सङ्घीयता संस्थागत गर्न महत्वपूर्ण काम भएका छन् : मुख्यमन्त्री पोखरेल
मुस्ताङ | भदौ ११, २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयता संस्थागत गर्न गण्डकी प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।
मुस्ताङका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य सङ्घ संस्थाका प्रमुखसँगको अन्तरक्रियामा उहाँले सङ्घीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थालिएको र यसबीचमा पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो ।
काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्था माथि नै प्रश्न उठाउने बेला नभएको उहाँले बताउनुभयो । सीमित साधनस्रोत र जनशक्तिकाबीच सडक, पुलसँगै उज्यालो प्रदेश कार्यक्रमदेखि ‘एक घर, एक धारा’ जस्ता नमूना काम गर्न सफल भइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
शासन व्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिना पूर्वाग्रह कार्य सम्पादन गर्दै आएको उहाँको भनाइ छ । गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई सक्षम बनाउन प्रदेश प्रशिक्षण प्रतिष्ठानले काम गर्दै आएको बताउनुभयो । सङ्घ सरकारलाई कुरेर बस्दा ढिलाइ भएको भन्दै उहाँले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तह कर्मचारी विधेयक अध्यादेशबाट ल्याउन लागिएको जानकारी दिनुभयो । केन्द्रिकृत मानसिकता नै सङ्घीयता कार्यान्वयनको वाधक बनेको उहाँको भनाइ छ ।
कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफ लाइन रहे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उहाँले बताउनुभयो । आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमताअनुसार प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको बताउनुभयो । विपद् व्यस्थापनका क्षेत्रमा प्रदेशले सक्दो काम गरेको बताउँदै उहाँले राहत तथा उद्धारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताउनुभयो ।
ढोरपाटन: ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...
सप्तरी: मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय...