पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

पोखरा:     पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा फार्मेसी सञ्चालकसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले बुधबार बिभुती फार्मेसीका सञ्चालक ४८ वर्षीय केदार अधिकारी र २७ वर्षीय बिजय पोख्रेललाई लागूऔषध किनबेचको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिए ।   पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा पक्राउ परेका आरोपित पोखरा महानगरपालिका–९ नयाँबजारमा शंकास्पद अवस्थामा हिडिरहेका २७ वर्षीय पोख्रेलको शरीर खानतलासी गर्दा उनले भिरेको झोलाबाट लागूऔषध बरामद गरेको प्रहरी निरीक्षक जिसीले बताए ।  ‘पोखरा–९ नयाँबजारमा धादिङ निलकण्ड नगरपालिका घर भएका बिजय पोख्रेल शंकास्पद अवस्थामा हिडिरहेका थिए’, जिसीले भने, ‘रितपूर्वक पोख्रेलको शरीर खानतलासी गर्दा लागूऔषध (ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको १ सय २० चक्की फेला पारेपछि नियन्त्रणमा लिएका हौं ।’ पक्राउ परेका पोख्रेललाई सोधपुछ गर्दा लागूऔषध पोखरा–९ नयाँबजारस्थित बिभुती फार्मेसीबाट खरिद गरेको बयान दिएपछि उक्त फार्मेसीमा खानतलासी गर्दा ९० चक्की ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको लागूऔषध बरामद भएको उनले बताए ।  पक्राउ परेका फार्मेसी सञ्चालक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ९ र पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

मुस्ताङ:    मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो ।         जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा आज जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।       “जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ”, उहाँले भन्नुभयो, “स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या हुँदैन र किसानले मूल्य पाउँछन ।”       अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएको थियो । कृषक कर्म गुरुङले तापक्रम वृद्धिका कारण यसपाली स्याउमा छिटो गुलियो पसेकाले टिप्ने समय अघि सारिएको बताउनुभयो ।       अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।       मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।       म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैँचामा नपाग्दै अग्रीम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोशेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।

बैतडी:      बैतडीमा सर्पले डस्दा तीन घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पले डस्दा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।       जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना सर्पको डसाइबाट घाइते भएका हुन् ।  बुधबार जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा, मेलौली नगरपालिका–३ बागगोठका १८ वर्षीय धीरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका–४ विनायककी ३० वर्षीया धौली चन्द सर्पले डस्दा घाइते भएका हुन् ।       बोहरालाई घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् । मेलौली नगरपालिका–३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडिरहेका बेला बुधबार दिउँसो सर्पले डसेको थियो ।       पञ्चेश्वर गाउँपालिका–४ विनायककी चन्दलाई खेतबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । 

गोरखा:    गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।      गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो ।      करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु¥याइएको थियो ।      उहाँका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी०रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।      करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते हुनुभएको छ । उहाँको एपोलो अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।      छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ ।  नेपाल सरकार (मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।

तनहुँ:     पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।       सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो ।  निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरा हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । दुईतर्फी बाटो सञ्चालन गराउनका लागि काम भइरहेको उहाँले बताउनुभयो ।       निर्माणाधीन सो सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिराको जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । पृथ्वी राजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुँवा निस्कन तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।

काठमाडौं:    सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ ।       अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको हो ।       पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नु भएको थियो । उहाँले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गर्नभुयो ।        सो अवसरमा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उपस्थित हुनुहुन्थ्यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब रु २५ अर्ब ८८ करोड ऋण लिने सम्झौता  गरेको थियो ।       विसं २०७२ चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९  पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।       कार्यक्रममा काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको आठ दशमलव दुई  किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययनसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो ।       सरकारको तर्फबाट अर्थ सचिव डा घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गर्नुभयो ।      अर्थ मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गर्नु भयो । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिनु भएको थियो ।

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।       भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताउनुभयो ।      मन्त्री डा राणाले भन्नुभयो, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”       उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिनुभयो ।       भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।       साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताउनुभयो ।       सोही दिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उहाँले जानकरी दिनुभयो ।             यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुभएको हो ।