पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

ढोरपाटन:    निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् ।  पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ ।  भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ । पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ । युवापुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षणमा जोड दिएका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको नाचलाई संरक्षण गर्न स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था पनि लागेका छन् ।  नाच संरक्षणका लागि तिलाचन युवा क्लबले अग्रसरता लिएको छ । क्लबले पुराना पुस्ताबाट युवालाई संस्कृति हस्तान्तरण गराउने कार्य गर्दै आएको छ । हरेक वर्ष गाउँमा नयाँ नाच्ने युवा बढिरहेका छन् ।  सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरू भएको यकीन नभए पनि बाइसे चौबीसे राज्य हुँदादेखि नाच्दै आइएको बूढापाकाको भनाइ छ । बाउबाजेले नाच्दै आएको नाचलाई अहिलेसम्म संरक्षण गर्दै आएको स्थानीय ७७ वर्षीय भाजवीर घर्तीमगरले बताउनुभयो । “पुतली नाच मैले जान्ने हुँदादेखि नै नाच्ने गरिन्थ्यो, अहिले म सात दशक बढी भएँ, नाच्दै आइएको छ, हामी सानोसानो हुँदा बाउबाजे नाच्थे, मैले त्यही देखेर सिकेको”, घर्ती मगरले भन्नुभयो, “अहिलेका युवाहरूले पनि सिक्दैछन्, गर्दैछन्, यो संस्कृति कहिलेदेखि सुरू भएको भन्ने थाहा छैन, तर हाम्रा बाजेहरूले सयौँ वर्ष पुरानो हो भन्ने गर्थे ।” किन नाचिन्छ पुतली नाच ? तत्कालीन बाइसे चौबीसे राज्य सञ्चालनका समयमा राजारानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नान नाच्न थालेको स्थानीय नैनासिंह बुढामगरले बताउनुभयो । बुढामगरका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ ।  राजा, रानी र धाइमा गरी तीनवटा मूर्तिजस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरू पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् ।  माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ ।  माघ २ गते साँझ पुतली बनाउन सुरू गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरू डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतलीजस्तै बनेका मान्छे नाच्छन् । उनीहरूले शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरू दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् ।  भालुको पित्त देगाउने अचम्मको प्रचलन पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देगाउने गरिन्छ । दिनभरि पुतलीजस्तै बनेर नाच्ने मानिसको बीचमा कापै खेल्ने १०–१२ जना युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउने गर्छन् । पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् ।   उनीहरूमध्ये एक जनालाई पुरानो घुम (भेडाको रौँबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरूले भालु भन्छन् । कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्निे गर्छन् भने बेलाबेलामा उत्तानो पारेर देखाइ दिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् । देख्दा अस्वाभाविकजस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको प्रचलन हो । कापै खेल्नेहरूले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर।।। लगायत सुन्न पनि अत्न्यतै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लिल शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ६६ वर्षीय मनबहादुर घर्तीमगरले बताउनुभयो ।  “यस्तो खालको संस्कृति देख्दा बाहिरबाट आउने मान्छेलाई नराम्रो लाग्छ होला तर यो ठाउँमा धेरै वर्ष पहिलेदेखि नै भालुको पित्त देखाउने गरिन्छ, अन्य समयमा यस्तो हुँदैन, जुन दिन पुतली नाचिन्छ, त्यही भालुको पित्त देखाउने गरिन्छ”, घर्ती मगरले भन्नुभयो, “पहिले त अझै बढी चल्थ्यो, तर अहिले विस्तारै कम हुँदै गएको छ, भालु बनाएर यौनाङ्ग देखाउने मानिसको पहिचान खुलाउनु हुँदैन ।” सेनाको तालिम ‘पट्टा नाच’ पुतली नाचसँगै माघ ३ गते नै पट्टा नाच नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले जानकारी दिनुभयो ।  उहाँका अनुसार पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरू आफँै गर्दछन् । पहिले पुराना ढाल तरबारको प्रयोग हुने गरेकामा पछिल्लो समय काठलाई पट्टा बनाएर नाच्ने गरेको उहाँको भनाइ छ ।   संरक्षणमा गाउँपालिकाको चासो स्थानीय सरकार आएपछि बढी पुतली नाच चर्चामा आउन थालेको छ । प्रचारप्रसारका कारण पश्चिम बागलुङ यो नाच निकै लोकप्रिय बन्दै गएको छ । पाँच वर्ष अगाडिको तुलनामा नाच हेर्न आउने दर्शक पनि बढेका छन् । नाच हेर्नका लागि बागलुङका निसीखोलासहित तमानखोला, ढोरपाटन तथा गुल्मी, प्युठान, रोल्पा र रूकुमबाट हजारौँ दर्शक आउने गरेका छन् ।   मगर समुदायको पहिचानसँग जोडिएको पुतली नाच मौलिक संस्कृति भएको हुँदा पालिकाले बर्सेनि बजेट व्यवस्थापन गरेर व्यवस्थित गर्दै गएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले पाका पुस्ताबाट युवा पुस्तामा कला र संस्कृति हस्तान्तरण गर्नका लागि प्रशिक्षणलगायत काम गर्ने गरेको उहाँको भनाइ छ । “यस खालको नाच सायद नेपालमै छैन होला, हामी कला, संस्कृतिका हिसाबले धनी छौँ, नयाँले नसिकेपछि लोप भएर जान्छ कि भन्ने चिन्ता त हुन्छ नै यद्यपि समय–समयमा युवापुस्तालाई सिक्न प्रेरित गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिका यहाँका सङ्घसंस्थालाई पनि कला, संस्कृति संरक्षण गर्न सक्रिय बनाइरहेको छ, बजेट विनयोजन गर्ने र अन्य पक्षलाई पनि ध्यान दिएका छौँ ।”

बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर बजार झर्नेको सङ्ख्या ठूलो छ ।   सेवा सुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । बनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूख बिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।   दशक अगाडिसम्म रमाइला गाउँ बस्ती अचेल रित्तिएर उराठ लाग्दा छन् ।   झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ ।   घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठे खोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ ।   बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका-५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उनको भनाइ छ ।   पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे । “गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्य बाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,” उनले भने, “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्‍यो ।”   काठे खोला गाउँपालिका-५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गरे ।   हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।   गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए । उनले भने, “हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुपर्‍यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।”

रामपुर:   पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ ।   लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।   जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले यहाँ बनेको पुलले विशेष गरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको बताए ।   उनका अनुसार पूर्वपश्चिम राजमार्गमा करिव आधा घण्टाको दूरीमा पुग्न सकिने हुँदा व्यापारिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डका रुपमा पुल रहेको छ ।   पुल सेक्टर पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले दुई स्पान रहेको पुल मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु १६ करोड ४९ लाख ५७ हजार चार सयको लागतमा निर्माण गरिएको बताए ।   गण्डकी प्रदेश तनहुँको भिमाददेखि लुम्बिनी प्रदेश पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला सडकअन्तर्गत पुनः गण्डकी प्रदेशकै नवलपुर क्षेत्र जोड्ने सडक योजना छ । सो योजनाअन्तर्गत नवलपुर खण्डमा भने सडक स्तरोन्नतिको काम भएको छ भने पाल्पा खण्डमा बाँकी छ ।   भिमाद रामपुर मित्याल अरुणखोला जोड्ने गरी २०७६ सालमा ट्रयाक खुलेको हो । यस सडक स्तरोन्नतिको काम सम्पन्न भई चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र सहर जोडिने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् ।   जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएक हुन् ।   हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए ।   उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।   तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्केका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए । 

पोखरा:   कास्कीको मादी गाउँपालिका ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पुरा भएको छ ।   माघ ४ देखि  ६ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयुत्त मुल आयोजक समितिको संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए ।   ‘महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्णले आ–आफ्नो जिम्माको काम पुरा गरिसक्नुभएको छ’ संयोजक गुरुङले भने, ‘महोत्सव अवलोकन गर्न आउने अतिथि पाहुनाहरुलाई हामी स्वागत गर्न आतुर छौ ।’   महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्ने संयुक्त मुल आयोजक समितिका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए ।   सो अवसरमा थुम्सीकोट देखि गहते मिजुरे पाखुरीकोट नाघीधार पोसी सम्मको सडक स्तरोन्नतीका लागि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङलाई माग पत्र पेश गर्ने कार्यक्रम समेत रहेको संयोजक तथा स्थानिय जनप्रतिनिधि समेत रहेका ओमप्रकाश गुरुङले जानकारी दिए ।   नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।   महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिने छ । ३ दिनसम्म चल्ने उक्त महोत्सवमा ५ हजार  दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।   नागीधार गाउँको विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव हुन लागेको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।   महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन, समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौतारा उद्घाटन गरिने कार्यक्रमसमेत तय गरिएको छ ।   महोत्सवमा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटर नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने आर्थिक उपसमिति संयोजक प्रकाश गुरुङले जानकारी दिए ।   त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङले जानकारी दिए ।   भद्रकाली काँहुखोला बाट भैसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमिको दुरीमा नागीधार गाउँ सवारीसाधन बाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङले जानकारी दिए । त्यस्तै पोखरा–२६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने पोखरा–३१ बेगनास बाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ ।     पोखराबाट थुम्सीकोट सम्म २० किमि सडक पिच रहेका छन् भने बाँकी १५ किमि कच्ची रहेका छन् । हाल नागीधार र पाखुरीकोट गाउँमा केहि होम स्टेहरु र स्थानीय होटेलहरु समेत सञ्चालनमा रहेका छन् ।

काठमाडौं: आशिका तामाङ पक्राउ परेकी छन्।   प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हाे ।   पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई स्वयम्भू क्षेत्रबाट बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।   कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो।   अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो।   हाल उनलाई प्रहरी वृत्त गौशाला ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खोटाङ:   नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।   शाखाको जिल्ला कार्यसमितिको मङ्गलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो ।   जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए ।   पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासङ्घ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय भएको उनले जानकारी दिए । रासस

पोखरा:    घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् ।  पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले सातौं ब्रेज मेश्रो अवार्ड प्रदान गरे ।  परियारलाई सातौं ब्रेज मेश्रो अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए । घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले पकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए ।  ‘ घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड हामीले घान्द्रुकमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई प्रदान गर्दै आएका छौं, उपाध्यक्ष गुरुङले भने, ‘सातौं ब्रेज मेश्रो अवार्ड हामीले यसपटक घान्द्रुकको पकृति संरक्षणमा योगदान पु¥याउँदै आउनुभएका हिमलाल परियारलाई प्रदान गरेका छौं, भौतिक विकाससँगै पकृति संरक्षणमा उहाँले दिनुभएको योगदान अतुलनिय छ ।’ उपाध्यक्ष गुरुङले घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्ड घान्द्रुकको भौतिक विकासदेखि प¥यावरण संरक्षणमा योगदान दिने व्यक्तिहरुलाई प्रदान गर्दै आएको बताए ।  घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्डबाट राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको छ ।  कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङ गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए ।   ‘घान्द्रुकमा जन्मेर आफ्नो कर्मथलो विदेशमा बनाउँदै आउनुभएका घान्द्रुकका नागरिकहरुले गाउँको विकास तथा विभिन्न क्षेत्रमा उहाँहरुले दिदैं आएको योगदानको कदर गर्दै प्रदान गर्नुभएको अवार्डले मनोवल अझै उच्च हुन्छ, वडाध्यक्ष गुरुङले भने ।  कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्व अध्यक्ष क्याप्टेन कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुल बहादुर गुरुङले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङको अध्यक्षता र लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।   

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताउनुभएको छ ।  नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ती पर्वको उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राख्नुभयो ।  सरकारका प्रवक्ता मन्त्री गुरुङले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानुनी प्रक्रिया रहेको र प्रक्रियागत कानुन बनाउन छ वर्षभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो ।  “यसरी कानुनी प्रक्रियामै अल्झिदा विकासमा अड्चन आइरहेको छ । यसले जनताको सेवामा बाधा पुग्नाका साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो”,उहाँले भन्नुभयो,“त्यसै कारण जनतालाई सेवा सुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।” मन्त्री गुरुङले अध्यादेशले  सूचना प्रविधि (आइटी) सम्बन्धी व्यवसाय गर्नेहरुलाई सहज वातावरण सिर्जना गर्ने र विदेशी कम्पनीसँग ऋण लिन पाउने व्यवस्थाले व्यवसायको विकासमा प्रोत्साहन मिल्ने जिकिर गर्नुभयो ।  यस्तै, उद्यमीले सहुलियत पाउने, काममा आएका झन्झट, सार्वजनिक प्रशासनिक सेवाको ढिलासुस्ती हटाउन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न अध्यादेश ल्याउनु परेको उहाँले प्रष्ट पार्नुभयो ।  “अब उपरान्त तपाई कुनै सरकारी कार्यालयमा पुग्नुभयो र तपाईको काम सात दिनभित्र पूरा गरेन भने स्पष्टीकरण दिनुपर्ने वा कारबाही गरिनेलगायत  प्रबन्ध गरेका छौँ,” उहाँले भन्नुभयो, “गाउँपालिका वा नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष निलम्बन भए भने कसले प्रशासन चलाउनेरु यस्तो बेलामा गाउँ कार्यपालिका सदस्यहरू आफूमध्येबाट जुन व्यक्तिलाई छनोट गर्छ त्यसैले पालिका चलाउन पाउने व्यवस्था राखेका छौँ ।” यसले जनताको सेवामा आउने अवरोध हटाउने मन्त्री गुरुङको विश्वास छ । संविधानले दिएका सबै अधिकार सदुपयोग गर्न मगर समुदाय आग्रह   कार्यक्रममा मन्त्री गुरुङले आदिवासी जनजातिले संविधानप्रदत्त अधिकारको भरपुर सदुपयोग गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले आदिवासी जनजातिले गरेका शान्तिपूर्ण आन्दोलनको प्रतिफलस्वरूप संविधानले थुप्रै अधिकार सुनिश्चित गरेकाले त्यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।   मन्त्री गुरुङले अहिलेको अवस्था हेर्दा संविधानले दिएका ती अधिकार प्रयोगमा आदिवासी जनजाति समुदाय चुकिरहेको धारणा राख्नुभयो । मगर समुदाय आदिवासी जनजातिभित्र सबै भन्दा ठूलो समुदाय भएको उल्लेख गर्दै उहाँले यस समुदायले राज्य एकीकरणदेखि हालसम्म राज्यप्रति दिएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।   मगर समुदाय बाहुल्य गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई आफ्नो क्षेत्रमा यस समुदायको भाषा संरक्षणका लागि पहल गर्न मन्त्री गुरुङले आग्रह गर्नुभयो ।  “गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु, त्यहाँ मगर भाषाका लिपिलगायत महत्वपूर्ण पक्षको संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारी कामकाजको भाषाको रूपमा स्थापित र मान्यता दिनुपर्छ ।” मन्त्री गुरुङले नेपाल बहुजातीय बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायको सांस्कृतिक पर्वको सम्मान गरेर सरकारले सार्वजनिक बिदालगायत प्रवर्द्धनात्मक काम गरिरहेको बताउनुभयो ।  “सरकारले नेपालमा बोलिने सबै मातृभाषाको सम्मान गरेको छ । धर्मनिरपेक्ष राज्यले सबै धर्मको सम्मान गर्छ ।  अब आदिवासी जनजातिले आफ्नो अधिकार प्रयोगमा ध्यान दिन आवश्यक छ”, उहाँको आग्रह थियो ।