ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...

पोखरा:   केही काला, केही सेता–काला र केही टाटेपाटे च्याङ्ग्राहरु सडक छेउ कुनामा कुदिरहेका छन् । उनीहरुले गन्तव्य चुम्नै लागेका छन् । त्यसैले उनीहरु कुद्न अब धेरै पाउदैनन् ।   हिमालपारीका जिल्ला मुस्ताङ तथा बझाङ आसपासको जिल्लाबाट झारिएका भेडा च्याङ्ग्राहरुले यतिबेला याम्दी पुल आसपासमा हैकम जमाएका छन् ।    उनीहरुको अन्तिम गन्तव्य जौबारी हुदैं पोखराको पुरानो टुडिखेलसम्म हो । गन्तव्य नजिक आइपुगेका ति बथानले बाटो बिराइहाले भने ठेगान लगाउन एउटा समुहमा ३/४ जना गोठाला छन् ।    च्याङ्ग्राहरु सडकबाट दायाँ बाँया गर्ने बित्तिकै गोठालाहरु चनाखो भइहाल्छन् र लाइनमा ल्याइहाल्छन् । च्याङ्ग्रा अघिअघि कुद्छन् । अनि उनीहरु पछिपछि ।    लय गुमाएर एकातिर भाग्ने च्याङ्गालाई तह लाउनेमा ति गोठालाका हुलमा अरु कोही नभएर वडाध्यक्ष सुरेन्द्र गुरुङ छन् ।   उनी गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । वडाध्यक्ष गुरुङ यसरी च्याङ्ग्राको पछि कुद्न थालेको पाँच दिन बितिसकेछ ।  ‘मुस्ताङबाट भेगखोलासम्म हामीले तीन लाएर धपाएरै ल्यायौं । त्यसपछि हेम्जासम्म ट्रकमा ल्यायौं र फेरि धापाउदै यहाँसम्म आइपुगेका छौं, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले भने, ‘च्याङ्ग्राको पछिपछि कुद्न थालेको ५ दिन भैसकेछ ।’   उनले पोखरासम्म ल्याउँदा विभिन्न समस्याहरुको सामना गरेको बताउदै मुल्य वृद्धि भएको बताए । ‘हामीले माथी खरिद गर्दा नै महंगो पर्न गयो त्यसले गर्दा पोखरेलीहरुलाई महंगो परेको हो, उनले भने, ‘के गर्ने चाइना बोर्डर खुलेको भए किन्नेहरुलाई पनि अलि सस्तो पर्न जान्थ्यो ।’   उनले गत वर्षभन्दा यसपटक पोखरामा कम भेडा च्याङ्ग्रा भित्रिएको बताए । उनका अनुसार गत वर्ष भेडा र च्याङ्ग्रा गरि १२ हजार बढी झरेको थियो । भने यस वर्ष भेडा र च्याङ्ग्रागरि करिब साढे ६ हजार पोखरा भित्रिएको छ ।  सो भेडा तथा च्याङ्ग्राहरु खोज्न पोखरेली मात्रै हैन, तनहुँ, चितवन, स्याङ्जा, बुटवल तथा काठमाडौं लगायतका स्थानदेखि आइपुग्छन् ।      तुलनात्मक रुपमा गतवर्षभन्दा केही मात्रामा मुल्य वृद्धि भएपनि च्याङ्ग्राको निर्वाध विक्री भइरहेको वडाध्यक्ष गुरुङ बताए । ‘मैले ५ सय वटा खरिद गरेको थिए । त्यसमध्ये २ सय वटा काठमाडौं गइसक्यो, उनले भने, अब यस्तै ४०/५० वटा छ त्यो पनि आज भोली मै सकिन्छ । महंगो भएपनि च्याङ्ग्रा त खोसाखोस छनी ।’    गुरुङले आफ्नो वडाध्यक्षको सेवासुविधाले मात्रै  दैनिकी गुजार्न गाह्रो भएको बताउदै च्याङ्ग्रा विक्री गर्न पोखरा झरेको बताए । ‘मेरो तलबले त के नै पो हुन्छ र यो व्यवसाय सिजनल हो । दशैँमा मात्रै हुने गर्छ । त्यसैले अहिले च्याङ्ग्रा बेच्न पोखरा आएको हुँ ।’ उनले भने ।     भेडाको मूल्य केही कम छ भने च्याङ्ग्राको मुल्य साइज अनुसार  निर्धारण गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार च्याङ्ग्राको मूल्य ३५ देखि ५० हजारसम्म निर्धारण गरिएको छ । ‘विगतका वर्षहरुमा भन्दा यस वर्ष भेडा –च्याङ्ग्राको मूल्य बढ्नु ग्राहकका लागि नौलो छैन । यो महंगाईलाई मैले स्वभाविक रुपमा लिएको छु, च्याङ्ग्रा किन्न आएका पोखरा महानगरपालिका २१ का धुर्वराज पराजुलीले भने, ‘किनभने वर्तमान समयको आर्थिक अवस्था, लगानी र व्यापारीको खरिदबारे हिसाब गर्दा स्वभाविक नै मान्नुपर्छ । हुनत हामीले खान थालेको यतिका वर्ष भइसक्यो मूल्य केहीमा घटेको छैन । तर आनुपातिक रुपमा अलि नै बढेको हो की भन्ने लागेको छ ।’   पराजुली जस्तै पोखरा १९ लामाचौरका तारा गर्बुजाको परिवार पनि हरेक वर्ष च्याङ्ग्राको स्वाद  लिने गर्छन ।     दशैँमा भेडा च्याङ्ग्राको मासु खाने प्रचलन अनुसार च्याङ्ग्रा किन्न पुगको बताइन् । ‘यो सिजनल जस्तै हो । हामीले चाहदैमा अरुबेला पनि किन्न पाइदैन, उनले भनिन्, ‘त्यसैले दशैँको अवसरमा खाने गरिन्छ । अर्काे कुरा यसले लेकका जडिबुटी खाएका हुनाले स्वास्थ्यबर्दक हुने विश्वासले हरेक वर्ष च्याङ्ग्रा खाने गरिन्छ ।’   बद्लिदो समय र मूल्य   याम्दी आसपासमा यतिबेला भेडा च्याङ्ग्रा किनबेचको माहौल छ ।   त्यहाँ सानोतिनो मेलानै लागिरहेको छ । च्याङ्ग्रा व्यापारी, ग्राहक र रमाइलो हेर्नेहरुको भीड देखिन्छ । त्यही भीडमा भेटिएका पुराना गोठाला जो उमेरले ३ बिसे १४ पुगे । उनले विगत सम्झदै वृद्ध प्रेम बहादुर शाहीले भने, ‘हामीले जम्मा २० रुपैयाँ नाफा राखेर च्याग्रा बेच्थेउ ।’     उनले करिब ५० वर्ष पहिले १ सय देखि १ सय ५० सम्म च्याङ्ग्रा बेच्ने गरेको बताए । ‘अहिले यहाँ रमाइलो हेर्न आएको हुँ । मेरो बेलामा च्याङ्ग्रा हेरेर बेचिन्थ्यो, स्मरण गर्दै शाहीले भने, ‘१ सय, १ सय २० देखि बढीमा १ सय ५० रुपैयाँसम्म बेचेको याद । त्यै हो २० रुपैयाँ जति नाफा खाइन्थ्यो ।’   १ सय रुपैयाँमा च्याङ्ग्रा बेचेका शाहीको उमेरसँगै बजार भाउ पनि बद्लिएको छ । र  च्याङ्ग्राको मूल्य यसवर्ष ५० हजारसम्म पुगेको छ । शाहीले परिवर्तित समयानुसार मूल्य वृद्धि हुनुपर्ने तर्क राखे । ‘मुन्छेहरुले खेती किसानी गर्न छाडे । दुख गर्न छाडे । अहिले त किन्न पाए भाछ, उनले भने, ‘ मै पनि त ७४ वर्ष पुगे । त्यही भएर यो महंगी ठिकै लाइच ।’ (शाही कै भाषामा)    

पोखरा : दशैंमा सुपथ मूल्यको पसल चलाउनुपर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखरा ६ केजी नुन बेच्न बसेको छ ।   नेपालीहरुको महानचाड दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै हरेक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसल सञ्चालन गरेर नुन चिनी बिक्री गर्ने गरेपनि  यो वर्ष भने नुन बेच्न बसेको छ पोखरा कार्यालय ।  कार्यालय परिसरमा नुन फिँजाएर बसेको साल्ट ट्रेडिङ्गसँग आम जनतालाई राहतस्वरुप बेच्न अरु केहि पनि छैन ।       प्रदेश कार्यालयमा यो वर्ष चिनी आयात नहुँदा एक व्यक्तिले प्रतिकेजी १८ रुपैयाँमा ६ केजी मात्र नुन किन्न पाउने कार्यालय प्रमुख वासुदेव उपाध्यायले बताए ।    सरकारले यो वर्ष प्रशस्त चिनी आयात नगर्दा कर्पोरेशनमा चिनी नभएकाले यो वर्ष सुपथ पसल सञ्चालन नहुने संकेत दिए । ‘कोरोना भन्दा अगाडी सुपथ मूल्य पसल सञ्चालन गरिएको हो’ उनले भने ‘नेपालीहरुको महानचाड दशैं तिहार र छठलाई लक्षित गरेर पसल सञ्चालन गरिए पनि अहिले चिनी आयात नहुँदा पसल सञ्चालन गर्न कुनै निर्देशन आएको छैन ।’   ‘कार्यालयको गेटमा आएर सुपथ पसल सञ्चालन हुन्छ कि हुँदैन् ? भनेर उपभोक्ताहरु आउने गरेका छन्’  उनले भने ‘यो वर्ष चिनी आयात नभएकाले पसल सञ्चालन नभए पनि उपभोक्ता आए एक व्यक्तिलाई ६ केजी नुन बिक्री गर्न सक्छौं ।’   कर्पाेरेशनले चाडपर्वलाई लक्षित गर्दै विगतका वर्षहरुमा एक व्यक्तिलाई ३ केजी नुन र ३ केजी चिनी सुपथ मूल्यमा बिक्री गर्दै आएको थियो ।    कर्पोरेशनले विगतका वर्षहरुमा चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्दै आएको र अहिले बजारमा नै प्रशस्त पाइने भएकाले नुन र चिनी विक्री गर्ने गरेपनि यो वर्ष नुन मात्र विक्री गरेको हो ।    जव दशैं तिहार चाड नजिक नजिक आउँछ आम उपभोक्ताहरुको सुपथ मूल्य पसलमा लामो लस्करसँगै व्यस्त देखिने कर्मचारीहरु यो वर्ष भने आरामदायी देखिएका छन् ।    कर्पोरेशनमा ५० केजी बोराको आयोनुनको मूल्य ९ सय २५ र ४५ केजी ढिकी नुनको एक बोरालाई ६सय रुपैयाँ मूल्य तोकेको छ । कर्पाेरेशनमा नुनसँगै । किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु समेत विक्री गर्दै आएको छ ।   

बागलुङ  : व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ ।   बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताउनुभयो । “सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ”, उहाँले भन्नुभयो, “यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।”   उहाँका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदैँछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ ।   सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाउनुभयो । “रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ४० हजार जति पर्‍यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ”, उहाँले भन्नुभयो, “तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।”    कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् । दुई वर्षअघि रोज्जा च्याङ्ग्रालाई मुस्ताङमा रु २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर रु ४० हजार पुगेको छ ।   मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताउनुभयो । “च्याङ्ग्रामा पहिलेको झैँ व्यापार छैन”, उहाँले भन्नुभयो, “महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन् ।”   बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्ग्राको कारोबार कम छ । ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ । “बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ”, केसीले भन्नुभयो, “तैपनि दशैँमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन् ।” उहाँका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ ।   सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आउनुभएका केसीले दशैँमा च्याङ्ग्राको मासुको माग अत्यधिक हुने बताउनुभयो । अहिले च्याङ्ग्राको मासु प्रतिकिलो रु दुई हजार बढी पर्ने देखिएको उहाँको भनाइ छ । हुनेखानेले महँगै परे पनि दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी किन्ने गर्छन् ।   कोभिड–१९ महाव्याधिपछि च्याङ्ग्रा महँगिएको व्यवसायी बताउँछन् । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ । यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्ग्रा आउने गरेको छ । नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन ।    पछिल्लो पाँच वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको व्यवसायी बताउँछन् । व्यवसायीले एउटा च्याङ्ग्रामा रु एक–दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दशैँ नै कुनुपर्छ । 

  महेन्द्रनगर । आइतबार राति बझाङको साइपालबाट भेटा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिनुभयो ।   साइपाल हिमालको फेदबाट एक सय ७०  च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उहाँ हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्नुहुन्छ । तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उहाँले काठमाडौँ÷पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताउनुभयो ।   “बाटो–बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ ।” उहाँले  भन्नुभयो, “सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।” उहाँले पोखरालगायतका क्षेत्रमा च्याङ्ग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताउनुभयो ।   “एक लटमा रु ५०/६० लाखसम्मको कारोबार पनि हुन्छ ।” उहाँले भन्नुभयो, “दुख: गरेअनुसार पारिश्रमिक आइहाल्छ ।” उहाँले च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्याङ्ग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोग/अनुदान नरहेको दुखेसो पोख्नुभयो ।   “थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्याङ्ग्रा पोखरा लग्दैछु ।” उहाँले भन्नुभयो, “साइपालको फेदबाट पोखरा पुग्दासम्मको दु:ख भनेर सम्भव छैन ।” उहाँले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।   त्यसैगरी बोहरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बोहराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडा/च्याङ्ग्रा पालनमा रहेको बताउनुभयो । “समयमा पुर्याउन सके राम्रै खपत हुन्छ ।” छपन्न भेडा लिएर पोखरा हिँडेका उहाँले भन्नुभयो, “हामीअघि दुई/चार खेप च्याङ्ग्रा साइपालबाट पोखरा पुगिसक्यो ।”   त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दसैँमा भेडा च्याङ्ग्राको व्यापार गर्न थालेको वर्षौं भइसक्यो । बझाङ तथा दार्चुलाका भेडा च्याङ्ग्रा खरिद गरेर पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गर्नु उहाँको मौसमी व्यापार हो । हिमाली च्याङ्ग्रा भित्रिसकेपछि दसैँको चहलपहल सुरू हुने पोखरा अहिले च्याङ्ग्रामयजस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्याङ्ग्रा अहिले खरिद बिक्री भइरहेका छन् ।   पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा÷च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । उहाँको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्याङ्ग्रा बिक्रीका ओसारिसकेका छन् । “दसैँको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्याङ्ग्रा बिक्री हुन्छ”, पूर्वअध्यक्ष धामीले भन्नुभयो, “बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ ।”  फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुन्छ उहाँले भन्नुभयो ।   उहाँका अनुसार साइपालमा एउटा भेडा च्याङ्ग्राको मूल्य रु २० देखि २५ हजार पर्छ । “साइपालमा रु २०/२५ हजार पर्ने च्याङ्ग्रा पोखरामा रु ४०/४५ हजार पर्छ”, उहाँले भन्नुभयो, “बिक्री भए मेहेनत गरेअनुसार खर्च चल्थ्यो तर गत वर्षजस्तै भए निकै घाटा हुन्छ ।” गत वर्ष उनको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको उहाँले सुनाउनुभयो ।   गत वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्याङ्ग्रा बिक्री नभएको बताउनुभयो । अहिले धामीको टोलीले दार्चुलाबाट दुई सय २९ र बझाङबाट एक सय ६० भेडा/च्याङ्ग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन् । बझाङबाट मात्रै गत हप्ता ११ ट्रक भेडा/च्याङ्ग्रा पोखरा पुगाएका छन् ।    त्यसैगरी साइपाल गाउँपालिकाकै बमबहादुर बोहरा पनि च्याङ्ग्रा लिएर पोखरा पुगेको बताउँदै उहाँले बिक्री सुरु गरेको जानकारी दिनुभयो । “हिजो १६  च्याङ्ग्रा बिक्री गरेँ ।” उहाँले भन्नुभयो, “यस पटक दुई  ट्रकमा च्याङ्ग्रा लिएर पोखरा पुगेको छु ।” 

पोखरा: पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्तालाई खाताबाटै पैसा निकाल्न सकस परेको छ ।    सहकारीले २ हप्ताअघि मिटिङ् बसेर जति नै बचत भएपनि हाल ५० हजार रुपैयाँमात्र झिक्न दिने निर्णय गरेको हो । त्यसबेला कुनैपनि खातावालको चेकबाट पहिलो आउनेलाई ५० हजार रुपैयाँ दिने गरिएको थियो ।    तर सहकारीको उक्त निर्णय पनि हप्ता दिनभन्दा बढी टिक्न सकेन । हाल सहकारीले १० हजार रुपैयाँभन्दा बढी झिक्न नपाउने सूचना निकालेको छ भने कारोबारको समयसमेत घटाएर दिनको २ बजे बनाएको छ ।    सहकारीले संस्थाको आन्तरिक आर्थिक रणनीति व्यवस्थापनको लागि सेयरधनीको खाताबाट दिनमा १० हजार मात्र निकाल्न दिएको बताएको छ ।    त्यस्तै, आइतबार देखि बिहिबारसम्म १० देखि २ बजे र शुुक्रबार १० देखि १२ बजेसम्म कार्यालय खुल्ला रहने सुचना निकालेको छ ।    यस विषयमा सहकारीका व्यवस्थापक थानबहादुर बुढामगरले हाल तरलताकाकारण बचतकर्ताको आवश्यकताअनुसार भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् ।    ‘लिक्विडिटीको मारमा परेर भुक्तानी दिन नसकेका हौं’ व्यवस्थापक बुढामगर भन्छन् ‘तिहारयता सहकारीले १० हजार बढी दिन सक्दैन ।’ उनले सूर्यदर्शनमात्रै नभएर प्रायः सहकारीको अवस्था उस्तै रहेको जनाए ।      राष्ट्रबैंकले दैनिक ८ लाख रुपैयाँको हाराहारीमामात्रै पैसा दिने गरेकाले पनि भुक्तानीमा असहज भएको सहकारीको भनाई छ ।    व्यवस्थापक बुढामगर भन्छन्, ‘तिहारपछि अवस्था सहज हुन्छ, हामीले चाहेको भुक्तानी दिन्छौं तर रकम डुब्ला भनेर चिन्ता लिन पर्दैन ।’   सहकारीका एक संरक्षक हेमन्त अधिकारीका अनुसार देशमा आर्थिक मौज्दात कम छ । बित्तीय संस्थाहरुमा पैसा सटही (रोटेसन) भएको छैन । त्यसैले सेयर धनीले माग गरेजति पैसा दिन समस्या भएको छ ।    चाडवाड नजिकिएकाले पैसा निकाल्ने बढी भएकाले आन्तरिक आर्थिक रणनीति व्यवस्थापन गर्न एक खाताबाट १० हजार मात्र दिने गरेको उनले बताए । अधिकारीले थपे ‘अरु कुनै कारणले होइन ।’    उनका अनुसार देशको केही शहरमा सहकारीहरुले चाबी लगाएर शेयर सदस्यलाई बिचल्ली पारेका छन् । ‘त्यसैले पनि केही सेयर धनीहरुले हामी प्रति नकारात्मक साेंच राखेका हुुन सक्छन्’ उनले भने ‘हामी शेयरधनीलाई बिचल्लीमा पार्दैनौ ।’    आर्थिक मौज्दात बलियोे हुँदा बचतकर्तालार्ई २० लाख रुपैयाँसम्म दिएको बताउँदै उनले यतिबेला शेयरधनीलाई अवस्था बुझ्न अनुरोधसमेत गरे ।   संरक्षक अधिकारीका अनुसार लाख भन्दा बढी कारोवार गर्ने व्यापारीलाई दैनिक ५० हजार दिएर नपुग्ने भएपनि केही दिनपछि अप्ठ्यारो हुनेछैन ।    ‘जसले कुटो कोदाली गरेर, ज्याला मजदुरी गरेर बचत गर्नुुभएको छ, उहाँहरुले रकम नपाउने भन्ने हुँदैन’ अधिकारी भन्छन् ‘तर केही समयका लागि धैर्य गरिदिनुहोस् ।’   यता, यही विषयमा पोखरा महानगरपालिकाअन्तरगतको सहकारी शाखाले नजिकबाट अध्ययन गरिरहेको छ ।    शाखाका जिम्मेवारी पाएका प्रमुख भरतराज पौडेलले सूर्यदर्शन सहकारीलाई ‘समस्याग्रस्त’ सहकारीको सूचीमा राख्ने बताएका छन् ।    ‘हामीलाई हप्ताअघि नै जानकारीमा आएको हो’ प्रमुख अधिकारी भन्छन् ‘बचतकर्ताले खाता बन्द गर्न आए सबै भुक्तानी दिनुपर्छ, तर सूर्यदर्शनमा त्यस्तो पाइएन ।’   उनका अनुसार सहकारीले लगानी गरेपछि उ सँग बचत छैन भने हाल १० प्रतिशत सञ्चिति रकम पनि छैन । अहिले नै कारवाहीको प्रक्रिया अघि बढाए हाल बाँडिरहेको १० हजार रुपैयाँ पनि बचतकर्ताले नपाउने भएपछि महानगरले कारवाही अघि बढाउन सकेको छैन ।    ‘अब लिक्विडेसनमा लैजान पर्ने हुनसक्छ’ पौडेल भन्छन् ‘त्यतापट्टिबाट भएपनि शेयर सदस्यको रकम उठाउने काम हुनसक्छ ।’   जानकारीमा आए अनुसार सूर्यदर्शन सहकारी जिल्ला सहकारी संघ कास्कीमा आबद्ध छैन । 

पोखराः गण्डकी प्रदेश सरकारले चालु बजेटमा बढाएको करमध्ये ४ शीर्षकका करको दर घटाएको छ ।    अर्थमन्त्री रामजी बरालले वैज्ञानिक र समायानुकूल भन्दै बढाएको करलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा घटाइएपछि दुई मन्त्रीबीचको टकराव पुनः सतहमा आएको छ ।    यस आर्थिक वर्षमा अर्थमन्त्री बरालले घरजग्गा नामसारीमा ३२८ प्रतिशतसम्म कर बढाएको थियो । त्यस्तै, सवारी करमा पनि १० हजार रुपैयाँसम्म बढाएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो ।    जनस्तरबाट करको वृद्धिमा भएको विरोध र आन्दोलनलाई समेत बेवास्ता गरेको सरकारले शुक्रबार घटाएपछि अर्थमन्त्री असन्तुष्ट भएका छन् ।    प्रदेश सरकारको शनिबार बसेको मन्त्रीपरिषद् बैठकले घरजग्गाको रजिष्ट्रेशन शूल्क, तीन पुस्ताभित्रको नामसारी, सवारी कर र विद्यार्थी सहुलियत दरलाई पुरानै अवस्थामा कायम गरेको छ ।    आर्थिक ऐन, २०७९ अनुसार तीन पुस्ताभन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० हजार र गाउँपालिकामा पाँच हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५ सय रुपैयाँ मात्र थियो ।   तीन पुस्ताभित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५ सय तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपरेको थियो । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा ५०० तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार ५ सय कायम थियो ।   हाल साबिक दस्तुर पनि महानगरमा ४ सयबाट एक हजार रुपैयाँ पुग्यो । नगरपालिकामा यो शुल्क २ सयबाट ५ सय र गाउँपालिमा १ सयबाट २ सय रुपैयाँ पुगेको थियो । संशोधन शुल्क पनि दोब्बर बढाइएको थियो ।   अंशबन्डामा पनि ५० प्रतिशतसम्म कर बढाइएको थियो । अंशबन्डा आर्थिक कारोबार नभई हकभोगको हस्तान्तरण मात्र भएकोले कर घटाउनुपर्ने माग संसद्मा पनि उठेको थियो ।   मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०७९ को अनुसूची १ को ९क० अन्तर्गत घरजग्गालगायत रजिष्ट्रेसन शुल्क  र घरजग्गा रोक्का शुल्कको क्रमसंख्या ४ अंशबन्डा तथा अंश भर्पाइको लिखतको खण्ड (क), (ख), (ग), (घ), (ङ) मा उल्लेख भएको रजिष्ट्रेसन शुल्कको दर गत वर्षकै कायम गर्ने निर्णय गरेको छ ।     यस्तै, अनुसूची–१ को क्रमसंख्या (छ) को खण्ड (क) मा उल्लेख भएको तीन पुस्ताभित्रको नामसारी र खण्ड (ख) मा उल्लेख भएको तीन पुस्ताबाहिरको नामसारी गर्दा लाग्ने शुल्क गत आर्थिक वर्षकै कायम गरिएको छ ।     अनुसूची–२ को (क) सवारीसाधन करअन्तर्गत प्रकरण (२) को भाडामा दर्ता भएका सवारीसाधन करअन्तर्गत खण्ड (क) देखि खण्ड (झ) सम्म लाग्ने सवारीसाधन कर पनि गत आवकै दरमा झारिएको छ  ।     अनुसूची–२ को प्रकरण (६) अन्तर्गत भाडाका बस, मिनिबस तथा माइक्रोबस सवारीसाधनले विद्यार्थीलाई सहुलियतको रूपमा भाडामा छुट दिएबापत त्यस्ता सवारीसाधनका धनीले तिर्नुपर्ने सवारीसाधन करमा ३३ प्रतिशत छुट पाउने व्यवस्थालाई गत आवबमोजिम नै हुने गरी व्यवस्था गर्ने निर्णय गरिएको छ ।   

पोखराः नेपाल अटोमोबाईल डिलर एशोसिएसन (नाडा)ले पहिलो पटक इभी एक्स्पो २०२२ सुरु गरेको छ । आइतबारसम्म चल्ने एक्सोपोको उद्देश्य नेपालबाट इन्धनमा बाहिरिने पैसालाई रोक्नुपनि हो ।    पेट्रोल र डिजलमा वर्षेनी बाहिरिने अर्बाै रुपैयाँलाई जोगाउनु र वातावरणमैत्री बनाउन पनि एक्सपो आयोजना गरेको नाडाले जनाएको छ ।      एक्सपोमा हाल १६ लाखदेखि २ करोड रुपैयाँ बढी पर्ने गाडीहरु राखिएको छ । उक्त गाडीबारे जानकारी लिने र खरिदमा रुचि राख्नेहरुको भीड आज सबैभन्दा बढी रहेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिएका छन् ।    ‘एक्सपोमा आकर्षण बढेको पाइयो, भिजिटरहरुको चासो र सकारात्मक टिप्पणी पाइएको छ’ अध्यक्ष थापा भन्छन् ‘अबको भविष्य नै विद्युतीय सवारीको हो ।’ उनले विश्वबजारमै इभिको माग बढिरहेको सन्दर्भमा नेपाली उपभोक्ताको पनि चासो बढ्नु सकारात्मक भएको टिप्पणी गरे ।    पोखरामा पनि इभि एक्सपो सम्भव छ ? भन्ने प्रश्नमा थापाले भने ‘कामठमाण्डौंमा जस्तो वृहतस्तरमा उपभोक्ता भेट्न पोखरामा सम्भव छैन, तैपनि उद्योग वाणिज्य संघमार्फत आयोजना हुने मेला÷महोत्सवमा प्रदर्शन गर्नेछौं ।’     एक्सपोमा हालसम्म कति गाडी बुकिङ् वा बिक्री भयो भन्ने जानकारी आइतबारमात्रै दिइने आयोजकले जनाएको छ ।      एक्सपोमा सहभागी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले विद्युतीय गाडीबाट आफु प्रभावित भएको बताएका छन् । ‘एक्सपो शानदारमात्र हैन, प्रभावकारी पनि देखियो’ अध्यक्ष प्रजापतिले भने ‘अब देशमा उत्पादित विद्युत खपत गर्न पनि इभि चढ्नुपर्छ ।’   उद्योग वाणिज्य संघले पनि अटो मेलाको आयोजना गर्ने बताउँदै उनले त्यहाँ विद्युतीय गाडीकोसमेत स्टल राखिने जनाएका छन् । प्रजापति भन्छन् ‘अब बिस्तारै विद्युतीय साधनको प्रयोग बढाउँदै देशबाट पैसा बाहिरिने क्रम रोक्नुपर्छ ।   नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनमा राखिएको छ ।    हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला गरी ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधन राखिएको छ ।    साथै, थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत स्टल राखेकाे छ ।  

पोखरा :   जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका १३ वटा मासु पसललाई कारवाही गरेको छ ।    उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले १३ वटा पसललाई जनही ५ हजारका दरले ६५ हजार जरिवाना गरेको जानकारी दिए ।     जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च गण्डकी र पत्रकारको टोलीले असोज ४ गते पोखराका ३२ वटा फ्रेस हाउस अनुगमन गर्दा १३ वटा पसललाई जनही ५ हजारका दरले कारवाही गरेको हो ।   कोइरालाका अनुसार अनुगमनका क्रममा पोखराका केही पसलहरुले खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बिक्री गरेको पाइएको थियो ।    अनुगमनको क्रममा केही पसलमा राखिएका मासुको गुणस्तर पनि कमजोर रहेको पाइएकाले २ दिनभित्र पसल सुधार गर्न समय दिएको थियो । यसरी नियमावली र मापदण्ड पालना नगर्ने मासु पसलका सञ्चालकहरुलाई स्पष्टिकरणसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा जरिवाना गरिएको मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।    ‘अनुगमनकाक्रममा कतिपय पसल दर्तै नभएको पाइयो, कतिले नियमावली पालना गरेका रहेनछनु’ अध्यक्ष कोइरालाले भने ‘पसल दर्ता गर्न ३ दिनको समय दिएको छ, त्यो समयभित्र दर्ता प्रक्रियाको क्रममा नगए थप कारवाही हुनेछ ।’   प्रशासनले उपभोक्ता संरक्षण ऐन अन्र्तगत रहेर कारवाही गरेको उल्लेख गरेको छ । 

लेखनाथ : कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्नुहुन्छ म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा ।   छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३ मा पोखरा झर्नुभएकी उहाँलाई कृषि पेशाले छोटो समयमै करोडपति बनाइदिएको हो । विसं २०७१ मा लेखनाथको अर्घौ चोकमा १७ रोपनी जग्गा भाडामा लिएर केही हजार रकमबाट सुरु भएको शेरपूर्जाको कृषि फार्मको पूँजी अहिले करिब रु तीन करोड पुगेको छ ।    उहाँले सुरुमा दिदीबहिनी कृषि फार्म सञ्चालनमा ल्याएर तरकारी खेतीबाट आफ्नो पेशा अगाडि बढाउनुभएको थियो । नौ वर्षकै अवधिमा अहिले शेरपूर्जाको फार्ममा १८ लैना भैँसी, एउटा राँगो, चार लैना गाई, १५ पाडा–पाडी, चार बाच्छा–बाच्छी छन् । पन्ध्र रोपनी जमिनमा शेरपूर्जाले भैँसीका लागि थप ११ रोपनी जमिनमा घाँसखेतीसमेत गर्नुभएको छ ।    उहाँले भन्नुभयो, “दूध तथा तरकारी बिक्रीबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको छ, खर्च कटाएर मासिक रु डेढ लाख बचत हुन्छ । उत्पादित तरकारीले विस्तारै बजार लिन थालेपछि गोबरका लागि भैँसीपालन गर्ने सोच बनाउँदा यसमा समेत मेरो आकर्षण बढ्यो ।”     तरकारी खेती गर्ने क्रममा एक ट्र्याक्टर मलका लागि  रु सात हजार बुझाउँदा शेरपूर्जाको मन खिन्न भयो र सोच्न थाल्नुभयो, गोबरका लागि भए पनि अब एउटा भैँसी पाल्नुपर्छ । तरकारी खेती सुरु गरेको तीन वर्षपछि विसं २०७३ मा उहाँले भैँसीपालन गर्ने सोच बनाउनुभयो ।   शेरपूर्जासँग भैँसी किन्ने पैसा थिएन । भैँसी किनेपछि दूध पनि बिक्री गर्न पाइने तरकारी उत्पादनका लागि गोबर पनि हुने भएकाले ऋण गरेरै भएपनि तराईबाट एउटा लैनो जर्सी भैँसी किनेर ल्याउनुभयो । मेहेनत गर्दै अगाडि बढ्नुभएकी शेरपूर्जा अहिले गाउँकै नमूना महिला कृषि उद्यमी बन्नुभएको छ । दुई वर्ष अगाडिदेखि उहाँले बाख्रापालनसमेत सुरु गर्दै आउनुभएको छ ।    त्यतिबेला शेरपूर्जाको श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्थ्यो । श्रीमान्को कमाइले कोठामा बसेर खान र छोराछोरी बोर्डिङ पढाउन कठिन भइरहेकाले छोराछोरीको पढाइ खर्च जुटाउन र बिहान–बेलुका हातमुख जोड्नका लागि मैले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो ।    पोखरा–२७ को लेखनाथस्थित खराने फाँटमा बस्ने क्रममा उहाँले विसं २०७१ मा पोखरा–२७ कै लेखनाथस्थित अघौँमा १७ रोपनी जग्गा भाडामा लिएर दिदी–बहिनी कृषि फार्म सञ्चालनमा ल्याउनुभयो । फार्ममा गोलभेँडा, काक्रा, घिरौला, करेला, साग, काउली, बन्दालगायत तरकारी उत्पादन हुन थाल्यो ।    दुई–तीन महिला उहाँका तरकारी फार्ममा काम गर्छन् । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म शेरपूर्जा बारीमै खटिनुहुन्छ । किनेको एउटा भैैँसीको दूध पनि फार्मबाटै बिक्री हुन थाल्यो, मूल्य राम्रै पाएपछि त्यो भैँसी खरिद गरेको दुई वर्षपछि उहाँले २०७५ मा भैँसी थप्ने योजना बनाउनुभयो ।   तरकारी खेती विस्तारै अगाडि बढ्दै थियो भैँसी पनि थपेर आम्दानी वृद्धि गर्ने योजना थियो, शेरपूर्जाको तर पैसा थिएन । भैँसी खरिदका लागि ऋण लिन विभिन्न बैंक चाहर्ने क्रममा बङ्गलादेश बैंकले ऋण दिने भयो उहाँलाई । भैँसी खरिद र तरकारी खेती विस्तार गर्नका लागि शेरपूर्जालाई उक्त बैंकले रु ५० लाख रुपैयाँ दिने निर्णय ग¥यो ।   बैंकबाट लिएको पैसामध्ये रु ३० लाख भैँसी खरिद र रु २० लाख तरकारीको टनेल बनाउन प्रयोग गर्नुभयो उहाँले । शेरपूर्जाले ऋण लिएको चार वर्षमै ऋण घटाएर रु १० लाखमा पु¥याउनुभएको थियो।    छोराछोरी पढाउन र खान पुगेको छ, श्रीमान् पनि बिदेशबाट आएर पोखरा-२७ मा नै किराना पसल गर्नुभएको छ । अब विस्तारै बाख्राबाट पनि आम्दानी हुन्छ । भैँसीको दूध फार्मबाट प्रतिलिटर रु एक सय २० मा बिक्री हुने गरेको र केही दूध डेरीले बिक्रीका लागि लाने गरेको जानकारी उहाँ दिनुहुन्छ  ।    “अहिले मेरो फार्मको पूँजीको मूल्याङ्कन रु तीन करोड गरिएको छ । सत्र रोपनी जमिनबाट बढाएर उहाँले अहिले २९ रोपनी जग्गा भाडामा लिनुभएको छ । १७ रोपनीमा भैँसी, तरकारी र बाख्रा फार्म छ भने ११ रोपनीमा भैँसीका लागि घाँस उत्पादन गरेकी छु ।   कृषि पेशाबाटै छोरोले इञ्जीनियर र छोरीले नर्स  विषय पढे”, शेरपूर्जा  भन्नुहुन्छ, “लेखनाथमा आफ्नै एउटा घर पनि छ ।”  कृषि कार्यालयले केही मात्रामा आर्थिक अनुदान दिएको छ  । भैँसीपालन र तरकारी खेतीको तालिम पनि लिनुभएको छ।