पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

चितवन:   जिल्लामा आजबाट रोजगार मेला हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो ।   भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो । जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पार्नुभयो ।   विभिन्न सङ्घसंस्था, कम्पनी तथा उद्योगमा आवश्यक रोजगारीका बारेमा मेलामा जानकारी दिइने छ । रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइने छ । जिल्लाका साथै देश–विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरमा जानकारी गराइने सुवेदीले बताउनुभयो । विद्यार्थी तथा बेरोजगार युवालाई श्रमबजारको माग र आवश्यकताका आधारमा वृत्ति परामर्श सेवा प्रदान गरिने उहाँको भनाइ छ । तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरका बारेमा सो अवसरमा जानकारी गराइने छ ।   चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो सङ्ख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा गरिएको छ । मेलामा ६० वटा स्टल रहने छन् । दुई दिनसम्म चल्ने मेलामा १० हजार हाराहारीले अवलोकन गर्ने र दुई सय जनाले मेलाकै समयमा रोजगारी पाउने अपेक्षा सुवेदीले गर्नुभयो ।   वैदेशिक रोजगारीमा जान चाहनेलाई सीपमूलक तालिम दिने, पालिकामा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी मौसमी रोजगारी दिने तथा विभिन्न सङ्घसंस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गरिने छ ।   मेला हेल्भिटासको प्राविधिक सहयोगमा हुन लागेको हो । यसमा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ, चितवन च्याम्बर अफ कमर्स, रत्ननगर उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी महासङ्घ नेपाल, क्षेत्रीय होटल सङ्घ नेपाल, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल, नेपाल पोल्ट्री महासङ्घको सहकार्य रहेको छ ।

कालिकोट:    कालिकोटको तिलागुफा नगरपालिका–९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा लिएका छन् ।    जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारका अनुसार विशेषज्ञ स्वास्थ्य सेवाअन्तर्गत ४३ महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण, ४६ जनाको दाँतको उपचार, २७ जनाको भिडियो एक्स–रे र ६ पुरुषको बन्ध्याकरण गरिएको छ । सो क्रममा ३५० जनालाई औषधि वितरण गरिएको कार्यालयका सूचना अधिकारी कटबहादुर महतले जानकारी दिनुभयो ।    स्वास्थ्य शिविरलाई जिल्लाभर अभियानकै रूपमा सञ्चालन गर्ने योजना रहेको महतले बताउनुभयो । स्वास्थ्य शिविरका सबै प्रकार स्वास्थ्योपचारका सेवा दिने योजना छ । “जनशक्तिले भ्याएसम्म दुर्गम तथा पिछडिएको क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ”, महतले भन्नुभयो ।  

बैतडी:   बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ ।   कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा इन्टरनेट जडान भएपछि प्राविधिक विषयको पठनपाठन गर्न सहज हुने विश्वास छ । विद्यालयलाई प्रविधिमैत्री सहज हुनेछ ।”   ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकाका २७ विद्यालयलाई उपकरण हस्तान्तरण गरिएको छ । इन्टरनेट जडान गर्ने उपकरण प्राधिकरणले उपलब्ध गराएको र ती उपकरण विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम क्षेत्रका विद्यार्थीको इन्टरनेटमा पहुँच पुर्याउन प्राधिकरणको सहयोगमा उपकरण वितरण गरिएको हो ।   स्थानीय तहले हटाउँदै करारका शिक्षक र कर्मचारी    बैतडीका स्थानीय तहले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् ।    आगामी साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरिएको डिलाशैनीका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो । विसं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई काममा नआउन जानकारी गराइएको उहाँले बताउनुभयो । गत वर्ष ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेदेखि  नथप्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो ।    स्रोत सुनिश्चितता नगरी कर्मचारी भर्ना गरेको पाइएको र उनीहरुलाई तलब दिन रु ७७ लाख अपुग भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा उनीहरुको व्यवस्थापन गर्न कार्यदल बनाइएको छ । कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा करारका कर्मचारीको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताउनुभयो । गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको छ ।    यस्तै करार शिक्षकका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरिनसकेकाले विद्यालयलाई सचेत गराइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताउनुभयो । केही विद्यालयले करार शिक्षकको आफूखुसी करार नवीकरण गरिरहेको जानकारी प्राप्त भएको र त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको छ । दशरथचन्द नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने/नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।

सर्लाही:   सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् ।    प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो । 

पोखरा:   पत्रकार तथा एबिसी टेलिभिजनकर्मी गिता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गरेका छन् ।    स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसुती तथा स्त्री रोग भवनको शिशु वार्डमा ३ थान बिरामी कुरुवा बेड सहयोग गरेका हुन् ।  उक्त बिरामी कुरुवा बेड पत्रकार रानामगरले अस्पतालका प्रा. डाक्टर भरतबहादुर खत्रीलाई हस्तातरण गरे ।    सो अवसरमा बोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामा अस्पतालको शिशु वार्डमा आवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको बताए । ‘भाईपनि सानै उमेरमा सम्झनामै सिमित भएको थियो, उनले भने, ‘त्यही बच्चा वार्डमा बिरामी कुरुवाहरुलाई सहज हुन्छ भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’   उनले सोही प्रसंगमा धर्म कमाउन मन्दिर नै जान नपर्ने बताए । ‘धर्म कमाउन मन्दिरमै गएर भेटी चढाउनु पर्छ भन्ने छैन, रानामगरले भने, ‘आफुलाई मनमा शान्ती मिल्ने गरि अस्पताल र वृद्धाश्रममा पनि दान गर्न सकिन्छ ।’   यसैगरि सो समाग्री ग्रहण गर्दै अस्पतालका निर्देशक प्रा. डाक्टर भरत बहादुर खत्रीले सहयोगका लागि आभार व्यक्त गरेका थिए  । उनले अस्पतालमा विशेषगरी फलामका कुर्ची तथा बेन्चहरु सहयोग आउँने बताउदै टिकाउ नहुने धारणा राखे ।   डाक्टर खत्रीले सहयोगी दाताहरुलाई काठले बनेका समाग्रीहरु प्रदान गर्न समेत सुझाएका थिए ।   स्याङ्जाको पुतली बजार नगरपालिका ७ बुढीलेकका पत्रकार रानामगरका भाई स्वर्गीय कुलदिप रानामगर (अर्जुन) ले ७ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका थिए ।

काठमाडौँ:   काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो ।   दुर्घटनामा परी सख्त घाइते हुनुभएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापा:      झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिनुभयो ।   चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको सङ्ख्या ६८४ (मिनिल्याप) र पुरुषको सङ्ख्या ९ (भ्यासेक्टोमी) रहेको छ । धेरै भ्रम रहेकाले पुरुषहरुले बन्ध्याकरण गराउन चाहदैनन् । स्थायी बन्ध्याकरण गराउनेमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिला छन् । सहरी क्षेत्रमा महिला भन्दा पनि पुरुषले ‘लुकिछिपी’ स्थायी वन्ध्याकरण गराउने गरेको उहाँको भनाइ छ ।    यो वर्ष जिल्लाका नौ स्थानमा मोबाइल क्याम्प गरिएको छ । यस्तै, झापामा प्रसूतिपछिको स्थायी बन्ध्याकरणसमेत हुने गरेको छ । यसपछि बच्चा जन्माउन नचाहनेलाई सोही समयमा स्थायी बध्याकरणको सेवासमेत प्रदान गरिँदै आएको अधिकृत भट्टराई बताउनुहुन्छ ।    झापामा आम्दा अस्पताल, लाइफ लाइन, ओम मेची इन्टनेशनल, बीएण्डसी अस्पताल, ओमसाई पाथीभरा लगायतका अस्पतालले प्रसूतिपछिको बन्ध्याकरण सेवा दिँदै आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ती अस्पताललाई डेलिभरीपछिको बन्ध्याकरण सेवा उपलब्ध गराएबापत स्वास्थ्य कार्यालय झापाले तथ्याङ्कको आधारमा रकम पनि दिने गरेको छ ।   बन्ध्याकरण सेवा लिने सेवाग्राहीलाई जनही रू २५० खाजा खर्च, सामान्य औषधि र भिटामिन दिने गरिएको छ । लाभग्राहीलाई घरबाट ल्याएर सेवा लिएपछि घरमै पुर्याउने व्यवस्था भने कार्यालयले आफैँले गर्ने गरेको छ । चालु आर्थिक वर्षमा झापामा परिवार नियोजन अन्तर्गत आएको रू ३४ लाख हजार ४० मध्ये रू सात लाख फ्रिज भएको कार्यालयले जनाएको छ ।

काठमाण्डौँ:    नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।    कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा। अन्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताउनुभयो । उहाँले रगतबाहेक मस्तिष्क तथा ढाड, ग्रन्थी, आँखा, हड्डी , मिर्गौला, मांसपेशीलगायतमा क्यान्सर हुने देखिएको बताउनुभयो ।     डा पण्डितले घाँटीमा गाँठो देखिनु, गिजाबाट रगत आउनु, आँखामा धब्बाहरु देखिनु, गालामा ट्युमर देखिनुलगायत क्यान्सरका लक्षणहरु भएकाले यसको समयमै उपचार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समयमै क्यान्सर पत्ता लगाउन सके उपचारले निको हुनेसमेत जानकारी दिनुभयो । डा पण्डितले बालबालिकामा हुने क्यान्सरमध्ये बालकलाई तीन वर्ष र बालिकालाई दुई वर्षमा उपचार गरी निको पार्न सकिने उल्लेख गर्नुभयो ।काठमाडौँ मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका डा। आशिषलाल श्रेष्ठले बालबालिकामा हुने क्यान्सरको उपचार नेपालमा नै सम्भव छ भन्नुभयोे । “बैलैमा रोगको जाँच र निदान भएमा बाल क्यान्सर पूर्ण रुपमा निको हुन्छ,” उहाँले जोड दिनुुभयो।       डाक्टर श्रेष्ठले गर्भवती अवस्थामा मद्यपान तथा धुम्रपान गर्नाले, विकिरण तथा रसायनका कारणले, प्रदूषित वातावरण तथा अत्यधिक कीटनाशकको प्रयोगले र गर्भावस्थामा भ्रूणमा देखा परेको वंशाणुगत असन्तुलनले बालबालिकामा क्यान्सरको समस्या हुने गरेको देखिन्छ भन्नुभयो । उहाँले क्यान्सर भएका बालबालिकाका अभिभावकामा  जनचेतना फैलाउन नसक्दा यसको उपचारमा कमी आएको उल्लेख गर्नुभयो ।       काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विश्वव्यापी समस्याका रुपमा रहेको बाल क्यान्सरबाट नेपालमा पनि थुप्रै बालबालिकाहरु पीडित भएका र यसको रोकथामका लागि महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।उहाँले काठमाडौँ महानगरवासीलाई स्वास्थ्य राख्न यस्ता सामाजिक संस्थासँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ एचका डिष्ट्रिक गभर्नर दिनेशप्रसाद श्रेष्ठले बालबालिकामा हुने क्यान्सरलाई समयमा पहिचान गर्न सके उपचार सम्भव छ भन्नुभयोे ।     सोही संस्थाका बाल्यअवस्थाको क्यान्सर सचेतना कार्यक्रमका संयोजक विकासमान सिंहले नेपालमा बाल क्यान्सरको अवस्था भयावह रहेको तर उपचारका लागि निकै कम मात्रामा स्वास्थ्य संस्थामा पुग्ने गरेको र पुगेकाहरुमध्ये पनि ३० प्रतिशतले मात्र उपचारमा निरन्तरता दिने गरेको बताउनुभयो ।लायन्स क्लब अफ इन्टरनेशनलले स्वास्थ्य, वातावरण, प्राकृतिक विपत्ति रोकथाम, पौष्टिक आहार, गरिब तथा विपन्नलाई खाद्य सामग्री वितरण, हैजाबारे जनचेतनालगायत विभिन्न क्षेत्रमा जुलाई १ देखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौँ हारतीमाताका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिनुभयो । 

  काठमाण्डौँ:     चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए ।    उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान १०:३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।