म्याग्दी:   मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढ...

  बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित भइसकेको स्थान हो, बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय । शालग्राम सङ्ग्रहालय अहिले निकै  चर्चित छ । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।    बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति निर्माणसँगै सङ्ग्रहालयको महिमा झनै चुलिएर गएको छ । शालग्राम भन्नेबित्तिकै जो–कोहीले पनि भगवान् विष्णु सम्झनछन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दू धर्मावलम्बीले शालग्रामको पूजा–आराधना गर्ने गरे पनि वर्तमान समयमा भने शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा सङ्ग्रह गरी राखिएको शालग्राम सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइएको छ भने बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएको छ ।    बागलुङ नाम बाघको नामसँग जोडिएकाले बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति शालग्राम सङ्ग्रहालयको प्रवेशद्वारमा बनाइएको र शालग्राम दर्शन गर्न आउनेको रोजाइमा बाघको मुख आकर्षणमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “भूमिगतरूपमा शालग्राम सङ्ग्रहालय बनाइएको छ, यसको प्रवेशद्वार भर्खरै मात्र बनाइएको छ । बाघको मुखको आकृति”, उहाँले भन्नुभयो, “कृष्ण गण्डकीको पहिचानका रूपमा रहेको शालग्राम सङ्ग्रहालयसँगै बागलुङको नामाकरणसँग जोडिएको बाघको आकृतिको प्रवेशद्वार अति नै महत्वपूर्ण छ ।”    तिरुपती बालाजीधामभित्र रहेको शालग्राम सङ्ग्रहालयको प्रवेशद्वार नै बाघको आकृतिबाट बनाइएको शालग्राम सङ्ग्रहालयले आफ्नो आन्तरिक आम्दानीबाट रु १५ लाख लागतमा निर्माण गरेको हो । भारत र नेपाली कलाकारको समन्वयमा उक्त १० फिट अग्लो र पाँच फिट चौडाइको आकृति बनाइएको हो ।    भारतीय पर्यटक शालग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनका लागि पुगेका दर्थनार्थीले यहाँको सवा लाख शालग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिकृया दिँदै आएका छन् । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले तीन वर्षअघि शालग्राम निर्माण गरेको हो भने एक दशकदेखि शालग्राम सङ्ग्रह गरेर राखिरहेको थियो ।    मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम सङ्ग्रहालय बनाएपछि शालग्रामप्रेमी दर्थनार्थीको आकर्षण बढ्दो छ ।    भगवान् शिवको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारमा भू-गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थितरूपमा शालग्राम सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण भएका छन् ।    साविकको धवलागिरि अञ्चल सदरमुकाम बागलुङ नगरपालिका-४ कुँुडुले फेदीस्थित रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम सङ्ग्रहालय निर्माण गरिएको छ । झट्ट हेर्दा बाघको मुखभित्र यत्रो संरचना लुकेर रहेको छ भन्ने कुरा कसैलाई विश्वास हुँदैन तर शालग्राम सङ्ग्रहालयका लागि बाघको मुखबाट पसेपछि मात्रै यो कुरा विश्वास लाग्ने भ्रमणमा पुगेका पर्यटक सन्तु लामिछानेले बताउनुभयो ।    मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई बागलुङ भित्र्याउनसमेत यस सङ्ग्रहालयले ठूलो योगदान गरिरहेको छ भने जिल्लाका अन्य पर्यटकीय गन्तव्यलाई समेत चलयमान बनाएको छ । हाल सङ्ग्रहालयमा साना–साना सालग्रामदेखि तीन सय किलोसम्मको शालग्राम सङ्ग्रहित छ । परापूर्वकालदेखि नै शालग्राम सङ्ग्रहित गर्दै आएका स्व स्वामी श्रीधरचार्यको सपना साकार पार्ने काम भएको भन्दै स्थानीय खुसी छन् ।   हिन्दू धर्मावलम्बीका लागि कालो रङको बाटुलो शिला (ढुङ्गा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णव र सनातनीहरूले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका अभियन्ता मानिन्छन् । उहाँको २०५६ सालमा ३९ वर्षको उमेरमा निधन भएको थियो । 

  सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।   अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।   जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।   कुन महिनामा कति पर्यटक भित्रिए   बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।   बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोत बजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मक रूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताउनुभयो ।    उहाँले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गर्नुभयो । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा एसिया र युरोपियन लगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिनुभयो ।

काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) केही मिनेटपछि रोकिए । त्यसबेला पत्रकार आत्तिएनन् । बरु गोण्डोलामा उभिएरै तस्बिर तथा भिडियो लिन ब्यस्त भए । उनीहरु काठमाडौँ उपत्यका तथा चन्द्रागिरि डाँडो र त्यहाँको जङ्गलको वरपरका दृश्य क्यामेरमा कैद गर्नेतिर लागे ।    यो एक अभ्यास थियो र केबलकारका प्राविधिकहरुले पूर्वजानकारी गराएरै केबलकार रोकेका थिए । त्यसैले पनि गोण्डोलमा रहेका पत्रकार डराएनन् र यसलाई स्वाभाविकरुपमा लिए । पत्रकार चढेका हरेक गोण्डोलामा केबलकारका प्राविधिक र कर्मचरी सहभागी थिए । उनीहरुले पत्रकारलाई आउनसक्ने समस्या र समाधानका उपायबारे बुझाइरहेका थिए । आजको अभ्यास यो केबलकार सुरक्षित छ र कहिलेकाहीँ कुनै प्राविधिक कारणले केही मिनेट रोकिन सक्छ भन्ने जानकारी दिन आयोजना गरिएको थियो । त्यसैले हरेक गोण्डोलामा यहाँका प्राविधिक र पत्रकार राखिएको थियो र उनीहरुले यसका विविध प्राविधि विषयको जानकारी गराइरहेका थिए ।    एक गोण्डोलामा सहभागी हुनुहुन्थ्यो चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल । उहाँ भन्दै हुनुहुन्थ्यो, “यो केबलकारको प्रविधि अर्थात् उत्पादक अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो । यो विश्वकै सबैभन्दा सुरक्षित कम्पनी हो र हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ । यो प्राविधिक विषय हो र पूरैरुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प छन् । त्यस्तै सङ्कट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुदैन् ।”    गोण्डोलामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला’ देखाउँदै ढकालले भन्नुभयो, “यो प्रविधि हो, पूरै सुरक्षित छ, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन ।” हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकियो तर त्यहाँ समाचार भएन भन्दै उहाँले यो एक नियमित प्रक्रिया नै हो तर हामीकहाँ समाचार नै बन्नु विडम्बना हो भन्नुभयो ।    चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्का भन्नुहुन्छ, “मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहन्छ, यसमा यात्रु आत्तिनु पर्दैन, तत्काल नभए केही समयमा समस्या समाधान गरेर केबलकार सञ्चालन गरिन्छ ।”   केही दिनअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेका बेला केबलकार रोकिएको समाचार आएको थियो । त्यस बखत केहीबेर केबलकार रोकिएपछि गोण्डोलामा मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो । सो समाचारतर्फ सङ्केत गर्दै अध्यक्ष ढकालले डिब्बामा सात मिनेट रोकिएर रहेका पत्रकारलाई सोध्नुभयो, “के यहाँहरुलाई सास फेर्न गाह्रो भएको हो , उहाँले डिब्बामा रहेका झ्यालतर्फ देखाउँदै”, भन्नुभयो । हरेक डिब्बामा झ्याल रहेकाले नियमित अक्सिजन आपूर्ति भइरहेको थियो । फेरि केबलकारका माथिल्लो बटम स्टेसन नै दुई हजार तीन सयमात्र उचाइमा रहेकाले यहाँ अक्सिजनको कमी हुने अवस्था पनि नरहेको प्रविधिको भनाइ थियो ।     विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो । यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले आज यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगलत अध्ययन गराई, केबलकारमार्फत बटम स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो ।    अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराउनुभयो । “पहिलो विद्युत्बाट सञ्चालन हुन्छ, विद्युत् गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमरजेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत जति पनि यात्रु गोण्डोलामा हुनुहुन्छ, उहाँहरुलाई सकुसल अवतरण गराउने समयसम्ममा नै काम गर्छ ।”    उहाँले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्करुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिकरुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको जानकारी दिनुभयो ।​केबलकारका इलेक्ट्रिोनिक इञ्जिनीयर सरोज चापागाईं केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गर्नुभयो । उहाँ भन्नुहुन्छ, “यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिकरुपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षितरुपमा सञ्चालनमा आउँछ ।”   “हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ, र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ । यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत मानिसलाई अवतरण गराउँछौँ, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौँ र माथिका यात्रुलाई माथि रिसोर्टमा पनि लैजान्छौँ”, उहाँले थप्नुभयो ।    केबलकारका संस्थापक सञ्चालक अम्बिकाप्रसाद पौडेलले प्रश्न गर्नुभयो, “हिजोको घटनामा चर्चा भएको अवस्था र आज आफैँ पत्रकार चढेरे रोकिएको अवस्थामा कस्तो महसुस गर्नुभयो , भनी प्रश्न गर्नुभयो । 

पोखरा:   पोखरा महानगरपालिका २५ हेमजा  माइस्थानस्थित झण्डै १० रोपनी फाँटको असारे हिलोमा बुधबार विद्यार्थी देखि विदेशी पाहुना रमाए ।    रोपाइ जात्रामा विभिन्न माहौल देखियो । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक दौड, डोरी तान्ने प्रतियोगिता र हिलो दौड प्रतियोगिताकै कारण पोखराको असारे पन्ध्र विशेष बन्यो ।   यस्तो माहौल पोखरामा विगत १७ वर्षदेखि पोखरा पर्यटन परिषद्ले जुराउदै आएको छ । तर गत २ वर्ष भने कोरोना भाइरसको कारण रोपाई जात्राको माहौल जुरेन ।  यसपटक आन्तरिक र वाह्य पर्यटकले खुलेरै रोपाई महोत्सवकाे मजा लिए ।    ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाई महोत्सवमा स्थानीय तथा वाह्य पर्यटक गरेर झण्डै १० हजार बढीको सहभागिता रहेको थियो । १७ तस्बिरमा हेरौं असारे पन्ध्रको रौनक:-   तस्बिर: गिता रानामगर                                

बाँके :       बाँकेको बैजनाथ गाउँपालिका १ गाभरभ्यालीमा विगत ९ वर्षदेखि सामुदायिक घरबास संचालन हुँदै आएको छ ।    कोहलपुरदेखि करिब साढे ८ किलोमिटरको दुरीमा अवस्थित सो होमस्टेको सुरुवात कृष्ण चौधरीले २०७० सालमा एक्लै गरेका थिए । अहिले २५ घर समितिमा आवद्ध भई सेवा प्रदान गर्दै आएका होमस्टे संचालक रमेश प्रसाद जैसीले बताए । उनका अनुसार एक रात घरबास सुविधाको लागि प्रतिव्यक्ति १५ सय देखि २ हजार खर्च हुने गर्छ ।    समितिमा दर्ता भएपनि होमस्टेले प्रदान गर्ने सेवा सुविधाको आधारमा शुल्क तिर्नुपर्ने जैसीले बताए । उनका अनुसार चौधरी, ब्राह्मण र क्षेत्री लगायतका समुदायले होमस्टे संचालन गर्दै आएका छन्  । गाभरभ्याली सामुदायिक होम्स्टेमा पोखरा, बुटवल, काठमाडौं, रुपन्देही लगायतको स्थानबाट पाहुनाहरु आउँने गर्दछन ।  हेरौं तस्वीरहर  :                                                  

कास्की:  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित एक महिने भारत भ्रमणमा निस्केको डुलुवा टोलीले भारतीय मिडियामा स्थान पाएको छ ।    योगेश भट्टराईको नेतृत्वमा एक महिने भ्रमणमा निस्केको टोलीलाई विशेष चाँसोका साथ भारतीय मिडियाले कभरेज गरेको हो ।   गत जुन ५ तारिखमा निस्केको टोलीले ‘राइड एण्ड ग्लाइड’ को नारा सहित भारतीय पर्यटकलाई निम्तो दिने लक्ष्यसहित भारत भ्रमणमा हानिएको थियो ।    अहिले भारतको विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गरिरहेको डुलुला टोली नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले खुशी व्यक्त गरिरहेका छन् ।

लमजुङ:       जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको छ ।        नमूना घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनास, भलामचौर, भुस्मे, नरुवाललगायत घरवासमा गत चैत १५ गतेयता मुस्किलले १०/१५ जना आउने गरेका छन् । स्थानीय तह निर्वाचनको चुनाव र बर्खा लाग्दा पर्यटक आगमन ह्वात्तै घटेको सञ्चालक बताउँछन् । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरवासमा चुनाव अघिसम्म दैनिक डेढ सयदेखि २०० पर्यटक आउने गरेका थिए । त्यसयता ३०/४० जना मात्र आउने गरेको सञ्चालक दिर्घ घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्दै गर्दा फेरी पर्यटक आउन छाडेका छन् । पर्यटक नआउँदा आम्दानी रोकिएको छ ।”      वर्खा लागेकाले घरवास सञ्चालक चिन्तित बनेका छन् । “भदौयता पर्यटक आउने सम्भावना कमै छ, आम्दानी हुन छाड्यो, घर खर्च चलाउन समस्या भयो”, घरवास सञ्चालक काशी गुरुङले भन्नुभयो । विसं २०५७ देखि सञ्चालित उक्त क्षेत्रमा यतिबेला ३७ घरवास सञ्चालनमा छन् । पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।       घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा छ । यो आदिवासी जनजाति गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ पनि हो । यहाँबाट ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल, ७ हजार ८३५ मिटरको ङादीचुली (डा हर्क हिमाल), ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६७२ मिटर अग्लो बुद्व हिमालको अवलोकन गर्न सकिन्छ ।        यहाँ घलेराजामध्ये अन्तिम ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउँने पर्यटकलाई घरवास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन् । पर्यटकलाई सत्कारसँगसँगै आफ्ना कला संस्कृति जोगाइ राख्न जुटेका गुरुङसेनीको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत सांस्कृतिक नृत्य प्रस्तुत हुने गर्दछ ।       समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको बेँसीशहर नगरपालिका–३ लमजुङ दरबार नजिकै रहेको काउलेपानी घरवासमा पनि वैशाखयता पर्यटक नआउँदा सुनसान छ । काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले भन्नुभयो, “लामो समयदेखि पर्यटक आएका छैनन्, झन् अब बर्खा लाग्न थाल्यो, घरवाससम्म आउनका लागि बाटो पनि राम्रो छैन, केही महिना सुनसान नै हुने देखिन्छ ।” विगतमा यहाँ दैनिक ४०० देखि ५०० पर्यटक  आउने गरेका थिए ।     सन् २०११ बाट सञ्चालनमा आएको यस क्षेत्रका १५ घरमा घरवासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको बसोबास छ । काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डाक्टर हर्कपिकलगायत हिमश्रृङ्खला देख्न सकिन्छ । शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार र सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । यहाँ प्रतिपर्यटकले एक रातको रु एक हजार ५० तिर्नु पर्छ ।       गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ । स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत गरी पर्यटकलाई सँगसँगै नचाउने गर्छन् । बेँसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदल दुई घण्टा लाग्छ । पैदल यात्रुका लागि सिँढी निर्माण गरिएका छन् । यहाँ पुग्ने सडकको स्तरोन्नति गरिएको छ ।   

ढोरपाटन:  गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक गुरुयोजना बनाउने भएको छ ।   गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ढोरपाटन क्षेत्रमा पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्ने नीति लिएको हो ।   नीति तथा कार्यक्रममा समेट्दै भनिएको छ, “ढोरपाटनलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना तयार गरिने छ ।” नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन साहसिक पर्यटनका लागि प्रसिद्ध छ । विदेशी पर्यटकले मात्रै शिकार गर्न पाउने आरक्षमा आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन् ।   विदेशी शिकारीका सहयोगीका रूपमा आरक्ष क्षेत्रको सबै ब्लकमा बाहेक आन्तरिक पर्यटक सीमित क्षेत्रमा मात्रै पुग्छन् । ढोरपाटन नगरपालिका–९ देउराली कटेपछि उपत्यका देखिन्छ ।   उपत्यकाभन्दा माथि धेरै बस्ती नहुनु, शिकार आरक्ष क्षेत्रमा रहेका घुम्न मिल्ने ठाउँका विषयमा जानकारी नहुनु र पहुँचमार्गको अभावमा ढोरपाटन पुग्ने पर्यटक विरलै त्यहाँभन्दा माथि पुग्छन् । शिकार आरक्षको कार्यालय पुगेका पर्यटकले आरक्षमा हुने शिकार, पाइने वन्यजन्तु र जडीबुटीको जानकारी त लिन्छन् तर गहिराइमा पुग्न सम्बन्धित क्षेत्रमा पुग्नै पर्छ ।   ढोरपाटन शिकार आरक्षका सबै ब्लकमा पर्यटक पुग्ने गरी कार्यक्रम र पूर्वाधार तयार गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाले आवाज उठाउँदै आएका थिए । ढोरपाटनमा घुम्न मिल्ने ठाउँको विकास गर्नसके पर्यटकका लागि राम्रो गन्तव्य हुने शिकार अरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेल बताउनुहुन्छ ।   शिकार आरक्षको व्यवस्थापन पक्षले बनाएको योजनाअनुसार गुरुयोजना तयार हुँदा ढोरपाटन बागलुङमा पर्यटनको हब बन्छ । शिकारका लागि आउने साहसिक शिकारीमात्रै ढोरपाटन शिकार आरक्षका विभिन्न ब्लकमा पुग्छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रको सबैभन्दा नजिकको पुग्नैपर्ने गन्तव्य हो, म्याग्दी जिल्लाको सिमानामा पर्ने जलजला ।   ढोरपाटन उपत्यकाबाट २४ किलोमिटर दूरीमा पर्ने जलजलाको बीचमा पर्छ गुर्जाघाट । ढोरपाटन, गुर्जाघाट हुँदै जलजला पुग्न पदमार्गको निर्माण तथा स्तरोन्नतिमा शिकार आरक्ष कार्यालय लागेको छ ।

पोखरा:   आन्तरिक तथा बाह्य (भारतीय) पर्यटकलाई निम्तो दिनको लागि ‘डुलुवा’ को टिम एकमहिने यात्रामा भारत प्रस्थान गरेको छ  । ‘पहिला देश अनि विदेश’ भन्ने नारासहित नेपालका विभिन्न पर्यटकीय गन्तव्य पुगिसेको टोली आजै (आइतबार) छिमेकी राष्ट्र भारत प्रस्थान गरेको हो ।   यात्रा तयगर्नुपूर्व आयोजित पत्रकार सम्मेलन मार्फत सेलाएको पर्यटकीय गतिविधिलाई चलायमान बनाउनका लागि निम्तो दिन नेपालका विभिन्न जिल्लासँगै भारत पुग्ने टोली नेता योगश भट्टराईले बताए ।   उनका अनुसार उक्त टोली भारतको मनाली, सिम्ला, देहरादुन, कार्गिल, लदाख, अमृतशहर, कश्मिर र नैनीताल पुग्नेछ । भने उक्त टोली जुलाई ५ तारिखमा बुटवल हुदै पोखरा फर्किकेछ ।   टोली नेता भट्टराईले जीपमार्फत यात्रा गरिने बताउदै सम्भावित स्थानमा प्याराग्लाईडिङ समेत गर्ने कार्यक्रम रहेको बताए । उनले एकमहिने यात्राको उद्देश्य अधिकतम मात्रामा पर्यटकलाई निम्तो बाँड्ने रहेको बताएका थिए ।   को–को छन् ‘डुलुवा’ समुहमा ?  योगेश भट्टराईको नेतृत्वमा आज निस्केको टोलीमा सरोज भट्टराई, सुनिल बहादुर भट्टराई, बसन्त महत, सुमन भट्टराई, भरत तिमिल्सिना, घनश्याम गौतम, अनिल केसी, विशेष थापा, अमित थापा, अमृत ढकाल,  विजय ढकाल, ठाकुर बराल, सुशान्त भट्टराई, रामराज गौतम, अभिषेक, नुरेन राना, रोशन गिरी र विकास भट्टराई रहेका छन् ।   उनीहरुले एक महिनाको यात्राको क्रममा गरेका हरेक गतिविधि ‘अफिसियल डुलुवा’ नामक युट्युब च्यानलमा सार्वजनिक गर्नेछन् ।   कसरी जुर्याे ‘डुलुवा’ ? सन् २००८ देखि प्याराग्लाइडिङ व्यवसायमा आवद्ध रहेका टोली नेता योगश भट्टराईले आफु शाहसिक यात्रामा रम्न मन पराउने बताए ।   उनका अनुसार पदयात्रा जस्ता शाहसिक कार्यमा रुचिराख्ने पोखरेली युवा जमातको साथमा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गुरुङ गाउँ ताङतिङमा जाने क्रममा ‘डुलुवा’ नाम जुराएको हो । अहिले सोही समुह ‘डुलुवा’ नामबाट लोकप्रिय हुदै आएको छ ।   यसको मुख्य योजनाकार र अगुवाई योगेश भट्टराईले नै गर्दै आएका छन् । सो टोलीले नेपालको ७० जिल्लाको यात्रा सकिसकेको छ । भने विभिन्न गाउँका सामुदायिक विद्यालयहरुमा खेलकुद तथा शैक्षिक सामाग्रीहरु समेत सहयोग गर्दै आएको छ । डुलुवा’लाई पर्यटन व्यवसायीको शुभकामना पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पर्यटन व्यवसायी नरेश भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।   सो अवसरमा बोल्दै उनीहरुले गरेको प्रर्वद्धनात्मक  कार्य निकै प्रसंशनीय रहेको उल्लेख गरेका थिए । ‘डुलुवा’को यात्राले पोखरामा थप पर्यटक भित्राउन मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका थिए ।    यसैगरि भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भारतको यात्रामा निस्कनु आफैमा उदाहरणीय कार्य रहेको धारणा राखे । उनले भारतको प्रख्यात तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रमा पुग्न सुझाव दिदै आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।     एक महिने यात्रामा निस्केको टोलीलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायत संस्थाले साथ दिएको छ ।