बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका

बाग्लुङ | बैशाख २८, २०८१

बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका

बागलुङ:   यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते हुनुभयो । घाइते बुढामगर र घर्तीमगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । 

 

आगलागीमा परी मृत्यु हुनुभएका देवसिंहको पारिवारिक अवस्था निकै कमजोर छ । ज्याला मजदुरी गरी परिवारको लालनपालनमा गर्दै आउनुभएका कामीको मृत्युले यतिबेला उहाँको परिवार विछिप्त छ । समस्यामा परेको उहाँको परिवारलाई तमानखोला गाउँपालिकाले मलम लगाउने प्रयास गरिरहेको छ । देवसिंहको मृत्यु भएको केही दिनमै गाउँपालिकाले घरमै पुगेर एक लाख राहत उपलब्ध गराएको थियो । घाइते दुवै जनाको उपचारका लागि ७५–७५ हजार सहयोग गरेको छ । 

 

मृतक कामीको आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिकाले उहाँका कान्छा छोरा टोपबहादुर विकलाई कक्षा १२ कक्षासम्म बालगृहमा राखेर पढाउने निर्णय गरेको । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । टोपबहादुरले अहिले कक्षा ९ मा पढ्दै हुनुहुन्छ । देवसिंहको परिवारमा दुई छोरा, दुई छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्ष अगाडिनै पढाई छोडेका थिए । कान्छि छोरी अझै विद्यालय जान थाल्नुभएको छैन ।

 

गाउँपालिकाले तीन वर्षदेखि वडा नम्बर ३ तमान गाउँमा बालगृह सञ्चालन गरेर अनाथ तथा बेसहारा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्मा लिएको छ । बुबाको मृत्युपछि पारिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी हुनुभएको छ । 

 

अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उहाँले बताउनुभयो । “बाबाले अरुको ज्याला मजदुरी गरेर हामीहरुलाई पाल्नुभएको थियो, जसोतसो पढाउँदै आउनुभएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरो लागि ठूलो योगदान गर्ने भयो”, टोपबहादुरले भन्नुभयो, “मैले मेहनत गरेर पढ्नुपर्छ, बाबाले देखेको सपना पूरा गर्नेछु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।” 

 

गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका छन् । गाउँपालिका अध्यक्ष बुढामगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको सुख दुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षादिक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, कक्षा १२ सम्म पढाउने, विभिन्न किसिमका सीपमूलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढामगरले बताउनुभयो । 

 

उहाँका अनुसार पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गर्दै आएको हो । बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । बालगृह सञ्चालनमा आएपछि धेरै बालबालिका शिक्षाको पहुँचमा आएको भन्दै सेवा पनि गुणस्तरीय दिने गरी काम गरिरहेको अध्यक्ष बुढामगरको भनाइ छ ।

 

“खास गरी आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरि उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने कामको थालनी गरेका छौँ यसले धेरैलाई राहत मिलेको छ”, उहाँले भन्नुभयो, “बालगृहमा बस्न थालेपछि बालबालिकाको पढाइमा पनि सुधार भएको छ, उहाँहरुलाई यहाँ आश्रय मात्रै दिने होइन, असल र दक्ष नागरिक बनाउने हाम्रो जिम्मेवारी हो, सोहीअनुसार काम गरी रहेका छौँ ।” 

पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

थप पढ्नुहोस्

पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...

थप पढ्नुहोस्

पोखरा:   छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...

थप पढ्नुहोस्