पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

    काठमाडौँ:    नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ। त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ। जुन सामान आयात नगरे पनि हुन्छ। ती आयात भइरहेका छन्। जुन अत्यावश्यक सामग्री पनि होइन, त्यस्ता  सामग्री आयात गरेर हामी आफैँले विदेशी मुद्राको सञ्चिती घटाइरहेका छौँ।     न त खानाको रुपमा प्रयोग गर्न मिल्ने, न त भोक नै मेटिने चुइगमदेखि बिस्कुटसम्म आयात गरेर जिभ्रोको स्वाद मेटिरहँदा त्यसले पार्ने प्रभाव भने विस्तार भएर गएको छ।    भन्सार विभागको पछिल्लो विवरणअनुसार हाम्रै गाउँघरमा पाइने, बास प्रयोग गरेर निर्माण गर्न सकिने दाँत कोट्याउने सिन्काको आयातमा समेत मोटो रकम विदेशिएको छ। देश भित्रै सामान्यरूपमा उत्पादन गर्न सकिने ‘टुथपिक’ आर्थात् दाँत कोट्याउने सिन्का आयात गरेर नेपालीले परनिर्भरताको चरम नमूना प्रस्तुत गरिरहेका छौँ।    हाम्रा खेतबारीको डिलमा रहेको बाँस खेर गइरहेको छ तर, चीनबाट टुथपिक आयात गरेर आफूलाई शानका साथ प्रस्तुत गर्ने नेपाली प्रवृत्तिले परनिर्भरता बढाइरहेको छ।    विभागको विवरणअनुसार चालु आबको ११ महिना मात्रै कूल ८४ हजार ३८७ किलोग्राम बराबरको टुथपिक आयात भएको छ। त्यसका लागि मात्रै दुई करोड ५३ लाख ५२ हजार बराबरको रकम विदेशिएको छ।    सामान्य उद्योग स्थापना गर्न सकिए मात्रै पनि टुथपिकका लागि रकम विदेशिने थिएन।    यसबारेमा न त सरकारी निकायले सोच्न भ्याएको छ, न त उद्योगी व्यवसायीले नै। परनिर्भर चरित्रका कारण आयात भइरहेका यस्ता सामग्री देशभित्रै उत्पादन गर्न सकिन्छ भन्ने सोच उद्यमी तथा व्यवसायीले राख्नुपर्ने आवश्यकता बढेर गएको छ।   विभागको विवरण अनुसार चीनबाट मात्रै दुई करोड ५१ लाख ६२ हजार मूल्य बराबरको टुथपिक भित्रिएको देखिन्छ। अन्य देशबाट पनि त्यस्तो सामग्री आयात भएको छ। योभन्दा परनिर्भर चरित्र अरु हुनै नसक्ने जानकारहरूको भनाइ छ।    ‘हरियो वन नेपालको धन’ हाम्रा लागि असाध्यै चर्चित छ। प्राय जसोः विद्यालय तहदेखि नै निबन्ध प्रतियोगितामा समेत यस विषयमा राम्रैसँग सिकाइन्छ। सरकारको नीति, योजना र कार्यक्रम पनि यसैमा केन्द्रीत छ।    वनसम्पदाको महत्त्व र आवश्यकताका बारेमा मूलुकका सायदै कम मानिसलाई बुझाउनु पर्ला। पर्यावरणीय सन्तुलनका लागि वनजङ्गलको महत्त्व त छ नै यसका साथै व्यावहारिक प्रयोगमा समेत वन सम्पदाको अत्याधिक योगदान रहेको छ।    मानिसको जीवनयापनको एक अङ्ग हो वनसम्पदा। सुत्ने खाटदेखि बस्ने कुर्सिसम्मको स्वरुप काठ र काठजन्य वस्तुको प्रयोगबाटै हुनेगर्छ। दाँत कोट्याउन समेत काठबाट बनेको वस्तुको प्रयोग हुन्छ। यस्ता वस्तुको प्रयोगमा त नेपाली अगाडी छौँ, तर उत्पादनमा भने शून्य  जस्तै रहेको विभागको विवरणले देखाउँछ।    चालु आर्थिक वर्षको एघार महिनाको आयातनिर्यात सम्बन्धि सार्वजनिक विवरणानुसार यस अवधिमा मुलुकमा दाँत कोट्याउने ‘टुथपिक’को आयातमा करोडौँ बाहिरिनुले हरियो वन नेपालको धन भन्ने नारालाई समेत गिज्याएको छ। मुलुकभित्रै सामान्य सीप तथा आर्थिक लगानीमा उत्पादन गर्न सकिने साधारण वस्तुका आयातमा करोडौँ रकम बाहिरिने गरेको उदाहरण मध्य लुगा अड्याउने साधन (ह्याङ्गर) पनि एक हो।     हेर्दा सामान्य लागे पनि ह्याङ्गरको आयातमा लाखौँ रकम विदेशिने गरेको तथ्याङ्क छ। विभागका अनुसार चालु आवको एघार महिनामा ६२ लाख ९० हजार मूल्य बराबरका यस्ता ह्याङ्गर आयात भएको छ। यस्तै प्रकृतिको अर्को वस्तु हो सलाईको काँटी, जसको आयातमा मात्रै ७० लाख ८२ हजार बराबरको रकम बाहिरिएको छ।    एकातर्फ वनलाई धनसँग मिलाएर नारा बनाइन्छ तर यसै वन जङ्गललाई सदुपयोग गर्न नसकेर अर्बौँ बराबरको रकम बाहिरिरहेको यथार्य हाम्रा सामु छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म करिब सात अर्ब ८१ करोडभन्दा बढीका काठ, बाँस तथा यसका सामग्री आयात भएको छ। यसरी मुलुकमै उत्पादन गर्न सकिने वस्तुको आयातमा विप्रेषणबाट  प्राप्त भएको रकम खर्च हुँदा मुलुककै शोधनान्तरमा नकारात्मक असर परेको छ।    यस अवधिमा करिब ६७ करोड ७५ लाख बढी मूल्यका फर्निचर आयात भएका छन्। विभागको तथ्याङ्कअनुसार छिमेकी मूलुक चीन तथा भारतबाट यस्ता फर्निचरको आयात बढी मात्रामा भएको पाइएको छ। यस अवधिमा अर्बौँको प्लाई तथा ढोका तथा यसका कच्चा पदार्थ आयात भएको छ।   पर्यावरणीय सन्तुलन तथा वातावरणको संरक्षणका साथै त्यसै कुहिएर खेर जाने तथा व्यवस्थित प्रयोगको सम्भावना रहेका वन उपजको व्यावसयिक प्रयोग गर्न सके यस्ता वस्तुमा आत्मनिर्भर बन्न समय नलाग्ने जानकार बताउँछन्। जसका लागि सरकारले आवश्यकता अनुसारका नीतिगत व्यवस्थानै गर्नुपर्नेमा उनीहरूको जोड छ।    सधै परनिर्भर बनेर बस्ने कि, देशभित्रैको काठको प्रयोग गरेर यस्ता सामग्रीको उत्पादन गर्ने भन्नेमा सरकारले स्पष्ट नीति लिनुपर्ने देखिन्छ। अन्यथा विदेशी मुद्राको सञ्चिती घट्यो भनेर सार्वजनिक स्थानमा वक्तव्य दिएकै भरमा कोही कसैले पनि छुट नपाउने अवस्थाको सिर्जना हुनसक्छ। 

   काठमाडौं:   गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताउनु भएको छ । नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदान्नोति भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै गृहमन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।    ‘गृहमन्त्री खाणले भन्नुभयो, ‘‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई, नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’’   प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोत साधन उपयोग गरेर उत्कृष्ठ जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । गृहमन्त्री खाणले अहिले प्रहरी नायब महानिरीक्षक भएकाहरू नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोशिश गर्न पनि निर्देशन दिनुभयो ।    उहाँले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिष्पर्धा गर्न पदोन्नति भएका अधिकृतहरूलाई निर्देशन दिनुभयो ।  नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उहाँले बताउनु भयो । अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ जनामध्ये चार महिला छन् । किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका हुन् ।    यसअघि असार ८ गते नायब प्रहरी महानिरीक्षकमा बढुवा सिफारिस भएका १७ जना प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट प्रहरी प्रधान कार्यालयमा  दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको थियो ।    गृहमन्त्रीले नयाँ नायब प्रहरी महानिरीक्षकहरूलाई निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका सहसचिवहरू टेकबहादुर केसी, फणिन्द्रमणि पोखरेललगायतको सहभागिता थियो ।

मकवानपुर:   मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।      मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।       उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ । 

काठमाडौं :   अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।   प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् । उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएको प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले  बताए ।   ‘उहाँहरुलाई सचेत गराइएको छ । स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउनुभएको छ,’ हमालले भने, ‘दोहोरीको द पनि नजान्नेलाई गाउन लगाएर भएन । अर्काले लेखेर गीत गाएको देखिएको छ । हामीलाई उहाँहरुलाई चेतावनी दियौं ।’   तर प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधेको यो पहिलोपटक भने होइन । यसअघि पनि स्पष्टीकरण सोधिएको थियो, तर प्रत्यक्ष दोहोरी कलाकारसामु प्रतिष्ठान निरीह देखिएको छ ।   पछिल्लो समय लाइभ दोहोरीको नाममा छाडापन बढेको गुनासो बढेको छ । कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।

   काठमाडौं:   सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो ।    सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोबल भिलेजको रुपमा परिणत भएको छ, सूचना र सञ्चार प्रविधिलाई हामीले विकास गरेर अब त्यसबाट मुलुकलाई अधिकतम लाभ दिलाउने दिशामा अग्रसर हुनु जरुरी छ ।” सूचना र प्रविधि क्षेत्रको महत्वलाई बुझेर विदेशीएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आइसीटिभित्र मुलुकको भविष्य खोज्नुपर्ने उहाँको भनाइ छ ।   मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आइटीको क्षेत्रमा पनि स्वर्णिम भविष्य रहेको बताउनुभयो । आइटीको क्षेत्रमा रहेको सम्भावनालाई आगामी दिनमा व्यावहारिक रुपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य अनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।    विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि सुरु गरेको थियो । चालु आर्थिक वर्षमा ९२७ पत्रपत्रिका, ३८ टेलिभिजन, २५१ रेडियो र १४ ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । हालसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको सङ्ख्या ३१  हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।    चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालु आवमा दर्ता ६६२ र नवीकरण ६७७ गरी हालसम्म तीन हजार ४६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिनुभयो ।   सञ्चार सचिव डा बैकुण्ठ अर्यालले डिजिटल नेपालको आकाक्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।        विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण,  अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिष्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, सङ्ग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवर्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको छ । सोही अवसरमा सञ्चारमन्त्री कार्कीले विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।

काठमाण्डौँ :       अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार शिष्टाचार भेट भएको छ।    सो भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन्।  उनले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन्।    फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा  हुँदैछन्।  प्रतियोगितामा भाग लिने ३२ वटै टिमको टुंगो लागिसकेको छ।

पोखरा:  पोखरा महानगरपालिकाको फोहोर ल्याण्डफिल्ड साइड विवाद समाधान गर्न आइतबार महानगरका प्रमुखलाई वडा नम्वर ३३ का स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।   पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा ल्याण्डफिल्ड साइड निर्माण गर्न पोखरा ३३ को टिमुरपाटा स्थान तोकिएको बजेट समेत प्रस्ताव गरेपछि त्यस निर्णयको विरोध गर्दै स्थानीयले महानगरका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।    पोखरा ३३ का स्थानीय किरण थापाले अहिले ल्याण्डफिल्ड साइड बनाउने भनेर जुन ठाउँ महानगरले तोकेको छ, त्यसलाई सच्चाएर पोखराको १ देखि ३३ नम्वर वडाका विभिन्न ठाउँमा ल्याण्डफिल्ड साइडको स्थान बनाउन अध्ययन गर्न महानगरलाई सुझाव दिएका बताए ।   पोखरा ३३ को टिमुरपाटा भन्ने स्थानमा ल्याण्डफिल्ड साइड बनाउन त्यहाँका स्थानियहरुसँग प्ररामर्श नगरी उक्त स्थानका स्थानियहरुसँग छलफल परामर्श नगरी हचुवा भरमा जवरजस्ती रुपमा उक्त स्थान महानगरले छनोट गरेको स्थानीयको आरोप छ ।    पोखरा ३३ को टिमुरपाटामा फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइड निर्माण गर्ने महानगरको तयारीसँगै त्यहाँका स्थानीयले यसको विरोध गर्दै आएका छन् ।    थापाका अनुसार पोखरा ३३ आवादी भएको क्षेत्र भएकाले त्यसमा क्षेत्रमा ल्याण्डफिल्ड साइड निर्माण गर्दा विभिन्न क्षेत्रमा असर गर्ने भएकाले उचित क्षेत्रमा ल्याण्डफिल्ड साइडको अध्ययन गर्न उनको सुझाव छ ।    पोखराको टिमुरपाटामा महानगरको ल्याण्डफिल साइड निर्माण गर्ने प्रस्तावलाई सच्चाउन र पोखरा क्षेत्रमा उत्पादन हुने फोहोरको वर्गिकरण छुट्टाएर ल्याण्डफिल्ड साइडमा लैजानुपर्ने अर्का स्थानीय डिल्लीराम बरालको आग्रह छ ।   यस विषयमा महानगर प्रमुख धनराज आचार्यले अब अन्र्तराष्ट्रिय एयरपोर्ट सञ्चालन गर्ने तयारी गर्दा अहिले प्रयोग भैरहेको ल्याण्डफिल्ड साइडले त्यसमा असर गर्ने भएकाले पनि ल्याण्डफिल्ड साइड सार्न महानगर लागिपरेको बताएका छन् ।  

चितवन :       चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो ।    प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ ।    सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए ।    त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ । 

पाँचथर :        शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए ।    पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।   शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो । रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए । पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल हुनुभएको थियो । घरभन्दा करिब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन् । वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ ।