पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस गाउँ भिड्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा धम्पुस लेककुना गाउँले कुइबाङ गाउँलाई ३–१ को सेटले पराजित गर्दै धम्पुस फाइनलमा पुगेको हो । यस्तै अर्काे सेमिफाइनल खेलमा घान्द्रुक किम्चे गाउँले ठुलाखेत गाउँलाई ३–१ कै सेटमा हराउँदै फाइनलमा घान्द्रुकसँगको भेट पक्का गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगिसकेका छन् । तिनै विधाको फाइनल खेल (मंगलबार) भोलि हुने क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवको गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगितातर्फको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने भलिबल खेल संयोजक गणेश बिसीले बताए । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसअघि खुला सामुहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बङ्गलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी माघ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह रहेका छन् । भारतीय प्रशिक्षक आलोक काठमाण्डु माभरिक्सको टिम सम्हाल्न नेपाल आइपुगेका हुन् । पोखरा लेकर्सले भारतबाटै प्रशिक्षक भित्र्याएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो । धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बङ्गलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । काठमाडु माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात काठमाडौँ आइपुगेका छन् । एनकेएलको पहिलो सिजनमा आबद्ध १७ विदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने आयोजक एनकेएलले जनाएको छ । दुई हप्तासम्म चल्ने उक्त प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
हेटौँडा: यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिनुभयो । त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उहाँले बताउनुभयो । क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । उहाँका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताउनुभयो । गत आइतबार नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गर्नुभएको थियो । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गर्नुभएको थियो । क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उहाँले बताउनुभयो ।
पोखरा: पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले आठौं विरेन स्मृति १८ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ । क्लबका अध्यक्ष असिम थापाले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी माघ २२ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए । उनका अनुसार फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १८ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’ अध्यक्ष थापाले माघ २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै पुरस्कार राशी र समापन मिति तय गरिने बताए । ‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ । र पुरस्कार राशी पनि पहिलेकोमा केही बढाएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौ ।’ गत वर्ष भएको प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । यसअघिको संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा जारी २६ औं घलेल ल्होछार उत्सवमा आयोजित घोडा दौडमा हितमान गुरुङ च्याम्पियन बनेका छन् । लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् । यस्तै गरीका विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने । प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई २३ गते उत्सवको समापनका दिन पुरस्कृत गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । घोडा दौडमा कुल २३ टिमको सहभागिता रहेको थियो । यस्तै जारी उत्सवमा पुरुषतर्फको भलिबल प्रतियोगिता अन्तरगत दोस्रो चरणका खेलहरु जारी रहेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलतर्फ कुल ३४ टिमको सहभागिता रहेको छ । यसअघि भएको महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगेको भलिबल खेल संयोजक गणेश बिसीले बताए । उनका अनुसार फाइनल खेल आगामी २३ गते हुने छ ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् । गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन् । नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा २६ औं घलेल ल्होछार उत्सव जारी छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा खुल्ला पुरुष भलिबलतर्फ पहिलो चरणको ६ खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा भुर्जुङखोलाले जनजागरण घाचोकलाई २–१ को सेटमा पराजित गर्यो । दोस्रो खेलमा ठुलाखेतले छोम्रोङलाई २–१ को सेट, तेस्रो खेलमा बाँझोखेतले तोल्कालाई २–० को सेट, चौथो खेलमा धम्पुस लेक कुनाले खादरजुङलाई २–० को सेटमा पराजित गर्यो। पाचौं खेलमा ठाँटीले मिर्सालाई २–० को सेटमा र छैठौ खेलमा कुईबाङले डाँडागाउँलाई २–१ को सेटमा पराजित गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भोलिपनि पहिलो चरणका खेलहरु सञ्चालन हुनेछन् । यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ ।
बैतडी: प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङ खेल्नेछन् । दशरथचन्द क्रिकेट मैदानमा सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ । पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो । सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो । समूह ‘ए’को विजेता र समूह ‘बी’को विजेताबीच पुस २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो । उक्त प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।
ललितपुर: नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा सर्वाधिक राशिको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । महाधिवेशन निर्देशक समितिले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी माघ १० देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २६ लाख र दोस्रो पुरस्कार नगद १३ लाख रहेको महाधिवेशन निर्देशन समिति २०८१ का संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । दशरथ रङ्गशाला त्रिपपुरेश्वरमा हुने प्रतियोगितामा राष्ट्रिस्तरका ‘ए’ डिभिजन क्लब र आमन्त्रित विदेशी दुई टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घले प्राविधिक सहयोग उपलब्ध गराउने छ । संयोजक बस्नेतले राज्यले खेलाडीहरुको क्षमताअनुसार प्रतिभा प्रस्फुटन र उनीहरुको क्षमता अभिवृद्धिका लागि बजेट छुट्याउन नसकेकाले सरकारलाई दबाब दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । त्यसैगरी लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवशन निर्देशन समितिको बैठकले नयाँ खेलकुद विकास ऐन २०७७ सहित नेपाल ओलम्पिक विवादबारे सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ । मुलुकको हितमा योगदान गर्नुभएका ३६ जना स्वर्गीय नेता तथा सहिदहरुको सम्मानमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले देशैभर खेलकुद सञ्चालन गर्ने जनाएको छ । प्रतियोगिताका लागि व्यावसायिक घरानाबाट प्राप्त हुने विज्ञापन, टिकट बिक्रीबाट प्राप्त हुने रकम र पार्टीका नेता तथा शुभेच्छुकबाट प्राप्त हुने रकम खर्च गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।