झापा: मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उहाँले बताउनुभयो । ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले उक्त प्रमाणपत्र पाउनुभयो । “ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भन्नुभयो, “अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।” नगरपालिकाले शिविरमै उहाँ र उहाँको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो । सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका परिचयपत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्भने चारै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने व्यवस्था रहेको खरेलले बताउनुभयो । स्वास्थ्य शिविर भेटिनुभएका मेचीनगर–१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिनुभयो । “ह्विलचेयरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुसी लागेको छ,” उहाँले हर्षित हुँदै भन्नुभयो, “पहिले अर्को कार्ड थियो । अहिले डाक्टरहरूले जाँचेपछि रातो कार्ड दिनुभयो ।” वडाहरूमा सञ्चालित स्वास्थ्य शिविरमै अपाङ्गतासम्बन्धी पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका कैयौँ व्यक्ति खुसी हुनुभएको छ । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा फरक–फरक स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगरलगायत झापाका १५ वटै पालिकामा हाल अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण शिविर सञ्चालन भइरहेको छ । तीनवटै पक्षको बराबर साझेदारीमा कार्यक्रम आयोजनाका लागि रु एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका एक सय सातवटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र रु चार करोड ५० लाख खर्च हुने जानकारी दिनुभयो । शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरीलगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताउनुभयो । “तीन वर्षसम्म त्रिपक्षीय लगानी साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि यो कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण हुने सहमति छ । हस्तान्तरण भएपछि नगरपालिकाले आफ्नै लगानीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ ।” चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचयपत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमासमेत गरिदिने यो अभियानलाई सिंहदरबार गाउँमा आएको अर्थमा नगरवासीले बुझिरहेको नगरप्रमुख गोपाल बुढाथोकी बताउनुहन्छ । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको पीडा कि स्वयम् व्यक्तिलाई थाहा हुन्छ, कि परिवारलाई”, अधिकारीले भन्नुभयो, “त्यही भएर पीडामा मल्हमपट्टी लगाउन नगरपालिकाले केही राम्रो सुरुआत गरेको छ ।” मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरूले अपाङ्गता पहिचान गरेको र नगरपालिकाले स्थलगत रूपमा शिविरमै परिचयपत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी भएको सामाजिक अभियन्ता देवेन्द्र खरेल बताउनुहुन्छ । उहाँले गाउँहरूमा अपाङ्गताको अवस्था पीडादायी रहेको आफूले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको सङ्ख्या बढिरहेको बताउनुभयो । “नगरपालिकाले घरदैलोमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको खोज गर्नु राम्रो कार्य हो”, उहाँले भन्नुभयो, “अभिभावकहरूलाई गर्भावस्थाको स्वास्थ्य हेरचाहसम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरू अपाङ्गताको सिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।”
धादिङ: नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को ‘टाइटल’ स्याङ्जाका चन्द्र गुरूङले जित्नुभएको छ । देश–विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई पछि पार्दै चन्द्र गुरूङको फोटोले टाइटल जितेको हो । प्रतियोगितामा चितवनकी अङ्किता गुरूङ ‘फस्ट रनरप’, लमजुङका अनिल गुरूङ ‘सेकेन्ड रनअप’ र धादिङकी प्रतिभा गुरूङको फोटोले ‘थर्ड रनरप’को उपाधि पाएको छ । सामाजिक सञ्जाल ‘फेसबुक’मा आएका ‘लाइक’, ‘कमेन्ट’, ‘शेयर’ र बान्की पूरा गरेर गुरूङ पोसाक लगाएका आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमु ‘गुरूङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरूङले जानकारी दिनुभयो । “गुरूङ समुदायको कला, संस्कृति र वेशभूषा संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश–विदेशमा गुरूङ वेशभूषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेका छौँ”, संयोजक गुरूङले भन्नुभयो, “यसले बालबालिका र युवालाई आफ्नो वेशभूषा सिक्न प्रेरित गरेको छ ।” ‘डिजिटल प्लेटफर्म’को प्रयोग गरी सामाजिक सञ्जालमार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिसँग भावनात्मक, सांस्कृतिक तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमु ह्यूल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् धादिङका पूर्वअध्यक्ष गोपाल गुरूङले बताउनुभयो । तमु ल्होसारका अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरूलाई पनि गुरूङ पोसाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा ‘फोटो कन्टेस्ट’ सफल पार्न सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । सीमित स्रोतसाधन प्रयोग गरी गुरूङ पोसाकको संरक्षण संवर्द्धन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमु ९गुरूङ० विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरूङले बताउनुभयो । सामाजिक सञ्जालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक सञ्जालको सही सदुपयोग गरी सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरूले बताएका थिए । ‘कला संस्कृति वेशभूषा गुरूङ जातिको पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित तीन महिना फोटो पोस्ट गर्ने समय तोकिएको थियो ।
काठमाडौं: हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ । विभिन्न गते, तिथि बारले यस नयाँ वर्षलाई असर पु¥याउँदैन । हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ । आज पुस १५ गतेदेखि गुरुङ समुदायले सर्प (सर्पिलो) वर्षलाई स्वागत गरिएको उहाँले बताउनुभयो । गरुड वर्षलाई बिदाइ गर्दै तमु गुरुङ समुदायका किशोरकिशोरीदेखि बालबच्चा र वृद्धवृद्धाहरूले यो चाड हर्षोल्लासका साथ मनाइरहेका छन् । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिन्छ । नेपालमा ग्याल्बो ल्होसार र सोनाम ल्होसारसमेत मनाइने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ समुदाय र शेर्पा जातिले ग्याल्बो ल्होसार मनाउने प्रचलन रहेको छ । यी जातिहरुमा मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको पाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताहरूको भनाइ छ । तमु जातिहरूको परम्परा धर्म, संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति एवम् प्रगतिका रूपमा यस पर्वलाई लिइने गरिएको छ । बाह्रवटा जीवहरूका नामबाट परिचित महान् पर्व तमु ल्होसार च्यु ल्हो, ल्वोँ ल्हो, तो ल्हो, ह्यि ल्हो, मुप्रि ल्हो, सप्री ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्या ल्हो, खि ल्हो, फो ल्हो विभिन्न रूपमा यसलाई मनाइने गरिन्छ । ल्होसार आदिमकालदेखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्वका रूपमा लिइने गरिएको छ । पहिले तमु जातिको ल्होसार पर्व नस्लको हिसाबले आदिम साम्यवादी मातृ सन्तात्मक युगदेखि सूर्यलाई आधार मानी पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने भएकाले कहिले दक्षिण ध्रुवतिर सूर्य नजिक पर्न जाने हुनाले छ÷छ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमु जातिको गुरुले निर्धारण गरेको बताइन्छ । पुस १४ गतेलाई गएको ल्होलाई बिदाइ र पुस १५ लाई नयाँ ल्होको आगमनको स्वागत गर्दै निधारमा सेतो टीका लगाई शुभकामना आदानप्रदान गर्ने प्रचलनसमेत छ । प्राकृतिक एवम् तम संस्कारअनुसार पुस १५ लाई नै आधार मानी तमु जातिहरूले आफ्नो ल्होसार पर्व निर्धारण गरी राखेको सो समुदायका अगुवाहरूको भनाइ छ । तमु भाषामा वर्ग भनेको वर्ष हो । तमु जातिको साधारण भाषामा ल्हो भनेको वर्ग हो र सार भनेको नयाँ भन्ने परम्पराअनुसार नै प्रत्येक पुस १५ लाई नयाँ ल्होसार भनेर मनाउँदै आएको बताइएको छ । तमु जातिको एक वर्षमा एउटा ल्हो को पूरा हुने भन्ने परम्परा रहेको पाइन्छ । प्रत्येक १२÷१२ वर्षमा आउने आ–आफ्नो ल्हो र त्यो ल्हो फेर्न एक वर्ग लाग्छ । त्यसलाई नै तमु भाषामा ल्होकोर भन्ने गरिन्छ । गुरुङ समुदायले मनाउने तमु ल्होसारका अवसरमा इलाममा बालबालिकाको नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत कार्यक्रमहरू हुने भएको छ । इलाम नगरपालिका–६ मा निर्माणाधीन न्हूपी छोलिङ गुम्बामा कार्यक्रम हुने आयोजक समितिका हरि गुरुङले जानकारी दिनुभयो । इलाम गुरुङ समाजले ल्होसारका अवसरमा पुस १४ र १५ गते खानाका परिकार प्रदर्शन गर्ने भएको छ । भेडाको मासु, ढिँडो, नारेपा ९लोकल रक्सी० लगायतका परिकार आफ्ना समुदाय र पाहुनाहरूलाई चखाउने प्रचलन रहेको बताइएको छ । नयाँ उत्पादन गरेको अन्नबाट निर्माण गरिएका परिकारसँगै सो समुदायबाट उत्पादन गरिएका वस्तुहरू समेत चखाउने गरिएको छ । यसैगरी, पुस १४ गते इलाम चियाबारीमा ल्होसार खुल्ला कवितावाचन प्रतियोगिता भएको छ । साथै इलाम–१५ मा नै घलेटार मदानमा छेलो हान्ने प्रतियोगिता समेत राखिएको छ । पुस १५ गते गुम्बामा लामा गुरुहरुद्वारा पूजापाठ र बालबालिकाका लागि नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको मूल आयोजक समितिकी अध्यक्ष पविमाया गुरुङले जानकारी दिनुभयो । गुरुङ समुदायले अन्न फलाएपछि सामूहिक रूपमा खाना खुवाउने कार्यक्रम परापूर्वकालदेखि नै गर्दै आएको भन्दै गुरुङ परिकार राखिने समितिका सचिव उमेश गुरुङले बताउनुभयो । सो समुदायले पुस १५ गते ल्होसार पर्व मनाउँदै आएको बताइएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बेच्न थालेको २७ वर्ष भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल खोलेर २०५४ देखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन् । समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ । विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, 'काठमाडौं तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।' मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरा मात्र बिक्री गर्दै आएकी छन् । छाली र चिउरा प्रति बटुका एक सयमा बिक्री गर्ने गरिएको छ । विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् । एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेकी छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन् । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दै आएकी हुन् ।
ढोरपाटन: नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । अहिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो । अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिए । उनका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उनको भनाई छ । जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल सुनाउँछन् । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उनले बताए । प्रमुख पौडले भने, “बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।” जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताए । विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्योग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोखे । “सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ”, रसाइलीले भने, “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।”
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाजोशी प्रहरी नायब उपरीक्षक उमेश ले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए । 'प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, “न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।” उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पु¥याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ ।
पोखरा: नेपाल मगर संघ गण्डकी प्रदेश समितिको आयोजनामा यही पुस १९ गते पोखरामा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल मगर संघ गण्डकी प्रदेश समितिले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मगर संघ कास्कीको समन्वयमा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुन लागेको जानकारी दिएको हो । नेपाल मगर संघ गण्डकीकी अध्यक्ष तारामाया थापामगरले संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको लागि महोत्सव आयोजना गरिएको बताइन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको छ, नेपालको कुल जनसंख्यामा मगर समुदाय तेस्रो स्थानमा रहेको छ’, अध्यक्ष थापामगरले भनिन्, ‘मगर समुदायको संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरण लागि हामीले पुस १९ गते मगर सांस्कृतिक महोत्सव आयोजना गरेका हौं ।’ पुस १९ गते पोखरा सभागृह हलमा हुने गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने अध्यक्ष थापामगरले बताइन् । ‘हामीले पोखरामा आयोजना गर्न लागेको प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै छौं, उनले भनिन्, ‘हामीले पहिलो पटक आयोजना गरेको मगर सांस्कृतिक नृत्यले संस्कार संस्कृति पुस्ता हस्तान्तरण र खोज अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगर समुदायका प्रचलित कौराहा÷कानराहा, झ्याउने÷झाबुरा, कृष्णचरित्र, यानीमाया, पुख्यौली सोरठी, सालैजो, थाली नाच, ज्यू मामै, मारुनी, भुम्या लगायतका सांस्कृतक लोकनृत्यहरु प्रस्तुत हुनेछन् । महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका ३ सय ६५ बढी कलाकार र १० हजार बढी दर्शकको उपस्थिति रहने नेपाल मगर संघ गण्डकीले जनाएको छ ।
भोजपुर: जिल्लाको बोखिममा जिप दुर्घटना हुदाँ घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका ३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उहाँले जानकारी दिनुभयो । गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । उहाँले दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले, सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएका जानकारी दिनुभयो ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने २ भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । बिपी २– ए ७५६८ नम्बरको ट्रिपर सडकबाट करिब ३ सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका सत्रुधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज विहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ । नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।