म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गक...

पोखराः    घडीले दिउँसोको १ बजायो । मोदी खोला किनारमा दुई जना पाका मान्छेहरु पुजा गर्दै छन् । त्यतिकैमा हनि हन्टिङमा आएका भिरौटे, स्थानीय र आन्तरिक तथा बाह्य पर्यटकहरु आइपुग्छन् र टिका तथा आशिर्वाद ग्रहण गर्छन् । त्यसपछि यात्रा सुरु हुन्छ, कोटेसाङ महभिरको ।     हनी हन्टिङपूर्व पूजा गर्दा कुनै पनि अप्रिय घटना नहुने परम्परागत विश्वास रहिआएको छ ।  त्यसैले मह काढ्नेहरुले हन्टिङपूर्व पूजा गर्ने प्रचलन रहेको छ । पूजापछि भीरतर्फ हानिएका यी दुई आनन्द पौडेल र खड्क बहादुर पुन हुन् । उमेरले पौडेल ७७ वर्ष पुगे भने पुन तीन बिसे १ वर्षका भए ।  उमेरले पाका यी दुईको जोडी पनि पुरानै भइसक्यो । कोटेसाङ भीरमा मह काढ्न बनेको यो जोडीले ४ दशकदेखि भीरमा पैठाजोरी खेल्दै आएको छ । यो वर्षपनि उनीहरुको जोडी हनी हन्टिङका मुख्य पात्र हुन् । यी दुईको जोडीलाई सघाउन ७ जना भिरौटेहरु तैनाथ छन् । ‘हामी दुई जनाको जोडीले मह काढ्न थालेको धेरै भइसक्यो, पौडेलले भने, ‘हामीलाई सघाउन पछिपछि अन्य साथीहरु (भिरौटे) आउँछन् । त्यो मध्ये दुईजनाले सिकिसकेका छन् ।’ करिब १ सय मिटर अग्लो भीरमा भीरमौरीका घारहरु छन् । तल मोदी खोला आफ्नै लयमा बगिरहेको छ । सो भीरको मध्यभागमा करिब ३० घार भीर माहुरीका घारहरु छन् । स्थानीयका अनुसार विभिन्न समुहमा रहेका माहुरीलाई अलग–अलग नाम दिइएको छ । लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिका सचिव कमल गुरुङका अनुसार बोक्सी घार, नौच्यु घार, स्यापु घार, खत्री स्याल घार लगायतका नाम दिएको छ ।  मह काढ्न पहिले बोक्सी घारबाट सुरु गरिने सचिव गुरुङले बताए । ‘भीरमा करिब ३० वटा घारहरु छन् । बोक्सी घारलाई पहिलालाई नै काढ्नु पर्छ, गुरुङले भने, ‘बोक्सी घारलाई पहिला नै काढेन भने अरु घार काढ्दा शिकारी भिरौटेहरुलाई टोक्छ भन्ने मान्यता छ, त्यसैले मह भए/नभएपनि बोक्सी घार पहिला नै काढ्ने गरिन्छ ।’ मुखियापछि स्थानीयको स्वामित्वमा महभीर कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकस्थित कोटेसाङ महभीरमा पञ्चायतकाल अगाडीबाट नै मह काढ्ने अधिकार गाउँको मुखियाको अधीनमा भएको स्थानीयहरु बताउँछन् ।  शिकारी आनन्द पौडेका अनुसार ४० सालको दशकपछि मात्र स्थानीयको स्मामित्वमा आएको छ । ‘महको शिकार गर्न पञ्चायत कालदेखि नै गाउँको मुखियाको स्वामित्वमा थियो, मुखियाको आदेश अनुसार शिकार हुन्थ्यो, पौडेलले भने, ‘मुखियाको स्वामीत्वमा हुँदा मह काढे पनि खान मुखियाको आदेश पर्खन पथ्र्याे, शिकारमा आउँदा रासनपानी आफैले लिनुपथ्यो, मुखियाले केही पनि दिँदैनथे ।’ ०४० पछि स्थानीयको स्वामित्वमा महभीर आएपछि महको आम्दानी गाउँले लिन थालेका छन् । अहिले महको मात्र होइन भीरमा शिकार गर्न जाने शिकारीलाई पर्यटकहरुले केही रकम दिने गरेका छन् । कोटेसाङ भीरमा १९ औं शताब्दीबाट धनराज गुरुङले मह काढ्न सुरु गरेदेखि मह काढ्न सुरु गरेको शिकारी पौडेलले बताए ।  अन्नदेखि मोहरसम्म महको मुल्य लान्द्रुकस्थित कोटेसाङ महभीरमा वर्षको दुईपटक महको शिकार गरिने शिकारी खड्कबहादुर पुनले बताए ।  ‘महको शिकार गर्ने समय वर्षको दुईपटक हो, वर्षको जेठ–असार र कात्तिक–मंसिर महको शिकारको याम हो, यो समयमा राम्रो मह हुन्छ ।’ पुनले भने ।  महको मुल्य स्थानीयको स्वामित्वमा आएपछि एक मोहर, दुईरुपैयाँसँगै मकै र धानसँग साटफेर भएको अनुभव पुनले सुनाए ।  स्थानीयको स्वामित्वमा आएपछि लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिले अहिले १ लिटर महको मुल्य ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कृषि उत्पादन घटेसँगै महको उत्पादन घट्यो  महभीरको छेउमा रहेको खेत अहिले चौरमा परिणत भएको छ । धान झुल्ने र तोरी फुल्ने बारी तथा उत्पादन हुने भुमीहरुहरुमा उत्पादन नहुँदा महको उत्पादन घट्न थालेको शिकारी आनन्द पौडेललको भनाई छ । ठगाउँमा पछिल्लो समय उत्पादन घट्ने क्रममा बढ्दो छ, उत्पादन घटेपछि बस्तुको मुल्य बढीरहेको छ । त्यसैले महको मुल्यपनि १ मोहर दुई रुपैयापछि ३ हजारसम्म पुगेको छ ।’ मुस्काउँदै पौडेलले भने ।  उनले मह उत्पादन बढाउन कृषि उत्पादन बढाउन पर्ने पौडेलले बताए ।  उनका अनुसार अहिले प्रसस्त फूल नफुल्दा उत्पादन घटेको हो । त्यसैले गतवर्ष भन्दा कम घारको शिकार यो सिजनमा गरिएको छ ।  मह उत्पादन बढाउँन पैयु रुख रापिदै  लान्द्रुक हनि हन्टिङ फेस्टिबलका अध्यक्ष गिरधारी पौडेलले माहुरीको रोजाईमा पैयु पर्ने भएकाले उत्पादन बढाउन रोप्न सुरु गरिएको बताए ।  ‘मंसिरपछि अन्य फूलहरु फुल्छन् तर कात्तिक मंसिरमा मह काढिने सिजनमा कमै फूलहरु फुल्छन्, पौडेलले भने, ‘त्यसैले यो सिजनलाई मध्यनजर गर्दै पैयुको बोट रोप्न सुरु गरेका हौं ।’ कोटेसाङ महभीरसँगै लान्द्रुक गाउँसम्म नै समितिले १ सय ९ वटा पैयुको बोटहरु गत आर्थिक वर्षमा रोपेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटले भीरको माथिल्लो भागमा पैयुको बोट रोप्ने योजना रहेको पौडेलले सुनाए  । माहुरीको लागि पैयु फुल्दा माहुरीसँगै लान्द्रुक गाउँको सुन्दरता नै परिवर्तन हुने स्थानीयहरुको तर्क छ ।   मह शिकारः ‘वान मिस गेम फिनिस्’ कोटेसाङ महभीरमा महको शिकार गर्न सजिलो नभएको शिकारी खड्कबहादुर पुनले बताए ।  महको शिकार गरेबापत समितिले ज्याला दिने बताउदै पुनले भने ‘उमेरले ६१ पुगे, २० वर्षको उमेर देखि मह काढ्न सुरु गरेको हो । काम नगरे रोगी भइन्छ शरिर रोगी हुन्छ जति काम ग¥यो उती फुर्तिलो भइने मनले मान्दैन । अब नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै छौं । हामी पछिको पुस्ताले सिक्न जरुरी छ ।’ उनले सो काम जोखिमपूर्ण हुने बताउदै सबैको तालमेल मिल्नुपर्ने बताए । ‘चोयाको पराङ ( भ¥याङ) बिचमा ठेउलीको कापा शरीरमा चोयाको नै सेफ्टीबेल्ट सुरुसुरुमा गाह्र«ो त भयो नै अहलिे आरामसँगै मह काढ्न सकिन्छ । यसमा ९ जनाको नै हात मिल्न पर्छ । नत्र जे पनि हुन सक्छ ।’   शिकारी र भिरौटेहरुलाई दिनगन्ती ज्याला  लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिले कोटेसाङ महभीरमा मह काढ्ने शिकारी र भिरौटेहरुलाई दैनिकी ज्याला नै तोकेको छ ।  प्रमुख शिकारी र शिकारीको सहयोगीको समान ज्याला तोकेको समितिले बाँकी भिरौटेहरुको फरक–फकर ज्याला समितिले निर्धारण गरेको समितिका अध्यक्ष गिरधारी पौडेलले बताए ।  उनले वर्षमा दुईपटक मह काढ्ने बताउदै पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित लान्द्रुक​ हनि हन्टिङ फेस्टिबल आयोजना गर्दै आएको सुनाए । दुईदिन सम्म सञ्चालन भएको फेस्टिबलमा कोटेसाङ महभीरमा रहेका करिब ३० वटा भीर माहुरीको आधा दर्जन घारको शिकार गरिएको थियो ।  समितिले गत वर्ष कोरोनाका कारण बाह्य पर्यटक नभित्रीएपनि यो सिजनमा आन्तरिक भन्दा बाह्य पर्यटकहरुले अवलोकन गरेको आयोजकले जनाएको   ।  

तनहुँ:  व्यास नगरपालिका ५ स्थित मगर गाउँ चुदेरलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी थालेको छ ।  रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिकाले एकीकृत नमुना बस्ती बनाउने तयारी थालेको हो ।   यसअघि उक्त क्लबले चुदेरमा करिब ८० लाखको लागतमा खानेपानीको योजना सम्पन्न गरिसकेको छ ।    गत २७ गते आयोजित कार्यक्रमकाबीच सो गाउँलाई एकीकृत नमुना बस्तीको रुपमा विकास गर्नका लागि गुरुयोजना बनाइने दातृसंस्था क्लबका प्रतिनिधिले सुनाएको स्थानीय विकास थापामगरले बताए । ‘अमेरिकाको हुवाइबाट आएको रोट्रयाक्ट क्लब अफ होनोलुलूले हाम्रो गाउँमा खानेपानीको प्रोजेक्ट सम्पन्न गरिसकेको छ । र हामी लाभाविंत भइसकेका छौं, थापामगरले भने, हस्तान्तरण पहिल्यै भएपनि अहिले दोस्रोपटक उहाँहरु आउनुभएको थियो । त्यही कार्यक्रममा यो गाउँलाई एकीकृत नमुना बस्ती बनाउन डिपिआर तयार गर्ने बताउनुभएको थियो ।’   थापामगरका अनुसार अहिले सो गाउँमा २२ घरधुरी छ ।    उनले खानेपानीको योजना सम्पन्न भएपश्चात अवलोकन र सँस्कृति आदानप्रदान गर्नका लागि अमेरिकाबाट आएको रोट्रयाक्ट क्लबले कृषि विज्ञानसम्बन्धिसमेत तालिम प्रदान गरेको बताए । ‘हाम्रो गाउँमा रोटरी चुदेर खानेपानी योजनाको अवलोकन, संस्कृतिको आदानप्रदान र शिक्षासम्बन्धि कार्यक्रम र एडल्ट साइन्स लिट्रेसी लिएर आउनुभएको थियो, उनले भने, ‘सोही अवसरमा स्थानीयलाई कृषिसम्बन्धि केही सीपमुलक तालिम पनि दिनुभएको थियो ।’      उनले उक्त क्लबको प्रतिबद्धतामा स्थानीय सरकारसमेत सकरात्मक रहेकोे बताए । ‘हाम्रौ गाउँमा पानीको समस्या थियो । त्यो हल भइसकेको छ । विद्युत पनि छदैछ अब बाटो हो त्यो पिच हुन तत्काल सम्भव नभएपनि वडासँग समन्वय गरिरहेका छौं । त्यसलाई के कसरी व्यवस्थित बनाउन सकिन्छ त्यो बारे वडाले पनि सहयोग गर्ने कुरा छ ।’ उनले भने ।   उनले सो गाउँमा मगर जातिमात्रै रहेका बताउदै संस्कृतिलाई संरक्षण गर्न विभिन्न कार्यक्रम नै सञ्चालन हुदै आएको सुनाए । ‘हाम्रो गाउँमा मगरहरुको मात्रै बस्ती छ । संस्कृतिलाई जिवन्त राख्न विभिन्न प्रयासहरु गर्दै आएका छौं ।’ थापामगरले भने ।   त्यसैगरि व्यास नगरपालिका ५ का वडाध्यक्ष विश्व कुमार श्रेष्ठ (हिमाल) ले चुदेरको पर्यटकीय सम्भावना रहेको बताउदै नमुना बस्ती निर्माणको योजना सकरात्मक रहेको बताए । ‘चुदेरको पर्यटकीय सम्भावना अत्याधिक छ, उनले भने, ‘त्यहाँको सँस्कृति जिवितै छ । अहिले आधारभूत पूर्वाधारहरु सबै छन् । त्यसैले पनि गाउँमा फर्किनेहरु पनि हुनुहुन्छ ।’      दातृनिकायको सहयोग आवश्यक रहने बताउदै वडाध्यक्ष श्रेष्ठले चुदेरको विकासको लागि वडाको तर्फबाट आफुले सधै पहल गर्ने बताए । उनका अनुसार सो रोट्रयाक्ट क्लबले व्यास नगरपालिका ५ को जनजुक्त शाही विद्यालयमा माइक्रोस्कोप र उदय माविमा विज्ञानका उपकरण सहयोग गरिएको थियो ।   चुदेर गाउँमा गत २७ गते सम्पन्न कार्यक्रममा रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिका, रोट्रयाक्ट क्लब अफ दमौली, आस्था जे रिसर्च एण्ड डेभलभमेन्ट सेन्टरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।   

पोखराः    कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकमा हनी हन्टिङ फेस्टिबल २०७९ सुरु भएको छ । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुरु भएसँगै हनी हन्टिङ फेस्टिबल सुरु भएको हो।  फेस्टिबलको मंगलबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँपालिकाले पर्यटकीय गन्तव्य विकासमा कुनै आर्थिक समस्या हुन नदिने प्रतिबद्धता जनाए । लान्द्रुक पर्यटकीय गाउँ हो । 'कमजोरीलाई सच्याएर सुन्दर बनाउनु छ, उनले भने, गाउँलेले मेहनत गरे गाउँपालिकाले साथ दिन्छ । हनी हन्टिङ पर्यटन विकासको एउटा माध्यम हो । आर्थिक समस्या हुन्छ भन्ने चिन्ता नगर्नुहोला' ।हनी हन्टिङलाई आवश्यक स्रोतसाधनका योजना ल्याउन अध्यक्ष केसीले आग्रह गरे ।    गाउँपालिकाको बजेटबाट लान्द्रुक पुग्ने बाटो दुईतर्फी बनाएर स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । संघ र प्रदेशबाट पनि यो सडकलाई बजेट विनियोजन गर्न पहल गर्ने अध्यक्ष केसीको भनाइ थियो ।  गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले लान्द्रुकको महलाई विदेशसम्म निर्यात गर्न सक्नुपर्ने बताइन् ।  कोटेसाङ भीरमा करिव ३० वटा मौरीका घार छन् । दुई दिन लगाएर ती सबै गोलामा परेको मह निकालिने फेस्टिबल आयोजक समिति सचिव कमल गुरुङले जानकारी दिए । सबै गोलामा मह नहुन पनि सक्छ । मह राम्रै निस्किने भयो भने ३/४ दिन लाग्न सक्छ, उनले भने ।  जेठ र मंसिर गरेर वर्षमा दुईपटक मह काढिन्छ । दोस्रो सिजनको मह  निकाल्ने दुई दिनलाई लान्द्रुकमा फेस्टिबल नै आयोजना गरिएको हो ।  

ढोरपाटन:   बागलुङको ताराखोला गाउँपालिका(३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो ।  पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । “तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो, “तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने थियो ।” स्थानीय नीरज बगालेले यतिबेला आफूहरु यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताउनुभयो । उहाँले स्थानीयहरु ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटकहरु नभएको बताउनुभयो ।  गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि रु चार लाख बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । “स्थानीय, प्रदेश र सङ्घबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको सङ्ख्या बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।  ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ । यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिनुभयो ।  “बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँदैछन्”, उहाँले भन्नुभयो, “ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको छ ।” ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिकस्थलको प्रवद्र्धनका लागि नीति बनाएर अघि बढाउने बताउनुभयो ।  “हाम्रो पालिका अन्तर्गत धेरै पर्यटकीयस्थल छन्, केही स्थलमा पूर्वाधार निर्माण भइसकेका छन् भने अझै केहीमा काम हुन बाँकी छ, खिउ बराह तालको विकासलाई मुख्य प्राथमितामा राखेर काम गर्नेछौँ,” उहाँले भन्नुभयो ।  उहाँले पर्यटन क्षेत्रको विकास गरी  स्थानीयको आयआर्जन बढाउने र जीवनस्तरमा उकास्ने गरी योजना बनाएको दाबी गर्नुभयो । खिउ बराह तालबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमश्रुङ्खलासँगै बागलुङका विभिन्न स्थान र म्याग्दी, गल्मी, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ ।

पोखराः   अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो ।  दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए ।  महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन भएको जानकारी समेत दिए । ‘अहिले हामीलाई सगरमाथा बेसक्याम्प सार्न कार्यक्रम गरेको आरोप लागिरहेको छ । त्यस्तो होइन, हामी त्यसैलाई कसरी व्यवस्थापन गर्ने विषयमै केन्द्रित छौं,’ उनले भने । अन्तरक्रिया कार्यक्रममा मिलन तामाङले जुग्ल हिमालको विषयमा प्रस्तुति दिएका थिए । जुगल हिमाल काठमाडौंबाट नजिक रहेपनि बेवास्तामा परेको उनको भनाइ थियो । ‘छोटो छुट्टि भएकाहरुलाई जुगल हिमाल ट्रागेट गर्दा निकै पोटेन्सियल देखिन्छ । प्रचारप्रसारको काम अझै बाँकी छ । काठमाडौँबाट जम्मा केही मिटर पर छ । तरपनि त्यो छायाँको रुपमा देखिएको छ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा रहेको हिमाल छायाँमा परेको हुनाले हामीले केही समय अघिदेखि यसबारे अध्ययन ग¥यौं । त्यसपछि पनि हामीले निरन्तर काम गर्दै आयौं ।’ यस्तै ‘वुमन मुभ माउन्टेन’नाराका विषयमा पनि अन्तक्रिया कार्यक्रम भएको थियो । पोखराका विभिन्न कलेजमा अध्ययनरत पाँच जना छात्रालाई वक्ताको रुपमा बोलाइएको थियो । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवसलाई ‘वुमन मुभ माउन्टेन’को नारा सहित मनाउने निर्णय गरेको हो ।  सोही विषयमा वक्ताका रुपमा आएका वर्षा गुरुङ, रोशनी शाही, सरुना केसी, शोभा पुन र सिर्जा तन्दुकरले आफनो विचार राखे । हिमाली क्षेत्रमा पर्यटन व्यवसाय धानेका महिलाको उदाहरण दिँदै सरुना केसीले हिमाली क्षेत्र जोगाउने कार्यभार महिलाले पनि गर्न सक्ने बताइन् ।  ‘हिमाली क्षेत्रमा पर्यटक जाँदा साँझ सांस्कृतिक कार्यक्रम गरेर संस्कृति जोगाउने महिला हुन् । पर्यटकलाई आवश्यक भएको लजिङ रर फुडिङको व्यवस्थापन गर्ने उनै महिला हुन्,’ सुरुनाले भनिन्, ‘पछिल्लो समय रोजगारीका कारण पुरुषहरु बाहिर जाने क्रम बढी छ । हिमाली क्षेत्रमा संस्कृति जोगाउँदै महिलाहरु बसिरहनुभएको छ ।’  हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राख्दै आयोजना भएको महोत्सवमा विभिन्न  कार्यक्रम समावेश गरिएको थियो । छेलो हान्ने प्रतियोगितादेखि अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धा राखिएको थियो । छेलो हान्ने प्रतियोगितामा प्रथम हुँदै रोहित सुनारले २५ हजार र प्रमाणपत्र जितेका छन् ।  यस्तै दितियमा किरण सुनारले १० हजार र तृतीयमा बादल गुरुङले ५ हजार नगद प्राप्त गरेका छन् । अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धामा कुमुदिनी होम्सकी अभिषना पालिखे प्रथम भएकी छिन् । दोस्रोमा सिर्जना विद्यालयका लक्ष्मण पौडेल र तेस्रो कृपा गुरुङ भएकी छिन् ।  महोत्सवमा भाग लिएका विद्यार्थीदेखि हिमाली क्षेत्रको परिकार प्रर्दशनमा राख्ने सबैलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी निमर्ला न्यौपानेले धन्यवाद दिएकी छन् । ‘महोत्सवमा उपस्थिती भएर सफल बनाउने सबैलाई धन्यवाद । पर्वतीय दिवसको अवसरमा हरेक वर्ष आयोजना हुने महोत्सव भव्यतका साथ सम्पन्न भएकोमा खुशी लागेको छ,’ उनले भनिन्, ‘पर्वतीय दिवसको नारा जस्तै र अघि भर्खर प्यानलमा वक्ताहरुले भने जस्तै हिमाल संरक्षणको लागि महिलाको भूमिका महत्वपूर्ण छ ।’ यस्तै संघका सल्लाहकार डा. गणेश गुरुङले पर्वतीय महोत्सवले हिमाली क्षेत्रबारे ज्ञान दिन मद्दत गर्ने बताए । महोत्सवको सिजन छ पोखरामा यतिबेला । जसमध्ये सबैभन्दा राम्रो र ज्ञानपूर्ण महोत्सव पर्वतीय महोत्सव रहेको बताउँछन् गुरुङ ।  ‘हाम्रो यो महोत्सव पोखराका महोत्सव भन्दा फरका । पहिलो यहाँ हामी शूल्क लिँदैनौ । यो आम्दानीको लागि होइन । यो महोत्सव ज्ञान बाड्नको लागि हो । यसले हिमाली क्षेत्रको विषयमा महोत्सवमा आउने व्यक्तिलाई धेरै विषयमा सिकाउँछ,’ डा. गुरुङले भने ।   

कास्की:  अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले '२१ औं सेन्चुरी ल्होसार मेला' आयोजना गर्ने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।    उनले साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको १० गतेदेखि मेला राखेका छौ । यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’   उनका अनुसार सो मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियर लगायतका प्रतियोगिता समावेश गरिएको छ ।     उनले पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।  गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमश ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबल तर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।    प्रतियोगितामा सहभागिता जनाउन भलिबल र बास्केटबलको लागि ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि ३ हजार दर्ता शुल्क तोकिएको छ ।   मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसहितअन्नपूर्ण व्याण्डले लाइभ कन्सर्ट गर्ने आयोजकले जनाएको छ ।

पोखरा:   विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनः निर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ ।  फेवातालको बीच भाग अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनः निर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइसकिएको छ । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका थिए।  पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख लाग्ने अध्यक्ष  कुँवरले जानकारी दिए । प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरुपमै मन्दिर पुनःनिर्माण गरिने अध्यक्ष कुँवरले बताए । मन्दिर पुनः निर्माण गर्न पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ताभित्र  सम्झौता गरिने जानकारी अध्यक्ष कुँवरले दिए । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख  रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिर पाँच महिनाभित्र नै पुनः निर्माण गरिसक्ने बताइएको छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गर्नुभएको बताइन्छ । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ ।  कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको मन्दिरका पुजारी परशुराम पहारीले सुनाउनुभयो । सबै धर्मका व्यक्तिले मन्दिरमा प्रवेश पाउँछन् । पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । त्यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देखिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्दछ । पहिले पानीले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो । तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीय ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पूर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको बताए । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भन्यो, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाँडै जानु ।” जोगी हिँडेको केही समयमा आवाज आयो । आवाज सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।  कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । कुलमन्डनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाउनुभयो । क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालबाराही देवीको शिला राखि पूजिँदै आएको किंबदन्ती छ ।  फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो ।  यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो  भने विसं १८६८ बाट नृत्य पूजाआजा सुरु भएको हो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको बताइन्छ । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।  कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उनले सुनाए । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।  डुङ्गा र तालबाराही मन्दिरका लागि प्रसिद्ध फेवाताल   पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटक माझ लोकप्रिय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको बताइन्छ । ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ । यसको बीचमा बाराही मन्दिरको अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सफल भएको छ ।  यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । फेवाताल समुद्री सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ । यस तालले लगभग पाँच दशमलव  २३ वर्ग किमी (दुई वर्ग माइल) क्षेत्रफल ओगटेको छ । 

पोखरा:   पर्वतीय दिवसको अवसरमा अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् ।  उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना  आवश्यक रहेको उनको भनाइ छ । ‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’ पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्वतीय पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि भूमिका खेल्ने विचार उपराष्ट्रपति पुनले राखे ।  ‘यसमा पनि हाम्रो पर्यटनको मेरुदण्डको रुपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ । पर्वतीय पर्यटन केवल आरोहणमात्रै होइन, यो पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृति तथा जीवन बुझ्ने र उनीहरुको आर्थिक–सामाजिक जीवनमा रुपान्तरण ल्याउन योगदान पु¥याउने माध्यम पनि हो,’ उनले भने ।  ‘डिसेम्बर ११’लाई लक्षित गरि प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्ने छ । आज महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रमहरु भएका छन् । छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको थियो ।  ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीनवर्षमा दोब्बर पर्यटनक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो ।  ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक कार्यक्रममा चारजना महिला आरोही वक्ता थिए । आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा बोले । विषयममाथि छलफल गर्दै चारै आरोहीको एकै स्वर थियो–वातावरण र हिमाल संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।  आफूले चढिसकेको हिमाल चढ्न पुनः पुगेकी पूर्णिमाले चारवर्ष यता जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताइन् । उनका अनुसार समयमै यसविषयमा गम्भीर नबने सेताम्मे हिमालहरु कालो पथरको रुपमा परिणत हुनेछन् ।  ‘हिमाल पहिलाभन्दा पग्लीराखेको छ । चारवर्ष धेरै परिवर्तन देखेँ । विशेषगरि खुम्बुक्षेत्रमा धेरै परिवर्तन देखेँ । यसलाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालो पथर बन्दै जानेछ,’ आरोही पूर्णिमाले भनिन् ।  यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पु¥याएको बताउँछिन्, अर्की आरोही फुरदिकी शेर्पा । ‘आइसफल हटाएर चउर बनाएर एजेन्सीहरुले सुविधा दिएछ । ठुलोठुलो कम्पनीहरुले त्यस्तो नगरे हुन्थ्यो । काठमाडौँको ट्याक्सीले त्यती काम पाउँदैन जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ,’उनले भनिन् ।  पहिलो कार्यक्रमपछि पोखरामा तीनवर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ विषयमा छलफल भएको थियो । छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी थिए । छलफल कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्रयाउन ठूलो भूमिका खेल्ने विचार राखे ।  संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउने निर्णय गरेको छ । उद्घाटन समारोहमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । भोलि महोत्सवको अन्तिम दिन यसै विषयमा छलफल कार्यक्रम हुँदैछ । 

तनहुँ:  मंसिर महिना चिसो बढ्ने महिनामात्र हैन, घुमघामको सिजन पनि हो । यदि तपाई पोखरामा हुनुहुन्छ भने आसपासका प्राय: स्थानमा पुगिसक्नु भयो होला । अब केही फरक र नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने तपाइकालागि उचित गन्तव्य हुनसक्छ छिमेकी जिल्ला तनहुँको मगर गाउँ ‘दगाम’ । दगाम नाम कसरी रहन गयो भन्नेमा कुनै खास आधार र तर्क छैन । यद्यपि, पहिले दलित जातिको बस्ती रहेकाले दगाम भन्न थालिएको केही स्थानीय बताउँछन् । खैर, लेखको उद्देश्य भने दगामको प्राकृतिक छटालाई वर्णन गर्नु हो ।  गण्डकी प्रदेशको राजधानी पोखराबाट यात्रा तय गर्दा २४ किलोमिटर पूर्वतर्फ कास्की र तनँहुका सिमाना कोत्रे पुगिन्छ । त्यहाँबाट साढे ६ किलोमिटर उत्तरतर्फ कच्ची सडकखण्डको यात्रापछि शुक्लागण्डकी नगरपालिका २ को दगाम गाउँ पुगिन्छ ।  जहाँ ३८ घर धुरी रहेको छ ।  मगर जातिको बाहुल्यता रहेको सो गाउँमा ३ घर मात्रै गुरुङ जातिको रहेको छ । यहाँका स्थानीयहरु मुख्यत: कृषि, मौरीपालन, र घरबास व्यवसायबाट जिविकोपार्जन गर्दै आएका छन् ।    किन जाने दगाम? गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न छ । त्यसको केही अंश हेर्न तपाई दगाम पुग्नैपर्छ । दगाम पुग्नु अघि उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरुले हाँस्दै स्वागत गर्छ । त्यसपछि दगाम होमस्टेको भवनमा पुगेपछि मगर भेषभूषामा सजिएका आमा समूहद्वारा  टिका, फुलका गुच्छा तथा मालाले स्वागत गरिन्छ । त्यसपछि पर्यटकलाई गाउँमै पाइने अर्गानिक परिकारको स्वाद चखाइन्छ । र सुरु हुन्छ साँस्कृतिक कार्यक्रमहरु ।    यस गाउँमा मगर जातिको बाहुल्यता रहेकै कारण कौराहा, घाटुँ तथा झ्याउरेको लोकप्रियता छ । यसबाट दगाममा मगर समुदायको कला तथा संस्कार अझै पनि जिवित रहेको प्रष्ट हुन्छ । त्यसैले संस्कृतिसँग पिरती गाँस्न चाहनेहरु दगाम पुग्नै पर्छ । साँस्कृतिक रुपमा धनि यस गाउँ प्राकृतिक रुपमा पनि उत्तिकै सम्पन्न छ । दगाम यस्तो ठाउँ हो, जहाँबाट सूर्याेदय र सूर्यास्त नियाल्न सकिन्छ । यतिमात्रै होइन यहाँबाट उत्तरमा हाँसिरहेको माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरु आँखै अगाडि देखिन्छ ।     त्यसैगरि कास्कीको रुपाताल, बेगनासताल र पर्यटकीय नगरी लेखनाथको मनोरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । भने दगाम आसपासमा रहेको भूमिकोट, विरकोट, थानकोट दर्शन गर्ने अवसर पाइन्छ । सोही स्थानबाटै तनहुँको दुलेगौँडा र खैरेनीटार पनि नजरमा पर्छ ।    दगामको सम्भावना तनहुँको शुुक्लागण्डकी नगरपालिका–२ को दगाम गाउँ पर्यटकको पर्खाइमा रहेको छ ।  पर्यटकीय सम्भावना बोकेको यस ठाउँको प्रचारप्रसारमा कमी हुदाँ ओझेलमा परेको स्थानीय अगुवा नन्द बहादुर थापामगरले बताए । ‘हामी सस्कृतिमा मात्रै होइन प्रकृतिले पनि धनि छौं, उनले भने, ‘हाम्रो गाउँको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छौं ।’ खानेपानी र सडकको सुविधा भएपनि पर्यटकीय दृष्टिकोणले यथेष्ट नभएको थापामगरको भनाई छ । ‘बाटो पनि छ खानेपानी पनि लिफ्टिङबाट प्रयोग गरिराछौ, उनले भने ‘तर पर्यटकको ओइरो लाग्नको लागि सडकको सहज पहुँच हुनुपर्छ । त्यसको लागि हामी नगरपालिकालाई गुहारेका छौ ।’   शुक्लागण्डकी वडा नम्बर २ को  सम्पत्तिको रुपमा रहेका भूमिकोट, विरकोट, थानकोटको संरक्षण र सम्वद्र्धन अपरिहार्य छ । र स्थानीयहरु ऐतिहासिक महत्व बोकेका सम्पदा तथा संस्कार र संस्कृति संरक्षण गर्न लागि पर्दै आएका छन् । ‘हामीसँग हाम्रो आफ्नैँ मौलिक पहिचान छ । हामीसँग भाषा छ । कला छ । धर्म र संस्कार छ, स्थानीय तोरण बहादुर थापामगरले भने ‘त्यसैले पनि पाहुनाहरु यहाँसम्म आउनुहुन्छ । अझ यहाँ आउने बाटो पक्की भयो भने बाह्य पर्यटक पनि भित्रिन्थे । त्यसको लागि हामी आफ्नो तर्फबाट पहल गरिरहेका छौ ।’ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तिला थापा मगरका अनुसार विगत ९ वर्षदेखि दगाम सामुदायिक होमस्टे सञ्चालनमा छ । यस दगाम होमस्टेसँग शुक्ला गण्डकी २ मै स्थानथोक कोट दरबार सामुदायिक होमस्टे, बाघ भैरव सामुदायिक होमस्टे, इमान्दार सामुदायिक होमस्टे सञ्चालनमा छन् । ‘यो क्षेत्रमा अहिले ४ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । तुलनात्मक रुपमा दगाममा बढी पाहुना आउनुहुन्छ, उनले भनिन्, ‘अझ बढी पाहुना भित्राउनका लागि हामी नगरपालिका तथा वडासँग समन्वय गरिरहेका छौ ।’    दगाममा आन्तरिक पाहुनाको तुलनामा बाह्य पर्यटक कम आएको उनको अनुभव छ । थापामगरका अनुसार होमस्टे व्यवस्थापन समितिले प्रतिव्यक्ति १ रात बसेको १२ सय रुपैया निर्धारण गरेको छ । पर्यटकीय स्थलको रुपमा सम्भावना बोकेको दगामको मुख्य समस्या कच्ची सडक भएको  होमस्टे सञ्चालिका सुस्मिता पुलामीमगरले बताइन् । ‘दगाममा आउनको लागि बाटो पक्की छैन र तरपनि पाहुनाहरु आइरहनुभएको छ । अझ बाटो पक्की भयो भने पाहुनाको ओइरो लाग्ने आशा गरेका छौ ।’ उनले भनिन् । शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।   तस्बिर: सुशान्त गाहा मगर (अर्जुन)