पोखरा १३ का विपन्न तथा मजदुरले पाए निशुल्क स्वास्थ्य बिमा कार्ड
पाेखरा | कात्तिक १७, २०८०
पोखरा: पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका १०९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै खत्रीले वडाले राम्रो काम गरेको बताए । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उनले उल्लेख गरे । “बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको हो ।”, उनले भने ।
खत्रीले स्वास्थ्य बिमा कार्डको सदुपयोग गर्नुपर्ने विषयलाई समेत सुझाएका छन् । बिरामी भएको बेला निर्धक्क उपचार गर्न नागरिकले पाउन् भनेर निशुल्क स्वास्थ्य बिमा कार्ड दिइएको उनले बताए । निशुल्क स्वास्थ्य बिमा कार्डको नविकरणबाट नेपाल सरकारको ढुकुटीमा एक अर्ब जम्मा हुने तर खर्च भने १० अर्ब रुपैयाँ रहेको उनले जनाए । नागरिकलाई स्वास्थ्य सुरक्षा दिन सरकार प्रतिबद्ध भएर लागिरहेको भनाई उनको छ ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य स्वरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको जानकारी गराए । उनले यसअघि पनि वडाले स्वास्थ्य क्षेत्रका गतिविधि गर्दै आएको उल्लेख गरे । “वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने लक्ष्य छ ।
हाम्रो कार्यकाल सम्म निशुल्क स्वास्थ्य बिमाको कार्यन्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ । पैसाको अभावमा उपचार नपाएर अब कोहि पनि मर्नुपर्ने अवस्था आउने छैन ।”, उनले भने । वडा सँधै नागरिकको साथमा रहेको अभिव्यक्ति उनको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निशुल्क स्वास्थ्य बिमा कार्ड मार्फत सेवा पाउने वडाले जनाएको छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुका लागि स्वास्थ्य उपचार कठिन हुने भएकाले वडाले निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरणको अवधारणा ल्याएको हो ।
स्वास्थ्य क्षेत्रमा वडाले गरेका काम प्रशंसनिय रहेको स्थानीय भनाई छ । स्वास्थ्य बिमा कार्ड वितरणले निम्न वर्गीय वडाबासीका समस्याको समाधान हुने विश्वास वडाको छ । यस अलवा वडामा भिटामिन “ए” र जुकाको औषधि समेत खुवाइदै छ । शुक्रबार (आज) देखि शनिबार (भोली) सम्म चल्ने उक्त कार्यक्रममा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै गरेको वडाले जानकारी गराएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

