बाँके: सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह नाकाबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल ३० नं गण बागेश्वरी, बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज–१६ जयसपुर नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेको रु दुई लाख ९० हजार बराबरको अवैध छुर्पी बरामद गरेको उहाँले बताउनुभयो । बरामद गरिएको सबै अवैध छुर्पीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।
काठमाण्डौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति हुनु सकारात्मक भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै एमालेका उपमहासचिवसमेत रहनुभएका सांसद भट्टराईले आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश गर्नुभन्दा अघिल्लो दिन अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरेको विषयमा गम्भीर भएकाले नै पार्टीले गम्भीरतापूर्वक छानबिनका लागि आवाज उठाएको बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्वका विषयमा अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिएलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सांसद भट्टराईलाई बोल्नका लागि समय उपलब्ध गराइएको थियो । उहाँले आफूहरूको मागको सम्बोधन गरिएकोमा सभामुखलाई समेत धन्यवाद दिनुभयो । उहाँले सोही कारण अर्थ मन्त्रालयका सचिव बिदामा रहेको र अरु कर्मचारी पनि काम गर्न तयार नभएको जिकिर उहाँको थियो । मिडियामा आएको विषय एमालेले पटकपटक उठाएको र नेपाली कांग्रेसका केही सांसदले पनि विषय उठाएपछि समिति गठन भएको पनि उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । यस रुटमा १७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।
काठमाडौँ: काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार हेटौँडा पनि हैजा पुष्टि भएको हो । त्यस्तै चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ । भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र हेटौँडाका हैजा सङ्क्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको इडीसीडीले जनाएको छ । हैजा सङ्क्रमणको मुख्य स्रोत पानी भएको दासले बताए । काठमाडौँ उपत्यकामा मात्रै १८ स्थानमा हैजा देखिएको छ । हैजा तथा झाडापखालाबाट बच्चाका लागि पानी उमालेर तथा क्लोरिन झोल राखेर शुद्धीकरण गरिएको पानी मात्रै पिउन डा।दासले आग्रह गरेका छन् । सडेगलेको बासी, झिँगा भन्केका नखान उनको आग्रह छ । खानेकुरालाई राम्रोसँग पकाएर फलफूलहरूलाई राम्रोसँग शुद्ध पानीले पखालेर खान उनको उनको सुझाव छ ।
काठमाण्डौँ: थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेकोे बताउनुभयो । उहाँका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ । उहाँले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिनुभयो ।
काठमाण्डौँ: सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख थियो ।
काठमाण्डौँ: देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधामा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बिहीबार जनकपुरधामस्थित सीताशरण होटलमा सो कार्यक्रम आयोजना हुने मन्त्री साहले बताउनुभयो । सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ । बिहीबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने गृहमन्त्रीहरुको टोलीले दिउँसो जयनगर–कुर्था रेलमा यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आज बेलुका ६ बजेसम्म जनकपुरधाम पुग्ने सबै प्रदेशका गृहमन्त्रीसहितको टोली आज साँझ जनकपुरधामस्थित गङ्गासागर पोखरीमा नियमित हुँदै आएको महागङ्गा आरतीमा सहभागी हुने कार्यक्रम तय भएको छ । यस्तै टोलीले यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उहाँहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।
लमजुङ्: यहाँ बाढीपहिराले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको छ । वडाध्यक्ष मनलाल गुरुङले भन्नुभयो, “१५ गते ठूलो वर्षापछि पहिरो गएको थियो, सो पश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरु जोखिममा परेको छ ।” वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती रहेकाले झन् बढी जोखिम रहेको छ । “निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरु सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना छ,” उहाँले भन्नुभयो । पहिराले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । सो पश्चात् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ लगायतको टोलीले समेत अनुगमन गरेर गएको थियो । अनुगमनपश्चात् उहाँले दक्ष प्राविधिक ल्याएर पहिराको थप अनुसन्धान गरेर रोकथाम गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ । यहाँ दैनिक जसो पानी परिरहँदा स्थानीयहरु भने त्रसित हुने गरेका छन् । उक्त घरका १५० भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन् ।
काठमाण्डौँ: नेपाल रेडक्रस सोसाइटीले कार्यालयमा गरिएको तोडफोडको भत्र्सना गरेको छ । सोसाइटीले आज पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले तोडफोड गरेको आरोप लगाउनुभएको छ । उहाँले मङ्गलबार निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले केन्द्रीय कार्यालयमा आई तोडफोड गरेको आरोप लगाउनुभयो । “निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित होइन्”, उहाँले भन्नुभयो, “हामी रेडक्रसको साखलाई उच्च राख्न चाहान्छौँ ।” सरकारले डा तिम्सिनाको कार्यकाल सकिएपछि गत जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उक्त समितिलाई तीन महिनाभित्र निर्वाचन गराउन सरकारले निर्देशन दिएको छ । रेडक्रसका महामन्त्री भूपतीलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताउनुभयो । उहाँका अनुसार मङ्गलबार दिउँसो १ः३० बजे निवर्तमान अध्यक्ष डा तिम्सिनाको नेतृत्वमा आएको समूहले महामन्त्री, उपमहामन्त्री लगायतको कार्यकक्ष तोडफोड गरेका छन् ।