महासङ्घको समन्वयमा एक सय ६३ पत्रकारले बनाए राष्ट्रिय परिचयपत्र

काठमाडाैं | साउन २१, २०७९

महासङ्घको समन्वयमा एक सय ६३ पत्रकारले बनाए राष्ट्रिय परिचयपत्र

 

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा ललितपुरमा क्रियाशील पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा आज जिल्लामा क्रियाशील एक सय ६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो ।

 

कार्यक्षेत्रमा खटिनुपर्ने पत्रकारलाई सरकारले चलाएको अभियानमा सहभागी गराइएको न्यौपानेले बताउनुभयो । “जिल्लामा आबद्ध पत्रकार कार्यक्षेत्रमा व्यस्त हुनुपर्दा घन्टौँ लाइनमा बस्न सम्भव थिएन”, न्यौपानेले भन्नुभयो, “राज्यको अभियानमा पत्रकार सहभागी भएर आम नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन उत्प्रेरित गर्ने योजनाले महासङ्घले समन्वय गरेको हो ।” 

 

सरकारको अभियानमा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र ब्यस्ततालाई हेक्का राखेर राष्ट्रिय परिचयपत्र बनाउन साथ दिएको बताउनुभयो ।


 
“सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने सरकारको मान्यता छ, हामी प्रशासनले पनि ललितपुरका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण गर्दै आएका छौँ”, प्रजिअ उपाध्यायले भन्नुभयो, “यो अभियानमा कोही नछुटुन् भन्ने कोसिस हो, त्यसमा पत्रकार महासङ्घको भूमिकाले नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सन्देश गयो ।”

 

राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय एकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको बताउनुभयो । “सरकारको राष्ट्रिय अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ”, राउतले भन्नुभयो, “समयमै राष्ट्रिय परिचयपत्र बनाए सहज हुनेछ ।” अन्य बेलामा प्रशासनमा भीडभाड बढी हुने भएकाले सार्वजनिक बिदाका दिन सेवा दिएको उहाँले बताउनुभयो ।


 
“सरकारको राष्ट्रिय अभियान सफल पार्न र जनताको सेवा जुनसुकै बेला गर्न हामी तयार छौँ”, राउतले थप्नुभयो । शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाइएको थियो । सार्वजनिक बिदाका दिन भएकाले पत्रकार महासङ्घसँग सहकार्य गर्न सहज भएको राष्ट्रिय परिचयपत्र एकाइका व्यवस्थापन कक्षका सुपरभाइजर साजन न्यौपानेले बताउनुभयो ।

 

“पासपोर्ट बनाउनका लागि मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने जस्तो भयो र अरु दिन निकै भीड भयो”, न्यौपानेले भन्नुभयो, “खासमा राज्यले सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गरेको छ । हामीले सार्वजनिक बिदाका दिन पनि सेवा दिएर भीड कम गराउन खोजेका हौँ ।” 

 

ललितपुर महानगरका १ देखि १४, १६, १७, १९ र २० नं वडामा वडास्तरीय अभियान चलिराखेको र बाँकी ११ वटा वडामा पनि यही साउन मसान्तभित्रमा अभियान सञ्चालन गरिने राउतले बताउनुभयो । ललितपुर जिल्लाको महानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ ।
–––

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।   बुद्धटोल युवा क्लबको आ...

थप पढ्नुहोस्

भारतले साफ यु‌ १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ।   भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत ...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शनिबार) ८ खेल सकिएका छन् ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रति...

थप पढ्नुहोस्