‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने भट्टराईको राजनीतिक आदर्श राजनीति शिक्षामा अपरिहार्य छ :पूर्व राष्ट्रपति, यादव

तनहुँका राजनीतिक तथा सामाजिक नेता स्व। तारापति भट्टराईको स्मृति ग्रन्थ लोकार्पण

पाेखरा | साउन १८, २०८२

‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने भट्टराईको राजनीतिक आदर्श राजनीति शिक्षामा अपरिहार्य छ :पूर्व राष्ट्रपति, यादव

काठमाडौं:   पूर्व राष्ट्रपति रामवरण यादवले तनहुँको राजनीतिक तथा सामाजिक नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक आदर्श अहिले राजनीतिक शिक्षामा अपरिहार्य भएको बताउनुभएको छ । 


काठमाडौँमा तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको भट्टराईको स्मृति ग्रन्थ लोकार्पण गर्दै उहाँले, युवा पुस्तामा निष्ठा र आदर्शको राजनीति सिकाउन अग्रजहरुको योगदान अभिलेखन र पुस्तान्तरण गर्नु पर्ने बताउनुभयो ।


‘संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक अभ्यास देशले उपयोग गरिरहेको छ । यसमा केही राम्रा अभ्यास भएका छन् । केही विकृति पनि देखिएका छन् । अहिले राम्रा काम र प्राप्त उपलब्धिका विषयमा कुरा नै हुँदैन । खाली नराम्रा कुरा मात्र गरिन्छन् । यसकारण राम्रा कुराको प्रवर्धन गर्दै विकृतिलाई सच्याउँदै जानु पर्ने आवश्यकतालाई अग्रजले देखाएको निष्ठालाई सिकाइ बनाउन सकिन्छ ।’ उहाँको भनाइ थियो । उहाँले, स्व। भट्टराईले आफू पाउन नभइ जनतालाई दिन गर्नु भएको योगदान, पुस्तान्तरणका लागि उपयुक्त सिकाइ भएको उल्लेख गर्नुभयो । 


कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेश सभा सदस्यहरु अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्ला गण्डकी नगरका प्रमुख कृष्णराज पण्डितसहितका वक्ताहरुले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शकका रुपमा चर्चा गर्नुभयो । 


यस्तै पूर्वमन्त्रीहरु अर्जुननरसिंह केसी, शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्य, संविधान सभा सदस्य रामचन्द्र पाखरेल लगायत वक्ताले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईको योजना आधार भएको उल्लेख गर्नुभयो । राजनीतिमा निष्ठा र आदर्शको प्रवर्धनका लागि तारापतिजस्ता अगुवाका बारेमा स्थानीय सरकारले जनताको इतिहासका रुपमा अभिलेखन गर्नु पर्ने उहाँहरुको सुझाव थियो ।  

कार्यक्रममा उहाँका समकालीनहरु गोपीबहादुर गुरुङ्सहितका वक्ताहरुले भट्टराईको राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनका बारेमा चर्चा गर्नुभएको थियो । यसरी बोल्ने वक्ताहरुले तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सार्न, जिल्लामा सडक, ढल निकास र खानेपानीको सुविधाका लागि पूर्वाधार निर्माण गर्न, शैक्षिक सुधार गर्न तथा पञ्चायत शासनमा बसेर लोकतान्त्रिक अभियान सञ्चालन गर्न उहाँले गर्नुभएका क्रियाकलापका विषयमा चर्चा गर्नुभएको थियो ।   


स्मृति ग्रन्थमा समकालीन राजनीतिक र सामाजिक क्षेत्रका ४० जना लेखकले भट्टराईसँग सम्बन्धित घटना र विषयसँग सम्बन्धित लेख समावेश छन् । 


प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाउनु भएको बाटो बर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राख्नुभयो ।


स्व. नेता भट्टराईको संक्षिप्त चिनारी 


१९८९ चैत्र १ गते जन्मनुभएका तारापति भट्टराई नेपाली कांग्रेसका सरल र सादगी नेता हुनुहुन्थ्यो । २०६१ साल असार २१ गते परमधाम हुनुभएका भट्टराईले जीवनभर प्रजातन्त्रमार्फत नागरिक स्वतन्त्रता र सरल जीवनयापनका लागि राजनीतिक तथा सामाजिक नेतृत्व गर्नुभयो । ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक दर्शन उहाँको जीवनको अनुकरणीय पक्ष हो । 


यसका लागि उहाँले रुपान्तरणका लागि अभियान र कार्यक्रम सञ्चालन गर्नुभयो । २००७ सालदेखि राजनीतिक नेतृत्वमा उहाँको महत्वपूर्ण भूमिका छ । शासन व्यवस्था परिवर्तनका अनेक आयाममा नेतृत्व गर्नुभएका भट्टराईले पञ्चायत कालमा पदीय दायित्व ग्रहण गर्दै प्रजातन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा काम गर्नुभयो । नेपाली कांग्रेसले सञ्चालन गरेको भद्र अवज्ञा आन्दोलनलगायत अभियानमा उहाँको अग्रणी भूमिका थियो । 


२०१५ सालमा राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका लागि पैदल भ्रमण गएका बेला सदरमुकाम बन्दीपुर थियो । सदरमुकाम जान आउन ढोर, रिसिङ्ग, घिरिङ्गलगायत पश्चिम तनहूँका जनतालाई ३र४ दिन हिड्नुपर्ने नदीनाला, अनगिन्ती खोला पार गर्नु परेकोले मर्का परेको जनाउँदै उहाँले दमौली वा खैरेनीटारमा सदरमुकाम सार्न निवेदन गर्नुभएको थियो । 


२०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता भट्टराई २०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकार विघटन, संसदीय व्यवस्था माथि प्रतिबन्ध र राजनेताहरूको गिरफ्तारी गर्ने राजा महेन्द्रको कदम विरुद्ध अभियान सञ्चालन गर्दा कष्टपूर्ण जेल जीवन बिताउनु परेको थियो । 


२०१८ सालमा जनताको पक्षमा कार्य गर्ने उद्देश्यले पञ्चायतको चुनावमा सरिक हुनुभयो । तनहुँको तत्कालीन राईपुर गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित हुनुभयो । उहाँको सक्रियता र अभियानको समर्थन गर्दै तनहुँबासीले २०२० सालमा उहाँलाई जिल्ला पञ्चायत सदस्यमा निर्वाचित गरे । 


तनहुँको सदरमुकाम बन्दीपुरबाट जिल्लाको केन्द्र भाग दमौलीमा सार्ने, दमौलीमा सदरमुकाम सार्ने क्रममा सहादत प्राप्त गर्नुभएका निर्मल रानाभाटको स्मृतिमा दमौलीमा निर्मल माध्यमिक विद्यालय स्थापना गर्ने, दमौलीमा एकीकृत र योजनाबद्ध बस्ती निर्माणमा उहाँको नेतृत्वदायी भूमिका थियो । 

 
जिल्ला पञ्चायत तनहुँका सभापति भएको समयमा राजा महेन्द्रबाट संविधान सुधार गर्न सुझाव माग हुँदा जिल्ला पञ्चायतबाट प्रजातन्त्रको बहाली, बालिग मताधिकार, मानव अधिकारलगायत जनताका पक्षमा संविधान बन्नुपर्छ भन्ने प्रस्ताव पारित गराउनुभएको थियो । 


 

काठमाडौं:  उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...

थप पढ्नुहोस्

मकवानपुर:  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...

थप पढ्नुहोस्

काठमाडौं:  देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...

थप पढ्नुहोस्