सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

तनहुँ | माघ २५, २०८१

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । 


व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो ।


मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरपालिकामा पहिलो पटक केशवटार माविबाट मगरभाषाको पढाई सुरू गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर सङ्घले बनाएको नीति र स्थानीय पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन गरिएको छ ।


केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको शुभारम्भ नगरप्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो । 


मगर भाषाको पढाइ सञ्चालनका लागि नगरपालिकाकै सहयोगमा पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो । मगर भाषा संरक्षणका लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ ।


तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन् । पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो । 


यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पुर्‍याएको र सिकाइमा प्रभावकारिता ल्याएको नेपाल मगर सङ्घका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापाले बताउनुभयो । 


तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिनुभएको थियो । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए । 

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्