कञ्चनपुर: परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उहाँ गर्नुहुन्छ । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गर्दथे । पाखुरामा लगौरा, नाडीमा पहुँची, औंँलामा कलात्मक औंँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दथे । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्दथे । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यतिबेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रूपमा लिने गरिन्थ्यो ।” हाल ती गहना थोरै महिलासँग मात्र छन् । धेरैले आधुनिक बजारमा चलनचल्तीका गहना लगाउने कार्यले पुराना गहनाको महत्त्व घट्दै गएको उहाँको भनाइ छ । पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे । हाल पुराना पहिरन, गहना हराउँदै गएको रामदास रानाले बताउनुभयो । “पुरूषले लगाउने पुरानो पहिरन लगाउनै छाडेका छन्”, उहाँले भन्नुभयो, “जनचेतनामा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन भने हालसम्म सकिएको छ, तर पहिरनमा आधुनिकताको छाप भने परेको छ ।” रानाथारू समुदायले माघ शुक्ल पूर्णिमाका दिनदेखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरिन्छ । यसबेला मथुराबाट होलीलाई बोलाउने ९आह्वान० गरिन्छ । प्रतीक स्थापना गरेको एक महिनासम्म रातिका बेला महिला पुरूषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ । गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलिका पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म रातिका बेला खेलिनेलाई जिउँदो होली भन्ने गरिन्छ । होलिका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टीका नलाग्ने चलन रानाथारू समुदायमा रहेको थारू अगुवा जगता रानाले बताउनुभयो । त्यसै दिनदेखि आठ दिनसम्म मरेकी होली खेलिन्छ । आठौँ दिनको बेलुका खखडेहरा खेलिन्छ । “यस क्रममा होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिन्छ”, उहाँले भन्नुभयो, “खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्ने कार्य गरिन्छ ।” फोड्ने काममा गाउँका अगुवा भलमन्सा, गुरूवालगायत मात्र जाने चलन छ । यसो गरेपछि दुष्टआत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारू समुदायका बुढापाकाको छ । उहाँहरूका अनुसार प्रतिमा फोरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हँुदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ । पुरूषको होली त्यसै बेलादेखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ । होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरकफरक समयमा फरकफरक होलीका गीत गाइने गरिन्छ । होलीमा गीतको सुरूआत गर्ने (अगुवाइ गर्ने) महिलालाई मोढी भनिन्छ । मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ । होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेकोप्रति रानाथारू समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् । होली प्रत्येकको घरमा परम्परागत चलनअनुसार खेल्ने गरिन्छ । होलीमा सगुनका रूपमा गुड भेली दिने चलन रानाथारू समुदायमा छ । फगुवाका रूपमा पैसा दिने चलन पनि छ ।
दमौली (तनहुँ): जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”
भैरहवा: पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरेका छन् । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ । थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा पाँच सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरू अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरले बताउनुभयो । अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्नुपर्ने छ । सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्ने छ । धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्म यात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उहाँहरू श्रावणेर बन्नुभएको हो । उहाँहरूलाई पहेलो चिवर प्रदान गरिएको थियो । यसरी श्रावणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षासम्बन्धी कक्षा लिएको भिक्षु श्रीवजीरले बताउनुभयो । “प्रवज्या भनेको भगवान् बुद्धले ज्ञान प्राप्त गर्नुभन्दा अगाडि उहाँले आफ्नो राजपाट र घरगृहस्थ त्याग गरेर सन्यासी हुनुभयो, त्यसैलाई हामीले प्रवज्या भन्छौँ”, श्रीवजीरले भन्नुभयो, “प्रवज्या जीवनबाट नै भगवान् बुद्धले आफ्नो ज्ञानको मार्ग सुरु गर्नुभएको थियो ।” नयाँ भिक्षुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेषगरी युवापुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रवज्या कार्यक्रम महत्त्वपूर्ण हुने गरेको छ । धम्मकाय फाउन्डेसनको आयोजनामा भएको धम्म यात्रालाई बौद्ध समाज नेपालले सहजीकरण गरेको थियो । भगवान् गौतमबुद्ध फागु पूर्णिमाको दिन ज्ञानको प्राप्ति गरेकाले फागु पूर्णिमाको नजिक पर्ने गरी गत वर्षदेखि धम्म यात्रा गरिँदै आएको छ । गौतमबुद्ध ज्ञान प्राप्तिपछि बुबालाई भेट्नका लागि फर्किँदा अहिलेको भैरहवा क्षेत्र रहेको स्थानबाट नै फर्केका कारण भैरहवामा धम्म यात्रा गराइएको बौद्ध समाज नेपालका केन्द्रीय अध्यक्ष शङ्कर गाहाले बताउनुभयो । यसरी प्रवज्या हुनेमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, दाङका साथै म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, इन्डोनेसियालगायत रहेको बौद्ध समाज नेपालका वरिष्ठ उपाध्यक्ष हरिओम विश्वकर्माले बताउनुभयो । उहाँले धम्म यात्राका क्रममा श्रामणेरहरूले बुटवल, बुद्ध मावली देवदहलगायत क्षेत्रको पनि भ्रमण गर्नुभएको जानकारी दिनुभयो । लुम्बिनीमा सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच सय र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष पाँच सय जनालाई प्रव्रज्या गरिएको छ ।
म्याग्दी: म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो । “तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उहाँले भन्नुभयो, “आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी ९तारो हान्ने० खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिलाहरु भने मौलिक वेशभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् ।
काठमाडौं: नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताउनुभयो । मङ्गलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताउनुभयो । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो । कार्यदलका संयोजक डा अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो । कार्यदलका सदस्य प्रा भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्रा राम लोहनी, डा कृष्णप्रसाद चालिसे, डा कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गर्नुभएको फन्ट निर्माता कलाकार पौडेलले राससलाई जानकारी दिनुभयो । प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा तामाङ, सहसंयोजकमा डा विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा भीमनारायण रेग्मी, डा तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहनुभएको थियो ।
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्त्विक महत्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लोगो सार्वजनिक गरेको नगर प्रमुख विमला राईले जानकारी दिइन् । पूर्वअर्थमन्त्री डा महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गरेका हुन् । नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा सङ्कलन भएका सात लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाएको लोगो उत्कृष्टमा छनोट भएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन् । हलेसी तुवाचुङ –७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र त्रिधार्मिकस्थल हलेसीलगायत ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेका क्षेत्र समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताइन् । हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि जिल्ला समन्वय समिति खोटाङले आफ्नो जिल्लाको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याएको थियो । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म आफ्नो छुट्टै लोगो प्रयोग गरेका छैनन् ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्याएको बताउनुभयो । ‘वीर गोर्खालीकै कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन परेन । विदेशी मुद्रा आर्जनको श्रोत गोर्खा सैनिकहरु नै छन् ।’ उहाँले भन्नुभयो – ‘नेपालीहरुले गोर्खाको नाममा बेलायती र भारतीय सेना तथा सिंगापुर प्रहरी फौजमा गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरुसँग शताब्दी लामो मित्रताको आधार बनेको छ ।’ भट्टले गोर्खाहरुले जीवनका उर्जाशील वर्षहरुलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेको पाएको उल्लेख गर्नुभयो । प्रदेश प्रमुख भट्टले गोर्खाहरुले शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि धेरै योगदान गरेको बताउँदै सम्बन्धित देशहरुले गोर्खाहरुको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभाव विना समान सेवासुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा जोड पनि दिनुभयो । सेवा गरिएका देशमा स्थायी बसोबास गरेका भूपू गोर्खाहरुको नागरिकता निरन्तरताका सवालमा संविधानको मर्म र गोर्खाहरुको भावनालाई सम्बोधन गर्दै साझा निश्कर्षमा पुग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । ‘विदेशी मुद्रा आर्जन र व्यापार घाटा कम गर्नमा ठूलो योगदान पुर्याउँदै आएको भूपू गोर्खा सैनिकको पैतृक र आर्थिक सम्पति विदेश पलायन हुन नदिनेतर्फ पक्कैपनि राज्य सहज र सचेत हुनुपर्दछ ।’ उहाँले भन्नुभयो । ‘आफ्नोपन आफ्नै पहिचान, सबल नेपाल हाम्रो अभियान’ मूल मन्त्रका साथ स्थापित गोर्खा कम्युनिटी पोखराले १५ वर्षदेखि गोर्खाहरुको हितमा आफूलाई समर्पण गरिरहेको जनाएको छ । विदेशमा कमाएको धन र सिकेका सीपलाई नेपाली माटोमा परिचालन गरी आत्मनिर्भरको मार्गमा हिँड्न प्रेरित गरेकोमा प्रदेश प्रमुख भट्टले धन्यवाद दिनुभयो ।
वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु वन्यजन्तु आरक्षमा चार र चितवन राष्ट्रिय निकुञ्जमा दुई जना मानिसको ज्यान गएको थियो । यस अवधिमा वन्यजन्तुको आक्रमणमा परी ३३ जना मानिस घाइते भएका र यही कारणले विभिन्न प्रजातिका १९३ वन्यजन्तु मारिएका विभागका अनुसन्धान अधिकृत सुष्मा रानाले जानकारी दिइन् । विभागको तथ्याँकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वको कारण २२ जना मानिसको मृत्यु भएको थियो भने अन्य ४३ जना घाइते भएका थिए । यस अवधिमा मानव वन्यजन्तु द्वन्द्वका कारण विभिन्न प्रजातिका ३२६ वन्यजन्तु मारिए भने २७१ घरगोठ, २७७ पशुधन र १७१ स्थानमा अन्नबाली नोक्सान भयो । बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जंगली ब्वाँसो, हिमाली कालो भालु, हिउँ चितुवाजस्ता वन्यजन्तुबाट संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको पाइन्छ । यसबाट वन्य जन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष वरिपरि बसोबास गर्ने समुदायको कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षति वृद्धि हुँदै गएको फलस्वरुप क्षतिपूर्ति भुक्तानीमा समेत वृद्धि भएको छ । साथै, तस्करले वन्यजन्तुको शिकार गरी विदेश लैजाने क्रम पनि रोकिएको छैन । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी २०७४ सालको तथ्याँक हेर्दा काठमाडौँमा मात्रै रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अंगको तस्करीको घटनाका ३३ मुद्दा दायर भएका छन् । नेपालका ओलाङचुङ्गगोला, किमाथान्का, लामाबगर, मनास्लु, रसुवागढी, टिमुरे, माथिल्लो मुस्ताङ, तातोपानी, हुम्ला, डोल्पा, बाजुरा, दार्चुला, टिंकर, काँकडभिट्टा, विराटनगर, हरिपुर, वीरगञ्ज र महेन्द्रनगरबाट वन्यजन्तुका आखेटोपहारको अवैध रुपमा भारत र चीनतर्फ व्यापार हुने गरेको छ । सरकारले मानव–वन्यजन्तु द्वन्द्वमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख र घाइतेको उपचारका लागि आवश्यक खर्चसमेत प्रदान गर्ने गरेको छ । पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा हात्तीको आक्रमण बढेको विभागले जनाएको छ । विभागले मानव–वन्यजन्तु द्वन्द्वलाई न्यून गर्ने कार्यलाई प्राथमिकतामा राखेको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । वन तथा वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको ‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना– २०७५’ मा पनि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विभिन्न कार्यक्रम अघि सारेको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बहन क्षमताका आधारमा व्यवस्थापन, राहत वितरणमा प्रभावकारिता र समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनमा प्रभावकारिता ल्याइने महानिर्देशक खड्काले बताए ।
रामेछाप: आज यहाँका माझी समुदायले लदी (कोशी) पूजा गरेका छन् । लदी पूजाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । माझी समुदायको पहिचानसँग जोडिएको सो पूजाका अवसरमा तामाकोशी, सुनकोशी तथा अन्य नदी किनारमा पूजाआजा गरिएको छ । नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता आयोजना गरेको छ । माझी समुदायको महान् पर्वका रुपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरुमा गर्ने गरिन्छ । नदी आफूहरुको जीवन पद्धतिसँग जोडिएकाले परापूर्वकालदेखि पूजा गरिँदै आएको मन्थली नगरपालिका–८ गाईखुराका बालकृष्ण माझीले बताउनुभयो । सुरुसुरुमा कोशी तथा ठूला नदीहरुहरुमा डुङ्गामा जङ्घार तार्ने र माछा मार्ने पेसा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ । “परापुर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीको बीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि माझीले सो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती छ”, स्थानीय बालकृष्ण माझीले भन्नुभयो, “त्यही भएर यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ ।” कोशी र माझीबीच मामा भान्जाको नाता रहेको पनि बताइन्छ । मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरून् भनेर पनि यो पूजा गरिएको माझी समुदायका बूढापाकाहरु बताउँछन् । यस पर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको बस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज सार्वजनिक बिदा दिएको छ ।