पोखरा–१४ मा प्रथम स्थानीय महोत्सव सुरु
पाेखरा | फागुन ६, २०८०

पोखरा: पोखरा महानगरपालिका–१४ छिनेडाँडामा प्रथम स्थानीय महोत्सव सुरु भएको छ । ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित पोखरा–१४ को आयोजनामा प्रथम स्थानीय महोत्सव सुरु भएको हो ।
पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।
सो अवसरमा बोल्दै मेयर आचार्यले मेला महोत्सवले व्यवसायीकरण र बजारीकरणका लागि योगदान पुर्याउने धारणा राखे ।
‘मेला महोत्सवमा उत्पादित बस्तुहरुको व्यवसायीकरण र बजारीकरण गर्ने थलो छ, विभिन्न उत्पादक वस्तुहरुको प्रचारप्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका प्रदान गर्दछ, मेयर आचार्यले भने, ‘पोखरा–१४ ले आयोजना गरेको स्थानीय महोत्सवले वडा भित्र उत्पादन हुने कृषि तथा उत्पादनशील वस्तुहरुको बजारीकरणका लागि सहयोग पुग्नेछ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वडामा आउने सडक रातको समयमा अन्धकार बन्ने गरेको गुनासो आएकाले त्यसलाई चाँडै नै बत्ती जोड्न समन्वय भइरहेको बताए ।
पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।
‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकर्ण कार्कीले वडादेखि विभिन्न क्लब संघसंस्थाले आयोजना गर्ने मेला महोत्सवले व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
पूर्व वडाध्यक्ष सम्मानित
पोखरा महानगरपालिका–१४ ले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा पूर्व वडाध्यक्ष र कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
महोत्सवको अवसरमा तत्कालिन पोखरा नगरहुँदाका १४ र १८ वडाका पूर्ववडाध्यक्षलाई सम्मान गरिएको हो ।
वडा कार्यालयले महोत्सवको अवसरमा पूर्व वडाध्यक्ष स्वर्गीय तोरणबहादुर केसी, कोमल बहादुर गुरुङ, स्वर्गीय दुर्गाबहादुर कार्की, स्वर्गीय प्रेमबहादुर परियार, जगत बहादुर कार्की, क्षेत्रबहादुर केसी, प्रेमबहादुर कार्की र वडाका कर्मचारीहरुलाई सम्मान गरेको हो ।
महोत्सवमा १ सय स्टल
दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा वडाले १ सय वटा स्टल निर्माण गरेको छ । स्थानीय महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरेको वडाध्यक्ष कार्कीले बताए ।
महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामानहरु महोत्सवमा राखिएको छ ।
सोमबारसम्म सञ्चालन हुने महोत्सवमा पोखरा–१४ भित्रका टोलस्तरीय रस्साकस्सी प्रतियोगिता, आमासमूहबीच रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक रामजी केसीले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहने उनले बताए ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...