सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती
म्याग्दी | मंसिर २२, २०८०

म्याग्दी: केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ ।
पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए ।
पछिल्ला वर्षमा घोडेपानीका होटल व्यवसायीले पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पुराना होटल व्यवसायीले होटलको क्षमता र सुविधा बढाएका छन् । पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीले अहिले घोडेपानीमा पक्की घर नै बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् ।
होटलको क्षमता र सुविधा विस्तारले पर्यटकलाई सुविधा पुगे पनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या घट्दै गएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनुभयो ।
“घोडेपानीमा एक दिनमा एक हजार दुई सय जनालाई सहजैरूपमा खाना र बसोबासको प्रबन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटक आउने सङ्ख्या हरेक वर्ष घट्दै गएको छ”, उहाँले भन्नुभयो ।
गत साउनदेखि मङ्सिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
विगतका वर्षको तुलनामा यस वर्षको विदेशी पर्यटकको सङ्ख्या कम रहेको होटल व्यवसायी बताउँछन् । घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ ।
जर्मनका १२ पर्यटकलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याउनुभएका मल्टि एडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको बताउनुभयो ।
विगत २० वर्षदेखि अन्नपूर्णलगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्नेगरी खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको रोजाइ घट्दो रहेको बताउनुभयो ।
सडकको पहुँचले आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–शिख–चित्रे हुँदै घोडेपानीसम्म सडक पुगे पनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, सङ्घसंस्था, समूहबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने बढेका छन् ।
आन्तरिक पर्यटक बढे पनि समग्रमा पर्यटन क्षेत्रको प्रभाव विदेशी पर्यटकमै निर्भर हुने भएकाले विदशी पर्यटकको आगमन घट्दै जाँदा पर्यटन व्यवसायी चिन्तित छन् । पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्गमध्येमा पर्ने पोखरेबगर–घार–शिख–चित्रे–घोडेपानी पदमार्ग पूर्णरूपमा सडकले विस्थापित गरेको छ ।
यो पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी दूरविनडाँडा, घार, शिखलगायतका क्षेत्रमा खोलिएका होटल पूर्णरूपमा बन्द भइसकेका छन् । घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गमध्ये कास्कीबाट उल्लेरी हुँदै आउने पदमार्गसमेत अधिकांश सडकले मासिएको भन्दै पथप्रदर्शक चिन्तित छन् ।
सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरी सडकको नक्सा¬ङ्कन र विस्तार गर्न उनीहरूले माग गरेका छन् । घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फूलबारी हुँदैसमेत पर्यटक पुग्ने गर्छन् ।
गण्डकी: पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदल...
पोखरा: लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...