प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

बाग्लुङ | मंसिर २८, २०८१

प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

ढोरपाटन:   परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् ।


जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् । 


धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सन नेपालको सहकार्यमा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण उपलब्ध गराएपछि अहिले गुणस्तरीय दूध उत्पादन गर्न थालेका हुन् । दुई पालिकाका आठवटा दुग्ध उत्पादन सहकारीमा आबद्ध र ४२ वटा व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको थियो ।

 
किसानलाई मिल्क एनालाइजर, सोलार वाटर हिटर, चापकटरलगायत आधुनिक उपकरण उपलब्ध गराइएको धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर साजन आचार्यले जानकारी दिनुभयो । 


बागलुङ र काठेखोलाका दुग्ध उत्पादक सहकारी, सङ्घ र व्यक्तिगत फार्ममा आबद्ध किसानलाई गत असोजमा उक्त उपकरण उपलब्ध गराइएको उहाँको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार दुई पालिकामा रू ५९ लाख ७५ हजार पाँच सय लगानी गरेको छ ।


काठेखोला गाउँपालिका–८ लेखानीस्थित गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गुणाखर कँडेलले आधुनिक उपकरण प्रयोग गर्न थालेपछि किसानल दूधको गुणस्तर बढाउन लागेको बताउनुभयो । 


दूधको गुणस्तर बढेपछि उचित मूल्य पाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँका किसानले उत्पादन गरेको दूधको गुणस्तर मापन गर्न निकै झण्झटिलो रहेको अहिले सहज बनेको अध्यक्ष कँडेलले बताउनुभयो ।


काठेखोला गाउँपालिका–६ का दुग्ध उत्पादक किसान सुरेश कँडेलले आधुनिक उपकरणको प्रयोग गर्न थालेपछि पशुचौपाया निरोगी हुँदै गएपछि दूध उत्पादन पनि बढेको बताउनुभयो । 


आफूले सोलार वाटर हिटर प्राप्त गरेपछि भैँसीलाई समय–समयमा तातोपानीले नुहाइदिएपछि निरोगी भएको सुनाउँदै धुँवारहित गोठ बनेको उहाँको भनाइ छ ।


कँडेलले भन्नुभयो, “पहिले गोठमै कुँडो पकाउनुपथ्र्यो, धुँवाले गर्दा वस्तुभाउ बिरामी पर्थे, दाउराको खपत बढी हुन्थ्यो, तर अहिले सोलारबाट पानी तताउन थालेपछि समयको बचतसँगै घरगोठ धुँवारहित बनेको छ, यसले मान्छेको स्वास्थ्यमा समेत असर गरेको छैन भने दूध पनि पहिलेको तुलनामा केही बढी उत्पादन हुन थालेको छ ।”


धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङकी अध्यक्ष सिर्जना थापाले किसानलाई प्रविधिसँग जोडेर जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले आधुनिक उपकरण अनुदानमा सहयोग गरेको बताउनुभयो । 


किसानले उपकरणको प्रयोग गर्न थालेपछि दूध उत्पादनमा थप मद्दत पुगेको उहाँको भनाइ छ । प्रविधिको प्रयोग गरेको छोटो समयमै उनीहरूको व्यवसाय राम्रो हुँदै गएको अध्यक्ष थापाले बताउनुभयो ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्