म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गक...

गलकोट:   गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन ।   ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुन: डोर्यायो । त्यसैले यसपटकको उहाँको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो ।   अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गर्नुभयो । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आउनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताउनुभएको हो ।   साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो ।   उहाँले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताउनुभएको छ । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुग्नुभएको थियो ।   “गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।”   ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताउनुभएको थियो । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए ।   विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो ।   गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आउनुभएका गुरुङले बताउनुभयो । “पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो”, उहाँले भन्नुभयो, “गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।”   म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताउनुभयो ।   दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ ।   गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उहाँले बताउनुभयो ।   विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आउनुभएको छ ।   उहाँले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै अउनुभएको छ ।   उहाँले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गर्नुभएको थियो । गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताउनुभयो ।

वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् ।   बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ । पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन ।   वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन् । उनीहरु बाँच्नका लागि मुख्य आधार बन्दै आएको छ । “छोरा–छोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ”, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भन्नुभयो ।   “बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन”, उहाँले भन्नुभयो, “माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ ।”   आफूहरूको थाकथलो कास्कीको पोखरा-९ नयाँबजार रहेको जानकारी दिँदै उहाँले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गर्दै आएको बताउनुभयो । जलारीका अनुसार उहाँको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गर्दै आएको थियो । माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बस्नुभएको इतिहास उहाँले सुनाउनुभयो । कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन् । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिँड्नुपर्छ ।   “म ५५ वर्षको भएँ, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ”, उहाँले भन्नुभयो, “त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन् । ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ ।”   समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिनुभयो । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन् । तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् ।   तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ । पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लज खोलेका छन् । ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन् ।    कोरोना महामारी अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समय यता बिदाका दिन केही  आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन् । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुःखेसो छ । तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन ।   कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका अनिष जलारीले भन्नुभयो, “दुई वर्षदेखि बाह्य  पर्यटक आएका छैनन् ।”

पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।   पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो ।   बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ ९भ्यूटावर०समेत निर्माण गरिएको छ ।    नेपाल सरकारको पर्यटन बोर्डले निर्माण गरेको भ्यूटावरबाट पर्यटकले बाबातालको मनोरम दृश्यावलोकन गरेर बेग्लै सौन्दर्यको अनुभूति गरिरहेको बाबाताल घुम्न आएका पर्यटकले बताएका छन् । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्यावलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० सम्म आन्तरिक पर्यटक आउने गरेको बाबाताल चुरे संरक्षण संवद्र्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले बताउनुभयो ।    “अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक बाबातालमा घुम्न आउने गर्छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “विस्तारै तालमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।”   उहाँका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीयामभन्दा जाडोको मौसम अर्थात् कात्तिकदेखि माघसम्म बढी पर्यटक आउने गर्दछन् । बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन ताल क्षेत्रभित्रै फूलको बँगैचा, बालबालिकाका लागि बालपार्क निर्माण गर्नुका साथै पर्यटकका लागि तालमा बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।   “बातातालमा घुम्न आउने पर्यटकका लागि तालमा छवटा बोटिङ सञ्चालनमा ल्याएका छौँ”, समितिका सचिव उद्धव काफ्लेले भन्नुभयो, “चारवटा समितिकै बोटिङ छन्, दुईवटा अन्य व्यक्तिबाट भाडामा ल्याएर बोटिङ चलाइरहेका छौं ।” अहिलेसम्म बोटिङ्ग पनि राम्रै चलिरहेको उहाँको भनाइ छ ।     बर्सेनि खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेरबार गरी आर्थिक वर्ष २०६०/६१ मा भू-संरक्षण कार्यालय सिरहाबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर, बालपार्क बनाएर व्यवस्थित बनाएको थियो ।    अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सचिव काफ्लेको भनाइ छ । अरु बेलाभन्दा पनि नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्ने गरेको छ ।    अहिले ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुर चलचित्रको छायाङ्कनसमेत हुन थालेको छ । दैनिकजसो कलाकार आउने र सुटिङ गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क रु १०, तालमा बोटिङ गर्ने पर्यटकका लागि रु ५० र भ्यूटावरबाट अवलोकन गर्न रु २० को टिकटको व्यवस्था मिलाइएको छ ।   आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको बाबातालमा भ्यूटावर निर्माण भएपछि अब बाह्य पर्यटकसमेत आकर्षित हुने समितिका अध्यक्ष दाहालले बताउनुभयो । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत निर्माण गरिएको छ । यसबाहेक ताल क्षेत्रभित्र स्थानीयले घरबाससमेत सञ्चालन गर्र्ने तयारी रहेकाले सोबारे पर्यटन मन्त्रालयसँग छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ छ ।   तालमा आन्तरिकका साथै बाह्य पर्यटकसमेत भित्र्याउन राजमार्गबाट तालसम्मको ग्राभेल बाटोलाई कालोपत्र गर्ने र निकट भविष्यमै ताल क्षेत्रमा केबुलकारसमेत सञ्चालन गर्ने ताल संरक्षण समितिको योजना रहेको अध्यक्ष दाहालको कथन छ ।   सरकारी निकाय तथा स्थानीयवासीको समेत गतिलो साथ पाएको बाबाताल क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा देखिन थालेको छ । पर्यटकीय क्षेत्रकै रूपमा व्यवस्थित भएको छोटो अवधिमै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्र्याउन सफल बाबाताल मुलुककै प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयसमेत जोडतोडका साथ जुटेको स्थानीय बुद्धिजीवी राजकुमार लामाले बताउनुभयो ।    जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको बेला पर्यटकको आकर्षकको केन्द्र बनेको बाबातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन प्रचार–प्रसार गर्नुपर्ने लामाको भनाइ छ ।

हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् ।    सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताउनुभयो । “रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पु¥याउन भने सडकका कारण समस्या छ,” उहाँले भन्नुभयो ।    रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार÷पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उहाँले बताउनुभयो । “हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ,” उहाँले भन्नुभयो, “यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।”    यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुर्‍याउन सकिने उहाँ बताउनुहुन्छ । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुर्‍याउने बेला भएको छ । विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन् । कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन् ।    सहज रुपमा यहाँको स्याउ बजारमा पुर्‍याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उहाँहरुको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ । सडक सञ्जाल सहज बनाएर बजारमा पुर्‍याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ । तर, सडक यातायातको समस्याले बजारसम्म पु¥याउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ । 

  बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ ।    बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् । सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव संगाल्ने लक्ष्यका साथ उनीहरु यहाँ आउने गर्दछन् । साहसिक खेल मन पराउने पर्यटकका लागि मनाङलाई मुख्य गन्तव्यस्थलकैरुपमा लिने गरिन्छ ।    अघिल्ला दुई वर्ष भने कोभिडको सङक्रमणले पर्यटक आगमन ठप्प भयो । गत आर्थिक वर्षमा भने कोभिडको सङ्क्रमण केही मथ्थर हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटकको सङ्ख्या बढेको छ । आव २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्क देखिन्छ ।    यस अवधिमा नेपालमा भित्रिने कूल दुई लाख ८५ हजार तीनसय ६३ बाह्य पर्यटकमध्ये मनाङमा मात्रै सात हजार २० पर्यटक भित्रिए । आर्थिक वर्ष २०७८÷७९ मा पुरुष चार हजार सातसय ४९ र महिला दुई हजार दुईसय ७० गरी कूल सात हजार २० बाह्य पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको कात्तिक, चैत र वैशाखमा बढी विदेशी पर्यटक मनाङ भित्रिएका थिए ।    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा अनुमति प्रवेश लिएको आधारमा यस तथ्याङ्क सङ्कलन गरिएको हो । आव २०७८/७९ को साउनमा दुई, भदौमा २०, असोजमा तीनसय २२, कात्तिकमा एक हजार १५, मङ्सिरमा तीनसय ६६, पुसमा ८६, माघमा ५१, फागुनमा पाँचसय २८, चैतमा दुई हजार ४७, वैशाखमा एक हजार नौसय ३६, जेठमा चारसय ८५ र असारमा एकसय ६२ पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । “जिल्लामा बाह्य पर्यटक भित्रिँदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ । बाह्य पर्यटकलाई अनुमतिविना प्रवेश दिइँदैन भने आन्तरिक पर्यटकको भने तथ्याङ्क राखिएको हुँदैन । शुल्क नलिए पनि तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।    आव २०७७/७८ मा कोभिड सङ्क्रमणका कारण मनाङमा कूल छ सय तीन बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सार्क राष्ट्रबाट पर्यटक भित्रिएका छन् । वर्षायाममा सवारीसाधन आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको छ । सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक मनाङको भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ । अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् ।   पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ पुग्ने गर्दछन् । थोरालाङ्ला पास गरी मुस्ताङ हुँदै पोखरा पुग्नेगरी अन्नपूर्ण पदमार्गमा केही पर्यटक पदयात्राका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन् ।    पर्यटकबाट चार लाख ५२ हजार राजस्व    हिमाली जिल्ला मनाङमा भित्रिने पर्यटकबाट छ महिनाको अन्तरालमा रु चार लाख ५२ हजार राजस्व सङ्कलन भएको छ । सन् २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा सो परिमाणको राजस्व सङ्कलन भएको हो । विश्वपर्यटन बजारका महत्वपूर्णमध्ये पर्यटकीय क्षेत्रको एकमा यस अन्नपूर्ण पदमार्ग मानिन्छ । जनवरीदेखि १४ जुनसम्म मनाङमा कूल पाँच हजार ५६ पर्यटकले प्रवेश गरेको एक्यापको पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिनुभयो ।        यस अवधिमा एक हजार छसय ६२ जना पर्यटकले मनास्लु र अन्नपूर्णमार्फत फर्किएका थिए । छ महिनाभित्र एकसय दुई पर्यटक अनुमतिबिना जिल्लामा प्रवेश गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सार्क राष्ट्रका ४० जना र अन्य ६२ जना गरी एकसय दुई पर्यटक अनुमतिबिना नै मनाङ प्रवेश गरेको पाइएको छ ।    अनुमतिबिना मनाङ प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु दुई हजार र अन्य राष्ट्रबाट आएका पर्यटकलाई प्रतिव्यक्ति रु छ हजार जरिवाना लिएर प्रवेश गर्न दिइएको उहाँले बताउनुभयो ।    सार्क राष्ट्रका पर्यटकलाई रु एक हजार र अन्य मुलुकका पर्यटकलाई रु तीन हजार मनाङ प्रवेशका लागि शुल्क तोकिएको एक्यापले जनाएको छ । सोही अवधिमा मनाङमा पर्यटक आएका थिएनन् । कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै बिस्तारै चहलपहल हुन थालेको पनि पुनःकोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको छ ।   सडक मर्मत नहुँदा कठिन मनाङ यात्रा    बाढीपहिराले क्षति पुर्‍याएको सडक खण्डको समयमा मर्मत हुन नसक्दा मनाङ भ्रमण गर्न चाहने पर्यटकल सास्ती खेप्नु परेको छ । सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टी लगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम गर्न समस्या भएको डुम्रे-बेंसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इञ्जिनीयर अच्युतविलास पन्तले बताउनुभयो । वैकल्पिक बाटो नहुँदा पनि मर्मतसम्भारमा अवरोध हुने गरेको उहाँले बताउनुभयो । “वर्षाको समय छ । वर्षाको क्रम जारी नै छ । जोखिम क्षेत्रमा पनि मर्मतसम्भारको काम गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “काम गर्ने प्रयास भइरहेको छ ।”    बेंसीशहर-चामे सडक खण्डको मर्मतसम्भार गर्ने सम्झौताको अवधि बाँकी रहेको पन्तले बताउनुभयो । उहाँका अनुसार आगामी असार मसान्तसम्म सडक मर्मतसम्भार गर्ने अवधि रहेको छ । उक्त सडक खण्डको जोखिम क्षेत्रमा सडक मर्मतसम्भारका लागि तीन वटा ठेक्का परेको र समयानुकूल अवस्थामा मर्मतको काम भइरहेको उहाँले बताउनुभयो ।    आगामी पाँच वर्षको अवधिमा डुम्रे-बेंसीशहर-चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे-बेंसीशहर-चामे सडक योजना कार्यालयका प्रमुख पन्तले बताउनुभयो ।    गत वर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिराले क्षति पुर्‍याएको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको सडक खुलाउन समस्या भएपछि हवाई यातायातलाई मात्र सहारा लिनुपर्ने भएको थियो ।    मनाङ आउने पर्यटकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन आवश्यक छ । आन्तरिक पर्यटकको पनि मनाङ रोजाइको केन्द्र बन्न पुगेको अवस्थामा स्थानीय, प्रदेश र सङ्घ सरकार प्रतिबद्ध भएर छिटो सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढ्न सक्नुपर्ने अवस्था छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मनाङको मेरुदण्डको सडक बन्ने क्रममा भए पनि सोचअनुरुपको विकास हुन नसकेको बताउनुहुन्छ ।    मनाङका विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा आउने पर्यटकलाई सहज यात्रा बनाउनु मुख्य चुनौतीको विषय बनेको छ । मनाङलाई गन्तव्य बनाएर आएका पर्यटकका लागि डुम्रे-बेंसीशहर-चामे सडकखण्डका समयमा निर्माण सम्पन्न गर्न सक्नुपर्ने अवस्था छ । जोखिम यात्रालाई सहज बनाउनसके मनाङमा भित्रिने पर्यटकको सङ्ख्यामा अवश्य वृद्धि ल्याउन सकिने देखिन्छ ।

अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ ।    जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने यस क्षेत्रमा अहिलेसम्मकै धेरै धार्मिक पर्यटक सहभागी भएका छन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि तीन दिनको यात्रामा पुग्न सकिने यस धार्मिक स्थलमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । समुद्री सतहदेखि करिब चार हजार ७०० मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि यस पटकको जनैपूर्णिमामा मात्रै ७०० भन्दा बढी भक्तजन सहभागी भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताउनुभयो । उहाँका अनुसार यसवर्ष म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायत ठाउँबाटसमेत भक्तजनको यस स्थलमा उल्लेख्य सहभागिता थियो ।    खासगरी सन्तान प्राप्ति, रोकिएका काम अघि बढाउन र सु-स्वास्थ्यलगायजस्ता भाकल गर्नेहरु यहाँ आइपुग्ने गर्छन् । खयर भारानी थानमा पूजा र खयर तालमा भाकल गरेर बर मागेकाहरुले आफ्नो मनोकांक्षा पूरा भएपछि पनि भाकल गरेर बर मागे बमोजिमको पुनः पूजा गरी बर फिर्ता गर्ने चलन रहेको स्थानीय समाजसेवी राजु पुनले बताउनुभयो ।    ‘‘ सन्तान नभएका धेरैले यहाँ भाकल गरेपछि सन्तान पाउनुभएको छ, रोकिएका काम समाधान भएको भनेर धेरैले खुसी व्यक्त गर्नुभएको छ, त्यसैले हरेक वर्ष यहाँ आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ,’’ उहाँले  भन्नुभयो । यहाँ वर्षौ पहिले भाकल गरेकाले आफ्नो मनोकांक्षा पूरा भएपछि पुनः पूजा र भाकल फिर्ताको लागि समेत आइपुग्ने गरेका थिए । खयर भारानीमा पुगेर भाकल गरेपछि मनोकांक्षा पूरा भएको तर  पनि विविध कारणले २० वर्षपछि पुनः खयर भारानीमा पूजा गर्न आएको रघुगङ्गा गाउँपालिका-२ की निर्मला भण्डारीले बताउनुभयो । पोखरा फूलबारीबाट चार दिन लगाएर खयर भारानी पुग्नुभएका हितबहादुर गर्वुजाले आफ्नो छोराको लाहुरेमा भर्ती हुने सपना साकार होस् भनेर भाकल गरेको बताउनुभयो ।    ‘‘धेरैलाई खयर भारानीले पु¥याउने गरेको कुरा सुने, छोराको सपना पूरा होस् भनेर यहाँ आएर भाकल गरेको छु, यहाँ आएका धेरैले आफ्नो मनोकांक्षा पूरा भएको अनुभव सुनाउनुभएको छ, भाकल पूरा भएपछि फेरि आउँछु’’-गर्वुजाले भन्नुभयो । विगतका दुई वर्षमा कोरोना महामारीका कारण भाकल गर्न र भाकल पूरा भएपछि बर फिर्ता गर्न नपाएका कारण यसवर्ष उल्लेख्य रुपमा भक्तजनको आगमन भएको कोषले जनाएको छ ।  पहाड र जङ्गलको बाटो हुँदै हिमालको फेदीमा रहेको खयर भारानी थान र खयर तालमा पुग्न पछिल्लो समय पाउद्धारदेखि खोप्रा–खयरखोला हुँदै खयरलेकसम्म नै पदमार्ग, चौतारा र खानेपानीको धारा निर्माण गरिएकाले  भक्तजनलाई सहज भएको छ । पाउद्वार–खोप्रा-खयरखोला हुँदै खयरलेकसम्मको करिब तीन दिनको पदयात्राको बाटोमा समुदायकै अग्रसरता र लगानीमा पदमार्ग, चौतारा र खानेपानीको धारालगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको सुविधाका लागि खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले खोप्रा र खयरखोलामा अस्थायी आवासगृहसहित खाना र खाजाकोसमेत बन्दोबस्त मिलाएको कोषका व्यवस्थापन संयोजक मीनबहादुर तिलिजा पुनले बताउनुभयो ।    ‘‘हिमालको काखमा रहेको थानमा पुग्न हिजोका दिनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले अधिकांश जोखिमयुक्त ठाउँमा पदमार्ग बनिसकेको छ, बाँकी ठाउँमा पनि पदमार्ग बनाउने योजना अघि बढिरहेको छ, जनैपूर्णिमामा मात्रै नभएर अन्य समयमा समेत भक्तजन र पर्यटक यस क्षेत्रमा आउने प्रचलन बढिरहेको छ, खयरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने अभियानले सार्थकता पाउँदै गएको छ’’–उहाँले भन्नुभयो । आँखै अगाडि देखिने हिमाल, डाँडाकाँडा र हिमाली भू-बनोट खयर पदमार्गको थप आकर्षण हो । यस पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, बराह शिखर, गुर्जा, चुरेनलगायत हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोकांक्षा पूरा हुने र रमणीय प्राकृतिक सौन्दर्यमा घुमफिर र रमाउनका लागि हरेक वर्ष खयरक्षेत्र पुग्नेको सङ्ख्या बढ्दै गएको छ । 

पोखराः पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट जहाज उड्ने प्रतीक्षाको घडी अन्त्य भएको छ ।    नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ गतेदेखि उडान सुरु गर्ने निर्णय गरेको छ ।    यस विषयमा जानकारी दिँदै विमानस्थलका इन्जिनियर एवं आयोजना प्रमुख विनेस मुनकर्मीले आइतबारकै निर्णयअनुरुप विमानस्थल सञ्चालन हुने जानकारी दिए । ‘विमानस्थलका सबै काम सम्पन्न भइसक्यो’ मुनकर्मीले भने   ‘झिनामसिना काम सक्न अझै समय बाँकी छ, समितिले तोकेको मितिदेखि विमानस्थ सञ्चालनमा आउँछ ।’   विमानस्थलबाट व्यावसायिक उडानअघि क्यालिब्रेशन फ्लाइट गर्नुपर्ने बताउँदै मुनकर्मीले यसबारे चीनसँग कुरा भइरहेको र छिट्टै जानकारी आउने उनको भनाई छ ।    सम्भवतः अक्टोबर महिनाभित्र क्यालिब्रेशन उडान हुने प्राधिकरणको ठम्याई छ । विमानस्थलको सञ्चालन मिति तोकिएको पुस १७ अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष हो ।   

कोभिड-१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/७८ भन्दा गत आव २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् ।    गत आ.व. २०७८/७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्षको कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए । एक्यापको धारापानीस्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुमति लिएको आधारमा सो तथ्याङ्क सङ्कलन गरिएको प्रमुख गौतमले बताउनुभयो । आव २०७८/७९ को साउनमा दुई, भदौमा २०, असोजमा ३२२, कात्तिकमा एक हजार १५, मङ्सिरमा ३६६, पुसमा ८६, माघमा ५१, फागुनमा ५२८, चैत्रमा दुई हजार ४७, वैशाखमा एक हजार ९३६, जेठमा ४८५ र असारमा १६२ पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।    “जिल्लामा बाह्य पर्यटक भित्रिदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ । बाह्य पर्यटकलाई अनुमति बिना प्रवेश दिइँदैन तर आन्तरिक पर्यटकको भने तथ्याङ्क राखिएको हुँदैन । शुल्क नलिए पनि तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो । आव २०७७/७८ मा कोभिड–१९ को सङ्क्रमणका कारण मनाङमा कूल ६०३ बाह्य पर्यटक भित्रिएकामा सबैभन्दा धेरै सार्क राष्ट्रका थिए। कोरोनाको पहिलो, दोस्रो असरले सताएर सङ्क्रमण कम भएसँगै पर्यटकको आगमन वृद्धि हुन लागेको अवस्थामा पुनः कोरोनाको तेस्रो लहर आएपछि पदमार्ग सुनसान भएको थियो ।   वर्षायाममा सवारीसाधनको आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको थियो । उक्त पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायत मुलुकका नागरिक मनाङको भ्रमणमा आउने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् । पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरेर मुस्ताङ पुग्ने गर्दछन् । थोरालाङ्लाबाट मुस्ताङ हुँदै पोखरा पुग्न अन्नपूर्ण पदमार्गमा केही पर्यटक आउने गर्छन् । उक्त पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारामा छ ।    अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित पैदल यात्राको सुरुवात गर्दछन् ।

  बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित भइसकेको स्थान हो, बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय । शालग्राम सङ्ग्रहालय अहिले निकै  चर्चित छ । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।    बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति निर्माणसँगै सङ्ग्रहालयको महिमा झनै चुलिएर गएको छ । शालग्राम भन्नेबित्तिकै जो–कोहीले पनि भगवान् विष्णु सम्झनछन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दू धर्मावलम्बीले शालग्रामको पूजा–आराधना गर्ने गरे पनि वर्तमान समयमा भने शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा सङ्ग्रह गरी राखिएको शालग्राम सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइएको छ भने बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएको छ ।    बागलुङ नाम बाघको नामसँग जोडिएकाले बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति शालग्राम सङ्ग्रहालयको प्रवेशद्वारमा बनाइएको र शालग्राम दर्शन गर्न आउनेको रोजाइमा बाघको मुख आकर्षणमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “भूमिगतरूपमा शालग्राम सङ्ग्रहालय बनाइएको छ, यसको प्रवेशद्वार भर्खरै मात्र बनाइएको छ । बाघको मुखको आकृति”, उहाँले भन्नुभयो, “कृष्ण गण्डकीको पहिचानका रूपमा रहेको शालग्राम सङ्ग्रहालयसँगै बागलुङको नामाकरणसँग जोडिएको बाघको आकृतिको प्रवेशद्वार अति नै महत्वपूर्ण छ ।”    तिरुपती बालाजीधामभित्र रहेको शालग्राम सङ्ग्रहालयको प्रवेशद्वार नै बाघको आकृतिबाट बनाइएको शालग्राम सङ्ग्रहालयले आफ्नो आन्तरिक आम्दानीबाट रु १५ लाख लागतमा निर्माण गरेको हो । भारत र नेपाली कलाकारको समन्वयमा उक्त १० फिट अग्लो र पाँच फिट चौडाइको आकृति बनाइएको हो ।    भारतीय पर्यटक शालग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनका लागि पुगेका दर्थनार्थीले यहाँको सवा लाख शालग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिकृया दिँदै आएका छन् । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले तीन वर्षअघि शालग्राम निर्माण गरेको हो भने एक दशकदेखि शालग्राम सङ्ग्रह गरेर राखिरहेको थियो ।    मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम सङ्ग्रहालय बनाएपछि शालग्रामप्रेमी दर्थनार्थीको आकर्षण बढ्दो छ ।    भगवान् शिवको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारमा भू-गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थितरूपमा शालग्राम सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण भएका छन् ।    साविकको धवलागिरि अञ्चल सदरमुकाम बागलुङ नगरपालिका-४ कुँुडुले फेदीस्थित रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम सङ्ग्रहालय निर्माण गरिएको छ । झट्ट हेर्दा बाघको मुखभित्र यत्रो संरचना लुकेर रहेको छ भन्ने कुरा कसैलाई विश्वास हुँदैन तर शालग्राम सङ्ग्रहालयका लागि बाघको मुखबाट पसेपछि मात्रै यो कुरा विश्वास लाग्ने भ्रमणमा पुगेका पर्यटक सन्तु लामिछानेले बताउनुभयो ।    मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई बागलुङ भित्र्याउनसमेत यस सङ्ग्रहालयले ठूलो योगदान गरिरहेको छ भने जिल्लाका अन्य पर्यटकीय गन्तव्यलाई समेत चलयमान बनाएको छ । हाल सङ्ग्रहालयमा साना–साना सालग्रामदेखि तीन सय किलोसम्मको शालग्राम सङ्ग्रहित छ । परापूर्वकालदेखि नै शालग्राम सङ्ग्रहित गर्दै आएका स्व स्वामी श्रीधरचार्यको सपना साकार पार्ने काम भएको भन्दै स्थानीय खुसी छन् ।   हिन्दू धर्मावलम्बीका लागि कालो रङको बाटुलो शिला (ढुङ्गा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णव र सनातनीहरूले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका अभियन्ता मानिन्छन् । उहाँको २०५६ सालमा ३९ वर्षको उमेरमा निधन भएको थियो ।