पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा मावि पहिलो स्थान हात पारेको छ ।  मंगलबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा बास्केटबल खेलको फाइनलमा ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो स्थान हात पारेको हो ।  पहिलो स्थान भए संगै प्रतिभाले ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरेको ग्लोबलले ५ अङ्क जोडेकोे हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिएका छन् ।  यस्तै छात्रा बास्केटबलमा कास्की मोर्डनाइज्डले तस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा कास्की मोर्डनाइज्डले मदर ल्याण्डलाई ३४–६ ले पराजित गरेको हो ।  यस्तै प्लस टु छात्र बास्केटबलमा प्रतिभा मावि, ग्लोबल कलेजियट, सोसल पब्लिक मावि, मनकामना मावि र कास्की मोर्डनाइज्ड क्वार्टरफाइनलमा प्रवेश गरेको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले बताए ।  पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सम्पन्न खेलमा केएमएले गुरुकुललाई ३५–२४ ले, पोखरा युनाइटेडले मनकामनालाई ४९–०३ ले, सोसल पब्लिकले त्रिवेणीलाई ३५–२७ ले, ग्लोबलले बालकल्याणलाई ३६–३१ ले, प्रतिभाले पोखरा आदर्शलाई ६१–०९ ले, न्यू ग्यालेक्सीले शान्ती निकुञ्जलाई ६३–२ ले, मेरीगोल्डले नाभलाई ३७–२४ ले, माउन्ट अन्नपूर्णले टप्सलाई ४६–२८ ले पराजित गरेका छन् ।  त्यस्तै मंगलबारबाट विश्वविद्यालय छात्रा बास्केटबल सुरु भएको छ । जस अन्तर्गत दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा पोखरा इन्जिनियरिङ्ग कलेजले गेन्सलाई २२–२ ले पराजित गर्दा लेकसिटीले इन्फर्मेटिक्सलाई २५–०६ ले पराजित गरेको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।  छात्र/छात्रा भलिबल यस्तै हिसान स्पोर्टस मिट अन्तर्गत दोस्रा दिन छात्र भलिबल तर्फ ११ र छात्रातर्फ १० गरी कुल २१ खेल सम्पन्न भएको छात्र भलिबलका संयोजक नविन बराल र छात्रा भलिबलका संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।  दोस्रो दिनको जारी खेलमा छात्रतर्फ पोखरा आदर्श,  मावि, यूनिभर्स मावि, पश्चिमाञ्चल, लिटिल स्टेप, ग्लोबल, स्नोभ्यू, केफ, माउन्ट अन्नपूर्ण, सिर्जना मावि र गुरुकुल माविले आ–आफ्नो खेल जितेका छन् ।    यस्तै छात्रातर्फ न्यू ग्यालेक्सी, सगरमाथा, केफ, पोखरा आदर्श, प्रतिभा, केएमए, सिर्जना र गुरुकुलले आ–आफ्नो खेलमा जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।  यता टेबुल टेनिसतर्फ प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका केही क्वार्टर फाइनलका खेलहरु सम्पन्न भएको संयोजक नारायण आचार्यले जानकारी दिए । बुधबार विश्वद्यिालयतर्फका सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।  यस्तै व्याडमिन्टनतर्फ समेत प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका क्वार्टर फाइनलका खेल सम्पन्न भएको संयोजक पुरन कुंवरले जानकारी दिए । उनका अनुसार बुधबार सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुनेछन् भने भोली नै पुरस्कार वितरण समेत गरिने जानकारी दिए ।  १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा मावीतह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिमको सहभागिता रहेको थियो । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल र व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुनेछन् । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् ।  प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् । निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।

काठमाडौं:     मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको एनपिएल यही मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको सुरुआतमै जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्सको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख हुनुहुन्छ । तेइस वर्षीय आसिफले सन् २०१७ देखि नेपालको सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । त्यसयता उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ ।      आसिफले आफनो टोलीमा चल्तीका विदेशी र नेपाली युवा खेलाडीका कारण राम्रो सन्तुलन मिलेको बताउनुभयो । पुबुदु दसानायके जस्तो प्रशिक्षक पाएका कारण आफनो टोली भाग्यशाली रहेको उल्लेख गर्दै उहाँले जनकपुर बोल्ट्सलाई जसरी पनि उपाधि जिताउने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने विश्वास दिलाउनुभयो । मार्की खेलाडी शेखले आफनो टोलीमा सबै उत्कृष्ट खेलाडी  भएकाले प्रतियोगिताको उपाधि जित्ने दाबी गर्नुभयो ।       यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सोमबार सुन्धारास्थित धरहरा परिसरमा एनपिएलको ट्रफी सार्वजनिक गर्दै जनकपुर बोल्ट्सका मार्की खेलाडी शेखको प्रशंसा गदै ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताउनुभएको थियो ।  “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ”, उहाँले शेखको प्रशंसा गर्दै भन्नुभएको थियो ।  जनकपुर बोल्ट्सका ‘हेड अफ अपरेशन’ निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।  उहाँले नेपाली र विदेशी खेलाडीसहितको सन्तुलित टोलीकै कारण प्रतियोगितामा राम्रो नतिजा हातपर्ने उल्लेख गर्नुभयो । खतिवडाले आफ्नो टोलीमा दुई विदेशी खेलाडी नेपाल आइसकेको र आजै बाँकी दुई विदेशी खेलाडी आउने जानकारी दिनुभयो । जनकपुर बोल्ट्समा मार्की खेलाडी आसिफसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सदस्यद्वय अनिलकुमार साह र ललितनारायण राजवंशी समेत रहेका छन् ।  त्यसैगरी टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् ।  एनपिएलमा सहभागी प्रत्येक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । तर खेलाडीको आवश्यकता हेरेर ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।  जनकपुर बोल्ट्सले नेपाली खेलाडीसँगै ६ विदेशी खेलाडीलाई भित्र््याएको छ । जनकपुर बोल्ट्सले न्युजिल्यान्ड, पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ ।  जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था तथा पाकिस्तानका शोएब मक्सुद र मोहमद मोहसिन खान छन् । न्युजिल्यान्डका नीशम विश्व क्रिकेटमा चिरपरिचित खेलाडी हुनुहुन्छ । नीशमले न्युजिल्याण्डका लागि टेस्टदेखि टी–ट्वान्टी खेल खेलिसक्नुभएको छ । बाँयाहाते ब्याटर नीशमसँग आइपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ ।      त्यसैगरी अमेरिकाका दाँयाहाते ब्याटर ट्रोम्पले अमेरिकाको घरेलु क्रिकेट लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । उहाँले अमेरिकी हौस्टन प्रिमियर लिग टी ट्वान्टी, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टीलगायतका प्रतियोगिता खेलिसक्नुभएको छ ।  श्रीलङ्कामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आउनुभएका विकेटकिपर एवं ब्याटर मिलान्था अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले अमेरिकाको विभिन्न घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आउनुभएको छ । मिलान्थाले यसअघि नेपालमै आएर क्रिकेट खेलिसक्नुभएको छ । यस्तै पाकिस्तानी मक्सुद पनि अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले पाकिस्तानका लागि एकदिवसीय, टी–२० लगायतका खेल खेलिसक्नुभएको छ । पाकिस्तानका मोहसिन खान अलराउण्डर हुनुहुन्छ । उहाँले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग र पाकिस्तान सुपर लिग खेलिसक्नुभएको छ ।  जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ । दासानायकेले नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।  सन् २०११ देखि राष्ट्रिय पुरुष टोली समाल्नुभएका उहाँकै प्रशिक्षणमा नेपालले विश्वकपसम्मको यात्रा तय गरेको थियो । नेपाली क्रिकेटको इतिहासमा प्रशिक्षक दासानयके बिर्सिन नहुने नाम हो ।  सुरुआतमा उहाँले सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षण सम्हाल्नुभएको थियो । त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो ।  नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा सहभागिता जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोल्ट्स विश्वस्त रहेको छ । पाकिस्तानी खेलाडी मक्सुदले नखेल्ने        जनकपुर बोल्ट्सका लागि अनुबन्धित पाकिस्तानी खेलाडी शोएब मक्सदु फिटनेशमा समस्या भएपछि प्रतियोगिता खेल्न नआउने निश्चित भएको छ ।  जनकपुर बोल्ट्सका हेड अफ अपरेशन खतिवडाका अनुसार मक्सुदको स्थानमा इङल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरिएको छ । उहाँले पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नभएको छ ।       प्रतियोगितामा जनकपुर बोल्ट्सगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको सहभागिता रहेको छ । 

काठमाडौं:     नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो ।  ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।      क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताउनुभयो ।  उहाँले नेपाली क्रिकेटको इतिहास मै यो पहिलो पटक हुने भन्दै एनपिएल खेलेपछि कम्तिमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालिएको बताउनुभयो ।       यसैगरी एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।        पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली याक्स, काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

काठमाडौं:    प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ ।  पहिलोपटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा कर्णाली याक्स हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको छ ।  कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्समा राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रुपमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै उनले महत्वपूर्ण योगदान दिएका छन् । नेपालले दुईपटक विश्वकपमा सहभागिता जनाउँदा सोमपालले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।       विश्वकपमा नेपालले दुईपटक भाग लिँदा दुवै खेल खेल्ने सोमपाल नेपालका एक्लो खेलाडी हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् ।       यसैगरी, कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि समेटेको छ । कर्णाली याक्सका अधिकांश खेलाडीसँग राष्ट्रिय टिम र घरेलु क्रिकेट प्रतियोगिता खेलेको अनुभव छ । यससँगै कर्णाली याक्सले थप पाँचजना विदेशी खेलाडी भित्र्याएको छ ।         एनपिएलमा हरेक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछभने आवश्यकता हेरेर एक टोलीले छ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । जसअनुसार कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो ।      कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गर्दै चर्चा बटुल्न सफल भएको छ । नेपाली क्रिकेटमाझ धवनको आगमनले कर्णाली टोलीको शोभासमेत बढेको अनुमान गर्न सकिन्छ ।  कर्णाली याक्सबाट धवनसँगै हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुदले खेल्दैछन् । सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जित्दा ३९ वर्षीय बायाँहाते ब्याटर धवनले टोलीका महत्वपूर्ण सदस्य थिए ।       आइपिएलमा धवन सहभागी टोली सनराइजर्स हैदराबादले आइपिएलको उपाधि जितेको थियो । उनले आइपिएलमा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । केही समयअघि मात्र धवनले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।       कर्णाली याक्सले भित्र्याएको अर्को चिरपरिचित खेलाडीको नाम हो हायात । हङकङका विस्फोटक ब्याटर हायातले पनि नेपालमा आयोजना भएका विभिन्न लिग खेलिसकेका छन् । हङकङको टोलीबाट धेरैपटक नेपाल आएर खेलिसकेका हायातले कर्णाली याक्सबाट उत्कृष्ट खेल खेल्ने अपेक्षा गरिएको छ । हायातले यसअघि पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलिसकेका छन् ।       कर्णाली याक्सले धेरै अपेक्षा राखेको खेलाडीमध्ये पाकिस्तानका बायाँहाते खेलाडी तलात पनि एक हुन् । उनले अलराउण्डरको भूमिका निर्वाह गर्नेछन् । दक्षिण अफ्रिकाको एमजान्सी सुपर लिग तथा पाकिस्तान सुपर लिग खेलेका तलातले यसअघि नेपालमा आएर टी २० क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी २० लिगमा उनले विराटनगर सुपर किंग्सबाट खेलेका थिए ।      नेपालका लागि अर्का परिचित नाम हो वेस्ट इन्डिजका दायाँहाते ब्याटर वाल्टन । जसलाई कर्णाली याक्सले अनुबन्ध ग¥यो । वाल्टनसँग पनि नेपालमा खेलेको अनुभव छ । वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका उनले यसअघि नेपालमा आएर टी ट्वान्टी क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी२० लिगमा उनले जनकपुर रोयल्सबाट खेलेका थिए ।       वाल्टनले बङ्गलादेश प्रिमियर लिग, श्रीलङ्का प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टी २० लिगजस्ता विश्वका धेरै लिगहरू खेलिसकेका छन् । ओमानका पूर्वकप्तान तथा अलराउण्डर मक्सुद पनि अनभुवी ब्याटर र बलर हुन् । उनले ओमानका लागि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीसँग नेपाल आएर खेलेको अनुभवसमेत छ । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा गरिएको छ । कर्णाली याक्सले उनलाई पाँचौँ नम्बरमा अनुबन्ध गरेको थियो ।       सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चा गर्नुभएको थियो । उहाँले अर्को टी–ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्नसमेत सल्लाह दिनुभएको थियो ।       कर्णाली याक्सका मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ । उहाँले आफ्नो टोलीको तयारी राम्रो रहेको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली याक्स टोलीको आइकोनिक खेलाडीमा विपिनप्रसाद शर्मा छन्भने ब्राण्ड एम्बासडर नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गरेको छ ।        कर्णाली याक्सले आज नै सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डरमा’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित व्यक्तित्व हुन् ।  नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।      प्रतियोगितामा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । 

काठमाडौं:    एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो ।       एसिया कप यही मङ्सिर १४ देखि २३ गतेसम्म हुँदैछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले प्रतियोगिता उद्घाटनकै दिन श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल १६ गते बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ गते अफगानिस्तानसँग खेल्ने छ ।      टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन हुनुहुन्छ भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द हुनुहन्छ । मुख्य प्रशिक्षक गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।       नेपाली टोलीको कप्तानमा हेमन्त धामी छन्भने उपकप्तानमा अर्जुन कुमाल छन् ।  त्यस्तै टोलीको अन्य सदस्यमा आकाश त्रिपाठी, रञ्जित कुमार,उत्तम थापामगर, मायन यादव, नरेन साउद, युनिशविक्रम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल र अभिषेक तिवारी छन् ।

पोखरा:   राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला अन्तर विद्यालय भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्यासदन र छात्रातर्फ करुणानिधी (केफ)  च्याम्पियन बनेको छ ।     टुडिखेलमा छात्रतर्फ भएको फाइनल खेलमा गुरुकुल विद्यासदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।    उपाधिसँगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्याे  । उपविजेता बनेको माउण्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे । भने, तेस्रो स्थान हाँसिल गर्दै न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफि र मेडल हात पार्याे ।    प्रतियोगिताबाट गुरुकुलका अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत भए ।   त्यसैगरी छात्रातर्फ करुणानिधी एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माविलाई ३–१ सेटमा पराजित गर्दै च्याम्पियन बन्यो ।    केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्याे । उपविजेता बनेको शान्ता माविले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।   यस्तै तेश्रो स्थान हाँसिल गरेको पश्चिमाञ्चल माविले नगद १५ हजार, ट्रफि र मेडल प्राप्त गर्याे ।       प्रतियोगितामा केफकी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत बनिन् ।   हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगितामा छात्रतर्फ २६ टिम  र छात्रातर्फ १३ टिमको सहभागिता रहेको थियो ।    छेलोमा लक्सन र शशी विजयी   हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्रतर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माविका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भए । भने, छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन् ।    छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।    प्रतियोगितामा विजेताहरुलाई शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।   

काठमाडौं:    नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ ।  नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन् । सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन् । सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन् ।       मार्की खेलाडी ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् । यस्तै बलर अविनाश बोहरा भने कर्णाली प्रदेशका हुन् । यसबाहेक आरिफ शेख पर्सा, अर्जनु कुमाल गुल्मी, इशान पाण्डे र अमित श्रेष्ठ काठमाडौँका खेलाडी छन् ।       ऐरी, आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएरले भने राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेसिकेका छन् ।  सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । चार विदेशी खेलाडीमध्ये तीनजना ब्याटिङ अलराउण्डर छन् भने एकजना बलिङ अलराउण्डर छन् । नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका संयुक्त अरब इमिरेट्स ९युएई०का रोहन मुस्ताफा र स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन छन् ।      त्यसैगरी इङ्ग्लयाण्डको सैफ अली जैब र चेन्नई सुपर किङ्ग्सबाट आइपिएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् । टोलीका दुई युवा खेलाडीले अर्जुन कुमाल र नरेन साउदले भने आफ्नो टोलीको उद्घाटन खेल गुमाउने छन् । उनीहरु नेपाली यु–१९ टोलीबाट एसिसी एसिया कप खेल्न युएई जाँदैछन् ।      सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएका जगत् टमाटा हुनुहुन्छ । सुदूरपश्चिममा जन्मनुभएका ६० वर्षीया टमाटाले आफ्नो टोलीले जीतका लागि खेल्ने बताउनुभयो ।  नेपाली टोलीका सफल प्रशिक्षकका रुपमा परिचित उहाँले एनपिएलमा आफूले सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो टोलीले सय प्रतिशत दिएर खेल्ने उल्लेख गर्नुभयो ।         प्रशिक्षक टमाटाले आफ्नो टोलीको तयारी उल्लेख्य रहेको भन्दै सुदूरपश्चिम र नेपाली क्रिकेटलाई माया गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । यही नोभेम्बर २७ देखि ३० तारिखसम्म सबै विदेशी खेलाडी नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो ।      टमाटासँग राष्टिय क्रिकेट टिम पुरुष, महिला सिनियर टोलीदेखि उमेर समूहको टोलीमा प्रशिक्षको भूमिका निर्वाह गरिसक्नुभएको अनुभव छ । सुदूरपश्चिम रोयल्सको ओनर भने एम्पायर स्पोर्टस् रहेको छ । त्यस्तै मेन्टरमा अष्टेलियका ब्राड हज हुनुहुन्छ । उहाँ सोमबार नेपाल आइपुग्नुभएको छ । टोलीको ब्राण्ड एम्बासडरमा भने ओलम्पियन खेलाडी दीपक विष्ट हुनुहुन्छ ।         नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको उक्त नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्ससँगै काठमाडौँ गोरर्खाज लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्सल र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।      प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सुदूरपश्चिमले यही मङ्सिर १८ गते विराटनगर किङ्ग्ससँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।       उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० एनपिएलको उद्घाटन खेलमा साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट दर तोकेको छ । त्यसबाहेक अन्य एनपिएलको खेलका लागि साधारणतर्फ रु तीन सय र भिआइपीतर्फ रु पाँच सय दर निर्धारण गरिएको छ ।       क्यानले प्लेअफका दिन साधारणतर्फ रु पाँच सय तथा भिआइपीतर्फ रु सात टिकट दर तोकिएको जनाएको छ ।  क्यानले एनपिएलको फाइनलमा भने साधारणतर्फ पाँच सय र भिआइपीतर्फ रु एक हजार मुल्य तोकेको छ ।  सिजनल टिकटसमेत खरिद गर्न सकिने व्यवस्था रहेको क्यानले जनाएको छ । त्यसका लागि साधारणतर्फ रु चार हजार चार सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० निर्धारण गरिएको छ । एनपिएलको टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ ।   

पोखरा:    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरु भएको १७ औं हिसान कास्की स्पोर्टस मिटको पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन पोखरा रंगशालास्थित बास्कैटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टु तर्फ १४ खेल सम्पन्न भएको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिएका हुन् । पोखरा रंगशाला बास्केटबल कोर्टमा सम्पन्न खेलमा पोखरा आदर्शले रेन्वो एकेडेमीलाई ४४–६ ले, बालकल्याणले सिर्जना माविलाई ४१–१३ ले, ग्लोबल कलेजियटले सगरमाथा माविलाई ३१–२५ ले, सोसल पब्लिकले बालोदय माविलाई २९–१० ले, पोखरा युनाइटेडले बेथानीलाई २२–१४ ले पश्चिमाञ्चल माविले गुरूकुल माविलाई ३५–१२ ले र करुणानिधी एजुकेशन फाउन्डेशनले डायमण्ड माविलाई २१–८ को स्कोरले पराजित गरेका छन् । त्यस्तै पुन समाजको कोर्ट रामघाटमा सम्पन्न छात्रतर्फको खेलमा हिल पोइन्टले जुनिएर सिटिजन एकेडेमीलाई निकै प्रतिस्पर्धात्मक खेलमा ३२–३१ को स्कोरले पराजित गरेको छ ।  त्यस्तै त्रिवेणी माविले साइनिङ्ग स्टारलाई ३७–२१ ले, मनकामनाले वेलननलाई ३३–१६ ले, स्टेप वाई स्टेपले मदरल्याण्डलाई २७–२३ ले, माउन्ट अन्नपूर्ण माविले ज्योती कुञ्जलाई ३४–२२ ले, मेरीगोल्डले लिटल फ्ल्वारलाई २०–१४ ले र शान्ती निकुञ्जले अक्सफोर्डलाई १४–७ ले पराजित गरेका छन् । १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर ११ गते देखि १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा मावीतह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने विद्यालयका व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुनेछन् । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक याम रोक्काले बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् ।  प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ । यसै विच हिसान कास्कीले पोखरा रंगशालामा आयोजना हुने १७ औं सस्करणको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गर्ने भएको छ । प्रतियोगिताको उद्घाटन भोली (मंगलबार) गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नेछन् । उद्घाटन कार्यक्रम पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा हुने हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले जानकारी दिएका छन् । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।

काठमाडौं:    दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।  पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो ।  नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर अफगानिस्तानले सवै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो ।       नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।      यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।        नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।