काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग ९एनपिएल०को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गर्नुभयो । उहाँले सम्बोधनको क्रममा सुरुमै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको प्रशंसा गर्नुभयो । उहाँले शेखले स्पोर्टम्यानसीप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको श्रव्यदृश्य आफूले पनि हेरेको उल्लेख गर्दै उहाँलाई ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ ।” प्रधानमन्त्री ओलीले काठमाडौंँ गुर्खाजका मार्की खेलाडी करण केसीलाई ‘भ्यालेन्टाइन बोय’ सम्बोधन गर्नुभयो । करणले राजधानीको नाम राख्ने आफूले आशा लिएको उहाँले जिकिर गर्नुभयो । “काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ”, उहाँले भन्नुभयो, “उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु ।” सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई विश्वले नै बलर हुन् कि ब्याटर छुट्याउनै नसकेको बताउनुभयो । उहाँले यस पटक ९९ रनमा आउट हुन् नपरोस् भन्दै शतक हान्न शुभकामना दिनुभयो । “पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउनै गाह्रो हुने उहाँको कौशल छ । विश्वले नै छुट्याउन सकिरहेको छैन् जस्तो लाग्छ । मैले मात्रै होइन्”, कुशलको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसपटक ९९ रनमा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।” प्रधानमन्त्री ओलीले चितवन राइनोजलाई आफूले ‘गैँडाज’ भन्ने बताउनुभयो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्लको छक्का हान्ने शैली मनपर्ने उल्लेख गर्दै उहाँले आँखिर चितवन गैँडाजका कप्तान हो नि १ भन्दै प्रशंसा गर्नुभयो । “हाम्रो साथीहरुले चितवन राइनोज भन्नुभएको छ, मैले चितवन गैँडाज भन्छ”, उहाँले भन्नुभयो–“चितवन राइनोज अर्थात् गँैडाजका कप्तान कुशल मल्ल हेर्दा अल्लि सानो÷सानो लाग्ने । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ ।” लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेलको नाम सुन्दै गर्व लाग्ने भन्दै प्रधानमन्त्री ओलीले उहाँको प्रसंशा गर्नुभयो । जसले जिते पनि रोहितलाई फाइदा हुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुने धारणा राख्नुभयो । “लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ, आँखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विराटनगर किङग्स्का मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको सुनाउनुभयो । “विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै हुनुभयो । बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ ।”, उहाँले भन्नुभयो, “त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ ।” कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीका योरकरलाई भुल्न नसकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने उल्लेख गर्दै अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न सुझाव दिनुभयो । “कर्णाली याक्सका सोमपाल कामीका ती योरकरलाई कसले भुल्न सक्छ र रु सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाललाई अर्को टी– ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।” प्रधानमन्त्री ओलीले सुदूरपश्चिम रोयल्सलका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई बाघको संज्ञा दिनुभयो । उहाँले ऐरीको ६ छक्काको कीर्तिमान आफुलाई स्मरण रहेको उल्लेख गर्दै यस्ता थुप्रै कीर्तिमान बताउन समेत शुभकामना दिनुभयो । “अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ”, उहाँले भन्नुभयो, “एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।” पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।
काठमाडौं: पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । यही मङ्सिर १५ गतेदेखि आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौँ गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ । काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । “काठमाडौँ गोर्खाज प्रतियोगितामा खाली सहभागी मात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ”, उहाँले भन्नुभयो । यसअघि भैरहवालगायतका स्थानमा अभ्यास खेल खेलेको काठमाडौँ गोर्खाजले एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ गोर्खाजले श्रीलङ्का र बङ्गलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उहाँको भनाइ छ । अक्सनको समयमा काठमाडौँ गोर्खाजलाई कमजोर टोली भनिएको प्रसङ्ग उल्लेख गर्दै प्रशिक्षक शाहीले भन्नुभयो, “कतिपयले काठमाडौँ गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।” प्रशिक्षक शाही काठमाडौँ गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउनुहुन्छ । काठमाडौँ गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उहाँ चिकित्सकको नियमित निगरानीमा रहेको उहाँले बताउनुभयो । “उहाँले अलिअलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेल अघि पूूर्णरुपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु”, प्रशिक्षक शाहीले भन्नुभयो । काठमाडौँ गोर्खाजले आफनो पहिलो खेल चितवन राइनोजसँग यही मङ्सिर १७ गते खेल्ने छ । प्रशिक्षक ठकुरी टी–ट्वान्टी क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउनुहुन्छ । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौँ गोर्खाजले जित निकाल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । काठमाडौं गोर्खाज काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । काठमाडौँ गोर्खाजको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी हुनुहुन्छ । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ । काठमाडौँ गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका भीम सार्की र शाहब आलम हुनुहुन्छ । यस्तै यु–१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी हुनुहुन्छ । त्यसैगरी काठमाडौँ गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुनुहुन्छ । इङ्ग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रर्दशन गर्नुभएको छ । उहाँले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेल्नुभएको छ । त्यसैगरी क्यारिवियन क्रिकेट लिग, इन्टरनेशनल क्रिकेट लिग टी–ट्वान्टीलगायतको विश्वको विभिन्न खेल खेलेको अनुभव उहाँसँग छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की हुनुहुन्छ । काठमाडौँ गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु वर्मा हुनुहुन्छ । प्रतियोगिताका लागि माइकल लेभिट भने नेपाल आइसक्नुभएको छ । बाँकी विदेशी खेलाडी यही मङ्सिर दोस्रो सातासम्म नेपाल आइपुग्ने काठमाडौँ गोर्खाजले जनाएको छ । यसैगरी काठमाडौँ गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफनो टोलीले कब्जा गर्ने दाबी गर्नुभयो । उहाँले काठमाडौँ गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा हुन लागेको यस नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौँ गोरर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
कञ्चनपुर: विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ । महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु ३०/३० हजारसहित सम्मान गरेको हो । त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई रु ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गर्नुभयो । खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताउनुभयो । “प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार विकासमा पहल गर्छ”, उहाँले भन्नुभयो, “हाम्रो यहाँ पूर्वाधारको अभावमा पनि खेलाडीहरुले धेरै मेहनत गरेकाले अब सरकार पूर्वाधार विकासमा लाग्छ ।” जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताउनुभयो । “खेलाडीहरुको विकासका लागि क्रिकेट सङ्घले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ”, अध्यक्ष चन्दले भन्नुभयो, “कञ्चनपुरका थुप्रै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।” उहाँले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । “यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन्, स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपर्छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ ।” होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताउनुभयो । गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको जस अन्तर्गत हीरक महोत्सव नजिकिदै गर्दा अन्तर विद्यालय स्तरीय छात्र छात्रा भलिवल प्रतियोगिता आयोजना गरेर विद्यालय हरु बीच आपसी भाइचारा अभिवृद्धि गर्ने काम भएको बताए । खेलकुदका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक संग संगै शारिरीक तथा मानसिक बिकास गराउन भुमिका खेल्ने उनको भनाइ रहेको थियो । खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङले प्रतियोगितामा छात्र तर्फ २६ टिम छात्र र १३ टिम छात्राहरुको सहभागिता रहेको बताए । प्रतियोगितामा छात्र÷छात्रा भलिबल दुवै तर्फ प्रथम हुनेले नगद ५० हजार, पदक र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, पदक र प्रमाणपत्र, तेश्रो स्थान हासिल गर्नेले नगद १५ हजार, पदक र प्रमाणपत्र र उत्कृष्ट खेलाडी एक जनाले नगद ५ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक तेज बहादुर गुरुङले जानकारी दिए ।
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विधाका खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा.विका सुमन मिजार प्रथम, शुक्लागण्डकीका रुपक दर्लामी द्धितिय र निश्पक्ष मा.विका अमन थापा तृतीय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा।वि की मनिषा बि।क प्रथम, महेन्द्र मा.वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना परियार तृतीय भएकी हुन् । लङजम्प छात्रतर्फ ज्ञानज्योति बोर्डिङ स्कुलका अंकित नेपाली प्रथम, उदय मा।विका दिनेश वि।क द्धितिय र महेन्द्र मा।विका अरुण परियार तृतीय भए । ज्याभलिङ थ्रो छात्रा तर्फ बरहा मा।वि की मोनिका जैसी प्रथम, भुमेश्वर मा.वि की सन्जु नेपाली द्धितिय र शुक्लागण्डकी की सलिना नेपाली तृतीय भईन् । ज्याभलिङ थ्रो छात्र तर्फ शुक्लागण्डकीका आदित्य भारती प्रथम, गौरीशंकरका जीतमान कामी द्धितिय र माछापुच्छे«का इश्वर पाइज तृतीय भए । यता ट्रिपल जम्प छात्रको खेलमा बराहका अमृत सुनार प्रथम, ज्ञानज्योतिका एलेन शाही द्धितिय र माछापुच्छे«का अनमोल तमु तृतिय स्थान हात पारे । ट्रिपल जम्प छात्रा तर्फ शुक्लागण्डी की प्रतिक्षा पोख्रेल प्रथम,भमेश्वर की रोसी नेपाली द्धितिय, शारदाकी अन्जु नेपालीले तृतीय स्थान प्राप्त गरिन । शनिबार छात्र कवडी तर्फ पहिलो खेल गौरीशंकर र महेन्द विच हुने छ । उक्त खेलको बिजेता समुहले माछापुच्छे संग पहिलो सेमिफाइनलको खेल खेल्ने छ । दोस्रो खेल शुक्लागण्डकी र शारदा मा।वि बिच हुने छ । दोस्रो खेलको बिजेता सुमहले ज्ञानज्योति संग दोस्रो सेमिफाइनलमा भिडने छ । छात्रा कवडी तर्फको पहिलो सेमिफाइनल खेल महेन्द्र र शुक्ला गण्डकी र दोस्रो माछापुच्छ्रे र उदय मा।वि विच हुने छ । छात्रा भलिबल तर्फ शनिवार पहिलो खेल पृथ्वीनारायण र निश्पक्ष विच हुने छ । बिजेता समुहले बराह संग सेमिफाईल भिडने छ । दोस्रो सेमिफाईनको खेल गैरीशंकर र शुक्लागण्डकी विच हुने छ । साथै अन्य रिले तर्फका विभिन्न विधाका खेलहरु पनि शनिवार सम्पन्न हुने छन् । मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संधिय संरचना अनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्रसिंह थापाका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फ फरक–फरक खेल हुनेछ । सातवटै प्रदेश र थप तीन विभागीय टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको रहेको संयोजक थापाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो । आयोजकले सम्पूर्ण खेलप्रेमीलाई सो अवधिमा सुकुटे करिडोरमा आमन्त्रण गरेको छ । सुकुटे करिडोरमा पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिताले थप योगदान दिने अपेक्षा गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ ।
महोत्तरी: यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ । काठमाडौँ हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ । शुक्रबार पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र र रु ५१ हजार नगद पुरस्कार प्रदान गरेका थिए । सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरबासीले खुशी व्यक्त गरेका थिए । यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको उनको घरमा घुइँचो लागेको थियो । नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव गिरिराजमणि पोखरेलदेखि जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न खेलका खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यु–१९ महिला टी–२० एसिया कप र विश्वकपको शुभकामना दिएका थिए । गत सोमबार पूजालाई एनपिएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’ को रुपमा सार्वजनिक गरेको छ । एक समारोहबीच उक्त टोलीले उनलाई रु ५० हजार पुरस्कार प्रदान गरेको थियो । सोमबार नै गौशाला नगरबासीले पूजाको शोभायात्रा सम्पन्न गरेका छन् । विशेष रुपले सजाइएको रुथरुपी सवारीमा पूजा र उनका परिवारजनलाई राखेर गौशाला नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो । शोभायात्रामा गौशाला–२ घर भएका सांसद लक्ष्मी महतो कोइरी, गौशाला नगरप्रमुख डा दिपेन्द्र महतोसहित जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, खेलाडी तथा सर्वसाधारण सहभागी थिए । मङ्गलबार गौशाला नगरपालिकाले पूजालाई सम्मान गरेको थियो । नगरप्रमुख डा दिपेन्द्र महतोले पूजालाई रु एक लाख ५१ हजार प्रदान गरेका थिए । उनलाई मङ्गलबार नै मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए । “प्रदेश सरकार खेलाडीहरुका साथमा छ, मधेश सरकार खेलक्षेत्रको विकासका लागि हरसम्भव प्रयत्न गरिरहनेछ”, मन्त्री जयसवालले पूजालाई बधाई दिँदै भने । बुधबार पनि पूजाको डुमरवानास्थित घरमा उनलाई भेट्ने, बधाई दिने र सम्मान पुरस्कार दिनेको लाम देखिन्थ्यो । रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल प्रालिका सञ्चालक र चिकित्सकहरुको टोलीले उनको घरमै पुगेर रु ११ हजार पुरस्कार प्रदान गरेको थियो । “विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष हो”, पूजाले बधाई दिन आउनेलाई जवाफ दिने गरेकी छिन् । “अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ”, पूजा भन्छिन, “सबैको प्रेम र हौसलाले उर्जा थपेको छ ।” पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुसी छन् । “पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन”, उनले भने । रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन् । जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् ।
काठमाडौं: इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आउनुभएको छ । ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बन्नुभएको थियो । यो प्रतियोगितामा उहाँले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल हुनुभएको थियो । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिनुभएको थियो । यो प्रशिक्षण लिने उहाँ पहिलो नेपाली बक्सरसमेत हुनुभएको थियो । इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिनुभएको थियो । ‘हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध हुनुभएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुनभएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुम्नुभएको थियो । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि ९बेल्ट० समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल हुनुभएको थियो । उहाँले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल हुनुभएको थियो । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । नेपाल बसाइका क्रममा अविरलले आफ्नो अनुभव युवा पुस्ताका बक्सरलाई जानकारी गराउनुहुनेछ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्नुभएको छ । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उहाँले सम्मान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले शारीरिक सुगठनलाई खेलकुदका रुपमा विकास गर्न पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट यो खेलको विस्तारका निम्ति सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । नेपाल शाररीक सुुगठन महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले यो खेलका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग हुने भएकाले यो खेलको विकासका निम्ति सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।