नवौँ राष्ट्रिय खेलकुदः गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट
पाेखरा | भदौ ३, २०७९
आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ ।
असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको हो ।
विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् ।
परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिनेछ । पहिलो चरणमा १४ वटा खेललाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलको जिल्ला छनोट प्रतियोगिता हुने प्रमुखले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।
सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको बताउनुभयो । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।
पोखरा रङ्गशालामा आज प्रदेशमा खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभूत सुविधाबाट वञ्चित हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट वञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।”
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको चिनारीका लागिसमेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्ने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

