पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  पोखरा :     पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को  एक कार्यक्रबीच पुनर्गठनसँगै पदस्थापन भएको छ ।    हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जानकारी दिनुभयो ।    विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिड. र तेन्जिन छेतेन चयन भएका  छन् ।    मतदानबाट भएको चयनमा प्रक्रियामा विद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् ।​छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाङ, पासाङ​  डोल्मा र अनिता गुरुङ चयन भएको चपरिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ ।    सिनियरतर्फ दीपेन गुरुङ र पेमा डोल्मा चयन भएका छन् ।  पदस्थापनसँगै विद्यार्थी नेतृत्वहरुलाई खादा र व्याच प्रदान गरिएको थियो । सो अवसरमा उर्गेन दावा, गोविन केसी लगायतका शिक्षकहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सो अवसरमा बोल्दै विद्यार्थी नायक ढुन्डुप छिरिड.ले विद्यार्थीहरुको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताए ।   छात्रा नायक तेन्जिन छेतेनले विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ  र अनुशासित बनाउन आफ्नो नेतृत्व क्रियकाशील रहनेमा जोड दिइन् । सो अवसरमा प्रिफेक्ट र छात्रछात्रा नायकहरुले सपथ खाएर शैक्षिक गुस्तर कायम राख्न नवगठित परिषद् सदैव लागि पर्ने प्रतिबद्धता जनाएको शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो ।   

काठमाण्डौँ :    बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परिषद् अध्यक्षको रूपमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अध्यक्ष साहले सबै पक्षसँग सहकार्य गरेर जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनुभयो ।   “जनकपुरधाम आफैँमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर हो”, अध्यक्ष साहले भन्नुभयो, “यहाँका धार्मिक र सांस्कृतिस्थलको संरक्षण संवद्र्धन गर्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु मेरो मुख्य लक्ष्य हो ।”    यसैबीच नवनियुक्त अध्यक्ष साहले पदभार ग्रहण गरेलगत्तै वर्षौँदेखि  जीर्ण रहेको जनकपुरधामस्थित रामायण भवनलाई जीर्णोद्वार गर्ने पहिलो निर्णय गर्नुभएको छ । धार्मिक र ऐतिहासिक भवन भए पनि उपेक्षाका कारण हालसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेकाले यसलाई मर्मतसम्भार गरी जीर्णोद्वार गर्ने आफूले पहिलो निर्णय लिएको अध्यक्ष साहले बताउनुभयो ।   साहलाई नेपाल सरकारले बुधबार परिषद्को अध्यक्षमा नियुक्त गरेको थियो । गत विसं २०४९ मा स्थापना भएको सो परिषद्ले धनुषा र महोत्तरीको धार्मिक र पर्यटकीयस्थलको संरक्षण, संवद्र्धन तथा सौन्दर्यकरणको कार्य गर्दै आएको छ । यसका साथै मिथिला क्षेत्रमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रममालाई व्यवस्थित बनाउने र साथै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यसमेत सो परिषद्ले गर्दै आएको जनाएको छ । परिषद्मा धनुषा र महोत्तरी जिल्लाका सांसद, नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख गरी ३२ सदस्य रहने व्यवस्था छ ।

पोखरा :     जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ ।   पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले भने, ‘पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले अब रुप फेर्दैछ ।’   आधा भाग ग्राबेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम गरेर पुर्न मेयर धनराज आचार्यले सहजिकरण गरिरहेको उनले बताए । यसैबीच पोखरा बसपार्कको बुधबार मेयर आचार्यले निरीक्षण गरेका छन् । पार्किङ गर्ने सबै भागमा ग्रावेल भरेर सम्याउने कामलाई सक्न र तत्कालका लागि धुलो र हिलो मुक्त बनाउन उनले निर्देशन दिए । त्यसपछि छिट्टै समस्या सल्ट्याएर डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्न महानगर लाग्ने उनले बताए । बसपार्क निरीक्षणका क्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।    गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए ।     पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्थित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा छ । झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन ।    पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।   

काठमाण्डौँ :     शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।   झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उहाँले भन्नुभयो, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।” खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक  सिंहले बताउनुभयो ।

 काठमाडौँ :      चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन ।   सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका अनुसार कूल रु एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो ।    सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ । कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु ११ खर्ब नौ अर्ब ३७ करोड ३२ लाख बराबर खर्च भएको छ । कूल विनियोजनको ६७.९४ प्रतिशत हो ।   सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ । रु १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म रु आठ खर्ब ६६ अर्ब ९० करोड ६० लाख अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ ।   त्यस्तै, वित्तीय व्यवस्थातर्फ कूल रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु ९१ अर्ब ३७ करोड ६८ लाख अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ । सरकारले नियमित रुपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ । सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमा नै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ ।  यो त भयो खर्चको कुरा ।    अब सरकारको आम्दानी पनि हेरौँ । कार्यालयका अनुसार असार १५ गतेसम्म कूल रु नौ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८२.२ प्रतिशत हो । सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य चालु आवका लागि राखेको थियो ।    त्यसमा कर राजस्वतर्फ रु आठ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८४.१९ प्रतिशत हो । चालु आवका कर राजस्वतर्फ रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख लक्ष्य राखेको थियो । यस्तै, अनुदानतर्फ रु ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म रु १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३।१७ प्रतिशत प्राप्त गरेको छ ।    अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो । कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो ।    कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।   चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु  एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा  रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ ।

काठमाण्डौँ :     छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ ।   विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावाली सर्वाजनिक गरेको हो ।   गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८५७ जना लिखित परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा सहभागीमध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।   लिखित र मौखिक परीक्षामा भाग लिई दुवै परीक्षामा औसतमा उच्च अङ्क प्राप्त गर्ने ६६० जनालाई छनोट गरिएको विभागले जनाएको छ । भन्सार ऐन २०६४, भन्सार नियमावली २०६४, भन्सार एजेन्ट परीक्षा सञ्चालन कार्यविधि २०७७ र भन्सार विभागको निर्णयानुसार परीक्षा सञ्चालन गरिएको विभागले जनाएको छ ।   विभागले २०७७ को चैत १६ गते ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो । दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्टमात्रै रहेका छन् ।   यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात–निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।

पोखरा :       स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।      वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।      सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको  चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।

चितवन :   जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।    जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।    यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।    बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।