काठमाडौं: भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् ।
धनुषा: नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो । रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट विहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो । नगरपरिक्रमाका अवसरमा जनकपुरधामका नागरिक समाज, खेलप्रेमीलगायतको सहभागिता थियो । यही पुस ६ गतेसम्पन्न एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता बनेको थियो ।
पोखरा: पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ । वडा अध्यक्ष तोरणबहादुर बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रहेको बताए । ‘खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो ।’ वडाध्यक्ष बानियाँले भने– ‘यो महोत्सवले स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पु¥याउने ठानेका छौँ । स्थानीय युवाहरूलाई सकारात्मक क्रियाकलापमा सक्रिय गराउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको बानियाँले बताए । विभिन्न समुदायबीच आपसी सद्भाव, सहयोग र सहिष्णुतालाई प्रवद्र्धन गर्दै समावेशी समाजको निर्माणमा महत्वपूर्ण योगदान दिने लक्ष्य पनि लिइएको छ । खेल संयोजक आशिष भण्डारीले स्थानीय प्रतिभाहरूको पहिचान गरी तिनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘अघिल्ला वर्षहरुमा पाएको सफलता र थप अनुभवले यस संस्करणमा खेलकुदको विधा थप्दै पुरस्कार राशीमा पनि वृद्धि गरेका छौँ ।’ उनले भने – ‘करिब दुई हजार खेलाडी विभिन्न खेलमा प्रतिष्पर्धा गर्नेछन् । यो खेलकुदको महोत्सव नै हो ।’ फुटबलतर्फ पुरुष विधामा विजेताले ४० हजार तथा उपविजेताले ३३ हजार ४ सय, विद्यालय स्तरीय छात्र फुटबलतर्फ विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार प्राप्त गर्नेछन् । यस्तै, भलिबल तर्फ पुरुष र महिला दुवैतर्फका विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार, विद्यालयस्तरीय युनी हक्की छात्र छात्रा दुवै तर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ६ हजार पाउनेछ । विद्यालयस्तरीय छात्र साइक्लिङतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४ हजार र सान्त्वना हुने २ जनाले २ हजार प्राप्त गर्नेछन् । सडक दौड पुरुष, महिला, छात्र र छात्रा सबै चार वटै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार र सान्त्वना हुने २ जनाले ५ हजार नगद पुरस्कार पाउनेछन् । ब्याडमिन्ट डबल महिला र पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, सिंगलतर्फ महिला र पुरुष दुवै विधामा प्रथम हुनेले ५ हजार र दोस्रो हुनेले ४ हजार पाउनेछ । महिला रस्साकसीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार पाउनेछन् । ह्विलचेयर बास्केटबलमा विजेताले १० हजार र उपविजेताले ८ हजार तथा ह्वीलचेयर दौडमा प्रथम हुनेले ६ हजार ७ सय, दोस्रो हुनेले ५ हजार ५ सय, तेस्रो हुनेले ४ हजार र सान्त्वना २ जनाले २ हजार ७ सय पाउने आयोजकले जनाएको छ । विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने खेल संयोजक भण्डारीले जानकारी दिए । नेपाली यू १९ महिला राष्ट्रिय क्रिकेट टीमकी सदस्य सिद्ध माविमा कक्षा ११ मा अध्ययनरत रचना चौधरीलाई ३४ हजार नगद पुरस्कारसहित सम्मान, खेलाडी प्रोत्साहन अन्तर्गत खेल्छ गण्डकीमा ग्रासरूट टेनिस खेलमा वडाको अमिनतराबाट छनौट भई निरन्तर प्रशिक्षणमा रहेका १० जना खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पौष्टिक सामाग्री वितरण गरिएको छ । हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनको थप आर्थिक तथा प्राविधिक सहयोग पनि खेलकुद महोत्सवमा मिलेको वडाले जनाएको छ ।
चितवन: महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उहाँले बताउनुभयो । टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताउनुभयो । उहाँले सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको बताउनुभयो । बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक समितिका उपाध्यक्ष समेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने छन् । ओपनतर्फ नेपालका शिर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पत्रकार सम्मेलनमा जनाए । मेन्स सिंगलमा ३१ खेलाडी, उमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित सय बढि खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने थापाले पत्रकार सम्मेलनमा बताए । ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद ८० हजार उपबिजेताले ४० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद ३० हजार उपबिजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६० हजार उपबिजेताले ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४० हजार उपबिजेताले २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने थापाले बताए । कार्यक्रम सञ्चालन गर्दै समितिका सचिव भिष्मराज पौडेलले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहाँसमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको बताए ।
पोखरा: स्याङजाको कोल्मामा सम्पन्न पाँचौं संस्करणको क्रस कन्ट्री दौडमा नेपाली सेनाका करण रावल च्याम्पियन बनेका छन् । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगिताको खुला विधामा रावलले निर्धारित २५ किलोमिटर १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै च्याम्पियन बनेका हुन् । यस्तै सेनाकै टंकबहादुर कार्की (१ घण्टा ३२ मिनेट ९ सेकेण्ड) दोश्रो र रमेश लिम्बु (१ घण्टा ३२ मिनेट ५६ सेकेण्ड) तृतीय बने । उनीहरुलाई क्रमश: नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष्ता सुबेदार मेजर दुत प्रसाद गुरुङले जानकारी दिए । यसैगरी २१ वर्षमुनि पुरुषतर्फ निर्धारित १० किलोमिटर दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै सनम गुरुङले प्रथम बने । सल्यानका रुद्र बुढाथोकी (५० मिनेट १४ सेकेन्ड) द्वित्तिय र गोर्खाका अशोक बराम ( ५१ मिनेट ५१ सेकेण्ड) तृतीय बने । उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफि र मेडल हात गरे । यस्तै खुला महिलातर्फ १ घण्टा १२ मिनेट २६ सेकेन्डमा निर्धारित १० किलोमिटरको दुरी पार गर्दै रविना बुढामगर प्रथम बनिन् । भने, विमला मानन्धर (१ घण्टा १५ मिनेट २८ सेकेन्डमा) द्वित्तिय बनिन् । उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरेको सचिव जीवन थापामगरले जानकारी दिए । उनका अनुसार विद्यार्थी विधातर्फ ५ किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको टोली प्रथम र द्वित्तिय बन्यो भने, जनजागृती माविको टोली तृतीय बन्यो । उक्त टोलीलाई क्रमश: १२ हजार, ८ हजार र ४ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पदान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतको सहभागिता थियो ।
झापा: झापा कपकोे उपाधि आज चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । उपाधि जितेसँगै चर्च ब्वाइजले नगद रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले पाँच लाख प्राप्त गरेको छ । झापा–११ द्वारा विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । गतवर्ष झापा गोल्डकपको छैटौँ संस्करण पनि चर्च ब्वाइजले नै जितेको थियो । खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै पहिलो गोल गर्न सफल भएका थिए । खेलको ४३औँ मिनेटमा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई विदेशी खेलाडी अर्मान्डले गोल गरेका थिए । त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले अर्को गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भएका छन् । उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही रु ३५ हजार नगद प्राप्त गरेका छन् । ‘मस्ट भ्यालुएबल प्लेयर’ चर्च ब्वाइजका रोहन कार्की भए । उनले नगद रु एक लाख प्राप्त गरे । यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद रु २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । विजेता तथा उपविजेतालाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पूर्वअध्यक्ष टीकाराज ढकाल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालगायतले पुरस्कार वितरण गरेका थिए ।
झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको हो । यो स्पर्धाका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार पाउने छन् । गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो । यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ–आफ्ना टोलीले उपाधि जित्ने दाबी गरेका छन् । आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा उनीहरूले जित आफ्नो पक्षमा पर्ने टिप्पणी गरे । प्रतियोगितामा झापा–११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।
काठमाडौं: नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गर्नुभएको हो । यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो ।‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राख्नु भएको हो । यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ । यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाडौँ र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठ हुनुहुन्थ्यो । उक्त फेस्टिबलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो । आफ्नो यो सफलता १२ वर्षदेखिको मेहनत र धैर्यताको प्रतिफल रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो रेकर्ड प्रयास गर्न सुरुआत गरेको १२ भयो, निरन्तर लागिरहे र आज सफल भएँ ।” नयाँ पुस्ताहरुलाई पार्कर खेलमा अभिप्रेरित गरी खेलमार्फत देशको नाम विश्वसामु उँचो पार्न सकेकामा गौरवको महशुस गरेको बताउनुहुन्छ । साथै, उहाँले अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नै बताउँदै नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु आफ्ना लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले भविष्यमा पनि पार्कर खेलका माध्यमबाट नेपाल र अमेरिकाबीचको सांस्कृतिक, कूटनीतिक र खेलकुद सम्बन्धलाई सुमधुर बनाउने बताउनुभयो ।