सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ । २१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो। यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो । बुधबार उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसीको परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। समारोहलाई सम्बोधन गर्नुहुँदै सहयोगदाता अन्नपूर्ण केबलकार अध्यक्ष कालु गुरुङले सराङकोट धार्मिक पर्यटकीय स्थलका अलवा शक्ति पीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाउनु हुँदै सद्कर्ममा सहयोग गर्न पाउदाँ खुशी लागेको सुनाउनुभयो ।उहाँले आफुले धार्मिक संघसंस्थामा सक्दो सहयोग गर्दै आइरहेको स्मरण गर्नुहुँदै सराङकोट वास्तवमै स्वर्गको टुक्रा भएको अनुभव राख्नुभयो। भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिनुहुँदै सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पार्नुभयो ।उहाँले सराङकोट धामको बृद्धि विकासमा लागि हाल सहित ६ यज्ञ गरिएको स्मरण गर्नुहुँदै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महशुस हुने गरेको औँल्याउनुभयो। पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नं. २५ का अध्यक्ष मोतिराज तिमिल्सीनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुहुँदै महाउत्सव समग्र पोखरेलीकै चाड भएको उल्लेख गर्नुभयो ।प्रवक्ता तिमिल्सीनाले पोखरा कोटैकोटको शहरका रुपमा स्थापीत हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सराङकोटको स्तरउन्नतीमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले उत्सव समग्र पोखरेलीको चाड भएको भनाई राख्नुहुँदै सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्ने जनाउनुभयो ।२०६१ सालदेखि सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति गठन पश्चात गुरुयोजना निर्माण गरी हालसम्म अनवरत रुपमा सहयोग जुटाउर्दै त्यहाँ निर्माण कार्य गरिएको स्पष्ट पार्नुहुँदै अध्यक्ष तिमिल्सीनाले पोखरालाई नियाल्न सराङकोट टप पुग्नैपर्ने स्पष्ट पार्नुभयो । त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्नुहुँदै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो। उद्घाटनको दिन आज यज्ञ स्थल पुग्ने सम्पूर्ण भक्तजनका लागि केबलकार तथा वसमा आवातजावत निःशुल्क व्यवस्था मिलाइएको थियो।त्यस्तै यज्ञमा मातृ शक्तिको वाक्लो उपस्थिती देखिन्थ्यो । महाउत्सव अन्र्तगत यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यज्ञ अवधिभर स्थानीय चक्रबहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्नुहुनेछ। सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन गरिनेछ ।सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महाउत्सवका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो ।
पोखरा: अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ । गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने अडिसनको तयारी पुरा भएको आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जनाएको छ । विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ । साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १/१ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छभने दोस्रो हुनेलाई २५/२५ लाख रुपैया र तेस्रो हुनेलाई १०/१० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पोखरा अडिसनका लागि सम्पूर्ण तयारी पुरा भएको फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले जानकारी दिए । १६ गते हुने भ्वाइस अडिसन र १७ गते हुने डान्स अडिसनका लागि गण्डकी प्रदेशका सम्वन्धित संस्था, विद्यालय, क्याम्पस तथा आम जनमानसमा जानकारी तथा सूचना पुराईसकिएको बर्देवाले बताए । नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले बताए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे । सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी (www.intrafoundations.org) बाट आवेदन दिन सक्ने किसान सेवाले जानकारी दिए । फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईल नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । नेपाली कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् । उक्त अडिसनमा छनौट भएका भ्वाइस र डान्सका प्रतियोगिलाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ । सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नंको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जनाएको छ ।
नवलपरासी: देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताउनुभयो । “मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी छ”, उहाँले भन्नुभयो । विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले बताउनुभयो । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ । विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो । यस अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी सङ्घको स्थापना दिवसका अवसरमा आज मातहतका सबै कार्यालय बन्द हुने जनाएका हुन् । यहाँका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्वएमा मगर समुदायको जनसङ्ख्या एक लाख तीन हजार ९४९ रहेको छ । यो जिल्लाको कुल जनसङ्ख्याको २७ दशमलव ४९ प्रतिशत हो ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभएको छ । विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने बताउनुभएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहका प्रमुख अतिथि भट्टले मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो योगदान रहेको बताउनुभयो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आध्यात्मिक शैक्षणिक संस्थाका रुपमा रहेको बताउँदै उहाँले मानवमूल्यहरुको पुनस्थार्पनाद्वारा मूल्यनिष्ठ समाजको निर्माणार्थ यसले काम गरिरहेको पाएको उल्लेख गर्नुभयो । विश्वका डेढ सय बढी देशमा आफ्ना सेवा केन्द्रहरुको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य तथा तनावमुक्त जीवन, नैतिक मूल्य एवं मानवीय संस्कारको निर्माण गर्न विशेष भूमिका निर्वाह गरिरहेको बताउनुभयो । महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले संस्कार र संस्कृति हाम्रो पहिचान भएकाले यसलाई भुल्न नहुनेमा जोड दिनुभयो ।
ढोरपाटन: पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् । बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन् । गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छाडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामा दुई सय १० जनाले गाउँ छाडेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । साउनयता ५५ परिवारले बसाइँसराइ गरेर अन्य ठाउँमा गएका हुन् । यस वर्ष सबैभन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना र सबैभन्दा कम वडा नम्बर ५ सुखौराका छ घरपरिवारका २० जनाले बसाइँसराइ लिएको क्षेत्रीको भनाइ छ । दुई वर्षको अवधिमा ४० परिवारका एक सय ३१ जना बसाइँसरेर बरेङमा आएका छन् । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बसाइँसराइ रोक्नका लागि पालिकाले जनताका आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय सेवा प्रवाहमा लागेको बताउनुभयो । पालिकाका सबै वडा र बस्तीमा सडक पुर्याउनका साथै खानेपानी, विद्युत् र स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिए पनि बसाइँसराइ रोक्न नसकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ । एकीकृत बस्ती बसालेर नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न थाले पनि सफल बन्न नसकेको उहाँले बताउनुभयो । युवालाई लघुउद्यम तथा घरेलु उद्योगमार्फत स्वरोजगार बनाउने गरी काम गरे पनि बसाइँसराइ नरोकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ । “बसाइँसराइ रोक्नका लागि हामीहरूले धेरै प्रयास गर्यौँ, बस्ती–बस्तीसम्म सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पुर्याएका छौँ, युवालाई रोजगारसँग जोड्ने काम पनि भएको छ”, उहाँले भन्नुभयो, “एकीकृत बस्ती बसालौँ भनेको कसैले मानेनन्, तर गाउँ छाडेर गए, बगाले भन्ने ठाउँमा पहिले करिब २० घर थिए, अहिले त्यो टोल नै खाली छ, बसाइँसराइ रोक्नका लागि हामी लागिरहेका छौँ ।” बरेङबाट धेरैजसो स्थानीय चितवन, रुपन्देही, नवलपरासी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेर जाने गरेको अध्यक्ष शर्माको भनाइ छ ।
पोखरा: निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालिले १२ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक मेला सम्पन्न गरेको छ । इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पोखरामा पहिलो पटक निशुल्क शैक्षिक परामर्श मेला आज (शुक्रबार) सम्पन्न गरेको हो । उक्त मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ काठमाडौंका द्धितिय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले गरे । सो अवसरमा बोल्दै क्षेत्रीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहनेहरुका लागि उक्त कार्यक्रम फलदायी हुने धारणा राखे । ‘विदेश गएर पढ्न चाहनेहरुका लागि यो कार्यक्रमले सघाउ पुर्याउने विश्वास लिएको छु, उनले भने, ‘विद्यार्थी भाइबहिनीहरुले इच्छाएनुसार उच्च शिक्षाका लागि विदेशको राम्रो कलेजहरुमा पठाएर दक्ष बनाउन योगदान दिएको छ । त्यसैले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’ उनले फरक प्रसंगमा बोल्दै शैक्षिक परामर्श संघसहितका विभिन्न कन्सल्टेन्सीलाई विद्यार्थीहरुलाई बाहिर पठाए भन्ने लान्छना लागाउँदै आएकोसमेत टिप्पणी गरे । ‘नेपाली विद्यार्थीहरु बाहिरीए । नेपालबाट युवाहरु पलायन भए भनेर हामीलाई धेरै खालको शैक्षिक परामर्शको क्षेत्रमा लान्छना लाग्ने गरेको छ, उनले भने, ‘हामीले पुर्वीय शैक्षिक संस्कृति र सभ्यतातर्फ फर्केर हेर्ने हो भने, हामी कुनै गुरुको शिक्षा पद्धतिबाट विकसित हुनै यो फेजमा आएका हौं, हाम्रो शिक्षाको विकासलाई हेर्ने हो भने आफुले प्राप्त गरेको ज्ञान मात्र प्राप्त हो भनेर त्यो भुमरी तोडेर बाहिर नआएको भए आजको अवस्थामा आउने थिएनौं ।’ उनले अवसरका लागि विद्यार्थीहरुलाई विभिन्न बहानामा रोक्न नहुने उल्लेख गरेका थिए । यस्तै निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटका अध्यक्ष किसान सुनारले १२ औं वार्षिकोत्सवका अवसरमा पहिलो पटक वैदेशिक शिक्षासँग जोडिएर निशुल्क शैक्षिक मेला आयोजना गरेको बताए । ‘विशेष गरेर हामीले १२ औं वर्षको विशेष दिन पारेर पहिलो प्रयासको रुपमा वैदेशिक उच्च शिक्षासँग जोडिएर शैक्षिक मेला आयोजना गरेका छौ,सुनारले भने, ‘यस शैक्षिक मेलाबाट उच्च शिक्षाका लागि विदेश जानुभन्दा पहिलो विद्यार्थी, अभिभावकहरुले त्यस क्षेत्रको बारेमा बुझ्ने अवसरमा लिनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’ उनले यस निशुल्क शैक्षिक मेलालाई निरन्तरता दिने बताए । ‘हामीले वैदेशिक उच्च शिक्षासँग जोडिएका विविध विषय र कार्यक्रमहरुलाई निरन्तरता दिनेछौं । हामीले जापान मात्र होइन, अष्टे«लिया, युके र युरोपका केही देशहरुलाई जोडेर यात्रा सुरु गरेका छौं, उनले भने, ‘हामीले विभिन्न युनिर्भसिटीले दिने छात्रवृत्तिको सन्दर्भलाई जोड्न यो एस्पोको आयोजना गरेका हौं ।’ कार्यक्रममा नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीकी प्रमुख सचिता पराजुली, भाषा संघ नेपालका उपाध्यक्ष मोती श्रेष्ठ, नेपाल शैक्षिक परामर्श संघ कास्कीका अध्यक्ष ओमप्रकाश शर्मा, युनि क्याम्पस ग्लोबल गण्डकीका सञ्चालक हरिश आचार्य लगायतले बोलेका थिए । कार्यक्रमकै अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा ज्योती ढकाललाई सम्मान गरिएको थियो । निशुल्क शैक्षिक मेलामा सहभागी भएका विद्यार्थीहरुलाई जापानिज भाषा तयारी कक्षा, आइएल्टस्, पिटिईका (JAPANESE LANGUAGE, IELTS, PTE) लागि ५० प्रतिशत छुट दिइएको छ । शैक्षिक मेलाका अवसरमा मध्यान्न १२ बजेदेखि १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी सेमीनार समेत सञ्चालन भएको थियो । यस्तै १ देखि २ बजेसम्म बेलायत (युके) २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन भएको थियो । यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइएको थियो । उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल, इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँगले सहकार्य गरेको थियो ।
पर्वत: जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ । जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले दलित र गैरदलित समुदायबीच रहेको विभेदविरुद्ध सन्देश प्रवाह गर्न यस्ता दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको जानकारी दिनुभयो । “अहिले पनि समाजमा जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार कायमै हुनु दुःखद कुरा हो । यस्ता कुप्रथा अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछूत मुक्त गाउँपालिका बनाउने उद्देश्यले यस्तो कार्यक्रम लागू गरिएको हो”, उहाँले भन्नुभयो । गाउँपालिका अध्यक्ष राजु आचार्यले यस कार्यक्रमले समाजमा देखिएको जातीय छुवाछूत र विभेद अन्त्य गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीहरूले १५ दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । पालिकामा दर्ता हुने आवेदनका आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को लक्षित वर्ग तर्फको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत जिल्लामै पहिलोपटक यस्तो कार्यक्रम गर्न लागिएको हो ।