पोखराः नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको टोलि भारत भ्रमणपछि स्वदेश फर्केको छ । भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको तत्वावधानमा आयोजित ‘ १५ औं सिग्रेचर भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’मा सहभागि भएर विशिष्ट सदस्य कृष्ण लाल महर्जनको नेतृत्वमा महासचिव किसान सुनारसहित ६जनाको टोली स्वदेश फिर्ता भएको हो । १५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो ( IIJS Signature – 2023) पुस २१ गतेदेखि सञ्चालन भएको थियो । १५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो सहभागी हुने क्रममा प्रतिनिधिमण्डलले काउन्सीसलका वर्तमान अध्यक्ष विपुल शाह र अन्य पदाधिकारीहरुसँग भेटवार्ता गर्दै नेपाल– भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै दुई संस्थाबीच भएको सहमति अनुरुप सहकार्यलाई अझ थप प्रगतिमूलक गतिविधि सहित अगाडी बढाउनसमेत आग्रह गरेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले काउन्सिलको संयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोन्नतिको लागि विभिन्न तालिम संचालन गर्न सहमति एवं प्रतिवद्धता जनाएको बताए । ‘नेपालमा नै जेम ल्याव स्थापना गरी नेपालमा पाइने बहुमुल्य तथा अर्धबहुमुल्य रत्न, पत्थर आदिको प्रवद्र्धन तथा निर्यात गर्न दुई पक्षिय छलफल भएको छ, सुनारले भने, ‘महासंघ र काउन्सीलको सयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोउन्नती गर्न तालिम संचालन गर्न काउन्सिलले प्रतिवद्धता जनाएको छ ।’ मुम्बई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण समेत गरेको थियो ।
काठमाडौं: नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आइतबार २०।५५ अंकले बढेर नप्से परिसूचक २१ सय ६४।४८ को बिन्दुमा पुगेको छ । आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ रुपयाँ पुगेको छ । आइतबार १३३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । खप्तड लघुवित्त र बाराही हाइड्रा पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य ८ देखि ९ प्रतिशत हाराहारीले वृद्धि भयो । आइतबार दोस्रो बजारमा सबै भन्दा धेरै २१ करोड रुपैयाँ भन्दा बढीको हिमालयन डिष्टिलरीको सेयर कारोबार भयो । यस्तै १९ करोड ६८ लाख रुपैयाँ बराबरको शिवम् सिमेन्टको सेयर खरिद बिक्री हुँदा राधी पावरको १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।
काठमाडौं: सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजारले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले बढेर प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ।
काठमाडौँ: यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ । यो साता पहिलो कारोबार दिनदेखि नै बढ्न थालेको सुन सोमबार स्थिर रहेर लगातार ४ दिनसम्म बढेको थियो । आइतबार र सोमबार तोलामा १ लाख १ हजार ७०० रहेको सुनको मूल्य मंगलबार ९०० र बुधबार २०० ले बढेको थियो । यस्तै, बिहीबार पनि २०० ले बढेर तोलामा १ लाख ३ हजा १०० पुगेको सुन शुक्रबार केही घट्दै रोकिएको हो । यसैगरी, यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघले गत सातको शुक्रबारको तुलनामा यो साताको शुक्रबार मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार घटेर १३ सय ६५ रुपैयाँमा आइपुगेको छ ।
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले उकालो लागेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कूल एक रु करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर रु पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन् । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६६ हजार नौ सय ७४ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनी रु २१ करोड ४१ लाख आठ हजार चार सय ८७, हिमाल दोलखा हाइड्रोपावर रु ११ करोड ८४ लाख ७८ हजार छ सय ६५, एनआइसी एशिया बैंक रु ११ करोड ८४ लाख ४४ हजार तीन सय छ र नेपाल पुनर बीमा कम्पनी रु १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन् । उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड तीन दशमलब शून्य तीन, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ८८, नारायणी डेभलपमेन्ट बैंक दुई दशमलब ८२, नेपाल एसबिआई बैंकको ऋणपत्र दुई दशमलब ७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले दुई दशमलब ४६ प्रतिशतले गुमाएका छन् ।।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
कास्की: मुक्तिनाथ विकास बैंक लिमिटेड अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहन प्रसाद ढकाल, देवेनद्र कुमार गुरुङ र कमल बहादुर बाँनियाले सँयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरे । सो अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीले आगामी दिनमा सेवाग्राहीको मागलाई मध्यनजर गर्दै बैंकको सेवा तथा सुविधाहरु बिस्तार गर्ने योजना रहेको धारणा राखेका थिए । यस्तै सेवाग्राहीहरुले नागरिक तथा सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै सेवाहरु बढाउनुपर्ने आग्रह गरेका थिए । सो कार्यक्रममा सेवाग्राहीहरुसँग बैंकले आगामी दिनमा ल्याउनुपर्ने योजनाको बारेमासमेत अन्तरक्रिया गरिएको थियो । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखासँगै पोखरा महानगरपालिका ९ नागढुङ्गा शाखाले रक्तदान कार्यक्रमको आयोजना गर्दै १६ औं वार्षिकोत्सव मनाएको थियो । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने नारासहित बैंकिङ तथा वित्तिय क्षेत्रमा क्रियाशिल मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । सो बैंकले पछिल्लो समय देशभरका १ सय ७८ वटा शाखाहरुबाट आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखा प्रमुख अशोक लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कर्जा प्रमुख नुर बहादुर गुरुङले गरेका थिए ।
काठमाडौंः पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल चेम्बर कमर्सले काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा भारतसँगको खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको हो । गृहमन्त्री लामिछानेसँगको भेटमा चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबारहरु भइरहेका छन् । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैयाँ राजश्व समेत गुमाइ रहेको छ ।’ ‘खुल्ला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फस्टाइ रहेको छ । यसबाट राजस्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीहरुले प्रतिस्पर्धा गर्न समेत नसकिरहेको परिस्थिति रहेकोले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनु पर्ने छ’ सुझावमा भनिएको छ । नेपाल(भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिए । चेम्बर पदाधिकारीको भेटपछि गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको बताए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ रहेको चेम्बरले जनाएको छ । चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने लगायत विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ ।
काठमाडौं: मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो । नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ । त्यस्तै, नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अङ्कले बढेको छ । कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । मङ्गलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ । मङ्गलबार तीन अर्ब ४५ करोडको शेयर खरिद बिक्री भएको थियो । नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ९.७४ प्रतिशत बढेको छ । त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । यता विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । नेप्से परिसूचक बढेसँगै २४ भन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कालिका लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा बुधवार हिमालयन डिष्टिलरीले ११ करोड ५२ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री गरेको छ ।

