पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार खुला पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजतो बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद रु ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद रु २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए । उनका अनुसार टिम दर्ता फोनमार्फत (९८५६०६६३४४,९८४६३४२०२३, ९८४७८००३८९ र ९८१७१८४७७९) पनि गर्न सकिने छ ।
काठमाडौं: पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ । लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । काठमाडौंले दोस्रो विकेटका रुपमा आउट भएका लेभिटलाई तन्भिरको बलमा आउट गराएका थिए । लेभिट चौथो ओभरको चौथो बलमा दीपक बोहोराबाट समातिए । काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए । तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो । उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए । चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे । पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए । शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए । तेह्रौं ओभरको पहिलो बलमा लुक बेन्केनस्टेइनद्वारा राशिद खान ९ बलमा ४ रन बनाउँदै आउट भए । राशिद शरद भेषवाकरद्वारा समातिएका थिए । डान डाउथवेटले १८ बलमा नट आउट १९ रन जोडे । चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए । शनिबारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
काठमाडौं: नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौँ गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ । चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौँको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् । आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार)बाट आइटिएफ वल्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले उक्त कुराको जानकारी दिएको हो । करिव दुई साता मंसिर १७ देखि २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट भोलि सोमबारबाट हुने र प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको कास्की टेनिसका सचिव भिष्मराज पौडेलले जानकारी दिएका छन् । पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताउँदै आयोजकले पहिलो सर्किटका १०५ जनाको सहभागिता हुने छ । पहिलो सर्किटको समापन संगै दोस्रो सर्किट समेत सुरु हुने जानकारी गराउँदै प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले पहिलो सर्किट अन्तर्गत १० देशका पुरुष खेलाडी ७० र महिला खेलाडी ३५ जनाले प्रतिष्पर्धा गर्ने बताइन् । उनले भनिन्–“पोखराले विभिन्न १० देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी २ सय ५० जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।” प्रतियोगितामा सहभागि देशहरुमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले बताएका छन् । उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं । तर पोखरा आउने कनेक्टिभिटीका कारण सोचे अनुरुपा प्रतियोगिता अघि बढ्न सकेको छैन । यसमा राज्यको ध्यान जान आवश्यक छ ।” प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स ̸ महिला सिङ्गल्स तथा डबल्स गरि जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता बारे जानकारी दिंदै प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड ¥याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड ¥याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड ¥याकिङ नं १ भारतिय खेलाडी माहिका खन्ना र छैटौं वर्ल्ड ¥याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने जानकारी दिए । जापानी खेलाडी रिकु गत वर्ष समेत पोखरा आएका खेलाडी हुन् । टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगिताका लागि चार जना भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिंदै सहयोगका लागि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगर संग आग्रह गरिएको बताए । “अहिले हामीले व्यक्तिगत रुपमा खर्च गरेका छौं । पोखरा महानगरबाट सहयोग हुने आश्वासन पाएका छौं”,उनले भने । कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवर्द्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा आफूहरु रहेको जनाए । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”
काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई)मा जारी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । नेपालले जितका लागि दिएको एक सय ४२ रनको लक्ष्य पच्छ्याएको बङ्गलादेशले २८ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । बङ्गलादेशका लागि ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन । यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने हेमन्त धामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनको योगफल बनाएको थियो । यस्तै ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९÷२९ रन जोडे । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बङ्गलादेशका लागि अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई÷दुई विकेट लिए । यसैगरी, साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक–एक विकेट लिए । यस जितसँगै बङ्गालादेशको भने यो लगातार दोस्रो जित हो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
कोभिडको महामारीसँगै रोकिएको मोफसलकै चर्चित आदर्श कप फुटबल प्रतियोगिता ६ बर्ष पछि आयोजना हुँदैं छ । आदर्श युवा क्लबको आयोजनामा यही मंसिर २२ देखि २९ गतेसम्म भण्डारढिक खेलमैदानमा हुने २५ औं सस्करणको आदर्श कपको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ औं संस्करणको ऋद्दिसिद्धी आदर्शकप २०७५ सालमा भएको थियो । त्यसयता प्रतियोगिता रोकिएको थियो । त्यसपछि अहिले ६ वर्षपछि प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । करिब ६० लाख रुपैयाँ खर्च हुने सो प्रतियोगिता आयोजकसहित ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष गुरुङका अनुसार आयोजक आदर्श युवा क्लब, कास्की –११, विभागीय क्लब नेपाली सेना सिद्धिदल गण (पश्चिम पृतना), नेपाल प्रहरी गण्डकी प्रदेश र सशस्स्त्र प्रहरी गण्डकी मुख्यालय, एन्फा तनहुँ, एन्फा गोरखा र एन्फा स्याङ्जा गरि कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको आयोजकले जनाएको छ ।
काठमाडौं: नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो । आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।
काठमाडौं: सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए । कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो । “नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।” कीर्तिपुरमा मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो । पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।” कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’ बढ्दो क्रिकेट क्रेज पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ । एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए । यस्तो छ अन्य खेलहरूको टिकट मूल्य सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ । एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । सोमबार दुई खेल हुँदै आज भने कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।
सङ्खुवासभा: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मानित हुनुभएको छ । सङ्खुवासभामा शुभ बिहानी नमस्ते क्लबले आज भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मान गरेको हो । सदरमुकाम खाँदबारीमा राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक कुमार राई, राष्ट्रिय महिला भलिबल खेलाडी सुमित्रा रेग्मी र अन्डर–२० की राष्ट्रिय महिला भलिबलकी कप्तान जेनिसा विश्वकर्मा सम्मानित हुनुभएको शुभ बिहानी नमस्ते क्लबका अध्यक्ष खेम गुरागाईंले जानकारी दिनुभयो । क्लबले राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई हौसला बढाउन खाँदबारी नगरपालिका–५ माल्टाका भलिबल प्रशिक्षक राई, चैनपुर नगरपालिका–९ त्रिसुले निवासी राष्ट्रिय महिला भलिबल खेलाडी रेग्मी र खाँदबारी नगरपालिका–८ पिप्लेकी अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वकर्मालाई सम्मान गरेको हो । भलिबल प्रशिक्षक राई, राष्ट्रिय खेलाडी रेग्मी, अन्डर २० राष्ट्रिय महिला भलिबल कप्तान विश्वकर्मा खाँदबारी नगरपालिका–५ माल्टामा यही मङ्सिर १२ गते भएको अन्तरपालिका महिला भलिबलमा सहभागी जनाउन गृह जिल्ला आउनुभएको हो ।