पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए । नवलपुरको गैडाकोट नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै त्यहाँ जान बनाइएको केवलकार र नारायणी नदीमा सञ्चालित मोटर बोटको दृष्य पनि कैद गरेको संघका अध्यक्ष राम गुरुङले बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्माले फोटो र पर्यटन क्षेत्र एक अर्काका परिपूरक भएको बताइन् । हरेक सञ्चार माध्यममा फोटो पत्रकार आवश्यक रहेको उनको भनाइ थियो । समग्र क्षेत्रको विकासमा फोटोले अहम भूमिका खेल्ने भएकाले कास्कीमा रहेको नेपाल फोटो पत्रकार संघ कास्कीलाई आगामी दिनमा अझै रचनात्मक काम गर्दै अघि बढ्नुपर्ने उनले सुझाव दिइन् । मेघौली पुगेको टिमले बाराही जंगल लजबारे महाप्रबन्धक प्रकाश चन्दसँग अन्तरक्रिया गरेको थियो । २०१३ सेप्टेम्बरबाट बाराही ग्रुपले सञ्चालनमा ल्याएको लज विदेशी एवं स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । १३ हेक्टरमा फैलिएको लज राप्ती नदीको किनारमा हरियाली जंगलभित्र छ । थारु शैलीको घरमा बस्न पाउनु यसको विशेषता रहेको चन्दले बताए । लजबाटै राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायत जंगली जीवजन्तु रमाएको दृश्यावलोकन गर्न मिल्छ । ती जीवजन्तुलाई अझ नजिकबाट नियाल्न साँझमा डुंगा सफारी र बिहानमा जंगल सफारीको सुविधा छ । स्थानीय थारु संस्कृति प्रवद्र्धन गरिरहेको लजमा पर्यटक बस्ने भिल्लादेखि स्वागत कक्ष, डाइनिङ, टाइगर्स डेन बारका घरसमेत थारु शैलीमै बनेका छन् । लोपोन्मुख अवस्थामा पुगेको मट्टीतेल लालटिन लजमा निकै रचनात्मक ढंगले सदुपयोग गरिएको छ । लजमा बेलुका स्थानीय थारु र कुमाल जातिकै सांस्कृतिक नाँच देखाइने उनले बताए । मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धनमा लजले टेवा पु¥याइरहेको जानकारी दिदैं उनले त्यहाँबाट नजिकै रहेको विमानस्थल सञ्चालनमा आए टेवा पुग्ने बताए । एनपिजेए कास्कीका अध्यक्ष गुरुङले लजले मेघौली, चितवन मात्र नभएर देशकै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको बताए । यहाँको प्रकृतिको फोटो तथा भिडियोहरु फोटो पत्रकारको क्यामेरामा कैद भएकाले कुनै न कुनै माध्यमबाट लज, चितवन राष्ट्रिय निकुञ्जसगै सिंगो राष्ट्रको पर्यटन क्षेत्रको विकासका लागि प्रयोग गरिने उनले बताए । ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रमकी संयोजक राधिका कंडेलले फोटो पत्रकारिता केवल दृष्य कैद गर्ने माध्यम मात्र नभई समाजका विविध पक्ष उजागर गर्ने सशक्त माध्यम भएको बताइन् । एनपिजेए कास्कीका उपाध्यक्ष समेत रहेकी कंडेलले भनीन्, ‘यसले सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदाको संरक्षण तथा सामाजिक जीवनका अनगिन्ती आयामहरु उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’
पर्सा: पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएका हुन् । वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ । वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खौँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताउनुभयो । “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हँुदै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पु¥याउँदै आएको छ ।” वीरगञ्ज–२ छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “वीरगञ्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्”, उहाँले भन्नुभयो । वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएका छन् । “हामी ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भन्नुभयो, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।” ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवाअर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन् ।
काठमाडौँ: तिनकुनेमा जारी जारी राजावादीको प्रदर्शनमा झडप भएको छ । व्यवस्थाको विरोध गर्दै राजावादीहरूले गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो । झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने, प्रदर्शनकारीले ढुङ्गा हानेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरासमेत प्रहार गरेको छ । तर, स्थिति भने असामान्य बन्दै गएको छ ।
तुलसीपुर: भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार भारतको बहराइचमा दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चार जनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए । अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जीसीले बताए । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरूको भारतमै उपचार भइरहेको जनाइएको छ ।
इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका– ३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए। प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ । देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए ।
बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ । विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए । निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।
मुस्ताङ: दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ। तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो। कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकिरहेको छैन। श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र चुनौती हुने गरेको भक्तजन बताउँछन्। वि.सं. २०८० साउन २८ गते कागखोलामा आएको बाढीले यसअघि रहेको भौतिक संरचनामा क्षति पुर्याएको थियो। उक्त बाढीले स्थानीयको घर, बैंक तथा वित्तीय संस्था, कागबेनी श्राद्धस्थललगायत खेतीयोग्य जग्गामा करोडौंको भौतिक क्षति पुर्याएको थियो। जिल्लाका स्थानीय, सरोकार भएका निकाय र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ सङ्कलन गरी कागखोला धारलाई नियन्त्रणको प्रयास गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताए। उनका अनुसार कागखोलाको धारलाई नियन्त्रणमा राखिए पनि श्राद्धस्थलको भौतिक संरचना दिगो रूपमा व्यवस्थापन हुन सकिरहेको छैन। यसैबीच, शनिबार यहाँ श्राद्ध गर्न आउनुभएकी म्याग्दीको बेनी नगरपालिका–९ का ५३ वर्षीया सीता शर्मालाई कालीगण्डकी नदीले बगाएको छ। कागखोला र कालीगण्डकी नदीको दोभानमा स्नान गरिरहेको बेला उनलाई अचानक चिप्लिँदा करिब ६० मिटर तलसम्म खोलाले बगाएको थियो। चिप्लिएर खोलाले बगाएपछि उनको उद्धारका लागि गएका अर्का एकजनालाई पनि कालीगण्डकी नदीले केही तलसम्म बगाएपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले कागबेनीमा स्नान गर्दागर्दै खोलाले बगाएपछि शर्माको सकुशल उद्धार गरिएको जानकारी दिए। यहाँको श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै तहका सरकारले चाँसो नदिँदा समस्या भइरहेको समितिकी अध्यक्ष गुरुङले दुःखेसो गरे। कागबेनीमा बाढीले क्षति पुर्याएको क्षेत्रको मर्मत तथा पुनः निर्माण गरी संरक्षण र प्रभावकारी व्यवस्थापनमा तीनै तहका सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा उनले जोड दिए। ‘अहिलेसम्म समिति र स्थानीयवासीको सहयोगमा स्थानीयस्तरबाट अस्थायी व्यवस्थापन र संरक्षण गर्दै आइरहेका छौँ, हामीसँग सीमित स्रोतसाधन भएकाले दीर्घकालीन संरक्षण र व्यवस्थापन सम्भव छैन’, अध्यक्ष गुरुङले भने, ‘कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा सरकारले दीर्घकालीन समाधानसहित योजना अघि बढाउनु पर्दछ। यहाँ लाखौँ भक्तजन आउने भएकाले यस क्षेत्रलाई जोखिममुक्त गराउनु जरुरी छ।’ अध्यक्ष गुरुङले समितिले भक्तजनबाट प्राप्त दान र सहयोग रकमबाट अस्थायी रूपमा श्राद्धस्थल र स्नानस्थल निर्माण गरेको बताए। श्राद्धस्थललाई दीर्घकालीन रूपमा भरपर्दो बनाएर थप व्यवस्थापन गर्न कालीगण्डकी नदी र कागखोलालाई बृहत आरसिसी तटबन्धनको आवश्यक रहेकामा उनले जोड दिए। बर्सेनि बर्खायाममा कागखोला र कालीगण्डकीले धार परिवर्तन गर्दा यहाँको श्राद्धस्थल र स्नानस्थलको भौतिक संरचनामा क्षति पुगेको समितिले जनाएको छ। यसैबीच, समितिले कागबेनीधाममा श्राद्ध गर्न आउने भक्तजनलाई स्नान र श्राद्ध गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ।
दमौली: पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ । गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय नमूना गाउँ घोषणा गरेपछि स्थानीयवासी यस ठाउँमा पर्यटक भित्र्याउन लागिपरेका हुन् । गाउँपालिकाको सहयोग र प्रेरणाले आफूहरु यस ठाउँमा घरबास सञ्चालन गर्ने प्रयासमा जुटेको स्थानीय ओममाया गुरुङले बताए । उनले भने, “गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हामीलाई यस ठाउँमा होमस्टे सञ्चालनका लागि उत्प्रेरित गर्नुभयो । हामी स्थानीय अहिले यसमा लागेका छौँ ।” उनका अनुसार हाल यस ठाउँमा २० घरमा होमस्टे सञ्चालन गरिएको छ भने यसलाई विस्तार गर्ने लक्ष्य राखिएको छ । होमस्टे सञ्चालनका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र गाउँपालिकाले नै सिकाएपछि अहिले यसतर्फ अगाडि बढेको उनको भनाइ छ । उनले भने, “गाउँपालिकाका अध्यक्षले सधैँ हामीलाई पैसा कमाउनुप¥यो भन्नुहुन्थ्यो, हामीले कसरी चलाउने, हामीलाई त आउँदैन भन्यौँ । उहाँहरुले सिकाउनुभयो, पाहुना पनि पठाउन थाल्नुभयो ।” केही समय अगाडि मात्रै विद्यालयका एक सय जना शिक्षकहरु यहाँ बास बसेर गएको उनले जानकारी दिए । त्यस्तै कलाकार भटभटे माइला, बल्छी धु्रवेलगायत नामले परिचित कलाकारहरु समेत यहाँ आइसकेको उहाँको भनाइ छ । यहाँ आउने पाहुनालाई लोकल कुखुरा, गाउँमै उत्पादित आलुको परिकार, गुन्द्रुक, भट्ट, कोदोको रोटी खुवाउने गरिएको छ । त्यस्तै रातिको समयमा चुड्का नाच प्रस्तुत गर्ने गरिएको उनले जानकारी दिए। पारिवारिक वातावरणको प्रत्याभूति दिने गरी पाहुनाको स्वागत गर्ने गरेको स्थानीय नरेश गुरुङले जानकारी दिए । आफू डकर्मीको काममा समेत संलग्न रहेको बताउँदै उनले होमस्टे सञ्चालनका लागि आमा र श्रीमतीले सघाइरहेको उल्लेख गरे । हालसम्म यस ठाउँमा तीन सयभन्दा बढीले रात बिताइसकेका छन् । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्न खोजेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए। गुरुङ बस्ती गिरानचौरमा ६० घरधुरी रहेकामा सबै घरमा होमस्टे सञ्चालनको लक्ष्य छ । उनका अनुसार यस ठाउँलाई पर्यटकीय गाउँ बनाउन रु ४० लाख बजेट विनियोजन गरिएको छ । उनले भने, “स्थानीयलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य हो ।” कूल छ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा एउटा पर्यटकीय गाउँ बनाउने लक्ष्य राखिएको चुमानको भनाइ छ । उनले भने, “गिरानचौरका घरमा एकैखालको रङ र यहाँ फूलले आकर्षण बढाउने योजना पनि छ । यसका लागि स्थानीयवासीसँग साझेदारी गर्छौं ।” पृथ्वीराजमार्गको बरादीदेखि समस्तीपुरसम्म पक्की र त्यहाँबाट कच्ची बाटो रहेकाले बाटो स्तरोन्नतिको प्रक्रिया थालिएको चुमानले बताए।
भोजपुर: बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उहाँले बताउनुभयो । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उहाँले बताउनुभयो । अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उहाँले बताउनुभयो । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताउनुभयो । “स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ”, शिक्षक पराजुलीले भन्नुभयो, “मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।” विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उहाँले बताउनुभयो । “गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उप्रदो बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।” बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताउनुभयो । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उहाँले बताउनुभयो । अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उहाँको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उहाँको भनाइ छ । “म पनि यहाँ अर्काको घरमा ठेक्का बसेको छु”, उहाँले भन्नुभयो, “यहाँका सबै घर बिक्री नगरी त्यत्तिकै छाडिदिँदा भत्किएर खण्डहर बनेका छन् । मानिस बस्ती छाडेर हिँड्दा उर्वरभूमि बाँझिएको छ । यहाँका जम्मा ३५ घरमा अहिले दुई घरमात्र छौँ ।” सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उहाँको भनाइ छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उहाँले बताउनुभयो । सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उहाँको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ । राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताउनुभयो । बाँदरका कारण नै धेरै किसानलाई समस्या रहेको उहाँ बताउनुहुन्छ ।