मुस्ताङ: मुस्ताङको साङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको छ । हिमपहिरोले बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए। हिमपहिरो खसेपछि बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको उनले जानकारी दिए।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताउनुभयो । उहाँले यसबारेमा सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई मुलुकमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भेटमा विद्यार्थीहरुले बङ्गलादेशमा असहज अवस्था आएपछि इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा नेपालमा इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए । सोही क्रममा अध्यक्ष दाहालले मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी सोसम्बन्धमा जानकारी लिनुभएको थियो । रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयले विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरिसकेको उल्लेख गर्दै र मन्त्रिपरिषद्बाट निर्णय भएको खण्डमा यो व्यवस्था मिलाउन सकिने जानकारी गराउनुभएको थियो ।
म्याग्दी: परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै जानु भएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिनुभयो । “पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन,” उहाँले भन्नुभयो “छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।” ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गर्नुभएको छ । “छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,” उहाँले भन्नुभयो “घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।” १५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताउनुभयो । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन् । वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताउनुभयो । ८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताउनुभयो । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउनुहुन्छ । “दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,” उहाँले भन्नुभयो “मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।” २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताउनुभयो ।
चितवन: पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर आँखा अस्पताल बाहेक अन्य दुई सेकेण्डरी अस्पताल, एउटा सिटी क्लनिक र १८ आँखा उपचार केन्द्र संघद्वारा सञ्चालित छ । भरतपुर अस्पतालले चितवनका सातै पालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिकाको चनौली र शिवनगर, माडी, राप्ती, खैरहनी, रत्ननगर, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकामा यस्ता केन्द्र सञ्चालित छन् । संघद्वारा भरतपुरको नारायणगढमा ‘सिटी क्लिनिक’ सञ्चालित छ । नवलपरासी (सुस्ता बर्दघाट पूर्व) को हुप्सिकोट, मध्यविन्दु, बौदिकाली, गैंडाकोटमा केन्द्र छन् । कावासोतीमा सेकेण्डरी अस्पताल सञ्चालित छ । धादिङको सल्यानटार र बेनिघाट, तनहुँको आँबुखैरहनी र भानु नगरपालिका, सर्लाहीको ईश्वरपुर, सिन्धुलीको दुधौली र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र छन् भने पर्साको ठोरीमा सेकेण्डरी अस्पताल छ । संघका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले आवश्यक स्थानमा आँखा उपचार केन्द्र विस्तार गर्दै लगिएको बताउनुभयो । अधिकांश केन्द्र र अस्पतालका प्रमुख पालिकाका प्रमुख एवं अध्यक्ष रहेको व्यवस्था गरिएका छन् । स्थानीयहरुको आँखा उपचार केन्द्र सहयोग समितिले केन्द्रको रेखदेख गर्दै आएको छ । स्थानीय पालिकाको सहकार्यमा अधिकांश केन्द्र सञ्चालन गरिएको छ । सेकेण्डरी अस्पतालमा चिकित्सक हुन्छन् भने केन्द्रहरुमा नेत्र सहायकले सेवा प्रदान गर्दछन् । दुईदेखि तीन जनाको टिमले केन्द्र सञ्चालन गर्दछ । जटिल समस्या आएमा टेलिमिडिसिन मार्फत् विशेषज्ञ चिकित्सकसँग परामर्श लिने व्यवस्था सबै केन्द्रमा छ । यसबाट पनि समाधान नभएमा बिरामीलाई मुख्य अस्पताल पठाउने गरिन्छ । मध्यम अवस्था रहेमा नजिकको अस्पतालमा पठाउने गरिन्छ । मुख्य अस्पतालमा विशेषज्ञ चिकित्सकहरु छन् । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक, ८ जना अध्ययनरत आवासीय चिकित्सक, ८ जना अप्टोमेट्रिक्स (दृष्टि विशेषज्ञ), ५९ जना नेत्र सहायक सहितको टिमले उपचार दिंदै आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार यहाँ कार्यरत चिकित्सकहरुले जलविन्दु, मोतियाविन्दु, दृष्टिपर्दा, कर्निया, अकोलोप्लास्टिक (नक्कली आँखा राख्ने) विषयमा फेलोसिप समेत गरेका छन् । अस्पतालले नै दुई जनालाई ‘फेलोसिप’ अध्यापन गराउँदैछ । अस्पतालका मेडिकल निर्देशक डा.पुष्पा गिरी श्रेष्ठका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का विद्यार्थीहरु यहाँ आँखामा एमडि तहको अध्ययन गर्दछन् । यसका अतिरिक्त अन्य संस्थाहरुले पनि अध्ययनका लागि यहाँ पठाउने गर्दछन् । हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान मार्फत् शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेका छन् । नेत्र सहायक अध्यापन हुने गर्दछ । अस्पतालले चितवन र छिमेकी जिल्लाहरुमा शिविरहरु मार्फत् सेवा दिंदै आएको छ । निर्देशक डा गिरीका अनुसार हरेक वर्ष १२÷१३ जिल्लामा शिविर मार्फत् सेवा दिने गरिएको छ । अस्पतालले आँखा बैंक स्थापना गर्ने तयारी गरेको छ । भीराज उषामाया पाठक आँखा बैंक नाम दिइएको छ । अहिले नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ । अहिलेसम्म एक हजार २५३ जनाले आँखा दानका लागि प्रतिबद्धता जनाइसकेका छन् । २७ जनाको नानी संकलन गरेर पठाईएको छ भने १३१ जनाको यहाँ नानी मगाएर प्रत्यारोपण गरिएको निर्देशक डा गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“मानव अंगको महत्वपूर्ण अंग आँखा हो । अन्धोपना हुनु जीवनका लागि निकै कठिन हुन्छ । समयमा उपचार पाएमा अन्धोपना हुनबाट जोगाउन सकिन्छ । ” अन्धोपन हुनबाट जोगाउँदै अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । विद्यालयमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको उहाँले बताउनुभयो । आँखा उपचार केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय रहेको थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो । सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो संख्या १० हजार चार सय १५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ । अस्पतालमा देशका विभिन्न भूभागसँगै भारतबाट समेत बिरामी आउने गर्दछन् । स्वयंसेविहरुको संस्था भएकाले न्यून शुल्कमा उपचार हुने गर्दछ । सरकारी र गैरसरकारी संघ संस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने भएकाले अस्पताल सञ्चालन गर्न कठिनाईका बाबजुद सहज बनेको संघका सचिव केशव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पताल आउने बिरामी आर्थिक अभावका कारण फर्किनु पर्दैन ।” स्वास्थ्य बीमा कार्यान्वयन भएकाले बिरामीलाई सहज हुने गरेको सचिव अधिकारीको भनाइ छ । अस्पताल विसं। २०४४ चैत्र १८ गते स्थापना भएको हो ।
इलाम: छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ । पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ । उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो । “मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् । उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् । कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले । जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।”
काठमाडौं: बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उहाँको भविष्यको योजनालाई अन्योलमा पार्नसक्छ । सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोग गरिएको भन्दै यसको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलनमा सहभागिता बढ्दै जाँदा पूर्व प्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत् नयाँदिल्लीमा शरण लिन पुग्नुभएको थियो । आन्दोलनकारी ढाकास्थित उहाँको सरकारी निवासमा पुगी तोडफोडसमेत गरेका थिए । उहाँको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हसिनाको राहदानी र सरकारका पूर्वमन्त्री तथा पूर्वसांसदको राहदानी रद्द गर्नुपर्ने जनाएको छ । यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा खडा गरेको छ । भारतले हसिनालाई शरण दिएपनि प्रधानमन्त्री मोदीले बङ्गलादेशका नयाँ नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई पनि समर्थन गर्नुभएको छ । बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्व मन्त्रीमण्डल र विघटित राष्ट्रिय सभाका सबै सदस्य आफ्नो ओहदाका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए ।” “यदि उनीहरूलाई पदबाट हटाइएको वा अवकाश दिइएको अवस्थामा उनीहरूको र उनीहरूका पति वा पत्नीको कूटनीतिक राहदानी रद्द गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ । ढाकाका नयाँ अधिकारीहरूले हसिना र उहाँको कार्यकालमा अन्य पूर्व उच्च अधिकारीहरूले विशेष राहदानीका लागि आवेदन दिन सक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहेको बताएका छन् । “माथि उल्लेखित व्यक्तिले सामान्य राहदानीका लागि नयाँ आवेदन दिँदा दुई वटा सुरक्षा निकायले राहदानी जारी गर्नका लागि आफ्नो आवेदन स्वीकृत गर्नुपर्नेहुन्छ,” मन्त्रालयले भनेको छ। हसिनाको सरकारमाथि विपक्षी नेता तथा कार्यकर्ता र सर्वसाधारणमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लागेको छ । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो । युनुसले आफ्नो प्रशासनले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताउनुभएको छ । प्रर्वप्रधानमन्त्री हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथिको ‘सामूहिक हत्या’ सम्बन्धमा तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो । यो पनि पढ्नुहोस काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो
तनहुँ: जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच÷पाँच जनामा डेङ्गी पुष्टि भएको छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताउनुभयो । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म सङ्क्रमितको सङ्ख्या शून्य छ । सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ । पालिका डेङ्गी सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । आँबुखैरेनी अस्पतालमा लक्षित वर्गका सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता भएका, सहाराविहीन, अशक्त तथा ज्येष्ठ नागरिकलाई औषधि उपचारमा निःशुल्क गरिएको छ । बिरामीलाई आवश्यक परेमा अस्पतालमा भर्ना, औषधिलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यर्होर्ने बताउँदै अध्यक्ष चुमानले पालिकाले सिफारिस गरेपछि सोका आधारमा अस्पतालले सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।
धनुषा: गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न बर्तमान सत्ता गठबन्धन बनेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको आज यहाँ शिलान्यास गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज भएको बताउनुभयो । दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने उहाँको भनाइ थियो । गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने बताउनुभयो । “बर्तमान समिकरणबाट बनेको सरकारले मुलुकका जटिल समस्या समाधान गर्न सघाएको छ”, उहाँले भन्नुभयो, “ अहिले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको छ ।” अठार वर्षदेखि निष्कर्षविहीन रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ९एमाले० एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “समिकरण बन्ने र भत्किने क्रम चलिरहँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले नागरिकको सेवा प्रवाहलाई समेत प्रभावित ग¥यो ।” अहिले निर्माण गरिएको सत्ता समिकरण मुलुकका लागि निर्विकल्प रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले तत्कालै यसको विकल्प खोज्नु उचित नहुने बताउनुभयो । “यसले जटिल समस्या समाधान मात्रै गरेको छैन, मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले सत्तापक्ष र प्रतिपक्ष दुवै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुरामा सबै सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक अस्थिरताको प्रभावले विगतमा केन्द्र र प्रदेशमा असर परेकाले बाँकी रहेका विकास निर्माणका काम अब दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो ।

