म्याग्दी: यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर सङ्घका सचिव खम थापामगरले बताउनुभयो । “माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ”, उहाँले भन्नुभयो, “प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।” यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताउनुभयो । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन् । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघे सङ्क्रान्ति मनाउन परिवारसहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आउनुभएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुुराएको बताउनुभयो । माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् । जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे । बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”, ८० वर्षीय श्रेष्ठले भन्नुभयो, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।” समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उहाँले बताउनुभयो । हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सुरु भएको हो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले जानकारी दिनुभयो ।
पर्वत: विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट उपभोग्य कपडा बनाउनका लागि नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको भए पनि बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि अलपत्र भएको हो । तत्कालीन पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेशकहरूको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरूङ्गामा भूमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो । विसं २०७४ फागुनदेखि सञ्चालनमा आएको उद्योग २०७८ सालदेखि बन्द गरिएको हो । परम्परागत रूपमा अल्लोको लोकतालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय र लागतसमेत अत्याधिक पर्न थालेपछि लघुउद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको भए पनि बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै जानु र उत्पादन गरेको अल्लोले राम्रो बजार नपाएपछि बन्द गर्नुपरेको स्थानीय टेकबहादुर पुनले बताए । तत्कालीन समयमा झण्डै रू २० लाखको लागतमा उद्योग सञ्चालनमा आएको थियो । सञ्चालनमा आएका केही वर्ष यहाँबाट राम्रैसँग उत्पादन गर्न सफल भए पनि विस्तारै वनमा जाने, अल्लो सङ्कलन गर्ने, उद्योगमा ल्याएर प्रशोधन गर्ने जनशक्तिको अभाव भएपछि बन्द गर्नुपरेको अल्लो उद्यमी रनमाया पुनले बताए । उक्त उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने भए पनि कच्चापदार्थ सङ्कलन गर्ने जनशक्ति नहुँदा बन्द गर्नुपरेको उद्यमी पुनले बताए। यहाँबाट उत्पादित अल्लोको कपडासमेत बिक्री गर्न समस्या भएपछि गतवर्ष मोदी गाउँपालिकाले दुई सय मिटर कपडा खरिद गरिदिएको स्थानीय गमबहादुर पुनले बताए । नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि रहेको थियो । परम्परागत रूपमा प्रशोधन गर्दा थोरै उत्पादनका लागि धेरै लागत र शारीरिक श्रम लाग्ने तथा समयसमेत बढेकाले नाफा कमाउन कठिन भएको भन्दै खोलीको उद्योगसमेत बन्द भएपछि अहिले गाउँमा दुई तीनजना महिलाले परम्परागत रूपमै अल्लो प्रशोधन गरेर निर्वाहमुखी रूपमा पेसालाई जोगाउँदै आएका छन् । अहिले पुरानै तरिकाबाट अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपर्दा धेरै श्रम र समय लाग्दै उद्यमी पुनले बताए । जिल्ला लघु उद्यमी सङ्घकी पूर्व अध्यक्ष सेती महतले गाउँबाट बसराइँ सर्ने दर बढेसँगै सञ्चालित आधुनिक मेसिन सहितको उद्योग पनि बन्द भएको बताए । महतले लघुउद्यमीलाई नयाँ प्रविधि, सीप र पुँजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताए । रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा यो गाउँबाट बसाइँसराइ दर तीव्र रूपमा बढेको छ । बाउन्न घरधुरी रहेको यो घुरूङ्गा गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय महिला सक्रिय भएर उद्यम सञ्चालन गर्न चाहेमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताए । व्यावसायिक रूपमा उद्योग सञ्चालन गर्न सकेमा अल्लोको कपडा त्रिक्रीबाट वार्षिक लाखौँ रूपैँया आम्दानी गर्न सकिने भएकाले गाउँपालिका उत्पादित कपडाको बजारीकरण र उद्योग सञ्चालनका लागि आर्थिक सहयोग गर्न तयार रहेको बताए। पर्वतका उत्तरी क्षेत्रका शालिजा, लेखफाँट, क्याङ, देउराली, भुकताङ्ले र बनौमा अल्लो प्रशस्त पाइने भएकाले यस क्षेत्रका महिला अल्लो उद्यम गर्दै आएका छन् ।
वालिङ: पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो । बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताउनुभयो । “बजारमा प्लास्टिकका गुन्द्री र म्याट पाइन्छ, तिनकै प्रयोग गर्न थालियो”, उहाँले भन्नुभयो, “गुन्द्री बुन्न अब हामीले सकिँदैन नयाँ पुस्ताले गुन्द्री बुन्न दुःख मान्छन् ।” अझ पछिल्लो समय खेती गर्नै छाडेकाले परालको अभाव हुने र खेती गरिहालेमा पनि हाइब्रिड जातको खेती गर्दा पराल छोटो हुने गरेको उहाँले बताउनुभयो । सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोग बढ्दै गएकाले गुन्द्री बुन्न छाडिएको उहाँले बताउनुभयो । ग्रामीण भेगमा अझै पनि छिटपुट रूपमा गुन्द्री बुन्ने गरे पनि विस्तारै बजारको प्रभाव ग्रामीण क्षेत्रमा पर्दै गएकाले गुन्द्री बुन्ने पराम्परा हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताउनुभयो । बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता आकर्षित नभएको हुनसक्ने उहाँ बताउनुहुन्छ । नयाँ पुस्ताको आकर्षण नहुनु एकातिर छभने अर्कातिर पुरानो पुस्ताले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा गुन्द्री बुन्ने संस्कृति लोप भएर जानसक्छ । परालको लम्बाइअनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ । छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ । विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ । हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ ।
पोखरा: नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जिवन दाहालले बताए । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने दाहाल बताउँछन् । मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष एवं महोत्सवका उद्घोषक समेत रहेका शिवहरी ढुंगानाले भने । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले वताए । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ । रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने रत्यौली कार्यक्रमकी संयोजक गंगा मल्लले बताईन । पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो । दैनिक दुई समूहका दरले महोत्सव अवधीभर २२ समुहले रत्यौली गित प्रस्तुत गर्ने संयोजक गंगा मल्लले जानकारी दिएकी छन् । निर्धारीत समय भित्र गीत प्रस्तुत हुन्छ त्यही गितको तालमा महिला र पुरुष दर्शक सगसगै छमछमी नाच्न पाउछन् र साथमा लुठो(जोक्कर)ले विभिन्न खालका हसाउने अभिनय गर्दै स्टेजमा भएकालाई मनोरञ्जन दिने गर्दछन । बेहुली लिएर आए पछि बेहुला बेहुली दुवै नाच्ने र स्टेजमा भएकालाई जन्ती खाजाको रुपमा कसार, रोटी र अचार खुवाउने काम भएपछि रत्यौलीको निर्धारीत समय सकिन्छ । महोत्सव अवधि भर दैनिक रुपमा रत्यौली गीतको प्रस्तुतीका लागि ३५ टिम दर्ता भए पनि प्रस्तुतीका आधारमा भएको छनोटबाट २२ समुहले मात्र प्रतिष्पर्धामा सहभागि हुने अवसर प्राप्त गरेका थिए । सहभागी प्रत्येक समुहलाई प्रस्तुतीको आधारमा पुरस्कृत गरिने छ । यसैबिच महोत्सवको पाचौ दिन सोमवार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबार तर्फ २५ लाख बरावरको भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीको दावी रहेको छ । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
जुम्ला: जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियोे । सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१र८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पु¥याइएको छ । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले भन्नुभयो, “कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।” विशेष गरी दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यात्रा खर्च धेरै हुने भएकोले सरकारले ढुवानीखर्च समेत उपलब्ध गराएको उहाँको भनाइ छ । खाद्य संस्थानले चामल लिन आउने नागरिकका लागि यात्रा खर्चसमेत प्रदान गर्ने व्यवस्था गरेको छ । चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकाबाट आउने नागरिकलाई फरक–फरक भाडासमेत उपलब्ध गरिएको छ । जिल्लाको कनकासुन्दरी, सिञ्जा, हिमा र तिला गाउँपालिकाबाट आउने नागरिकलाई प्रतिव्यक्ति रु एक हजार भाडा दिने गरिएको छ, भने गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाबाट आउने नागरिकलाई भने रु ५०० दिने व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कले कर्णालीका नागरिक यो योजनामा सक्रिय रूपमा सहभागी भएको देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ मा, जन्मका लागि एक सय ४७ क्वीन्टल र मृत्युका लागि १३ क्वीन्टल २० किलो चामल वितरण गरिएको थियो । यस अवधिमा तीन लाख ८८ हजार ५०० रूपैयाँ भाडाका लागि खर्च गरिएको छ । विसं २०७३ मा थालिएको यो योजनाले हालसम्म प्रभावकारी देखिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१÷८२ को मङ्सिरसम्मको तथ्याङ्कले योजनाको प्रभावकारितामा निरन्तर वृद्धि भएको देखाइरहेको खाद्य संस्थानका सूचना अधिकृत लक्ष्मण शर्माले बताउनुभयो । यस आवमा जन्म र मृत्युका लागि ८१ दशमलव ९ प्रतिशत क्वीन्टल चामल निःशुल्क वितरण गरिएको छ, भने रु एक लाख ४८ हजार ५०० भाडाका रूपमा प्रदान गरिएको यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।
कास्की: अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका पर्वतको मोदी खोलाको मध्य मोदी जलविद्युत आयोजनामा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । उद्योगपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुप (सिजी) को लगानीमा संचालित आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै अन्नपूर्ण –७ कास्कीका युवा नेता बिष्णु चापागाईंको नेतृत्वमा गएको समूहले तालाबन्दी गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तीमा अन्नपूर्ण गाउँपालिका वडा नं.–४, ५, ६, ७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्ष देखि भुक्तानी नगरेको, मोदीखोलामा १०% पानीको बहाब नछाडेको, आयोजना निर्माणधिन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षति पुगेकोमा क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यालय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरि सुनुवाई नगरेको, आयोजनाले स्थानीयको लागि साधारण शेयर (क्ष्एइ) जारी नगरेको लगायतका कार्यहरु नगरेको उल्लेख छ । आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको डोजर एक्साभेटरको साँचोसमेत सो समुहले कब्जा गरेको छ ।
लेखनाथ: कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुहबीच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयीक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो । घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहकाबीचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ वबहान त्यसको तयारीमासमेत जुट्ने गरेका छन् । महिलाहरुलाई गीत संगित र रत्यौलीमा मात्र सिमित नराखी उनीहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउँदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उदेश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता व्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताइन् । लामिछानेले भनिन्–“आयोजित प्रतियोगिताबाट आमा÷महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो, सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरुले खुलेर सहभागि जनाउनु भयो यो नै हाम्रो लागि गर्वको विषय हो ।” प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समुह मध्येबाट प्रत्येक दिन चार समुहकाबीच प्रतिस्पर्धा गरि आठ समुहलाई सेमि फाईनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भईरहेको छ । सहभागी समुहहरुलाई विषयगत प्रश्न देखि महिलाहरुको दैनिकी दिनचर्याका विषय वस्तु देखी धर्म,संस्कृती, साहित्य, स्थानिय निकाय, स्थानीय सेरोफेरो र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रश्न तयार गरिएको छ भने, अहिलेसम्म २४ समुहका बिच प्रतिश्पर्धा भईसकेको छ । प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समुहका बिच हुने फाईन चरणको प्रतिश्पर्धा हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २५ हजार, द्धितिय ह्ने समुहले २० हजार, तृतिय हुने समुहले १५ हजार र सान्त्वना हुने समुहले १० हजार र बाँकी चार समुहले पाँच÷पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आईतबारसम्म भएको प्रतिष्पर्धामा सरस्वती सामुदायिक महिला समहु पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।
लमजुङ: छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि १ बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ । उहाँको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन् । रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै हुनुहुन्छ । उहाँको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ । उहाँलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ । किनभने त्यो गाउँसँग उहाँको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ । “बालखैमा बिहे गरेर आएको गाउँ हो । यहाँ पहिला कति रमाइलो हुन्थ्यो । अहिले कस्तो भयो,” उहाँ भन्नुहुन्छ, “हराउँदै गयो गाउँको रौनक ।” बिहे भएर आएदेखिको उहाँको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर । “कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो”, उहाँ गाउँको विगत स्मरण गर्दै भन्नुहुन्छ, “अहिले घरहरु छन्, बस्ने कोही छैनन् । सबै शहरतिर लागे । सुख र सुविधाले त्यति तान्यो ।” छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ । अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उहाँलाई खल्लो लाग्छ । कुनै समय थियो । “गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फुलफूल टिपेर बिठ्याइँ गरिदिन्थे”, उहाँको स्मृति बग्दै गयोे,“उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपथ्र्यो । अहिले चरा र बाँदरले खाएर रित्याउँछन् । मान्छे भेटिदैनन् ।” लमजुङको राइनास नगरपालिका–१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ । किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन् । अधिकांश शिक्षक पेशामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो । “यहाँका अधिकांश बुबाहरु शिक्षक पेशामै आबद्ध हुनुभयो भने छोराछोरी केहिले यही शिक्षण पेशा अपनाएका छन्”, रमादेवीका छोरा राममणि न्यौपानेले बताउनुभयो । उहाँ गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । उहाँका अनुसार टोलमा ५५ घरधुरी छन् । यसमध्ये मुस्किलले २६÷२७ घरमा मात्रै घरमुली बसोबास गर्छन् । अरु अधिकांश शहरतिरै त कोही विदेश पलायन छन् । शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ । पाँच जनाको शिक्षक दरबन्दी घटेर अहिले दुई जनामा सिमित हुनुपरेको छ । कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन् । त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन् । “गाँउमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनु ?”, उहाँ भन्नुहुन्छ । अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ । राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो । यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ । राइनास नगरपालिका–१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी, कत्रेनी, बोराङलगायत टोल छन् । टोलैपिच्छे मौरीपालन, तरकारी खेती जस्ता उत्पादन र उद्यमशील काम भएका छन् । यद्यपि पालिकाले योजनाबद्ध ढङ्गमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय शहरमुखी हुन थालेको बताउँछन् । बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउनुहुन्छ । “छरछिमेकी हुँदा गाहेसारो परेको बेला सहयोगी हात हुन्थे,” उहाँ भन्नुहुन्छ,“अहिले विरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन ।” गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि शहर पसेका छन् । चाडपर्वमा घर सम्झेर एकाद परिवार आउँछन नभए वर्षौदेखि घरले स्याहार नपाएको स्थानीयले बताए । प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन । उहाँहरु तीनैजनाको घरमा ताल्चा छ । रोजगार र छोराछोरी पढाउन काठमाडौँ पसेका छिमेकी उतै बसेको प्रेम बताउनुहुन्छ । मेरो वरिपरित सबै घरमा ताला लागेको छ । “छिमेकी नहुँदा निकै नियास्रोको महसुस हुन्छ”, उहाँ भन्नुहुन्छ, “गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन ।” गाउँको छेउँमै चौतारा छ । चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैन । ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपानेले अब बूढाबूढीपछि पुख्र्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउनुहुन्छ । उहाँको ठूलो छोरो चितवन रोजगारका सिलसिलामा उतै हुनुहुन्छ । माइलो र कान्छो काठमाडौंमा छन् । सुविधा न भएको गाउँमा नबस्नु सहरतिरै आउनु भनेर छोराहरु जोड गरे पनि जन्मेलको थलो छोड्न मन नलाग्ने गरेको उहाँले सुनाउनुभयो । “हामी चिसो छल्न गाउँ आएका । होइन भने प्रायः काठमाडौँतिर बस्छौँ”, उहाँले भन्नुभयो, “किन बस्ने गाउँमा भो अब दुख गर्नु पर्दैन भन्छन् छोराहरु ।” बिरामी परेको बेला सिटामोल समेत पाउन मुस्कील हुने गाँउको दुःख सम्झीदाविष्णुहरीले गाँउको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउनुहुन्छ । उहाँले भने जस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन । जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ । ६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लागनुभयो । उहाँको पुर्खौली जिउने आधार खेती किसानी हो । सकि नसकी लगाएको बाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन् । “अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई”, उहाँ किसानले भोग्नु परेको पीडा सुनाउहुन्छ, “के खाएर बस्ने हो यो गाउँमा ? अनि शहर नपसे के गर्ने ?” लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपानेका अनुसार गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्नुहुन्छ । रोजगारको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन् । यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै शहर पस्न थाले । यसले गर्दा गाउँ सुसनान हुँदै गएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ । गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उहाँको बुझाइ छ । सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताउनुहुन्छ । धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ । परम्परागत रुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन् । “खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ”, विमला भन्नुहुन्छ, “कृषिमा आधुनिकीरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो ।”
ढोरपाटन: चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् । ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उहाँको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताउनुभयो । अध्यक्ष भण्डारीले भन्नुभयो, “यो यामनै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मङ्सिरसम्म दैनिक एक सय ५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०÷४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको सङ्ख्या बढ्दै गएका छन् ।” पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उहाँको भनाइ छ । अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउनुहुन्छ । आएपश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ ।