काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए । चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए । यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।
पोखरा: पोखरामा यही मंसिर २५ देखि २९ गतेसम्म गण्डकी प्रदेशस्तरीय अन्तरपालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाला रहेको बास्केटबल कोर्टमा ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको हो । अन्नपूर्ण गाउँपालिका बास्केटबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष कृपाश्वर गुरुङले मंगलबारदेखि हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट सहभागिता हुन पाउने बताए । ‘कृषि, पर्यटन र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गर्दै खेलकुदको माध्यमबाट समेत गाउँपालिकालाई अगाडि बढाएका छौं, अध्यक्ष गुरुङले ‘युवाहरुलाई एकजुट बनाएर अगाडि बढाउन मंसिर २५ देखि २९गतेसम्म गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता आयोजना गरेका छौं, प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै पालिकाबाट सहभागिता हुने विश्वास लिएका छौं ।’ लिक कम नकआउटको आधारमा सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १२ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५र१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष बास्केटबल प्रतियोगिता ५×५ हुनेछ भने महिलातर्फ ३×३ हुनेछ ।
काठमाडौं: पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेटियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाए । त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो । जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै लाहिरु मिलन्थाले २३ बलमा दुई चौकाको सहयोगमा २४ रन बनाए । शुभ कंसाकरले २४ बलमा अविजित २२ रन बनाए । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै आउट भएका थिए । लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेक गौतमले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई÷दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे । यससँगै लुम्बिनीको यो लगातार चौथो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछभने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।
बाँके: दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ । खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जित्नुभएको हो । उहाँ गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि हुनुहुन्छ । पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा सो दूरी पूरा गर्नुभएको थियो । विजेताले क्रमशः रु दुई लाख, रु एक लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । खड्का र रोकायाले नेपालगञ्ज म्याराथनको कोर्षको कीर्तिमान पनि तोड्नुभएको छ । म्याराथनमा चौथो हुनेमा सन्तोषविक्रम शाही, पाँचौँमा रुद्र बुढाथोकी, छैटौँमा मानकर्ण केसी, सातौँमा निर्मल कुँवर, आठौँमा खेमबहादुर शाही, नवौँमा भरतकुमार श्रेष्ठ र १०औँमा मङ्गले तामाङ रहनुभएको छ । उहाँहरुले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार, रु ६ हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यसैगरी नेपालगञ्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जित्नुभएको छ । सो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो हुनुभएको छ । उहाँहरूले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्ष पूरा गर्नुभएको थियो भने दोस्रो हुनुभएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेण्डमा पूरा गर्नुभएको थियो । तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेण्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेण्डमा पूरा गर्नुभएको थियो । पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी विद्यालयस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथनलगायत विधा समावेश गरिएको थियो । विद्यालय बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो हुनुभयो । विद्यालय बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो हुनुभयो । यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारू, नारायण साउद र अरुण खटिक क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद, पुजन विराट र अञ्जली सेजुवाल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो हुनुभयो । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो हुनुभएको छ । सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस वर्ष मङ्सिर २२ गते आयोजना गरिएको आयोजक संस्था ‘क्रियटीभ ह्याण्ड्स’का संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो । नेपालगञ्ज म्याराथनलाई सुरुआतदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई ‘दशक रत्न’ सम्मानले सम्मानित गरिएको छ । म्याराथन दश वर्षमा पुगेको अवसरमा उक्त सम्मान दिइएको अध्यक्ष ठकुरीले बताउनुभयो ।
पोखरा: पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे–३० टेनिस प्रतियोगिताअन्तर्गत आज सम्पन्न सर्किट–१ को खेलमा एकलमा पुरुषतर्फ चीनका हाइनुओ गुओ र महिलातर्फ भारतकी माहिका खन्नाले उपाधि जितेकी छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । हाइनुओले आश्रव्यलाई खेलमा ६–३ र ६–४ मा पराजित गरेका हुन् । महिलातर्फ भारतकी माहिका खन्नाविरुद्ध नेपाली खेलाडी सुनिरा थापा ‘टाइब्रेकर’ खेलमा पराजित भइन् । पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६ र ७–४ ले गुमाउन पुगिन् । ‘पुरुष डबल्स’ फाइनलमा भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतकै आदित्य मोर र प्रकाश सरनलाई ६–२ र ६–१ ले पराजित गरे । ‘महिला डबल्स’ फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल ९भारत० लाई ६–३, २–६ र १०–५ ले पराजित गरेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो । विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल वितरण गर्नुभयो । प्रतियोगिताअन्तर्गत आजदेखि नै सर्किट–२ अन्तर्गतका ‘क्वालिफाइङ राउन्ड’का खेलहरू सुरु भएका छन् । सर्किट–२ मा विभिन्न देशका पुरुष २७ र महिला आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिस्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् । त्यस्तै, डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमिफाइनालिष्टले छ र क्वाटर फाइनालिस्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरूको वरियता निर्धाण हुनेछ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने बताएका हुन । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कर्भड हल र रंगशालाको स्तरोन्नतीको लागी प्रदेश सरकारले केही न केही सहयोग गर्ने बताएका थिए । उनले पोखरालाई पर्यटकिय राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा चिनाउन चाहेको बताउँदै प्रदेशभित्रका खेलकुद एवं पर्यटकिय पुर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको बताए । प्रदेश सरकारले मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान निर्माण गरि संसारभरका खेलाडीहरुलाई ल्याएर खेलाउने योजना समेत सुनाए । ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिएका थिए । उत्त अवसरमा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पुर्णता नपाएको बताउँदै यसमा प्रदेश सरकारको ध्यानार्कषण गराएका थिए । यसैविच शनिवार भएको उद्घाटन खेलमा आयोजक आर्दश क्लबले विजयी शुरुवात गरेको छ । आदर्श युवा क्लव र एन्फा तनहुँका विचमा भएको खेलको पहिलो हाफको ४१औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले डि एरियाबाट गरेको पहिलो गोल नै निर्णायक बनेको हो । खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लबले खेलको दोस्रो हाफमा पनि रक्षात्मक रुपमा खेलेको थियो भने खेल जित्ने दवावमा रहेको एन्फा तनहुँले निर्धारीत समयमा गोल फर्काउन नसकेपछि आयोजक नै विजयी भएको हो । शनिवार भएको खेलको म्यान अफ दी म्याच आदर्शका सजिन मगर घोषित भएका छन् । उनलाई वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले नगद पाँच हजार पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आईतबार नेपाल आर्मी सिद्धिदल गण र शसस्त्र प्रहरी बल गण्डकी मुख्यालय विच प्रतिष्पर्धा हुनेछ । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको छ ।
काठमाडौं: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपिएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६।५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए । पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डमा रहेर त्यहाँको घरेलु क्रिकेट खेल्ने दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए । पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै पावर प्लेमा सर्वाधिक रनको कीर्तिमान समेत बनायो । यसअघि जनकपुरले कर्णाली याक्सविरुद्ध कुनै विकेट नगुमाई बनाएको ५६ रनको कीर्तिमान तोड्यो । लुम्बिनीले ७ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेन । त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् । उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए । लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए । लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो । आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रोमा पहिलो हार बेहारेको हो । शनिवारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।