारतबाट रु ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा रु सात अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको हो । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा रु २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ । गत साउनमा चीनबाट रु २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा रु १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ । चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग रु १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ । नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले रु छ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, रु पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र रु चार अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, साउनमा रु तीन अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले रु एक अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ ।
काठमाडौं: वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताउनुभयो । ७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यसवर्ष हालसम्म तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरमा ४७ काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।
काठमाडौं: भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौं आइपुग्नुभएको छ । उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए । यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
चितवन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ । आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गर्नुभयो । “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।” विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।” मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने जनाइएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिनेछ । केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिनुभयो । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छ । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।
जुम्ला: जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड एन रिर्सच प्रालि र गुठीचौर–५ मा पाँच हेक्टर क्षेत्रफलमा रहेको गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो । जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो । चक्लाबन्दी मोडेलमा उच्च घनत्वको स्याउको क्षेत्र विस्तार गरी यन्त्रमैत्री गह्रासुधार, थोपा सिँचाइ तथा घेराबारमा परियोजनाबाट सहयोग गरी थप नौ हेक्टर क्षेत्रफलमा गुठीचौरमा उच्च घनत्वकोे स्याउ बगैँचा स्थापना भएको शाहीको भनाइ छ । जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ । ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन यहाँका आठ वटा स्थानीय तहमा दुई लाख ५३ हजार एक सय हेक्टरको कूल क्षेत्रफलमध्ये ३८ हजार चार सय ८६ हेक्टर खेतीयोग्य जमिनको क्षेत्रफल रहेको छ । उक्त हेक्टरमध्ये हाल २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा खेती गरिएको शाहीले जानकारी दिनुभयो । सिञ्चित क्षेत्रफल तीन हजार छ सय ५० हेक्टर जमिन छ । असिञ्चित पाखो २२ हजार सात सय ८५ हेक्टर छ । एक लाख चार हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा वजजङ्गलले ढाकेको उहाँले बताउनुभयो । यहाँको चरन क्षेत्रले ढाकेको ६६ हजार दुई सय १० हेक्टर क्षेत्रफल र ताल, खोला चट्टान अन्य क्षेत्रले ढाकेको क्षेत्रफल ४३ हजार ८३४ हेक्टर रहेको छ ।
चितवन: भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् । पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको हो । हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताउनुभयो । उहाँले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट रु पाँच, ठूलो र मध्यमको रु १० ले बढाइएको बताउनुभयो । सबै फार्महरुले मूल्य बढाएको उहाँले जानकारी दिनुभयो । लामिछानेले भन्नुभयो “मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।” अण्डा उत्पादक कृषकहरु नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष समेत रहनुभएका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरु फेरि व्यवसायमा फर्किएको बताउनुभयो । साउनमा बिक्री हुन बाँकी अण्डाहरु बिक्री भईसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाई छ । खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताउनुभयो । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताउनुभयो । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उहाँले जानकारी दिनुभयो । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ कायम गरेका थिए ।

