म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
म्याग्दी | साउन १८, २०८२
म्याग्दीः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४ उपभोक्ता थपिएका जनाएको छ ।
केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उहाँले बताउनुभयो ।
गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ ।
उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ ।
यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युत्का ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताउनुभयो । आव २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८, २०७८र७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ ।
पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ७३ लाख ९५ हजार ७९७ दशमलव ७१ युनिट विद्युत् खपत हुँदा रु २० करोड ३३ लाख ६३ हजार ३८१ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने एक सय ४५ जना ग्राहकको लाइन काटेर रु १३ लाख ४५ हजार ४०७ बक्यौता असुल गरिएको छ ।
साठी दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र छ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका एक जनाबाट रु ७७ हजार महसुल उठाएको र थप ११ जनाबाट रु दुई लाख ७८ हजार ९०४ उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख श्याम रानाले बताउनुभयो ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

